२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

कोरोनापछिको सांसारिक परिदृश्य

अब परीक्षा जनताकै हुन बाँकी होला— यस्तै सहँदै, भोग्दै बस्ने हो कि हस्तक्षेपका सिर्जनशील लोकतान्त्रिक विधिप्रति बढी चनाखो र सक्रिय हुने हो ?
विष्णु सापकोटा

काठमाडौँ — कोरोना भाइरसका कारण भएका लाखौं मानवीय जीवनको अन्त्य हुने शृंखला प्रत्येक दिन थपिने गणितका संख्याका रूपमा मात्र बुझिने विवशता अहिलेको संसारसामु छ । यसैका कारण सिर्जित कहालीलाग्दो आर्थिक असर र करोडौंको जीवनबाट खोसिएको जीविकोपार्जनको सवाल बोध गर्नै गाह्रो आयतनको छ ।

कोरोनापछिको सांसारिक परिदृश्य

संसारभर कोरोना नै प्रमुख समाचार हुन थालेको सात महिना कटिसक्यो । हरेक दिनको समाचारमा कोरोना उपस्थित भइरहे पनि कहिलेकाहीँ यस्तो लाग्छ, कोरोनाले हामी प्रत्येक व्यक्तिको निजी संसारमा पारिरहेको बहुआयामिक असरको परिदृश्य कुनै श्रव्य–दृश्य समाचारमा अटाउन सम्भव नै छैन । जसले जसरी यसको असर भोगेको छ, उसैले मात्र त्यसको गाम्भीर्य बुझ्न सक्ने वा पर्ने स्थिति बनेको छ ।

मान्छेको मृत्यु केवल अर्को थपिएको एक संख्या भएको मात्र होइन, अहिले बाँचिरहेकाहरू पनि आफू कहिले त्यही संख्यामा जोडिनुपर्ने हो भन्ने भयमा छन् र वर्तमानदेखि भविष्यसम्म फैलिएको व्यक्तिगत जीविकोपार्जन र पेसाको अनिश्चितता धेरैका लागि आफ्नो दिमागले थेग्ने औसत क्षमताभन्दा बढीको भइराखेको छ । यसको असरले खोसिसकेको करोडौंको जीविकोपार्जन र व्यवसायका दुःखान्त समाचार पनि अब केवल नयाँ संख्या मात्र बुझिन थालेका छन् । महामारी त विगतमा पनि धेरै आएका थिए, तर तीन–चार दशकमा उर्लेको प्रविधिको वेगले जसरी संसार नै भूमण्डलीकृत ‘एउटा गाउँ’ भएको थियो, त्यसले गर्दा यो महाव्याधि सकिएपछि पनि भविष्यको संसारले कस्तो स्वरूप ग्रहण गर्ला भनेर आकलन गर्न कठिन छ ।

कोरोनाका कारण मरेर गएकाको मर्म त तिनका आफन्तसँगै रहने भयो, यसबाट बच्न सक्नेमध्ये धेरै र खास गरी युवा पुस्ताका लागि यसको असर सम्पूर्ण जिन्दगीभर पर्ने देखिन्छ । अब धेरैले आफ्नो भविष्यका ‘सपना’ पुनर्परिभाषित गर्नुपर्ने भएको छ । साधारण समयमा आम मानिस आफ्नै जीवन र जगत्का अर्थ र उद्देश्यबारे धेरै सोच्ने गर्दैनन् । त्यस्तो काम त दार्शनिक वा साधुसन्तको हो भन्ने आम धारणा हुन्छ । अझ कतिपयले त ठान्ने गर्छन् (अब, ठान्ने गर्थे भन्नुपर्ला)— जीवनमा ‘प्रगति’ गर्नका लागि यस्ता ‘निरर्थक’ विषयमा घोत्लिनु हुँदैन । तर जब कोरोनाले संसार नै ठप्प बनायो र मान्छेजति सबैलाई स्तब्ध पार्‍यो, त्यसपछि धेरैलाई आखिर यस पृथ्वीमा मान्छेको हैसियत के रहेछ त भनेर घोत्लिने कुनै न कुनै खालको ‘दार्शनिक’ पनि बनायो । दार्शनिक नै नबनाए पनि त्यस्ता प्रश्नको मर्मतर्फ आकर्षित गर्‍यो । जो मानिस पहिल्यै धार्मिक थिए, तिनीहरू अझ बढी आफ्नो आस्थाप्रति कट्टर भए होलान् । कतिपयले कोरोनालाई आफ्नो आस्थाको थप प्रचार गर्न पनि प्रयोग गरेका होलान् । कोरोनाका मानवीय, आर्थिक र मनोवैज्ञानिक क्षति त भइहाले, यसले जीवनलाई हेर्ने र बुझ्ने हाम्रा व्यक्तिगत मान्यतालाई पनि उथलपुथल पारेको छ ।

