कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५४

शब्दको सुर–साधना

यथास्थितिको पृष्ठपोषण कविवर माधवप्रसाद घिमिरेका रचनाहरूको मूल उद्देश्य नभएर उपोत्पाद पनि हुन सक्छ भन्ने शंकाको लाभसमेत दिन हच्किने आलोचकहरू के बिर्सिदिन्छन् भने, ‘राष्ट्रकवि’ उपाधिभन्दा नेपाली साहित्यमा उनको योगदान सायद केही न केही बढी नै छ, कम त कदापि होइन ।
सीके लाल

काठमाडौँ — आजभोलि कालकटनी आफैंमा एउटा चुनौती बन्न पुगेको छ । महाव्याधिको विस्तार मापन गर्ने भौतिक जाँच घट्दो छ । रोगले समाएका व्यक्तिहरूको संख्या बढ्दो छ । मृतकको गणनांक ऊर्ध्वमुखी छ । सरकारी तयारी घट्ने क्रममै नरहे पनि यथावत् छ ।

शब्दको सुर–साधना

दक्षिण एसियाको सबभन्दा लामो बन्दाबन्दी नेपालमा लगाइएको थियो । छिमेकी देशहरूका तुलनामा सामान्यजनले सरकारी निषेधाज्ञाको सबभन्दा निष्ठावान् पालना पनि नेपालमै गरेका रहेछन् । तर, झन्डै छ महिनापछि अब आएर सरकारले महाव्याधिका अगाडि दुवै हात उठाएर आत्मसमर्पण गरेजस्तो छ । आफ्नो हित सोचेर आफ्नो सुरक्षाका उपायहरू आफैं अवलम्बन गर्नु एवं ईश्वरीय चमत्कारमा विश्वास गर्नुको विकल्प छैन ।

बिहान–बेलुकाको छाक टार्ने चिन्ता छैन भने निदाउन असहज भए पनि रात बिताउन उति साह्रो कठिन हुँदैन । सामान्य मध्यमवर्गीय परिवारका सदस्यहरूमा बिहानको नित्यकर्मबाट सुरु हुने दिनचर्यामा विद्युतीय तथा अंकीय (डिजिटल) उपकरणहरूको भूमिका बढिरहेको छ । कम्प्युटर अब घरघरको कक्षाकोठा भएको छ । अन्य व्यक्तिसँगको सम्पर्क हातेफोनमा समेटिएको छ । घरबन्दीको सबभन्दा अप्ठेरो समय साँझपखको हो । सायद त्यसैले बेलुका ‘हावा खाने’ निहुँमा डुलुवाहरूले सडक ढाकेका हुन्छन् । कतिलाई त लाग्दो हो, चिउँडोमा मास्क एवं हातमा तरकारी किन्ने झोला देखेपछि कोभिडको विषाणु वरिपरि आउनै हच्किन्छ ! उपयुक्त किसिमको मास्कलाई नाक र मुख छोप्ने गरी लगाउनु रोकथामको प्रभावकारी उपाय हो भनिएको छ । काठमाडौंको कुनै पनि सडकपेटीमा दुई मिटरको भौतिक दूरी कायम राख्न सम्भव छैन । पसलहरूमा न्यूनतम कायिक अन्तर (फिजिकल डिस्टन्स) राखेर किनमेल गर्न झनै असजिलो छ । शारीरिक श्रमबेगर गुजारा गर्न नसक्नेका बाध्यता बुझ्न सकिन्छ । कारोबारका लागि प्रत्यक्ष उपस्थिति चाहिने पेसा एवं व्यवसाय सञ्चालन गर्ने जिम्मेवारी जोखिमपूर्ण भए पनि आवश्यक हुन गएको छ । तर, हावा खान निस्केकाहरूले टोलटोलमा गर्ने भीडभाडबाट बच्ने एउटा उपाय स्वेच्छापूर्वक घरबन्दीमा बस्नु हो ।

