स्वनिगः या सहलह- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्वनिगः या सहलह

कुनै जाति वा सभ्यतामाथिको संकट सिंगै मानव जातिमाथिकै संकटको एउटा अभिव्यक्ति हो भन्ने आधुनिक मान्यतामा उभिएर हेर्ने हो भने, वाग्मती उपत्यकामा नेवार जातिमाथिको संकट सिंगै नेपाली समाजमाथिकै संकट हो ।
आहुति

काठमाडौँ — नेवार भाषामा वाग्मती उपत्यकाको नाम हो- स्वनिगः । यस रचनामा त्यही स्वनिगःको सत्त्वबारे सहलह अर्थात् सल्लाह गर्न खोजिएको छ । इतिहासलाई केलाउँदा स्वनिगः अर्थात् वाग्मती उपत्यकाको सभ्यता नेवार जातिले निर्माण गरेको सभ्यता हो ।

मानव वंशहरूको दृष्टिबाट हेर्दा किरातदेखि द्रविडसम्म र वैदिक आर्यदेखि खसहरूसम्म नेवार जातिभित्र समाहित पाइन्छन् ।

स्वनिगःको भूथलो चार भन्ज्याङभित्र बुझिए पनि यसको सांस्कृतिक फैलावट पूर्वमा नाला र खोपासी हुँदै धुलिखेलसम्म, पश्चिममा चित्लाङ र मार्खु हुँदै पालुङसम्म, उत्तरमा ओखरपौवाको बलामी बस्तीसम्म र दक्षिणमा ललितपुरका केही पहाडी क्षेत्रसम्म छ । धार्मिक हिसाबले बौद्ध र हिन्दूका विभिन्न शाखा एवं इसाई मत नेवार जातिभित्र विगतदेखि रहिसकेका छन् । हालै वाग्मती उपत्यकाका इस्लामधर्मी मुस्लिम समुदायले आफू नेवार मुस्लिम हो भनी गरेको दावीलाई गन्ने (?) हो भने नेवारभित्र अब इस्लामधर्मीसमेत छन् भन्नुपर्ने हुन्छ, तथापि यो विषय छलफलकै छड्के किनारामा छ ।

जात व्यवस्थाको विशिष्ट ढाँचा, महिलाले नाक नछेड्ने रीति, लासलाई जलाउने संस्कृति आम भए पनि लासलाई गाड्ने समुदाय पनि नेवारभित्रै हुनु, राँगाको मासुलाई मुख्य मांसजन्य खाद्यका रूपमा अपनाउनु लगायतका थुप्रै विशेषता हुँदाहुँदै पनि नेवार जाति मूलतः तीन विषयबाट अरूभन्दा सांस्कृतिक रूपमा बिलकुल अलग पहिचानको सभ्यता बन्न पुगेको पाइन्छ । एक, नेवार भाषा । दुई, विवाहपूर्व कन्याको सूर्य र बेलसँग विवाह । तीन, म्ह पूजा । पवित्र सांस्कृतिक अनुष्ठानहरूमा जाँडरक्सीलाई सम्मान पनि कतिपयले आधारभूत विशेषताकै रूपमा चित्रण गर्दछन् । यी सबैमध्ये भाषा नै मुख्य हो भन्ने प्रस्टै छ ।

यो जाति निर्माणको करिब दुई हजार वर्ष लामो सिलसिलामा यसले प्राप्त गरेका विज्ञान, कृषि प्रविधि, संगीत, खाद्य संस्कृति, दार्शनिक सोचसहित निर्माण भएका भौतिक संरचनाहरू विश्वमै मान पाएका सम्पदाका रूपमा रहन पुगेको विषय सबैका अगाडि छर्लङ्गै छ । तर विगत अढाई सय वर्षमा नेपालको राज्यले लिएका गलत नीतिका कारण नेवार जाति संकटको तीव्र दौरबाट गुज्रिरहेछ । उसको पैतालामुनिको जमिन सकिँदै छ, ऊ बाँचेको प्रकृति क्षत–विक्षत भएको छ, ऊ तीव्र रूपमा अल्पसंख्यामा कुँजिँदै छ र उसको सभ्यताका सम्पदाहरू राज्यको प्रशासनिक चलखेलको जाँतोमुनि पिसिँदै छन् । कुनै जाति वा सभ्यतामाथिको संकट सिंगै मानव जातिमाथिकै संकटको एउटा अभिव्यक्ति हो भन्ने आधुनिक मान्यतामा उभिएर हेर्ने हो भने, नेवार जातिमाथिको संकट सिंगै नेपाली समाजमाथिकै संकट हो । त्यसैले ‘स्वनिगः या सहलह’ बिलकुल अनिवार्य भएको छ ।

