१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

गणतन्त्रमा नातेदारीको मखुन्डो

पुँजीवादी अर्थव्यवस्थामा योग्यता र क्षमता बलिष्ठ बन्छ र नातावाद वा कृपावाद अर्थहीन र औचित्यहीन हुन्छ भनी व्याख्या गर्ने मार्क्सवादी विश्लेषकहरूको निष्कर्षात्मक लँगौटीलाई अहिले भइरहेका सम्धीवादी नियुक्तिले खोलिदिएका छन् ।
जीवनमणि पौडेल

‘पोखरेल बाजेले कोइराला सम्धी भर्ना गरे भनेर ठूलो हल्लीखल्ली छ ।’ फेसबुकमा एक मित्रको यस्तो स्टाटसमा केही प्रतिक्रियाहरू थिए— गणतन्त्र भनेको चोर–फटाहालाई नै त हो नि ।

गणतन्त्रमा नातेदारीको मखुन्डो

प्रचण्डले बुहारीलाई मन्त्री बनाउन हुने, मैले सम्धीलाई बैंकको अध्यक्ष बनाउन पनि नहुने ? जोसँग योग्यता र क्षमता छ, उसले नियुक्ति नपाएर के एउटा हलीलाई कोही नवउदारवादको मखुन्डो लाएकाले नियुक्ति दिएको छ ?... यस्ता टीकाटिप्पणीले एकातिर नागरिकलाई गणतन्त्रले राजतन्त्रले भन्दा धेरै गुणा बढी वाक् स्वतन्त्रता दिएको देखाउँछन् भने, अर्कातर्फ नेताहरूको व्यवहार र क्रियाकलापका कारण गणतन्त्र र नवउदारवादको उपहास भइरहेको प्रस्ट्याउँछन् (भलै अहिलेको सरकार जनताको समाजवादको वकालत गर्दै छ) । त्यस्ता प्रतिक्रियाहरू जे–जसरी आएका भए पनि गणतन्त्रात्मक व्यवस्था भएको शासन व्यवस्था र नवउदारवादी अर्थतन्त्र र समाजवादको बाटो हिँड्न लागिपरेको नेपाली समाजमा नातावाद, परिवारवाद र आफन्तवाद हराउनुको साटो झन् भयावह बन्दै गरेको आभास हुन्छ । भाइभतिजा, छोराछोरी, सासूबुहारी र सम्धीसम्धिनीका घेराभित्रबाट राजनीतिक, कूटनीतिक, प्राज्ञिक, प्रशासनिक नियुक्ति भइरहनुले परिवारवाद, नातावाद र आफन्तवाद नेपाली समाजको अझै पनि मियोको रूपमा गाडिएको छ भन्न अप्ठ्यारो छैन ।

नातेदारीको चर्चा अन्य सामाजिक विज्ञानहरूमा भन्दा मानवशास्त्रमा बढी नै हुने गरेको छ र हुन्छ पनि । सन् १९७० को दशकसम्म त नातेदारी अध्ययनले मानवशास्त्रीय विषयमा प्रभुत्व जमाएको थियो । त्यस बेला मानवशास्त्रीहरू इथ्नोग्राफी (समुदायको पहिलो तथा विस्तृत अध्ययन) गर्दा फरकफरक विषयवस्तुहरूका बारेमा अध्ययन गरे पनि नातेदारीलाई कुनै न कुनै रूपमा आफ्नो अध्ययनको पाटो बनाएरै छाड्थे । समाज नातेदारी व्यवस्थामा आधारित भएकाले त्यसलाई नबुझी समाजलाई गहन रूपमा बुझ्न सकिँदैन भन्ने गहिरो विश्वास मानवशास्त्रीहरूमा थियो । त्यस बेलाका मानवशास्त्रीहरूका लागि नातेदारीको अध्ययनलाई समाजको सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक संरचनाको विश्लेषण गर्नका लागि कोसेढुंगाका रूपमा हेर्ने चलन थियो । त्यसका पछाडि मूल कारण समाजको चरित्र नै सामन्ती वा अर्धसामन्ती हुनु थियो । यस्तो समाजमा नातेदारी समाज संरचनाको केन्द्रमा रहन्थ्यो र त्यस समयका मानवशास्त्रीहरूले नातेदारीलाई आफ्नो अध्ययनको केन्द्रमा राख्नु समाजको संरचनाको चिरफार गर्नका लागि आवश्यक थियो पनि ।

