आमाले बिगारेका छोराछोरी !

१२ कक्षा पढ्ने नानी अबेरसम्म सुतिनन् भनेर हजुरआमा, फुपू, ठूलीआमा, काकीलगायत एकस्वरमा भन्दै थिए, ‘आमाले नसिकाएर यस्तो गरेकी !’ आमाले त लौ चाँडै सुत्न सिकाइनछिन्, घरभरिका त्यत्रा मानिसले सिकाउँदा फरक पर्थ्यो र !
कल्पना भण्डारी

बच्चा हुँदादेखि नै गाउँघरतिर सुन्दै आएको वाक्यांश हो, ‘आमाले बिगारेका छोराछोरी’ । सानै हुँदा वल्लोपल्लो घर, मामाघर, फुपूघर जता गए पनि सबैका मुखबाट सुनिन्थ्यो यो वाक्यांश । अरूका छोराछोरीप्रति चित्त बुझेन वा आफूले भनेअनुसार उनीहरू चलेनन् भने कुनै सोचविचार नगरी फ्याट्ट भनिन्थ्यो ‘जस्ती आमा, त्यस्तै छोराछोरी ! छोराछोरीलाई पनि आफूजस्तै बनाई !’

आमाले बिगारेका छोराछोरी !

‘आमाले बिगारेका छोराछोरी’ भन्ने लाञ्छना मेरी जिजुआमा, हजुरआमा, आमा हुँदै मसम्म आइपुग्दा पनि सुनिइरहेकै छ । मात्रा र स्थान फरक होला तर आमाहरूमाथिको यो लाञ्छनाले अहिलेसम्म पनि निरन्तरता पाइरहेकै छ । सुन्दा अशिष्ट र भद्दा नसुनिए पनि यो वाक्यांशले महिलाहरूलाई मानसिक पीडा भने अवश्य दिन्छ । भन्नेलाई त ‘गल्ती देखाइदिएको त हो नि, कुन ठूलो कुरा हो र’ भन्ने लाग्ला, तर सम्बन्धित व्यक्तिलाई यसले निकै घोच्ने गर्छ, आजीवन मनमा गडिबस्छ । मैले धेरै आमालाई भेटेकी छु, जो पचास–साठी वर्षअगाडि आफूमाथि पोखिएका यस्ता भनाइ अहिले पनि मनमा गाँठो परेको सुनाउनुहुन्छ, अझैसम्म पनि ती नमिठा बोलीले आफूलाई पोलिरहेको बताउनुहुन्छ । पनाति–पनातिना घरभरि हुने जिजुआमाहरू पनि भन्नुहुन्छ– फलानोले मलाई त्यो बेला यसो भनेको थियो र त्यो मैले अहिलेसम्म भुल्न सकेकी छैन । यसैबाट अनुमान लगाउन सकिन्छ– सुन्दा साधारण लागे पनि कुनैकुनै भनाइ विषवाण भएर मनमा गड्दो रहेछ ।

म आफू चालीस वर्षको उमेर कटिसकें, दुई बच्चाकी आमा पनि बनिसकेकी छु र यो नमिठो वाक्यांश कहिलेकाहीँ सुन्ने गरेकी छु । यो लाञ्छना लगाउन कुनै ठूलो घटना र आधार चाहिँदैन, प्याट्ट लागिहाल्छ । जस्तै : अहिलेका प्रायः बच्चा खाना खान त्यति मन गर्दैनन्, किचकिच गर्छन्, आमाहरूको धेरै समय बच्चाहरूलाई खुवाउँदै बित्छ । बच्चाले राम्रोसँग खाएन भने पनि आमाले झेल्नुपर्ने शब्दवाण यही हो– आमाले बिगारेरै त त्यस्तो भएको हो नि ! ए बाबा, कुन आमालाई आफ्नो सन्तान बिगार्न मन हुन्छ ? बिग्रेपछिको परिणाम त आफैंले भोग्नुपर्छ । यहाँनेर दुःख पाउने त आमा नै हुन् भनेपछि आफ्नो सन्तानलाई संसारकी कुन आमाले बिगार्लिन् र ? छोराछोरी राम्रो पढेनन्, खर्चालु भए, घरको काम केही गरेनन्, अरूले खोजेजस्तो मानसम्मान दिन जानेनन्, रूखो र अश्लील शब्द बोले, कुलतमा लागे, आपराधिक क्रियाकलापमा सामेल भए, आफ्नो व्यवहार राम्रोसँग गर्न सकेनन् भने प्याट्ट भनिहालिन्छ– ‘आमाले बिगारेर यस्तो भयो ।’ सबैभन्दा पहिला परिवारभित्रकाले नै यसो भन्न थाल्छन् अनि यो नातागोता र छरछिमेकीसम्म पुग्छ । कसैले ‘बाबुले बिगारेका छोराछोरी’ भनेको मैले आजसम्म सुन्न पाएकी छैन ।

