बालबालिकामाथि पौष्टिक अन्याय

बजारु पत्रु खानाले बालबालिकाको भविष्य कमजोर र अँध्यारो बनाउँछ, अभिभावकको पैसा नाश गर्छ, नेपालीलाई रोगी बनाउँछ र समग्र नेपालको स्वास्थ्यलाई उँधो धकेल्ने काम गर्छ ।

हाम्रो देशमा थाहा नपाउने गरी धेरै खानेकुरा, खासगरी बालबालिकाका खानेकुराको बजारीकरण भएको छ । चाउचाउ (काँचै खान हुने), पफ बल्स, कुरकुरे, गुणस्तरहीन बिस्कुट इत्यादिले परम्परागत खाना र खाजालाई सजिलै विस्थापित गरेका छन् । होस नपुर्‍याउँदा यसले हाम्रो अर्थतन्त्रका साथै बालबालिकाको स्वास्थ्यमा समेत दीर्घकालीन रूपमा नराम्रो असर पुर्‍याउँछ ।

बालबालिकामाथि पौष्टिक अन्याय

प्लास्टिकको प्याकेटमा आउने पत्रु खाना (जुन सबैलाई मीठो लाग्छ, खान नहुने स्वादिष्ठ तत्त्वको मिसावटका कारण) ले नेपालका हरेक गाउँमा जरो गाडिसक्यो । हरेक गाउँका बाटाघाटामा बजारु खानाका थरीथरीका प्लास्टिक प्याकेट यत्रतत्र फ्याँकिएका पाइन्छन् । यसरी गाउँको मुहारलाई नै कुरूप पारेर वातावरणलाई प्रदूषित पारेको छ प्लास्टिकले । यो प्रदूषणले नेपाली बालबालिकामाथि भएको ‘पौष्टिक अन्याय’ लाई उजागर गर्छ ।

बजारु पत्रु खानामा केवल स्वादिलो तत्त्व र पोषणरहित पीठो हुन्छ र बालबालिकालाई यसको लत छिट्टै लाग्छ । खान्छु भनेर रोएपछि व्यस्त अभिभावकले किनिदिन्छन् र यस्तो पत्रु खानेकुराको दैनिक रूपमा उपभोग हुन थाल्छ । यस्तो लत छुटाउन एकदम गाह्रो हुन्छ र छुटाउनुपर्छ भनेर अभिभावकलाई सामाजिक अभियानमार्फत सुसूचित गरिएको पनि छैन । पैसाको नाश एक ठाउँमा छ, तर यसले हाम्रा बालबालिकालाई कुपोषित बनाई ठूलो क्षति पुर्‍याउँदै छ । नेपालका एकतिहाइभन्दा बढी बच्चा कुपोषित हुने एक मुख्य कारण पत्रु खानाको सेवन हो भनेर अनुसन्धानले पुष्टि गरेको छ । अफसोस के छ भने, आयस्रोत जस्तो भए पनि अरूको लहैलहैमा लाग्ने कम चेतना भएका अभिभावकहरूका बच्चामा कुपोषण झन् धेरै छ ।

बजारीकरणले सबै कुरा सजिलो बनाएर आमाबाबुलाई आफ्ना छोराछोरीको हेरचाह गर्ने, राम्रो पोषण दिने अधिकारलाई पनि कुण्ठित गरेको छ । याद रहोस्, यस्तो खाना उत्पादन गर्ने र यसको व्यापार गर्ने ठूला व्यापारिक घरानाले यस्ता पत्रु खाना आफ्नै बालबालिकालाई भने खुवाउँदैनन् । उनीहरूलाई थाहा छ, ‘खाना’ बनाउन कस्ता सामग्री र तत्त्व मिसाइएका हुन्छन् र यो कति पत्रु छ भनेर ।

छ महिनासम्म आमाको दूध खाएपछि ठोस खाना खान बच्चा तयार हुन्छ । ठोस खाना खाँदा एकैचोटि थरीथरीका पीठो मिसाएर बनेको लिटो दिँदा बच्चालाई अपच हुन्छ । त्यसैले एक थरी अन्नको मात्र पीठोको लिटो खुवाउने अनि तीन–चार दिनपछि अर्को गर्दै तीन–चार थरी पीठो बच्चाले पचाएपछि मात्र मिसाएको पीठोको लिटो खुवाउनुपर्छ । सात–आठ महिना भएपछि फेरि अर्थोक पनि खुवाउनुपर्छ, जस्तै— फलफूल, तरकारी, दही, अण्डा आदि । यो पनि बिस्तारै एक–एक गर्दै केही दिन बिराएर खुवाएको राम्रो ।