स्वैच्छिक घरबन्दीमा समय काट्ने काम भने अनिवार्य बन्दाबन्दीमा भन्दा पनि अप्ठेरो हुने रहेछ । शरद् ऋतुको आगमनले भने साँझपख आकाशको रङ परिवर्तन नियालेर बस्ने आकर्षणले गर्दा कालबेलालाई केही सह्य बनाइदिएको छ । कुनै स्पष्ट कारणबिना महसुस हुने अवसादपूर्ण उदासीको भावनाका लागि अंग्रेजी भाषामा ‘मेलन्कली’ भन्ने शब्द प्रयोग हुन्छ । मदमत्त राज्यसत्ता आफ्नै जनतासँग कतिसम्म क्रूर हुन सक्छ भन्ने शासकीय नृशंसताको उदाहरण ‘मधेसको ९/११’ परिघटना पनि हो । आजभोलि सूर्यास्त हुन लागेको आकाशमा मेघ र प्रकाशबीचको घामछायाको खेलमा अन्ततः अँध्यारोले जित्छ । बल्लतल्ल देखिएको चन्द्रमालाई पनि आवारा बादलले छोपेपछि अँध्यारो गहिरिन्छ । उदासी गहिरिन्छ, मेलन्कली बढ्छ । यस्तै एउटा विषादयुक्त साँझमा गीतकार सागरका शब्दहरूलाई अनुराग सैकियाले संगीतबद्ध गरेको एवं अनुभव सिन्हाले संयोजन गरेको ‘र्‍याप सङ’ मनोज वाजपेयीको स्वर एवं प्रस्तुतिमा अवलोकन गर्ने संयोग जुट्न पुगेको थियो । घरबार छोडेर रोजीरोटीका लागि मुम्बई महानगरमा संघर्षरत भोजपुरीभाषी प्रवासी मजदुरको जीवनमा महाव्याधिले थपेको संकटलाई ‘बम्बई में का बा, इहवाँ का बा...’ प्रस्तुतिले सुरुचिपूर्ण तवरले समेटेको छ । भाषा र परिवेश फरक भए पनि जमुनाहा एवं गौरीफन्टा नाका हुँदै संसारमै दोस्रो सबभन्दा धेरै महाव्याधिको प्रकोपबाट ग्रस्त देशतिर लाग्न लामबद्ध नेपालीहरूको कथा ‘बूढ पुरनिया माई बाबू, ताल तलइया छूट गईल / केकरा से देखवाई मनवा, भीतरे भीतर टूट गईल...’ भन्दा खासै फरक छैन ।

समग्र साहित्यबारे एउटा प्रख्यात उक्ति छ । अपरिचित व्यक्ति बस्तीमा आयो वा रैथाने कतै यात्रामा निस्क्यो भने कथ्य बन्छ । त्यस्तो व्यक्तिको दृश्यावली अवलोकनलाई निबन्धमा समेट्न सकिन्छ । अन्य पात्रसँग भएका आकस्मिक भेट एवं संवादलाई अनुभवको आलोकमा गहनता तथा विस्तार हेरी कथा वा उपन्यासमा वर्णन गर्ने गरिन्छ । तर, कुन त्यस्तो भाव छ जसलाई कविताबाहेक अर्को कुनै लेखन विधिले न्याय गर्न सक्दैन ? अंग्रेजी स्वच्छन्दतावादका कवि पीबी शेलीले गहिरो उदासीलाई मधुरतम गीतको स्रोत ठहर्‍याएका छन् । लगभग त्यस्तै राय हिन्दी भाषाका छायावादी कवि सुमित्रानन्दन पन्तको छ, ‘वियोगी होगा पहला कवि, आह से उपजा होगा गान / उमड कर आँखों से चुपचाप, बही होगी कविता अनजान !’ झन्डै चार दशकअगाडि कविवर माधवप्रसाद घिमिरेले एउटा अन्तरंग कुराकानीमा त्यस्तै भाव व्यक्त गरेका थिए, ‘पीडालाई व्यक्त गर्न पद्यजत्तिको सशक्त माध्यम अर्को हुन सक्दैन ।’