सत्य के हो भने, अपवादका दुई–चार घटनाबाहेक आफ्ना छोराछोरीलाई न आमाले बिगार्छन् न त बाबुले नै । संसारका कुन आमाबुबा होलान् जसले आफ्ना छोराछोरीलाई नराम्रो बाटोमा लाग्न प्रेरित गर्छन् ? सबै आमाबुबालाई आफ्नो सन्तान सही बाटोमा लागेर प्रगति गरेको हेर्ने नै सपना हुन्छ । हो, छोराछोरीलाई हुर्काउने, बढाउने, शिक्षादीक्षा दिने क्रममा कतै तारतम्य नमिल्न सक्छ; एकातिर राम्रो गर्छु भन्दा अर्कातिर सन्तुलन बिग्रन सक्छ; अर्कातिर मिलाउन खोज्दा अर्को पाटो छायामा पर्न सक्छ, जुन स्वाभाविक हो । अहिलेका सबै अभिभावकलाई छोराछोरीलाई सही तरिकाले हुर्काउने, बढाउने काम ठूलै चुनौती हो । यो चुनौती कसैले सहजै रूपमा निर्वाह गर्न सक्छन् त कसैलाई कठिन हुन पुग्छ । हाम्रा हजुरआमा र आमाहरूको समयभन्दा हाम्रा उमेरका अभिभावकहरूमा छोराछोरीलाई हुर्काउने र सन्मार्गमा लगाउने काम थप चुनौतीपूर्ण बन्दै गएको छ ।

समयसँगै समाजमा विभिन्न विकृति र विसंगति बढ्दै छन् । योसँगै सन्तानलाई मार्गनिर्देशन गर्न कठिन हुँदै छ । एकातिर अभिभावकहरू बेफुर्सदी हुनु, अर्कातिर बच्चाहरूमा इन्टरनेटको पहुँच बढ्दै जानुले पनि थप जटिलता नल्याउला भन्न सकिन्न । यसरी हेर्दा अबका दिनमा सन्तान हुर्काउने दायित्व दुवै अभिभावकले निर्वाह गर्नैपर्छ । पुरुषहरूले ‘म कमाउने भएपछि मेरो बाँकी जिम्मेवारी केही हुँदैन’ भनेर पन्छिन पाइने अवस्था छैन । म केही समयअगाडि एक सहरिया आफन्तकहाँ गएकी थिएँ । त्यहाँ १२ कक्षा पढ्ने नानी अबेरसम्म सुतिनन् भनेर हजुरआमा, फुपू, ठूलीआमा, काकीलगायत सबै जना एकस्वरमा भन्दै थिए, ‘आमाले नसिकाएर यस्तो गरेकी ! पुलपुल्याएर बिगारी ।’ आमाले त लौ सिकाउनै सकिनछिन् चाँडै उठ्नलाई, घरभरि त्यति धेरै मानिस रहेछन्, तिनले नै सिकाएका भए के फरक पर्थ्यो र ! पछि बुझेको, नानीकी आमा गृहिणी हुनुहुँदो रहेछ, बाँकी अरू जागिरे । त्यो थाहा पाएपछि म छक्क परें ।

गाउँमा मेरो चिनजानको एक परिवारका बुबा विदेशमा छन्, बच्चाहरू आमासँग छन् । पढ्दै गरेकी छोरी खै कताबाट कुलतमा फस्न पुगिन् अनि पढाइ नै छाडेर पूरै आवारा भइन् । घरबाट पैसा, गरगहना सबै हराउन थाले । गाउँमा बस्ने आमालाई यो सपनाजस्तै भयो, उनी साह्रै विचलित भइन् । पीडाले पोलिरहेका बेला आफन्त र छिमेकीहरूले भन्न थाले– ‘बाउले विदेशबाट दुःख गरेर पठाएको पैसा आमाले भनेजति दिई अनि पैसाले बिगारी !’ यो कुरा केही हदसम्म ठीकै भए पनि अब कारण खोज्नुभन्दा समाधान र सहयोग चाहिने समय थियो । गाउँमा भए पनि आमाले पुनःस्थापना केन्द्रबारे सुनेकी रहिछन् र सबैसँग हारगुहार गरेर नानीलाई छ महिनाका लागि त्यहाँ राखिदिइन् । त्यो अवधि सकिएपछि नानी घर आइन् । उनलाई पनि आफ्नो गल्ती महसुस भयो । पढाइलाई निरन्तरता दिइन्, गाउँमा अनेक नराम्रा टीकाटिप्पणीले गर्दा नानीलाई घरबाट कतै निस्कन मन लागेन । फलस्वरूप चार वर्षमा घोटिएर स्नातकको पढाइ सकिन् अनि लोकसेवामा नाम निकालेर सरकारी सेवामा प्रवेश गरिन् । त्यो बेलासम्म पनि बुबा विदेशमै थिए । त्यतिखेर ती नानीलाई कसले सपार्‍यो त ? बिगार्दा त ‘आमाले बिगारेकी थिइन्’ !

बच्चाचाहिँ आमाबुबा दुवैको हुने, सही बाटोमा लगाउन नसक्नेचाहिँ आमा मात्र ? यो कदापि हुन नसक्ने कुरा हो । दुवै जनाको उचित रेखदेखमा बच्चाहरूलाई सही बाटोमा लगाउन भरमग्दुर प्रयास गर्ने हो । बच्चाहरूले बाटो बिराए भने त्यो पीडा आमालाई मात्र हुने हैन, बुबालाई पनि उत्तिकै हुने हो । यसरी आमाहरूलाई लाञ्छना लगाइरहँदा बुबाहरूले पनि त्यसको प्रतिवाद गर्दै यस्ता कुराले आमाहरूको मानसिकतामा पर्ने नकारात्मक असर र सन्तानहरूप्रति गरेको योगदानको अवमूल्यन भई यसबाट सिंगो समाजमा पर्ने असरबारे पनि सोच्नुपर्ने हुन्छ । अबका आमाहरूले कुनै पनि छोराछोरी नबिगारून्, न त बुबाहरूले नै... ।

[email protected]

प्रकाशित : आश्विन ६, २०७७ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?