दस महिना वा एक वर्ष भएपछि बच्चाले घरमा खानेकुराहरू बिस्तारै खान थाल्छ । तर, उसलाई अझै पनि दूध र घरमै तयार पारिएको लिटो (यसैलाई भन्नुपर्छ सर्वोत्तम पीठो) पनि खुवाउनुपर्छ । बच्चालाई राम्रो गर्ने थरीथरीका खाना के–के हुन् ? सयौं वर्षदेखि अनुभवका आधारमा हाम्रो मुलुकका क्षेत्र–क्षेत्रमा बच्चालाई खुवाउन उपयुक्त देखिएका खाना र तयारीका तरिका के–के हुन् ? तिनमा कस्ताकस्ता भिटामिन र खनिज पदार्थ पाइन्छन् र कसरी खुवाउने ? यसबारे केही उदाहरण तल प्रस्तुत गरिएको छ ।

दाल र अन्न

विभिन्न दाल र अन्न, जस्तै— चामल, जौ, गहुँ, कोदो, मकै, जे पाइन्छ (एक थरीको दाल र दुई–तीन थरीका अन्न) बराबर मात्रामा मिसाएर स्वस्थकर खाना बनाउन सकिन्छ । उदाहरणका लागि, ५० ग्राम दाल र अरू दुई–तीन थरीका उत्तिकै अन्न राम्रोसँग केलाउने, भिजाउने र राम्ररी घाममा सुकाउने । सुकेको मिश्रणलाई राम्रोसँग पिँध्ने र हावा नछिर्ने बट्टामा टम्म पारेर राख्ने । राम्रोसँग पानीमा पकाउने, अलिकति घिउ हाल्ने र बच्चालाई खान दिने ।

विभिन्न थरीका दाल खुवाउँदा बच्चाको स्वास्थ्य राम्रो हुन्छ । दालमा प्रोटिन, म्याग्नेसियम, क्याल्सियम, लौहतत्त्व, रेसादार तत्त्व र पोटासियम हुन्छ । छ महिनाको बच्चालाई दालको झोल, आठदेखि दस महिनाका लागि दाल हालेको खिचडी खुवाउन सकिन्छ वा राम्रोसँग मिचेर दाल, भात र तरकारी पनि खुवाउन सकिन्छ ।

तरकारी

बच्चाका लागि आलु र सखरखण्ड पनि राम्रो हुन्छ । सखरखण्ड र पिँडालुमा भिटामिन ‘ए’, भिटामिन ‘सी’, भिटामिन ‘बी–६’ कपर, फोसफोरस, पोटासियम र म्याग्नेसियम हुन्छ । सखरखण्डमा रेसादार तत्त्व हुन्छ जसले बच्चालाई कब्जियत हुन दिँदैन र पेट खलास पार्छ । सखरखण्डलाई सुप बनाएर या ससाना टुक्रा बनाएर पकाउन सकिन्छ । यसलाई लिटोमा हालेर खान दिँदा पसलमा किन्नुपर्ने भिटामिन ‘ए’ चाहिन्न । त्यसै गरी फर्सी र कुभिन्डो पनि उसिनेर, पकाएर बच्चालाई दिन सकिन्छ ।

दलिया

बच्चालाई दलियाले पनि शक्ति दिन्छ र पाचन प्रणालीलाई पनि स्वस्थ बनाउँछ । दलिया धेरै पौष्टिक तत्त्वयुक्त आहार भएकाले बच्चादेखि नै खानेकुरामा मिसाएर दिन सकिन्छ । गहुँ, जौ, मकैको टुक्रालाई दलिया भनिन्छ । मकैको दलिया भनेको च्याँख्ला हो । दलिया/च्याँख्लाको पुलाउ या खीर बनाउन सकिन्छ ।

दलियामा घिउ हालेपछि स्वाद बढ्ने मात्र होइन, घिउले भिटामिन ‘ए’, ‘डी’, ‘ई’ र ‘के’ शोषण गर्न पनि ठूलो भूमिका खेल्छ । च्याँख्ला, दलिया र जौको चिउरा बच्चाका लागि अडिलो खाजा हो, जसले धेरै शक्ति दिन्छ । यसैले बच्चालाई आठ महिना भएपछि दलिया खुवाउन सकिन्छ । विभिन्न तरिकाले दलिया बनाएर खुवाउँदा बच्चाको रोगसँग लड्ने शक्ति बढ्छ । किनकि यसमा विभिन्न किसिमका खनिज पदार्थ, फोसफोरस, म्याग्नेसियम र लौहतत्त्व धेरै मात्रामा पाइन्छन् । दलिया, च्याँख्ला र चिउरामा रेसादार पदार्थ हुनाले पाचन प्रणाली पनि ठीक हुन्छ ।

