कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

चिनियाँ नाका  खोल्न पहल गर

सम्पादकीय

चीनले कोभिड–१९ संक्रमित भेटिएको भनेर केरुङ नाका र तिब्बतको नेलाम क्षेत्रमा स्थानीय ताल फुट्ने सम्भावना भएको औंल्याउँदै तातोपानी नाका ठप्प पारेको तीन साता भैसक्यो । नाका नखुल्दा विभिन्न सामग्री बोकेर आएका सयौं ट्रक चिनियाँ सडकमै अलपत्र छन् । यीमध्ये कतिपय सामग्री यस्ता छन्, जसको नेपाललाई शीघ्र आवश्यकता छ । यसले गर्दा बालबालिकाका लागि अत्यावश्यकीय खोप सेवा नै प्रभावित हुन सक्ने जोखिम छ ।

चिनियाँ नाका  खोल्न पहल गर

त्यसैले, नेपाल सरकारले सीमा नाका खुलाउन चीनसित प्रभावकारी कूटनीतिक पहल गर्नुपर्छ । चीनले भनेझैं ताल फुट्ने सम्भावनाका कारण तातोपानी क्षेत्रमा तत्काल नाका खुलाउन नसकिएला, तर केरुङ नाकामा कोरोना नियन्त्रणको पहल र स्वास्थ्य सावधानीको प्रत्याभूति दिलाएर अघि बढ्न सकिन्छ । यसका लागि सरकारले विश्वसनीय आधार प्रस्तुत गर्दै चिनियाँ पक्षलाई मनाउन सक्नुपर्छ । र, चीन सरकारले पनि यसमा कठोर नीति लिइरहने गल्ती गर्नु हुन्न ।

नाका बन्द हुँदा बालबालिकालाई दिइने बीसीजी खोपमा प्रयोग हुने ११ लाख थान ‘अटो डिस्पोजेबल’ सिरिन्ज बोकेको कन्टेनर चिनियाँ सडकमा अलपत्र छ । मुलकमा बालबालिकाको खोप सेवा चालु राख्न नभई नहुने सिरिन्जको स्टक कम छ । र, सिरिन्ज भित्रिन ढिलाइ भए खोप सेवा नै प्रभावित हुन सक्छ । स्वास्थ्य सेवा विभागले साताअघि नै केरुङको सडकमा अलपत्र सिरिन्ज भित्र्याउनका लागि सहजीकरण गरिदिन रसुवागढी भन्सारलाई पत्र पठाए पनि कुनै प्रगति भएको छैन । भन्सारले आफ्नो पहलबाट सामान ल्याउन नसक्ने जानकारी माथिल्लो निकायलाई दिइसकेको छ । तसर्थ परराष्ट्र मन्त्रालयले नै यसमा आवश्यक कदम चाल्नुपर्छ । यसका लागि मन्त्रालयले काठमाडौंस्थित चिनियाँ दूतावास एवम् बेइजिङ र ल्हासामा रहेका आफ्ना कूटनीतिक संयन्त्रहरूमार्फत आवश्यक पहल गर्नुपर्छ । बाल स्वास्थ्यका हिसाबले संवेदनशील सिरिन्जको स्टक नसकिँदै छिटो ल्याउन सरकारले उचित तदारुकता देखाउनुपर्छ ।

यसबाहेक, कोभिड–१९ संक्रमण नियन्त्रण र उपचारका लागि खरिद गरिएका पीसीआर मेसिन, भीटीएम, किट, पीपीई, मास्क, सेनिटाइजरलगायतका स्वास्थ्य सामग्री पनि त्यतैका गोदाममा थन्किएका छन् । अरू व्यापारिक वस्तु पनि रोकिएका छन् । पछिल्ला महिनामा बारम्बार नाका बन्द भयो । खुलेका बेला पनि दिनमा ७–८ वटा कन्टेनर छिर्न दिइयो । रसुवागढी भन्सारको कारोबार यसबीचमा मुस्किलले एक महिना भयो । त्यही भएरै, केरुङमा १२ सयभन्दा बढी र तातोपानी नाकाको खासामा डेढ सय कन्टेनर सामान अलपत्र छन् ।