विषादको उदात्तीकरण

कुरा सन् १९८३–८४ तिरको हुनुपर्छ, त्यसैले अनुस्मरणका सबै विवरण प्रामाणिक होइनन् । भनाइ नै छ, उमेरसँगसँगै व्यक्तिको संस्मरणमा अतिशयोक्तिको प्रयोग एवं बढाइचढाइ कुरा लम्ब्याउने प्रवृत्ति बढ्दै जान्छ । वार्तालापको सत्यापनका लागि दिवंगत स्रष्टाको कुनै कृतिलाई उद्धृत गर्न सकियो भने बेग्लै कुरा, नभए जुनसुकै व्यक्तिगत स्मरणलाई लेखक वा वाचकको निजी बयान मात्र ठहर्‍याउनु युक्तिसंगत हुन्छ । कविवर घिमिरे आफ्नो अभिभावकीय जिम्मेवारी निर्वाह गर्ने सिलसिलामा अलिगढ मुस्लिम युनिभर्सिटी आइपुगेका थिए । अग्रज नेपाली विद्यार्थी भएका नाताले उनलाई आतिथ्य प्रदान गर्ने सौभाग्य पंक्तिकारलाई प्राप्त भएको थियो । हप्तादिनजति सँगै खाने र एउटै कोठामा सुत्ने संसर्गमा नानाभाँतिका कुरा हुन्छन् । त्यस बेलासम्म पंक्तिकारको नेपाली अध्ययन सीमित थियो । तर, कविवरको नाउँ भने अपरिचित थिएन । राजाको प्रशस्तिलाई अनिवार्य राष्ट्रगान तुल्याउनुभन्दा पहिले सन् १९६० को दशकमा समेत नेपालीय मिथिलाका केही विद्यालयमा पुलकित लालदास रचित सरस्वती वन्दना ‘वीणा–पुस्तक–धारिणी भगवती, ब्राह्मी जगद्व्यापिनी / विद्या–बुद्धि–प्रदायिनी, शुभमयी, हो अज्ञता–नाशिनी...’ पछि कविवरको ‘गाउँछ गीत नेपाली ज्योतिको पंख उचाली’ रचनालाई राष्ट्रिय गीतका रूपमा गाउन लगाइन्थ्यो । ‘अर्थ नबुझे पनि हामी खुसीसाथ गाउँथ्यौं’ भन्ने स्वीकारोक्तिमा कविवरको टिप्पणीले पद्यको शक्तिलाई सरल शब्दमा व्याख्या गर्छ, ‘गाउनलाई अर्थ बुझ्न जरुरी छैन, शब्दको अन्तर्निहित संगीत ठम्याउन सके पुग्छ’ ।

प्रत्येक शब्दले सन्दर्भअनुसार अर्थ्याउन सकिने एक वा सोभन्दा बढी प्रयोजन बोकेका हुन्छन् । भाषाशास्त्रीहरूले त्यसलाई शब्दकोशमा समेट्छन् । शब्दहरूको संयोजनले दिने अभिव्यक्तिको मानकीकरण वैयाकरणहरूले तय गर्छन् । अध्ययन, अवलोकन, अनुभव एवं अनुभूतिको आलोकमा गद्यकारले पठनीय रचना सृजना गर्न सक्छ । पद्यकार हुन सायद त्यतिले पुग्दैन । शब्दले बोक्ने चित्र, स्वर एवं भावसँगसँगै त्यसको अन्तर्निहित संगीतलाई ‘सुन्ने’ क्षमता भएन भने कविता प्रस्फुटित हुँदैन । पंक्तिहरू कविका हातबाट कोरिए पनि कविताको स्रोत संवेग हुन्छ । सिद्धहस्त कविसँग कविताको परिभाषा सोध्ने धृष्टता इन्जिनियरिङको एउटा विद्यार्थीले मात्र गर्न सक्थ्यो । कविवरले भने, कुनै बेला शिक्षक पनि रहिसकेकाले, झर्को नमानी लामो प्रवचन दिएका थिए । दैनन्दिन उपयोगिता बाहिरका सम्झनाहरू धमिला हुँदै जाने रहेछन् । स्मृतिको पुनर्रचना गर्ने हो भने सायद उनले विषाद, आकुलता, आवेग, निराशा, पीडा, अतृप्ति एवं आशाजस्ता संवेदनाहरूको सम्मिलित मनोदशालाई श्रेष्ठ कविताको उत्प्रेरक ठहर्‍याएका थिए । त्यस्तो जटिल मनोभावलाई शाब्दिक अर्थले मात्र अभिव्यक्त गर्न सकिँदैन । कुशल शब्दशिल्पीले पठनीय वा गेय प्रकृतिको गद्य र पद्य दुवै विधामा उत्कृष्ट रचना सृजना गर्न सक्छ । तर, त्यत्तिकैमा कविता भने बन्दैन । त्यही कुरा कवि मित्र विप्लव प्रतीकले पंक्तिकारलाई सन् १९९० को दशकमा बडो छोटो वाक्यमा सम्झाएका थिए, ‘कविता सुन्दा उम्दा लाग्नुपर्दछ !’