राजा पृथ्वीनारायण शाहले स्वनिगःलाई आफ्नो अधीनमा लिँदा काँठका धेचधेचमा थन्काइएका तामाङ, इन्द्रचोक अनि मंगलबजार जस्ता सहरका मुटुमा मल्लकालदेखि आबाद रहेका मुस्लिमबाहेकको नेवारइतरका अन्य छुट्टै भाषा–संस्कृतिसहितका जाति/समुदाय स्वनिगःमा रहेको प्रमाणित रूपमा पाइन्न । त्यसकारण जनसंख्यादेखि सबै दृष्टिले स्वनिगः सभ्यताको मुख्य नायक र चालक नेवार थियो । गोरखाली शाह राजाहरूको शासन सुरु भएपछि स्वाभाविक रूपमा राज्यको सेना बाहिरबाट आयो । नेवार र तामाङलाई सेनामा नलिइने भएपछि सबै बाहिरबाट आए । शाह खलक, तिनका नातेदार, तिनका पण्डित–पुरोहित अनि तिनका मुख्य प्रशासक बाहिरका नेवारइतरबाट आए । तिनीहरू सबैलाई आबाद हुन जमिन चाहियो । कसैलाई फकाएर, कतै जालझेल गरेर, कतै जबरजस्ती हुकुम प्रमाङ्गीको डन्डा चलाएर स्वनिगः भूमि हडप्ने क्रम लगातार चल्यो । सत्ताका अत्यन्त निकट भारदार र पुरोहितले वानेश्वर, भैमाल जस्ता नजिकका धान फल्ने खेत पाए । सेनाका जवान क्षत्री र कमसल हैसियतका ब्राह्मणले काँठ क्षेत्रका धान नफल्ने बारीहरूमा बास बसाए । उपत्यकाको काँठमा फाट्टफुट्ट रहेको पातलो मगर बस्ती पनि त्यही सिलसिलाको मानिन्छ ।

नेवारभित्र कपडा र फलामको काम गर्ने कपाली र नकर्मी भएकाले आर्य खसभित्रको दमाई र कामीको ठूलो भीड उपत्यकामा प्रवेश गरेन । तर पश्चिममा बाली प्रथाबाट सबैभन्दा पहिले च्युत हुन पुगेको सार्की भने नेवारभित्र छालाको काम गर्ने समुदाय नभएको भ्वाङबाट उपत्यकामा ठूलै परिमाणमा प्रवेश गर्‍यो र त्यो पनि कम हैसियतका बाहुन–क्षत्री जस्तै काँठमा बस्न बाध्य भयो । वास्तवमा भक्तपुरको चाँगुनारायणदेखि लामाटार हुँदै लेलेसम्म र काठमाडौंको चाल्नाखेलदेखि मातातीर्थ, बाडभन्ज्याङ, साङ्ला हुँदै लप्सीफेदीसम्म काँठमा आबाद हुन पुगेका क्षत्री, बाहुन, मगर र दलित लगायत आधारभूत रूपमा त्यति बेलाका श्रमिक वर्गका मानिस नै थिए । काँठको धान फल्ने खेत नेवारकै हातमा भए पनि ढिँडो खाने संस्कृतिबाट आएका हुनाले मकै र कोदो फल्ने बारीमा मात्र बास गाड्दा पनि आफ्नो जीविका अगाडि बढाउन उनीहरूलाई खासै बाधा भएन । तर राजा र राणा आफ्नो भाषा र संस्कृतिका हुनाले उनीहरूलाई पनि क्रमशः धान फल्ने खेतमा पहुँच बढाउँदै लैजान सजिलो भयो । यसरी सुरु भएको गैरनेवारको स्वनिगः आप्रवासनको प्रक्रिया त्यसपछि लगातार जारी रहनु स्वाभाविक थियो । राजाको गाउँ, ठूलो सहरको ठाउँ, रोजगारी र अवसर बढी भएको स्थानमा बाहिरबाट मानिसहरू आउने क्रम बढ्ने नै भयो । सत्ता र सत्तासीन संस्कृतिले ‘नेवार इस्ट र बाउ दुष्ट कहिल्यै हुँदैन’ भन्ने अवधारणा स्थापित गर्‍यो । त्यसमाथि ‘हाकु पटासी’ लाउनुलाई आफ्नो मानमर्दन ठान्ने नेवारभित्रको उच्च तल्सिङ वर्गका मुट्ठीभर काजीहरूले शाह र राणा शासकसँग गरेको साँठगाँठले आम नेवारको सत्त्वमाथिको दमनलाई झनै सजिलो बनाउँदै लग्यो ।

