बीपीको समाजवाद र कांग्रेस- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बीपीको समाजवाद र कांग्रेस

बीपी भन्नुहुन्थ्यो— राजनीति गर्ने व्यक्ति सरल, सहज र खुला किताब अर्थात् जोगीसरह जनतामा समर्पित हुनुपर्छ । तर अहिले ‘राजनीति जोगी हुन गरिँदैन’ भन्नेहरू बढिरहेका छन् ।
महालक्ष्मी उपाध्याय 'डिना’

समाजवाद विश्वव्यापी बौद्धिक आन्दोलनको परिचयात्मक शब्द हो । यस आन्दोलनको तात्पर्य समाजका आर्थिक संगठनहरूले गरेका आर्थिक शोषण र त्यसबाट उत्पन्न सामाजिक विकृतिको अन्त्य गरी पूर्ण स्वतन्त्रताको वातावरणमा मानव विकासको मार्ग विस्तृत बनाउनु हो । समाजवादले समाजमा भएका असमानताको अन्त्य गरी समन्यायका आधारमा वितरण र अवसरलाई प्राथमिकता दिँदै सामाजिक परिवर्तन तथा रूपान्तरणका लागि वातावरण बनाउँछ । समाजवाद कुनै एकै खाले परम्परा होइन ।

सभ्यता र संस्कृतिको बहुमुखी आन्दोलन तथा अभिव्यक्तिबाट प्रकट भएको समाजवादलाई परम्पराको एउटा पातलो धागोमा उन्न खोज्नु भनेको यसलाई अत्यन्त संकुचित पार्ने प्रयास गर्नु हो । मानव जीवनको सामूहिक संघर्षपश्चात् प्राप्त परिवर्तन र उपलब्धिहरूलाई सभ्यता भनिन्छ र त्यसको चरमविन्दु समाजवाद हो । बीपीकै भाषामा भन्नुपर्दा, राजनीतिक र आर्थिक समानताको आन्दोलनका लागि प्रेरणा दिनु समाजवादको मुख्य लक्ष्य हो । सामाजिक संरचना भौतिक हो, आध्यात्मिक होइन । समाजका सदस्यहरूको कल्याण गर्नु र सुरक्षा प्रदान गर्नु समाजवादको उद्देश्य हो । हरेक मानिसका इच्छा र आकांक्षा प्रायः समान हुन्छन्, त्यसकारण सबैले व्यक्तित्व विकासमा समान अवसर पाउनुपर्छ । समाजवादले राजनीतिक र आर्थिक पाटोलाई स्वीकार गर्छ । राजनीतिक समाजवाद प्रजातन्त्र वा लोकतन्त्र हो र यो व्यवस्थाले विद्यमान सामाजिक संरचनालाई परिवर्तन गरी नयाँ संरचनामा समाजलाई डोर्‍याउने सरकारको परिकल्पना गर्छ ।

र, यसरी बन्ने सरकारको प्रतिनिधित्व जनताले गर्नुपर्छ । जनचाहना अनुरूपको नीतिनियम र व्यवस्था जनप्रतिनिधिहरूबाट मात्रै सम्भव छ र उनीहरूबाटै विकासको गतिलाई तीव्र पार्न सकिन्छ । समाजवादको अर्थलाई सबै मुलुकले एकै रूपले व्याख्या गरे पनि राजनीतिक र आर्थिक समानताको उपलब्धि वा अनुपलब्धिमा मात्रात्मक फरक पर्छ । वर्गभेद लोप गराउनु, जनतालाई व्यवहारमा समानता उपलब्ध गराउनु, उद्योगधन्दाको सामाजिकीकरण र आमजनताको धेरैभन्दा धेरै कल्याण हुने किसिमले सञ्चालन गर्नु, उत्पादन एकलौटी हुन नदिनु आदि समाजवादका लक्ष्य हुन् । बीपी भन्नुहुन्थ्यो, ‘समाजवादका दुई पोया छन् । एक राजनीतिक स्तरमा प्रजातन्त्र, अर्को आर्थिक क्षेत्रमा गरिब जनतालाई न्याय दिने खालको विकास ।’

बीपीद्वारा प्रादुर्भाव नेपाली कांग्रेसको प्रजातान्त्रिक समाजवादले समाजका सबै वर्गको समान हक–अधिकार र विकासलाई सँगसँगै लगेको स्पष्ट देखिन्छ । नेपालमा गाउँ नै गाउँ भएको र विभिन्न जातजाति बस्ने भएकाले ग्रामीण जनताका लागि लक्षित गरिएको विकास साँचो अर्थमा विकास हुन्छ । सहरको विकासमा मात्र जोड दिँदा वास्तविक समाजवाद अपनाएको मानिँदैन र त्यसलाई विकास पनि मानिँदैन । परिवर्तन चाहने बीपीको यही क्रान्तिकारी विचारले सबैलाई आकर्षित गरेको हो । विकास र समृद्धिका लागि बालबालिका, युवा, महिला र ज्येष्ठ नागरिक सबैको अधिकारको सुनिश्चितता हुनुपर्ने बीपीले स्पष्ट रूपमा भन्नुभएको छ । उहाँ युगान्तकारी परिवर्तनका संवाहक रहनुभयो ।