सन् १९८० को दशकमा अमेरिकी मानवशास्त्री प्राध्यापक डेभिड स्नाइडरले ‘किनसिप इज डेड’ वा ‘किनसिप इज बाइलोजिक र्‍यादर द्यान कल्चरल’ मा नातेदारी अध्ययनले संस्कृतिलाई व्याख्या र विश्लेषण गर्न उपयुक्त नहुने निष्कर्ष निकाले । उनको निष्कर्षले नातेदारी अध्ययनलाई बीस वर्षपछाडि धकेलेको मानवशास्त्रीहरू स्वीकार गर्छन् । तर हाम्रो समाजमा मौलाएको बुहारीवाद र सम्धीवाद, सासूवाद, भाइभतिजावाद, छोराछोरीवाद, सालासालीवाद आदिले असीको दशकमा आर्यघाटमा पुगिसकेको भनिएको नातेदारी

अध्ययन नेपाली समाजको विश्लेषणका लागि झन् ऊर्जावान् क्षेत्र बन्दै गएको देखिन्छ । अहिले हाम्रो समाजमा हुने गरेका राजनीतिक, प्रशासनीय, प्राज्ञिक, कूटनीतिक नियुक्ति र विकासे ठेक्कापट्टामा छोराछोरी, भाइ–भतिजा, भान्जा–भान्जी, दिदी–बहिनी, काकाकाकी, भान्जेदाइ–भान्जेभाइ, सम्धी–सम्धिनी, साला–साली, ज्वाइँ–जेठान, बुहारी–भाउजू आदि नातागोताको माखीजालोले डेभिड स्नाडरलाई गलत साबित गरेझैं लाग्छ । आज उनी भएका भए र नेपाली समाजलाई नातेदारीको चस्माबाट हेरेका भए उनले यसभित्र जीव मात्र होइन, संस्कृति पनि देख्थे होलान् र तिनमा अन्तर्निहित अर्थहरूलाई केलाउने पनि थिए होलान् । र भन्थे होलान्— नातेदारी मरेको छैन; अझै धेरै वर्षसम्म बाँच्नेछ ।

सन् १९९० को दशकपछि मानवशास्त्रीय अध्ययनमा नातेदारीलाई व्याख्या र विश्लेषण गर्ने फरक आयामहरू देखा परे । नातेदारीलाई लैंगिक दृष्टिकोणले हेर्न थालियो । आधुनिक औषधि विज्ञान र प्रविधि विकासले वीर्य र डिम्बको दान र प्रत्यारोपण, बच्चा जन्माउनका लागि कोख भाडामा लिने चलन, सहलैंगिक विवाह (लेस्बियन र गे विवाह) आदिले विश्वमा नातेदारीको परम्परागत बुझाइ र बहसमा नयाँ आयामहरू ल्याए । यद्यपि नातेदारीको यस किसिमका बहसहरूले नेपाली समाजलाई छिटपुटबाहेक त्यत्ति धेरै प्रभाव पारेको देखिँदैन । नेपालको अविकासलाई भाग्यवाद, आफ्नो मान्छे र चाकरीसँग जोडेर प्रा. डोरबहादुर विष्टले गरेको अविकासको व्याख्या र विश्लेषणले नेपाली प्राज्ञिक क्षेत्रमा ठूलै बहस ल्याए पनि समाज रूपान्तरणको पक्षमा केही परिवर्तन गर्न सकेको देखिँदैन । समाजको आधुनिकीकरण, विकास, रूपान्तरण, समृद्धिका लागि भाग्यवाद, आफ्नो मान्छे र चाकरी वरदान होइन अभिशाप हो भनिरहँदा अहिलेको सम्धीवादले उनलाई गिजाइरहेको त छैन ?

नेपाली मार्क्सवादी चिन्तकहरूको विश्लेषण नेपाली समाजमा पुँजीवाद आइसक्यो भन्ने छ । पुँजीवादी अर्थव्यवस्थामा आइपुग्दा योग्यता र क्षमता बलिष्ठ बन्छ र नातावाद वा कृपावाद अर्थहीन र औचित्यहीन हुन्छ भनी व्याख्या गर्ने मार्क्सवादी विश्लेषकहरूको निष्कर्षात्मक लँगौटीलाई अहिले भइरहेका सम्धीवादी नियुक्तिले खोलिदिएका छन् । सम्धीवादी चरित्रको नियुक्तिलाई हेर्दा अझै पनि हाम्रो सामाजिक संरचनाका दुईवटा आयाम छर्लंग देखिन्छन् । पहिलो, नेपाली समाज अझै पनि पुँजीवादमा गइसकेको छैन र समाजवाद–उन्मुख हुने दिशा पनि पक्डेको छैन वा देखिँदैन । दोस्रो, पुँजीवाद वा समाजवाद–उन्मुख अवस्थामा पनि नातेदारी अर्थहीन, शक्तिविहीन र औचित्यविहीन हुँदैन ।