१९९० सालको आसपासमा पुग्दा स्वनिगःमा नेवार, मुस्लिम, तामाङबाहेक सहरका मुख्य केन्द्रवरपरका प्रतिष्ठित खलकका बाहुन–क्षत्री र काँठमा बाहुन, क्षत्री, दलित र मगर लगायतको समुदायमा रैथाने पुस्ता हुर्किसकेको थियो । आप्रवासी जमातका कम्तीमा पाँचौं पुस्ता अर्थात् सय वर्षको लगातार बसाइलाई रैथाने बन्ने अवधि मान्दा १९९० पछिको राजनीतिक आन्दोलनमा नेवारसहितको स्वनिगःमै रैथाने भैसकेका अन्य जाति/समुदायका मानिसहरूले बागडोर सम्हालेका थिए । सन् १९९० देखिको राजनीतिलाई मूल्याङ्कन गर्दा स्वनिगःका नेवार र अन्य जातिका बौद्धिकले राम्रो पहल गरेको देखिन्छ । शुक्रराज शास्त्री, पुष्पलाल श्रेष्ठ, गणेशमान सिंहदेखि डिल्लीरमण रेग्मी आदिको जीवन हेर्दा यो विषय प्रस्टै हुन्छ । त्यति बेलाको राजनीतिमा नेवार वा गैरनेवारबाट विकसित नेताहरू उपत्यकाको मुख्य केन्द्रीय बस्तीबाट विकसित पाइन्छन् । त्यस्तो यसकारण कि, उपत्यकाको काँठका नेवार वा अन्य बस्ती सहरबाट उत्पीडित र शोषित थिए ।

२०१७ सालसम्म पुग्दा स्वनिगः कम्युनिस्ट वा प्रजातान्त्रिक आन्दोलनमा क्रमशः दोछायामा पर्न सुरु भैसकेको थियो । यसो हुनुको मुख्य कारण व्यक्तिहरूको नियत र योजनामा भन्दा पनि त्यति बेलाको राजनीतिक चेतनामा जाति, क्षेत्र र सम्पदा आदिबारेको ज्ञानको अभाव नै हो भनी मान्नैपर्दछ । पञ्चायत व्यवस्था सुरु भएपछि तीस वर्षसम्म स्वनिगःको मुख्य सभ्यतानिर्माता नेवार अनि रैथाने बनिसकेका नेवारइतरका समुदायको हितको विषय प्राथमिकतामा पर्ने विषय नै भएन । पञ्चायतविरोधी पार्टीहरूसँग पनि त्यो उच्च तहको चेतना कुनै दस्तावेजमा संश्लेषित भएन । पञ्चायतले सरकारी र गैरसरकारी जति क्षेत्रहरू विस्तार गर्दै गयो, त्यसमा स्वनिगःबाहिरबाट मानिसहरू भर्ती हुँदै गए । सेनापति, प्रधान न्यायाधीश, सचिवहरू, प्रहरी प्रमुख, आयोगका अधिकारी, निम्त्याइएका मारवाडीहरू आदि–इत्यादि ओइरो लागे । राज्यले जे नीति लियो, परिणाम त त्यसकै अनुरूप आउने हो । ती सबैले स्वनिगःको प्रकृति, जमिन, संस्कृति, सम्पदा र यहाँका नेवार एवं रैथाने गैरनेवारको जीवनमा पनि गम्भीर नकारात्मक प्रभाव बढाउँदै लगे ।