अभिभावकीय जिम्मेवारी पूरा भएपछि कविवरलाई शिष्टाचार भेटका लागि लगिएका व्यक्तिहरूको सूचीमा वरिष्ठ प्राध्यापकहरूका साथै विश्वविद्यालयका तत्कालीन उपकुलपति सैयद हामिद पनि थिए । वार्तालापको भाषा स्वभावतः हिन्दी थियो । कविवरको लवज ठम्याउँदै सैयद साहबले त्यो भोजपुरीको नजिक रहेको टिप्पणी गरे । उनले त्यो कुरा स्वीकार गर्दै भने, बनारसमा बसेको छात्रको हिन्दीमा भोजपुरी एवं अवधी भाषाको बराबर प्रभाव हुन्छ । फर्किने बेलामा पंक्तिकारलाई भनियो, ‘तपाईंको लवजको स्थानिकता ठम्याउन गाह्रो भयो । आम तराईवासीभन्दा फरक छ ।’ पंक्तिकारले भाषा गोरखापत्र एवं उच्चारण रेडियो नेपालबाट सिकेको हो भन्ने स्वीकारोक्तिमा उनको टिप्पणी थियो, ‘त्यही भएर तपाईंको भाषामा गणितको अंकवाचन गरेको जस्तो निश्चयात्मकता छ ।’

उमेरसँगै पछुतोहरूको सूची पनि लम्बिँदै जाने रहेछ । अहिले भएको भए त्यस टिप्पणीको व्याख्या सोधिन्थ्यो होला । औपचारिक भाषामा निश्चयात्मकता सायद स्वाभाविक हो । साहित्यमा भने वाक्य मात्र होइन, शब्दसमेतलाई एकभन्दा बढी अर्थको भारी बोक्नुपर्ने हुन्छ । सिद्धहस्त गद्यकार एवं नोबेल पुरस्कार विजेता भीएस नयपालले त्यही कुरा अझ कडासाथ भनेका छन् । उनको विचारमा एउटा वाक्यले एउटा मात्र अर्थ बोक्ने अनुच्छेद लेख्नु पाठकको समय एवं प्रकाशकको कागज र मसीको बरबादी हो । हुन पनि त्यस्ता एकलअर्थीय वाक्यहरूको सही ठाउँ प्रतिवेदन हो, साहित्य होइन ।

अभिव्यक्तिको राजनीति

भेटघाटको कुनै कार्यक्रम नभएको एक दिन कविवरले कोठामा असरल्ल छरिएका पुस्तकहरूमध्ये हरिमोहन झा कृत मैथिली भाषाको कालजयी कृति ‘खट्टर कका’क तरंग’ भेट्टाएछन् । पढ्न गाह्रो भएको तर सुनाइए बुझ्न सकिने भाव व्यक्त गरेपछि त्यस संग्रहका केही रचना पाठ गरिएको थियो । हरेकपटक त्यो पुस्तक पल्टाउँदा त्यस बखत उनले गरेको टिप्पणीका नयाँनयाँ अर्थ खुल्छन् । शब्दहरू पंक्तिकारका हुन् । व्याख्या भने स्मरणमा आधारित छ । समयसापेक्ष रचना पठनीय हुन्छन् । अवसाद जगाउन सक्छन् । जुरुकजुरुक उचाल्न सक्छन् । कालनिरपेक्ष कृतिलाई रुचिकर बनाउनु कठिन काम हो ।

अधिकांश पाठक एवं श्रोता आफ्नो समयलाई नाघ्न (ट्रैन्सेन्ड) अनिच्छुक हुन्छन् । कालचेतना एवं कालातीत भावलाई एकसाथ समेट्न सकेको कृतिलाई मात्र कालजयी भन्न सकिन्छ । कविवरले उद्धरण गरेका संस्कृत श्लोकहरू सम्झिन सकिएन । सम्झेको के हो भने, कृतिमा प्रयोजन भएर पुग्दैन, कालजयी ठहरिन सौन्दर्य चाहिन्छ । सत्य र शिवको सुन्दरताको अन्तिम रूप नृत्य र संगीत हो । शब्दको अन्तर्निहित सुर नसमातीकन उत्कृष्ट रचना सम्भव छैन । र, वेदनाले निःशब्द भएका बेला शब्दको सुर सुनिन्छ । कविता असह्य पीडा वा अकल्पनीय उन्मादलाई सांस्कृतिक रूपमा उच्च वा सामाजिक रूपमा अधिक स्वीकार्य तवरले उदात्तीकरण (सब्लमेसन) गर्ने अभिव्यक्ति हो । त्यस्तो भावनात्मक संवेग अनुभूति नगरेको रचनाकारले कविता ‘लेख्न’ त सक्छ, कोर्न भने सक्दैन ।