नेपालकै धेरै युवाले अब आफ्ना सपना कसरी सजाउने र भविष्य कसरी बुन्ने भन्नेबारे नयाँ दृष्टिकोणबाट सोच्नुपर्ने भएको छ । ती लाखौं बालबालिका र युवा जो सात–आठ महिनासम्म भौतिक रूपमा स्कुल–कलेज जान पाएका छैनन्, उनीहरूमा कस्तो मनोविज्ञान हुर्किरहेको होला ? पाँच–छ वर्षका बालबालिकादेखि बाइस–पच्चीस वर्षसम्मका युवायुवती, जसका सबै सपना पहिलेको संसारको संरचनामा आधारित थिए, अब ती सबैलाई नयाँ बन्ने सांसारिक ढाँचामा बदल्नुपर्नेछ । जसरी संसार सबै हिसाबमा वर्गीय छ, त्यसरी नै कोरोनाको असर झन् बढी वर्गीय त हुने भइहाल्यो । हरेक विपत्मा बढी मूल्य चुकाउनुपर्ने विपन्न वर्गले नै हुन्छ । तर आर्थिक हैसियतका बावजुद यसका असर सर्वत्र रूपमै कम मार्मिक हुनेवाला छैनन् । केही महिनामा भ्याक्सिन आउला, या सँगसँगै यो अन्य कारणले पनि कुनै दिन त नियन्त्रणमा आउला, तर अहिलेको यो कोरोना ‘जेनरेसन’ का युवाले यसको असर एक वा अर्को रूपमा पछिसम्म झेल्नुपर्ने निश्चित नै छ ।

पचास–साठी लाख जनशक्ति अर्को देशमा काम गर्न गइरहेको अहिलेको नेपालको अवस्थामा, परदेशी हुन विवश ती सबै नागरिकलाई ‘घर’ को अर्थ कोरोनाभन्दा पहिले जे थियो अहिले त्योभन्दा फरक भएको छ । पहिले केवल घर छाड्नुपरेको पीर हुन्थ्यो, अब यो आपत्बाट गुज्रेपछि मान्छेलाई आफ्नो थातथलो किन प्यारो हुँदो रहेछ त भन्नेबारे गहिरो अनुभूति भएको हुनुपर्छ । रोजगारी गुम्ला वा रहला, त्यो एउटा विषय भयो । र≈यो नै भने पनि विदेशमा श्रमिकका रूपमा काम गर्न जानु भनेको जस्तो परिस्थिति पर्दा पनि एक्लै हुनु रहेछ भन्ने बोध अहिले सबैलाई भयो नै होला । आपत् पर्दा अर्को देशका व्यक्तिले परदेशीलाई कसरी भेदभाव गर्दा रहेछन् भन्ने अनुभव खाडी, मलेसियाजस्ता मुलुकमा भएका नेपालीलाई मात्र होइन, ‘विकसित’ पश्चिमा मुलुकमा पनि कम भएको छैन भन्ने त्यसै देख्न सकिन्छ ।

विगतका शताब्दी र दशकमा भएका प्रयासका कारण मान्छेभित्रको नस्लीय अहंकार र जातीय विभेदलाई जुन हिसाबमा सम्बोधन हुँदै थियो, कोरोनाले फेरि मान्छेलाई आफ्नो ‘फर्म’ मा ल्याएका दृष्टान्त पनि धेरै ‘सभ्य’ मुलुकमै देखिएका छन् । त्यसमाथि, सक्नेजति देशले आफ्ना नागरिकलाई जहाँ भए पनि देश फर्क भनेर आह्वान मात्र गरेनन्, आफैं जहाज लिएर गए, स्वागत गर्दै फर्काए । तर नेपालजस्ता आर्थिक रूपमा विपन्न र राजनीतिक नेतृत्वको हिसाबमा गैरजिम्मेवार व्यक्तिहरूले शासन गरेको देशका जनताका लागि कमजोर देशको नागरिक हुनुको अर्थ थप अर्को आयाममा निर्ममतापूर्वक प्रकट भयो । लाखौं नेपालीले पहिले राष्ट्रियतालाई जसरी बुझ्थे, अहिले त्यो दृष्टिकोणमा फरक आएको हुन सक्छ । कमजोर देशका नागरिक भई महाव्याधिमा पराई भूमिमा बसेर विभेद भोग्नुपर्दाको अनुभूतिले ।