पञ्चायतकालमा देशका विभिन्न भागका गनिएका पञ्चहरूका निम्ति मूलतः स्वनिगः गन्तव्य थियो, तर २०४७ सालपछि राजधानी प्रत्येक संसदीय पार्टीको स्वनिगः बन्यो । ती पार्टीका केन्द्रीय नेताहरूको राइँदाइँ यात्राका निम्ति स्वनिगःमा घरघडेरीसहितको निवास हुनुपर्‍यो । तिनका राजनीतिक भारदार, तिनका बौद्धिक, तिनका समर्थक कर्मचारी, आर्थिक रट्ठाबट्ठा मिलाउने ठेकेदार सबैसबै स्वनिगःमा जम्नैपर्‍यो । त्यही क्रममा तीव्र भयो घरजग्गा कारोबार, प्लटिङ, बैंकबाट ऋणको नीति इत्यादि । जब आफ्ना नेताहरूले स्वनिगः यात्रालाई आदर्श बनाउन थाले, त्यसपछि समर्थकहरूले पनि तँछाडमछाड गर्ने नै भए । धरान र पोखरातिरै रहेको लाहुरे खलक पनि त्यसपछि हान्नियो स्वनिगःतिर । यो समग्र प्रकरणमा व्यक्तिहरूको दोषको कुरा होइन बरु केन्द्रीकृत शासन प्रणाली र परिवर्तनमुखी राजनीतिले अँगाल्न नसकेको सही वैचारिक दिशाको समस्या हो ।

पञ्चायतले कोटेश्वरदेखि सूर्यविनायकसम्म सडक र चक्रपथ बनाउँदा केन्द्रीय नेवार बस्तीलाई कम बरु काँठका नेवार र गैरनेवारको जमिन बढी दखल गरेको थियो, तर ती सडक सुनसान नै थिए । २०४७ सालको परिवर्तनपछि ती क्षेत्र व्यापक रूपमा स्वनिगःबाहिरबाट आएकाहरूबाट खचाखच हुने क्रम तीव्र भयो । आजसम्म त्यो क्रम धीमा पनि भएको छैन । आज काँठमा नेवार वा अन्य रैथाने समुदायहरू भएका जग्गा बेच्दै गर्जो टार्न बाध्य छन् भने, नवागन्तुकहरू रैथानेका घरमा घाम नपर्ने गरी कौसीका ढाँचा बनाउन व्यस्त छन् । त्यसरी स्वनिगः सभ्यतामा नेवार मात्र संकटमा छैन, बरु सय वर्षभन्दा अघिदेखि आबाद रहेका गैरनेवार पनि संकटग्रस्त भएका छन् । त्यसैले नेवारको सभ्यता र उनीहरूको सत्त्वको रक्षा गर्ने कि नगर्ने भन्ने सवाल मात्र होइन, बरु स्वनिगःमा आवासबद्ध भैसकेका नेपालीहरूको भविष्यलाई सुरक्षित र सम्पदाकृत गर्ने कि नगर्ने भन्ने सवाल हो । तसर्थ, स्वनिगःको प्रकृति, यसको सम्पदा र वैभवको रक्षा केवल नेवारहरूको मात्र आक्रोशको विषय होइन, बरु सय वर्षभन्दा बढी आवास गरेर रैथाने भैसकेका अनि कुनै पनि जातिको सभ्यताको रक्षा अति आवश्यक छ भन्ने चेत भएका प्रत्येक प्रगतिशील नेपालीको सरोकारको सवाल हो । तर यो सोचलाई हृदयंगम गर्नु भनेको सबैभन्दा प्राथमिकतामा नेवार जाति र उसको सत्त्वको रक्षालाई राख्नु हो, अन्य रकमी तर्क र नीतिले हुन्न भन्ने पनि बुझ्नैपर्दछ ।