नेपालमा गणतन्त्र आएपछि नातावाद झन् मौलाएको देखिन्छ । देउवाले आफ्नी सासूलाई जापानको राजदूतमा, रामचन्द्र पौडेलले सम्धीलाई प्रधानन्यायाधीशमा, माधव नेपालले भाइलाई हङकङको दूतमा, प्रचण्डले आफ्ना छोरी, बुहारी, ज्वाइँ, भाइ आदिलाई विभिन्न पदमा गरेका नियुक्ति नातावादका केही उदाहरण मात्र हुन् । मधेसकेन्द्रित राजनीतिक पार्टीका नेताहरूले आफ्ना श्रीमती र प्रेमीलाई समेत सभासद् बनाएका घटनाले त नातावाद नेपाली समाजको अभिन्न अंग रहेको कुरालाई उदाङ्गो पारेको छ । हालै मन्त्रिपरिषद्ले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलका सम्धीलाई राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा गरेको नियुक्तिले नातेदारीको प्रभुत्वलाई घीनलाग्दो उदाहरणका रूपमा चरितार्थ गरेको छ । नेपालको आधुनिकीकरणको बाटोमा रहेका तगारा भनिएका भाग्यवाद, आफ्नो मान्छे र चाकरी नेपालको शासन व्यवस्थामा सक्रिय राजतन्त्रात्मक एकात्मक व्यवस्था हुँदा मात्र होइन, शासन प्रणाली बहुदलीय व्यवस्था हुँदै संघीय गणतान्त्रिक व्यवस्थामा आइपुग्दा पनि योग्यता र कार्यक्षमताभन्दा बलिया बन्दै गएका छन् ।

भाइ–भतिजा, भान्जा–भान्जी, दिदी–बहिनी, काकाकाकी, भान्जेदाइ–भान्जेभाइ, सम्धी–सम्धिनी, साला–साली, ज्वाइँ–जेठान, बुहारी–भाउजू, आफ्नो पार्टी र गुटनिकटले राजनीतिक, प्रशासनिक, कूटनीतिक, प्राज्ञिक नियुक्तिमा पहिलो प्राथमिकता पाउने प्रचलन र व्यवहारले नेपालको राजनीतिक व्यवस्थामा परिवर्तन आए पनि नेपाली समाजको सामाजिक तथा सांस्कृतिक संरचनामा खासै फरकपन नआएको कटु सत्यलाई उपेन्द्र कोइरालाको राष्ट्रिय वाणिज्य बैंक अध्यक्षमा भएको नियुक्तिले प्रस्ट पार्छ । यस्ता प्रवृत्तिको निरन्तरताले प्रा. विष्टले करिब तीन दशकअघि भनेको आफ्नो मान्छे अवधारणा अहिले मात्र होइन, हामीपछिका धेरै पिँढीले पनि बेहोर्नुपर्ने स्पष्ट छ । यसले प्रा. विष्टले भनेझैं नेपालको आधुनिकीकरणको बाटोलाई सधैंका लागि लगाम लगाएर राख्ने देखिन्छ । युवाहरूलाई पलायनको बाटो रोज्न बाध्य बनाउने, योग्यता र क्षमता भएकालाई किनारा लगाउने र उनीहरूमा निराशा उत्पन्न गर्नेबाहेक यसबाट केही हुन सक्ने देखिँदैन ।

अहिले भइरहेका नातावाद प्रवृत्तिले कविशिरोमणि लेखनाथ पौड्यालको कविता ‘म खाऊँ मै लाऊँ सुखसयल वा मोज म गरूँ, म बाँचूँ मै नाचूँ अरू सब मरून् दुर्बलहरू’ लाई फेरि सम्झाएको छ । नेपाली राजनीतिक नेतृत्वले आज पनि आफूबाहेक वा आफ्नो मान्छेबाहेक समाज र राष्ट्रलाई नसोच्ने परिपाटी ज्युँका त्युँ छ । राणाकालीन परिवेशलाई चित्रण गर्दै पौड्यालले लेख्नुभएको कविता त्यसको झन्डै एक शताब्दीपछि पनि नेपाली समाजको ऐना भएर हाम्रा अगाडि ठडिएको छ ।

प्रकाशित : भाद्र २८, २०७७ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?