२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

विदेश पुर्‍याइएका मूर्तिबारे सरकार मूर्तिजस्तै

सम्पादकीय

नेपालबाट हाकाहाकी चोरिएका वा संयोगवश हराएका मूर्ति–सम्पदाहरूको खोजबिन तथा अभिलेखीकरण गर्ने क्रममा पुरातत्त्वविद् लैनसिंह बाङ्देलले सन् ८० को दशकमा भन्ने गरेको एउटा उक्ति छ, ‘नेपाली मूर्तिहरू हराउँछन्, कहीं–कतै देखिन्छन् पनि तर हत्तपत्त भेटिन्नन् ।’ बाङ्देलले भनेझैं नेपाली कला, मूर्ति र अन्य पुरातात्त्विक महत्त्वका चीजबिज हराउने क्रम इतिहासदेखि अनवरत छ, मूर्ति चोरीको समाचार नियमित आकस्मिकताझैं भैसकेको छ ।

विदेश पुर्‍याइएका मूर्तिबारे सरकार मूर्तिजस्तै

कहिले मुलुकमा छाएको राजनीतिक अस्थिरतालाई अवसर बनाएर त कहिले प्राकृतिक विपत्तिको तरल अवस्थालाई मौका मानेर सम्पदा तस्करी हुनु त नौलो रहेन । यी हराइरहेका मूर्तिहरू कुनै ‘अमुक पुरातात्त्विक सम्पदा’ मात्रै होइनन्, बरु लाखौं आस्थावान्ले हृदयदेखि मानेका विश्वासका ‘भगवान्’ पनि हुन् । तैपनि यिनको उचित खोजबिन र स्वदेश ल्याउने पहल नहुनु दुःखलाग्दो छ ।

कला–सम्पदा र यसमै उनिएको संस्कृतिका कारण नेपाली समाजको पहिचान विशिष्ट छ, अलग छ । हरेक मठ–मन्दिर र मूर्तिका पछाडि एउटा यस्तो अमिट कथा लुकेको हुन्छ, जसको चर्चा आजको समाजमा पनि उत्तिकै हुने गर्छ । राजधानी काठमाडौं उपत्यका आफैंमा मन्दिरैमन्दिरको सहर हो । कतिपय यसलाई तपोभूमि नै मान्छन् । तर इतिहासदेखिको यो आस्था त्यस बेला विचलित बन्ने अवस्था आउँछ, जुन बेला भगवान् मानिएका यी सम्पदाको चोरी र तस्करी खुलेयाम भैरहेको देखिन्छ । यो भन्दा अनौठो त, चोरिएका सम्पदा यसरी यो ठाउँमा पुगेका छन् भन्ने स्पष्ट प्रमाण र हकदाबीको अवस्था आइरहे पनि सम्बद्ध निकायले तिनलाई फर्काउन चाहिरहेको देखिन्न । यो लाचारी हो अथवा अकर्मण्यता, बुझिनसक्नु छ ।

विश्व सम्पदा सूचीमा रहेका र पर्ने क्रममा रहेका काठमाडौं उपत्यकाका विभिन्न भाग तथा सम्पदा क्षेत्रहरूमा चाहेजति सेवा, सुरक्षा र व्यवस्थापन नभएको पनि होइन । तर, आँखैसामुका सार्वजनिक स्थलबाट समेत मूर्तिहरू चोरिएकै छन् । त्यसबारे पत्रपत्रिकामा आउने ससाना समाचारले मूर्तिचोरीको अभिलेखीकरण गरेका छन्, त्यसबाहेक अरू कुनै निकायबाट खास केही काम भएको देखिँदैन । जस्तो, गत मंसिर पहिलो साता भक्तपुरको चाँगुनारायण मन्दिर परिसरमा रहेको अष्टबाहुनारायणको मूर्ति चोरिएपछि त्यसबारे खोजीनितीको कामसम्म हुन सकेको छैन, जबकि त्यो मूर्ति सशस्त्र सुरक्षा प्रहरीकै घेराभित्र थियो ।

पाटनको नारायण मन्दिरबाट ३६ वर्षअघि चोरिएको वासुदेव–कमलाजा मूर्ति अमेरिकाको डल्लास म्युजियम अफ आर्टमा ‘डिस्प्ले’ मा राखिएको समाचार बाहिर आएको पनि एक वर्ष हुनै लाग्यो । तर, त्यो मूर्तिबारे हकदाबी गर्ने र आफ्नो सम्पदा फर्काउनेबारेको लाचारीपना ‘हामीले पत्राचार गरेका छौं, जवाफ आएको छैन’ भनेर ओठेजवाफ फर्काउनुभन्दा पर्तिर जान सकेको छैन । यो मात्रै होइन, बेलायतमा पुगेर थन्किएका पुरातात्त्विक महत्त्वका १४ वटा मूर्ति फर्काउन पहल सुरु भनेर ५ वर्षअघि समाचारमा छाएको पुरातत्त्व विभाग अहिले आएर यी सम्पदाबारे ‘बेखबर’ बनेको देखिन्छ । यी त केही प्रतिनिधि उदाहरण मात्रै हुन् । यो ढिलासुस्तीबारे जवाफ दिने क्रममा सरकारी अधिकारीहरू ‘भूकम्प र कोरोनाका कारण सबै प्रक्रियामा ढिलाइ भैरहेको’ भन्छन् ।

नेपालमा ५ वर्षअघि आएको भूकम्प र संसारले आज बेहोरेको कोरोना कहरलाई ‘कारण’ देखाउने पुरातत्त्व विभाग मात्रै होइन, परराष्ट्रदेखि विदेशस्थित कूटनीतिक नियोगहरू पनि ‘प्रक्रिया अघि बढाउन नसकिएको’ उही तर्क दोहोर्‍याउँछन् । ‘चोरिएर विदेश पुगेका पुरातात्त्विक सम्पदाहरू उत्पत्ति मुलुक फर्काउनेबारे’ को राष्ट्रसंघीय प्रस्तावना र युनेस्को व्यवस्थामा समेत सिंगो विश्व सचेत भैसकेका बेला हाम्रा सरकारी निकाय भने ‘पर्ख र हेर’ कै अवस्थामा छन् ।

पुरातत्त्वविद् बाङ्देलको सन् १९८९ मा प्रकाशित ‘स्टोलन इमेजेज अफ नेपाल’ शोध पुस्तकमा २ सय ७७ वटा मूर्ति–सम्पदा नेपालबाट चोरिएको विवरण उल्लिखित छ । यसमा मुस्किलले १५/२० वटा मूर्ति आज घर फिरेका छन् । ती फर्किएका पनि छाउनी म्युजियम वा कुनै प्रहरी चौकीको स्टोरमा ‘भण्डारण’ अवस्थामै छन् । यही विकृति र विडम्बनाजन्य स्थितिका कारणले समेत विश्व सम्पदा सूचीमा रहेका स्थानहरू अघिल्लो वर्ष खतराको सूचीमा परेका हुन्छन्, फेरि अर्को वर्ष हारगुहारकै भरमा त्यस्तो सूचीबाट बाहिर निकालिएका हुन्छन् । यसरी हाम्रो पहिचान, संस्कृति र सभ्यताको समग्र चिनारी अहिलेझैं ‘स्टोलन इमेजेज अफ नेपाल’ कै रूपमा रहिरहने हो अथवा यो अस्तित्वगत–साख फर्केर आउने हो, आउने दिनमा सम्बद्ध सरकारी निकायको तदारुकता र अग्रसरताले मात्रै स्पष्ट पार्न सक्नेछ ।

प्रकाशित : आश्विन २, २०७७ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?