आजसम्मको नेपालको राजनीतिले स्वनिगः सभ्यतालाई न्याय गर्न सकेन । पार्टीहरूसँग जाति र सभ्यताबारे सही विचार नहुँदा यो सभ्यता नासिन नै जानी–नजानी सबैले योगदान पुर्‍याउँदै आए । संघीयताले नयाँ बाटो खोल्ला कि भन्ने आशा पहिचानलाई निषेध गर्ने संविधानले अवरुद्ध पारिहाल्यो । आज स्वनिगःमा क्रियाशील पार्टीहरूमा नेतृत्व वा बाहुल्य नेवारको या स्वनिगःका रैथानेको हुनुपर्छ भन्ने सैद्धान्तिक मान्यता गायब भैसकेको छ । व्यवहारिक राजनीतिमा हेर्दा वाग्मती प्रदेशको मन्त्रिमण्डलमा नेवार र तामाङ नभए पनि नयाँ व्यवस्थालाई हाइसन्चै हुने देखियो । भक्तपुरमा रोहितले गाएको रैथानेमुखी गीत मनहरा खोलासम्म पौडिन पनि सक्षम भइरहेको छैन । २०३६ सालपछि आजसम्म विकसित नेवार र गैरनेवार स्वनिगःको नेता जमात मुख्य गरी आजको संसदीय पार्टीहरूका वैचारिक दिशामा लामबद्ध छ जुन पार्टीहरूमा स्वनिगः सभ्यताको रक्षाको कुनै एजेन्डै छैन । अझ ती पार्टीहरू त समृद्धिको नाममा बहुराष्ट्रिय कम्पनी भित्र्याउन नै संकल्पबद्ध छन् ।

संसारभर पुँजीवादी बहुराष्ट्रिय कम्पनीहरूले जाति र सम्पदालाई ध्वस्त पार्न नै काम गर्दै आएको इतिहास र व्यवहारसिद्ध छ । तब नेवार जातिको सत्त्व, उसको भव्य सभ्यता अनि स्वनिगःबासी रैथाने गैरनेवारको रक्षा आजको पुँजीवादी संसदीय राजनीतिबाट सम्भव हुन्छ कसरी ? ‘नेवार बिग्रियो भोजले’ भन्ने वाहियात कथनलाई खण्डन गर्न संसारभरिका अधिकांश राजधानी कम्युनिस्टविरोधी हुँदा पनि नेपालमा नेवारको बहुसंख्या कम्युनिस्टतिर ढल्केको हो । नेवार जाति फगत भोजभतेरवाला सांस्कृतिक जमात होइन बरु राजनीतिक र वैचारिक जाति हो । त्यसर्थ स्वनिगः सभ्यता, नेवार जातिको सत्त्व र रैथाने बन्न पुगेको गैरनेवारको नयाँ राजनीति अब जरुरी बन्न पुगेको छ । स्वनिगःमा रोजगारी गर्ने ओली थरका फरकफरक विचारका नागरिकहरू त सल्लाह गर्ने साझा संगठन बनाउन जाँगर देखाउँछन्, तर स्वनिगःका विभिन्न पार्टीका नेताहरू स्वनिगः राजनीतिक सरोकारको साझा मञ्च किन बनाउँदैनन् ? विभिन्न पार्टीमा स्वनिगः सभ्यता बैठकको एजेन्डा प्रस्ताव गर्न केले रोकेको हो ? जताबाट हेरे पनि गलत वैचारिकी र त्यसको लम्पट लत नै मूल समस्या देखिन्छ । अब आइसकेको छ बाहिरी चक्रपथको योजना अनि स्मार्ट सिटीको गुरुयोजना । एउटा चक्रपथले नेवार र गैरनेवार स्वनिगः रैथानेलाई अल्पमतमा पार्‍यो, अर्को चक्रपथ र स्मार्ट सिटी लगायतले सखाप पार्ने निश्चित नै छ ।