वर्गीय रूपमा सम्पन्नमध्ये दसौं हजार नेपाली युवा अमेरिका, बेलायत, भारत, जापान, अस्ट्रेलिया लगायतमा पढ्न गइसकेका हुने थिए, यो शैक्षिक सत्रमा पनि । नेपालमा एउटा त्यस्तो युवाको वर्ग छ, जसले बाह्र कक्षा वा ए लेभल सकेपछि नेपालमै पढ्नेबारे कहिल्यै सोचेकै हुँदैनथ्यो । सायद त्यो वर्गका धेरैलाई त बाहिर पढ्न गएपछि नेपाल फर्कने योजना बनाउने सोचसम्म हुँदैनथ्यो । अब त्यो क्रम अस्थायी रूपमा भए पनि भत्किएको छ । कोरोना चर्किन थालेपछि अमेरिकाले त अनलाइन पढाइ गर्ने सबै विदेशी विद्यार्थीलाई आफ्नै देशमा फर्काउने कोसिस पनि गर्‍यो । यद्यपि त्यसको धेरै विरोध भएपछि र मुद्दा नै परेपछि उक्त कदम फिर्ता लिइयो । यी सबै कुराले अहिलेको युवा पुस्तालाई के महसुस गराएको हुनुपर्छ भने, आखिर आफ्नो हक भएको ठाउँ भनेको त फेरि पनि आफ्नो नागरिकता भएको यही देश मात्रै हो । कुनै पनि बेला केही बिग्रियो भने, आखिर आफूलाई चाहिने त उही आफ्नै देश नै रहेछ ।

विज्ञान प्रविधिमा विकासका कारण मान्छेले ‘प्रकृतिमाथि विजय प्राप्त गरेको’ जस्ता जुन ‘डिस्कोर्स’ थिए, अब धेरै मान्छेले पृथ्वीमा मान्छेको ‘श्रेष्ठता’ को औकात पनि बुझ्न पाएका छन् । जीवनमा जे कुरालाई स्थायित्व भनिन्थ्यो वा स्थायित्व भनेर जस्तो अर्थमा बुझिन्थ्यो, अब त्यो फेरिएको छ । धनसम्पत्तिप्रति मान्छेका धारणा पनि केही फेरिएका होलान् । कोरोनाको प्रभाव सुरु भएपछिका केही हप्ता त यसबाट कसरी बाँच्नेभन्दा धेरै परको सोच्ने कुरै भएन । त्यसपछि जब महिनाहरू बित्दै गए, मान्छेले यसको दूरगामी असर बढी बुझ्न थाले । अब त यो अझै केही महिनासम्म रहने वा वर्ष कटाउने जसरी निश्चित भएको छ, यसले हामी सबैका निजी संसारमा सधैंभरिका लागि के असर राख्नेछ भनेर बढी चिन्ता हुनु स्वाभाविकै हो । हामी उभिएको जमिनअनुसार यसका असरका प्रकृति र मात्रा फरक त हुने भइहाले, तर के निश्चित छ भने, अब कोरोना नियन्त्रण हुन थालेपछि पनि अहिलेको भूमण्डलीकृत संसारका धेरै आयाम र संरचना सधैंका लागि फेरिने पक्का छ, जति मान्छेका आफ्नै जीवन र संसारप्रतिका मान्यता फेरिने निश्चित छ । संसार एउटा गाउँ भयो भनिएपछिको अहिलेको युगमा कोरोनाले जसरी सबै कुरा ठप्प पारेको छ, त्यसबाटे ‘ग्लोबल’, ‘लोकल’ र ‘ग्लोकल’ भनिने जुन मान्यता थिए विगत दशकका, तिनीहरूमा पनि परिवर्तन पक्कै आउनेछ ।

माथि चर्चा गरिएकाबाहेक अन्य असर र परिदृश्य त कति होलान् कति ! यस विस्मयकारी समयमा नेपालमा सक्षम, नैतिक र सिर्जनशील राजनीतिक नेतृत्व हुन्थ्यो भने, सायद कोरोनापछिको समयमा अहिले हामीभन्दा अगाडि रहेका देशसँग कसरी प्रतिस्पर्धा गरी नजिक पुग्ने भनेर देशलाई सशक्त र सुन्दर ‘भिजन’ का साथ अगाडि लैजान एउटा गजबको मौका हुन्थ्यो । तर अहिलेसम्म त कोरोनाले नेपालको वर्तमान शासक वर्गका अक्षमता र अनैतिकताका थप शृंखला उजागर मात्र गरिदिएको छ । शासनसत्तामा रहेकाहरूको ‘मेडियोक्रिटी’ लाई ढाक्न, लोकतान्त्रिक आचरणलाई झन् कमजोर बनाउन र शासकीय अपारदर्शितालाई थप सहज बनाउन मात्र कोरोनाले सहज बनाइदिएको छ । अन्यत्र अक्षम भए पनि कोरोनाको असरलाई आफ्नो स्वार्थको पक्षमा पार्न राजनीतिकर्मी सक्षम छन् भन्ने त देखिसकियो । अब परीक्षा जनताकै हुन बाँकी होला— यस्तै सहँदै, भोग्दै बस्ने हो कि हस्तक्षेपका सिर्जनशील लोकतान्त्रिक विधिप्रति बढी चनाखो र सक्रिय हुने हो ?

(मंगलबार प्रकाशित हुने कान्तिपुरको प्रिन्ट संस्करणबाट ।)

प्रकाशित : आश्विन ५, २०७७ १८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?