प्रगतिशील शब्दकर्मीहरूमा सोद्देश्य साहित्यप्रतिको आसक्तिलाई ठम्याएर होला, मार्क्सवादी विचारका धारिला स्रष्टा बर्तोल्त ब्रेख्त विलौना गर्छन्, ‘कस्तो समय आएको हो / रूखहरूका बारेमा कुरा गर्नु अपराध हुन गएको छ / किनभने त्यस्तो कर्मले अन्य धेरै भयावह घटनाका बारेमा मौनतालाई जनाउँछ ।’ के अँध्यारो कालमा गीत गाइनेछन् भने आफ्नो प्रश्नको जवाफ पनि ब्रेख्त स्वयं दिन्छन्, ‘हो, गाइनेछन् अँध्याराका गीतहरू !’ अँध्याराका गीतहरूमा पनि प्रयोजनविहीन सौन्दर्य सम्भव छ । नव–प्रगतिवादीहरूको स्वभावजन्य निग्रह (रेजर्भेसन्स) बुझ्न सकिन्छ, तर जस्तोसुकै विभेदजन्य दमन एवं क्रूरताका बीच पनि प्रकृतिमा वीर तथा बीभत्सबाहेकका रसहरूको प्रवाह रोकिँदैन । सोद्देश्य साहित्य अतिरेक अभिव्यक्ति हो । कुनै पनि रचना यदि निरुद्देश्य छ भने त्यसलाई साहित्यिक कृति भन्न मिल्दैन । व्यक्तिवादमा ‘स्वान्त सुखाय’ पनि एउटा उद्देश्य नै हो । र, त्यस्तो कृत्यले अरू कसैको अहित नगरेसम्म कृतिको अन्तर्निहित सौन्दर्यलाई राजनीतिक पूर्वाग्रहका भरमा बेवास्ता गर्नु उचित हुँदैन ।

कविवर आफ्नो कालखण्डका विलक्षण शब्दसाधक थिए भन्नमा कसैको दुईमत देखिँदैन । यथास्थितिको पृष्ठपोषण उनका रचनाहरूको मूल उद्देश्य नभएर उपोत्पाद (बाइप्रडक्ट) पनि हुन सक्छ भन्ने शंकाको लाभसमेत दिन हच्किने उनका आलोचकहरू के बिर्सिदिन्छन् भने, ‘राष्ट्रकवि’ उपाधि एवं प्रज्ञाप्रतिष्ठानको कुलपति पदभन्दा नेपाली साहित्यमा उनको योगदान सायद केही न केही बढी नै छ, कम त कदापि होइन । पिटर हैन्डलाई सर्बिया नरसंहारको क्षमायाचक ठान्नेहरू छन् । उनलाई सन् २०१९ मा साहित्यको नोबेल पुरस्कार प्रदान गरिएको थियो । भीएस नयपाल इस्लामप्रतिको घृणा एवं हिन्दुत्व राजनीतिप्रतिको आसक्तिका लागि कुख्यात छन् । उनी पनि नोबेल पुरस्कार विजेता हुन् । वर्ग वा वर्णविरोधी क्रियाकलापमा प्रत्यक्ष सहभागिता देखिएकामा बाहेक कुनै पनि स्रष्टालाई राजनीतिक आस्थाका आधारमा मात्रै साहित्यिक रूपले निन्दा गर्नु अनुपयुक्त हुन्छ । बीपी कोइरालाका कथाहरूमा मधेसी पात्रहरू निरीह, दयनीय, आकर्षक तर अविकसित एवं अपरिष्कृत देखिन्छन् । त्यसले उनको रचनाको महत्त्वलाई घटाउँदैन । अलिगढपछि कविवरसँग छलफल गर्ने संयोग कहिल्यै जुरेन, तर उनका सम्झनाहरूसँग गरिने संवाद शब्दको अन्तर्निहित सुर समात्ने प्रयत्न जारी रहेसम्म कहिल्यै सकिनेछैन ।

(बुधबार प्रकाशित हुने कान्तिपुरको प्रिन्ट संस्करणबाट ।)

प्रकाशित : आश्विन ६, २०७७ १९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?