बाहिरी चक्रपथ र बहुराष्ट्रिय कम्पनीको हितमा हुने स्मार्ट सिटी लगायतलाई रोक्न स्वनिगः सभ्यताले साहस गर्छ कि गर्दैन ? त्यसैमा भविष्य निर्भर हुनेछ । सभ्यताको नाभि नेवार भएकाले नयाँ सुरुआत नेवारको नयाँ पुस्ताले नै गर्नुपर्छ, तर बिलकुल नयाँ विज्ञानसम्मत विचार र दिशासहित, किनकि परम्परागत विचारका कारण धोकाको मात्र पुनरुत्पादन भयो । लामो तपस्या र त्याग जरुरी हुन्छ । अढाई सय वर्षदेखि भत्काइएको सभ्यता कथित एउटा चुनावबाट समाधान गर्ने लालसाले मात्र समाधान हुनेछैन । त्यसैले व्यक्तिगत सम्पत्ति वा सानको राजनीतिबाट हैन, दीर्घकालीन सिद्धान्तनिष्ठ अभियानको राजनीति जरुरी छ । आशा गरौं, नेवार र गैरनेवार स्वनिगःबासीले नयाँ पहल थाल्नेछन् !

प्रकाशित : आश्विन ३, २०७७ १८:१०
प्रतिक्रिया
पठाउनुहोस्

प्राविधिकलाई राजेश हमालको आर्थिक सहयोग 

कान्तिपुर संवाददाता

काठमाडौँ — अभिनेता राजेश हमालले फिल्म क्षेत्रका १ सय १३ प्राविधिकलाई आर्थिक सहयोग गरेका छन् । उनले हरेक प्राविधिकलाई जनही पाँच हजारका दरले ५ लाख ६५ हजार आर्थिक सहयोग गरेको चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले बताए  । 

'अहिले फिल्मको काम ठप्प छ । यस्तो अभावमा उहाँको सहयोगले प्राविधिक खुशी भएका छन्,' उनले भने । प्राविधिक संघले काठमाडौंमा आयोजित गरेको कार्यक्रममा उक्त सहयोग रकम वितरण गरिएको थियो । कार्यक्रममा हमालले आफ्ना हितैषी मित्रहरुसँग सहयोग रकम उठाएर आर्थिक सहयोग गरेको बताए । 'कोभिड-१९ को परिस्थितिमा प्राविधिक समस्यामा परेको छ भनेर सहयोगको समूह बनाएँ । त्यसमा मेरो नजिकको हितैषीहरुलाई समावेश गरेको हो,' कार्यक्रममा उनले भने ।

यसबीच आर्थिक चपेटामा परेका प्राविधिकलाई कलाकारहरु पल शाह (५ लाख २ हजार), वर्षा राउत (५१ हजार), नीता ढुङ्गाना (३० हजार), ज्योत्सना फूयाँलले (२५ हजार), गरिमा पन्त (३४ हजार), निर्देशक नरेश पौडेल (२५ हजार)ले आर्थिक रकम बराबरको खाद्यान्न सहयोग गरेको पनि प्राविधिक संघले जनाएको छ । कतिले राहत वितरणमा हमालको सहभागिता नदेखिएको भन्दै टिप्पणी पनि गरेका थिए ।

तर, शनिबार सहयोग रकम वितरण गर्दा उनले भने, 'हिन्दीमा एउटा कथन छ । देर आए दुरुस्त आए । यो कोभिड -१९ को परिस्थिति कहाँसम्म जाने हो भन्ने कुराको टुङ्गो छैन । सहयोगी हातहरु आइरहनुपर्छ । कहिले आउने, कुनबेला आउने भन्नेले माने राख्दैन । किनकि कोभिड-१९ कहिलेसम्म हामीबीच रहिरहन्छ भन्ने टुङ्गो छैन । असहाय दिदीबहिनी दाजूभाईहरुलाई सक्नेले केही न केही सहयोग गर्नुपर्छ ।'

कोभिड-१९ ले मनोरञ्‍जन क्षेत्रमा असर पारेको पनि उनले बताए । 'कोभिड-१९ एउटा असामान्य परिस्थिति हो । यस्तो गतिविधि जिउने क्रममा आउँदो रहेछ । त्यसबाट हामी हतोत्साहित हुनुहुन्न,' उनले भने ।

प्रकाशित : आश्विन ३, २०७७ १८:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×