केही व्यापारीका सामान त छ महिनादेखि थन्किएका छन् । तिब्बतको नेलाम काउन्टीले तातोपानीबाट हुने व्यापारिक कारोबार बन्द गरेपछि खासामा कतिपय सामान सडकमा त्रिपालले छोपेर राखिएका छन् । सामान रेखदेख गर्न सीमापारि जाने अनुमति नेपालीलाई छैन । सयौं व्यवसायीका अर्बौं मूल्यका सामानलाई त्यसै अलपत्र छाडिरहनु हुँदैन । यसै पनि, नेपाल भारत–चीनपरिवेष्टित छ । भौगोलिक जटिलताका कारण चीनसित दुइटा मात्रै सडक नाका छन् । तिनमै पनि व्यवधान आउनुलाई सरकारले गम्भीर रूपमा लिनुपर्छ । नेपालले नाका बन्द भएकै दिनदेखि उपयुक्त तयारी गरेको हुन्थ्यो भने आजसम्म चीनले औंल्याएकै कारणलाई पनि निराकरण गर्न सकिन्थ्यो । रसुवागढी भन्सारका कोरोना पोजिटिभ देखिएका मजदुर यसबीचमा संक्रमणमुक्त भइसकेका छन् । रसुवागढीमा रहेका हरेकको पीसीआर परीक्षण गरेर भए पनि ढुक्क हुने परिस्थिति सिर्जना गर्दै विश्वासको माहोल बनाउन सकिन्थ्यो । आवश्यकताअनुसार कार्यनीति र कार्यशैली अपनाउन नसक्नु नेपालको कमजोरी हो ।

पक्कै पनि कोरोना भाइरसलाई लिएर दुवै देश सतर्क हुनु आवश्यक छ, तर यही कारण कुनै पनि मानवीय संकट निम्तिने अवस्था आउनु हुँदैन । यसप्रति दुवै मुलुक संवेदनशील हुन आवश्यक छ । जे कारण वा बहानामा भए पनि कुनै एउटा मुलुकसितका भू–नाका पूरै बन्द हुनु उचित होइन । संक्रमणको डरले मानवीय आवागमनमा बन्देज लगाइए पनि आवश्यक सामग्रीको ढुवानी रोकिनु हुन्न । बरु कडाइका साथ स्वास्थ्य सावधानीको नियम पालना गराउनुपर्छ । र, त्यसमा चिनियाँ पक्षलाई आश्वस्त तुल्याउन नेपालले कुनै कसर बाँकी राख्न हुँदैन ।

चीनले पनि के ख्याल गर्नुपर्छ भने, नेपाललाई साह्रोगाह्रो परेकै बेला उत्तरका दुवै नाका बन्द हुनुले सकारात्मक सन्देश दिँदैन । तसर्थ, यस्तो अघोषित नाकाबन्दीजस्तो अवस्थालाई अनिश्चितकालसम्म लम्ब्याउनु हुँदैन । अविलम्ब नाका खुलाएर अत्यावश्यकीय स्वास्थ्य सामग्रीहरूलाई पहिलो प्राथमिकता दिएर भित्र्याउन दिनुपर्छ । त्यसपश्चात् अरू व्यापारिक सामग्री पनि ल्याउन दिनुपर्छ । र, निरन्तर नाका सञ्चालन भइरहने वातावरण बनाउनुपर्छ । पारवहनसम्बन्धी सम्झौता गरेर चिनियाँ बन्दरगाह र भूमार्गसमेतको प्रयोग गर्न तयार नेपाललाई हतोत्साही बनाउने काम चीनले कदापि गर्नु हुँदैन ।

बेलाबखतको भारतीय व्यवहारका कारण हुनुपर्छ, चीनप्रति नेपालीहरूमा असीमित मित्रभाव छ, तर नेपालको इच्छाप्रतिकूल यसरी बेलाबेलामा नाकाकस्सी भइरह्यो भने सधैं यही अवस्था नरहन सक्छ । विश्वशक्ति बन्दै गरेको चीनले यति सामान्य मामिला नबुझेको पक्कै छैन । त्यसकारण, नेपालले आफ्नातर्फबाट दिलाउनुपर्ने भरोसा त छँदै छ, चीनले पनि यथाशीघ्र नाका खुलाउन आनाकानी गरिरहनु हुँदैन, आफ्नो छिमेकी तथा मित्र मुलुकको मन अनावश्यक दुखाउनेतिर चीन लाग्नु हुँदैन ।

प्रकाशित : आश्विन ७, २०७७ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?