फलफूल, अण्डा र अरू अन्न

बच्चालाई दैनिक खानामा आफ्नै ठाउँमा फलेका फलफूल दिँदा विभिन्न भिटामिनको आपूर्ति हुन्छ । टुसा उमारेका विभिन्न गेडागुडी राम्ररी पकाएर र मिचेर दिन सकिन्छ । गेडागुडी पकाउँदा अलिकति बेसार, हिङ, जिम्बु, ज्वानो र जिरा हाल्दा बच्चाले सजिलोसँग पचाउँछ र बच्चाको रोगप्रतिरोधी शक्ति बढ्छ । प्रोटिन बच्चाको हाड, मांसपेशी, रगत र छालाको विकास तथा वृद्धिका लागि अनिवार्य हुन्छ । बच्चालाई उच्चस्तरको प्रोटिन पुगोस् भनी अण्डा उसिनेर दिनु राम्रो हो । सुरुमा पूरै अण्डाको सट्टा एक चम्चा मात्र अनि चार भागको एक भाग दिने र बिस्तारै पूरै दिने । अण्डा सबैभन्दा पौष्टिकमध्ये मानिन्छ । अण्डामा धेरै थरीका भिटामिन, खनिज पदार्थ, उच्चस्तरको प्रोटिन, राम्रो बोसो पदार्थ र अरू महत्त्वपूर्ण पौष्टिक तत्त्वहरू हुन्छन् । आफ्नै घरमा ‘लोकल’ कुखुरा छ भने यसको अण्डा नै सबैभन्दा राम्रो हुन्छ बच्चाका लागि ।

आ–आफ्नो ठाउँमा जे अन्न पाइन्छ, त्यही खान दिँदा बच्चा स्वस्थ हुन्छ । कोदो र फापरजस्ता खानामा रेसादार तत्त्व, क्याल्सियम, लौहतत्त्व, प्रोटिन र अरू कतिपय भिटामिन तथा खनिज पदार्थ पाइन्छन् । कोदो र फापर खान दिँदा थोरैबाट सुरु गर्नुपर्छ ।राम्रोसँग पचिसकेपछि कोदो वा फापरमा अण्डा घोली रोटी (प्यानकेक) बनाएर दिन सकिन्छ । यो दुई–तीन वर्षको बच्चाका लागि राम्रो खाजा हो ।

अरू पोषणयुक्त खाना

दस महिना पुग्नुअगाडि नै बच्चालाई आफ्नो भान्सामा पाकेको खानेकुरा राम्ररी मिचेर दिन सकिन्छ । दिउँसोको खाजामा आलु र उमारेको केराउ वा चना हालेर जौको चिउराको पुलाउ खुवाउँदा स्वादिष्ठ र पौष्टिक हुनुका साथै यसबाट बच्चाको दाँत र गिजाको पनि व्यायाम हुन्छ । बच्चा चार–पाँच वर्षको हुँदा शरीरमा प्रोटिन पुगोस् भनेर हरियो वा सुकेको भटमासको तरकारी बनाएर खुवाउन सकिन्छ । भटमासमा रेसा तत्त्व, प्रोटिन र ओमेगा–३ फ्याटी एसिड पाइन्छ । भटमास र गहुँलाई छुट्टाछुट्टै सफा गरेर, भुटेर, अलग–अलग पिसेर, धूलो बनाएर हावा नछिर्ने बट्टामा बन्द गरेर राख्ने र खुवाउने बेलामा तातोपानीमा मिसाएर खुवाउन सकिन्छ । यसमा कुनै फलफूल मिसाउन सकिन्छ । पहिला थोरै र पचाउन सक्ने भएपछि अलि बढाएर दिनुपर्छ । भटमास र गहुँको धूलो तरकारीमा हालेर त्यसलाई पोषण र भिटामिनयुक्त बनाउन सकिन्छ ।