हिटलर र मुसोलिनीजस्ता तानाशाह र गान्धीजस्ता समाजवादी नेताका समयमा बीपीको उदय भएको हो । उहाँले नेपालको भूराजनीतिक यथार्थको विश्लेषण गर्दै दुई ठूला राष्ट्रसँगको मित्रतालाई अझ गाढा र सुमधुर बनाउन अवलम्बन गर्नुभएको परराष्ट्र नीति अझै त्यत्तिकै सान्दर्भिक छ । प्रजातान्त्रिक समाजवादबारे संसारका ठूलठूला विश्वविद्यालयमा पढाउने र समाजवादको सिद्धान्तमा प्रशस्त व्याख्या गर्न सक्नेहरूको कमी छैन । नेपालको संविधान, २०७२ को निर्माणका बेला सभासद्हरूलाई विभिन्न देशमा लगेर तालिम दिइयो । अरू देशको अनुभव पनि अध्ययन गराइयो । यसरी मिहिनेत गरेकाले संविधानमा सबैको अधिकार संरक्षण गर्‍यौं भन्ने भान हामीलाई परेको छ । संविधानको मौलिक हकमा उल्लेख गरिएको शिक्षा, स्वास्थ्य र रोजगारको अधिकारलाई सुनिश्चित गरेर अग्रगामी परिवर्तन गर्‍यौं भन्ने ठानेका छौं । तर यो विषय बीपीले लगभग ६५ वर्षअघि नै परिकल्पना गर्नुभएको थियो । उहाँले भन्नुभएको थियो— हरेक जनताको एउटा घर होस्, बालबच्चालाई विद्यालय पठाउने वातावरण होस्, बिरामी पर्दा औषधिमूलो गर्ने पैसा होस् अनि आफ्नो श्रम र सीपको उपयोग गर्न पाउनुपर्ने व्यवस्था । यसको सान्दर्भिकता र उपयोगिता अहिले पनि त्यत्तिकै छ । आमजनताले बुझ्ने सरल भाषाको उहाँको अभिव्यक्तिलाई परिष्कृत गरी संविधानमा उल्लेख गरियो । तर उक्त प्रावधान अर्थात् जनताको अधिकार र सेवा– सुविधामा सरकारले हदैसम्मको लापरबाही गरेकाले विगतका जनआन्दोलनको मर्म र भावनाको धज्जी उडेको छ ।

उहाँको विचार र सिद्धान्तलाई ‘बीपीवाद’ कै रूपमा मानेर नेपाली कांग्रेसले विधान र घोषणापत्रमा प्रजातान्त्रिक समाजवादको उल्लेख गर्‍यो । तर कागजी रूपमा मात्रै कांग्रेसले उहाँको विचारलाई अंगीकार गरेजस्तो देखिन्छ । उहाँकै सिद्धान्त र प्रेरणाले सशक्त बनेको कांग्रेस २०४७ सालको जनआन्दोलन सफल भएपछि सत्तामा पुग्यो । त्यसपछि सत्ताको लालसामा बहेर कांग्रेस सिद्धान्त र विचारको राजनीति छोडी व्यक्तिवाद र मनोगत चिन्तनमा अलमलियो । आफू केन्द्रित राजनीतिमा नेतृत्व वर्ग नै व्यस्त भएकाले कार्यकर्तामा सिद्धान्त, विचार, चिन्तन र नाराभित्रको शाब्दिक अर्थ र ज्ञानभन्दा पनि राजनीतिक रूपान्तरण व्यक्तिगत आर्थिक परिवर्तनबाट हुने विचार हाबी भयो । अहिले कांग्रेसको सिद्धान्त विस्मृत हुन पुगेको छ । बीपी भन्नुहुन्थ्यो– राजनीति गर्ने व्यक्ति सरल, सहज र खुला किताब अर्थात् जोगीसरह जनतामा समर्पित हुनुपर्छ । तर अहिले राजनीतिलाई भौतिक सुखसुविधा आर्जन गर्ने थलोका रूपमा प्रयोग गर्दै ‘राजनीति जोगी हुन गरिँदैन’ भन्नेहरू बढिरहेका छन् । विभिन्न समयमा मौलाएका गैरप्रजातान्त्रिक पद्धति र संस्कारले जनता आक्रान्त छन् ।