स्वस्थ बालक

कति अभिभावक बच्चा दुब्लो भयो भनेर चिन्ता गर्छन् र मोटो पार्ने भिटामिनको खोजीमा हुन्छन् । यदि बच्चालाई ज्वरो आउने र झाडापखाला लाग्ने गरेको छैन, सक्रिय छ, राम्ररी खेल्छ र दौडिन्छ भने चिन्तित हुनुपर्दैन । माया गरेर, आफ्नो हातले बनाएको पौष्टिक खाना दिँदा बच्चा छिटो हुर्किन्छ । प्याकेटको तयारी चाउचाउ बच्चालाई दिँदा न पारिवारिक ममता झल्किन्छ, न त बच्चाले पोषणयुक्त परम्परागत खाना पाउँछ । यसरी त बाल्यकालको पूर्वार्द्धमै नेपालका बालबच्चालाई आफ्नो सांस्कृतिक परिवेशबाट अलग्याउने प्रवृत्तिको सुरुआत हुन्छ ।

माथि उल्लेख गरिएका खानेकुराहरू ध्यानमा राखी पर्याप्त मात्रामा दूध खुवाएर अभिभावकले बच्चालाई हुर्काए बजारु खाना, भिटामिनका ट्याब्लेट र झोलमा पैसा खेर फाल्नुपर्दैन । सन्तुलित पौष्टिक आहारबाट पाइने भिटामिन सबैभन्दा प्रभावकारी हुन्छ र यसले बच्चाको शरीरलाई रोग प्रतिरोधात्मक शक्ति दिएर स्वस्थ बनाउँछ । स्वस्थ बच्चालाई हत्तपत्त रोग लाग्दैन र रुघाखोकीले पनि छुँदैन । पौष्टिक आहारविहीन बच्चाहरू बिरामी भैरहन्छन् र हाच्छिउँ गर्नेबित्तिकै नानाथरी एन्टिबायोटिक खानुपर्ने हुन्छ । बच्चाको सफल, उत्साहयुक्त, चनाखो र सुखी भविष्य सुनिश्चित गर्नका लागि उसको पालनपोषण र खानपिनमा ध्यान दिनुहोस् । आखिरमा आजकल धेरैजसोले विरलै दुई जनाभन्दा बढी बच्चा जन्माउँछन् र पहिलेजस्तो धेरै सन्तान हुर्काउनुपर्ने भार परिवारमा छैन पनि । बच्चा र आमा (परिवार र अरू परिवारजन) स्वस्थ भएर घरमा बनाएको पोषिलो खाना खान पाए र स्वास्थ्य उपचारमा धेरै खर्च गर्नुपरेन भने जीवनले अर्कै सुखद मोड लिन्छ, यसमा कुनै शंका छैन । घरका सबै जना फुर्तिला हुन्छन्, राम्रोसँग खान्छन् र चाहिने कुरामा मात्र पैसा खर्च गर्नुपर्ने हुन्छ । स्वस्थ बच्चाले पढ्न र खेल्नमा बढी ध्यान दिन्छ अनि उसको समग्र मस्तिष्क र शारीरिक विकास राम्ररी भइरहेको हुन्छ ।

अन्तमा

अहिले पश्चिमा मुलुकले नेपालजस्तो विकासोन्मुख देशका परम्परागत खाना, बाली र अन्नका पौष्टिक गुणहरू पत्ता लगाउँदै हाम्रो खाने तरिका अपनाउँदै छन् । हामीचाहिँ यही समयमा बजारमा पश्चिमाले नकारेका खानाहरू खान तत्पर भएका छौं । बजारमा पत्रु खाना पस्कने व्यापारिक घरानाले आफ्नै बालबच्चालाई खुवाउन बन्देज गर्ने यस्ता जोखिमपूर्ण प्रशोधित तयारी खाना/खाजा आफ्नो बच्चालाई खुवाउँदा के गर्दै छौं आफ्ना सन्तानलाई, एक–एक बाबु–आमा जोडीले विचार गर्ने कुरा हो ।

कोभिड–१९ महामारीले हामीलाई बुझाएको छ, सकेसम्म घरेलु खाना, आफूवरिपरि फलेका फलफूल, सागपात र परम्परागत चलनचल्तीका मसलाबाटै हाम्रो जीउ र ज्यानको रक्षा हुन्छ । यो कोभिड–१९ प्रतिको प्रतिरोधात्मक शक्ति मात्रै होइन, अरू जुनसुकै महामारीसँग पनि लड्ने शक्ति हो । यो परम्परालाई रक्षा गरौं, सानैदेखि बच्चामा राम्रो खाने बानी बसालौं र स्वस्थ नेपाल बनाऔं । हामी हरेकले ठोस कदम चाल्यौं भने यो देशव्यापी अभियान हुनेछ, पत्रु खानाको बजार खस्कनेछ र पूरै मुलुकको स्वास्थ्यको कायापलट हुनेछ ।

प्रकाशित : भाद्र २६, २०७७ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?