बीपीपछि कांग्रेस सत्ताप्राप्तिसँगै भूमण्डलीकरण र निजीकरणको नाममा समाजवादी सिद्धान्त र संस्कारप्रति निष्ठावान् रहेन । दुःखमा हजारौं साथीको साथ र सहयोग प्राप्त गरेको नेतृत्व सरकारमा पुगेपछि सत्ताको स्वादमा रमाउँदै भौतिक सुविधामा रुमलिँदा सिद्धान्त र विचारको राजनीति कुण्ठित हुन पुग्यो । आन्दोलनपश्चात् प्राप्त परिवर्तनहरूलाई एकीकृत गर्दै सबै वर्गलाई मूलधारमा समावेश गर्न नसक्नुले व्यवस्थालाई समाजवाद–उन्मुख बनाउन सकिएको छैन । प्रजातन्त्र पुनःस्थापनाका लागि त्याग र बलिदान दिने कांग्रेसका हजारौं सदस्यलाई आज ‘आउटडेटेड’ मानिन्छ । पुस्ता हन्तान्तरणको बहस पनि चर्किरहेको छ । जोकोही होस्, अग्रजले आर्जेको प्रजातान्त्रिक समाजवादको पक्षमा निष्ठा, इमानदारी र प्रतिबद्धताका साथ अडिग रहनेहरूमा कांग्रेसको शक्ति गए पुस्तान्तरण र हस्तान्तरणको अर्थ रहन्छ । नेपाली जनताको विश्वास र सद्भाव अन्य पार्टीप्रति कहिल्यै रहेन । कांग्रेसले पनि बीपीको विचारलाई जीवन्तता दिन नसकेकै कारण यसप्रतिको जनविश्वास धरापमा पर्न गएको छ । बीपीको विचारबाट मौलाएको जनविश्वास भोलि पार्टीमा बीपीलाई ‘आउटडेटेड’ भन्नेहरूको बाहुल्य भए संगठन संकुचित हुन सक्ने यथार्थप्रति सजग हुनु जरुरी छ ।

आगामी फागुनमा हुन गइरहेको कांग्रेसको १४ औं महाधिवेशनले देश–विदेश सबैतिरको ध्यान तानिरहेको छ । यो महाधिवेशनको तयारीमा जुटेकाहरू आफ्ना सम्भावित प्रतिस्पर्धीहरूको व्यक्तिगतस्तरको विरोधमा उत्रेका छन् । तिनले विचारको राजनीति, भावी कार्यक्रम र रणनीति प्रस्तुत गरेको देखिँदैन । विगतका कमी–कमजोरीको विश्लेषण र बहसबाट नयाँ बाटो तय गर्नुपर्ने हो । आमनागरिक र पार्टीका सम्पूर्ण सदस्यको मलोबल उच्च राख्न ‘सुकिला–मुकिला’ लाई भन्दा देश र जनताका लागि काम गर्ने र पार्टीको सिद्धान्तलाई आत्मसात् गर्दै जीवन अर्पित गरेका हजारौंको बलिदानीलाई सम्मान गर्नेलाई अधिकारसम्पन्न नेता बनाउनु हामी सबैको दायित्व हो ।

प्रकाशित : आश्विन ४, २०७७ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्

सडकमै भन्सार जाँच

कान्तिपुर संवाददाता

विराटनगर — एकीकृत जाँच चौकी (आईसीपी) मा सामान जाँच गर्ने ओपन सेड घर नहुँदा विराटनगर भन्सारका कर्मचारी र एजेन्ट खुला सडकमै आयातित सामान जाँच्न बाध्य छन् । बुधनगरको १२९ बिघा जमिनमा भारतले १ अर्ब ९० करोड रुपैयाँ लागतमा उक्त आईसीपी निर्माण गरेर गत माघदेखि सञ्चालनमा आएको थियो । आईसीपीमा सामान जाँच्ने ओपन सेड घर छैन ।

‘आयातित सामानका ट्रक र कन्टेनरलाई सडकमै रोकेर सामान जाँच्नुपर्ने बाध्यता छ । दैनिक सरदर अढाई सय ट्रक र कन्टेनर आईसीपीमा आउँछन्,’ प्रमुख भन्सार अधिकृत शिवप्रसाद भण्डारीले भने । ओपन सेड घर नहुँदा ती सबैलाई सडकमै राखेर सामान जाँच्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । यो कार्यालयले सामान्य अवस्थामा दैनिक सरदर १५ करोड रुपैयाँ राजस्व असुली गर्दै आएको छ ।

आईसीपी सञ्चालनमा आएदखि नै सामान जाँचमा समस्या आएको भन्सार एजेन्ट संघका अध्यक्ष विजेन्द्र परासरको भनाइ छ । सामान जाँच्ने सेड घर नभएकै कारण चर्को घाम र मुसलधारे पानी पर्दा पनि सडकमै जाँच्नुको विकल्प नभएको उनको गुनासो छ । आईसीपीमा पार्किङ पनि छैन । भारत र तेस्रो मुलुकबाट सामान लिएर आएका सबै मालवाहक ढुवानीका साधनलाई सडकमै पार्किङ गर्नुपर्ने बाध्यता छ । यार्ड र गोदाम सानो भएको अनि सामान राख्ने ठाउँ नहुँदा ट्रक, कन्टेनर सडकमै राख्नुपरेको आईसीपी सञ्चालन गर्ने ट्रान्स नेपाल फ्रेट सर्भिसेज प्रालिका प्रमुख गणेश घिमिरेले बताए ।

प्रकाशित : आश्विन ४, २०७७ ०८:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×