कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

वामदेवको खाल्डो : प्रतिक्रियावादी पुर्ने कि आफ्नै राजनीति ?

विधि कुल्चेर पदप्राप्तिमा लाग्दा आफ्नै राजनीति ‘खाल्डा’ मा पर्न सक्छ । ‘प्रतिक्रियावादी’ पुर्ने खाल्डो खन्दै गर्दा वामदेव गौतमले यो हेक्का राख्नु जरुरी छ । 
राजाराम गौतम

काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम तत्कालीन नेकपा एमालेको उपमहासचिव हुँदा भन्ने गर्थे, ‘सबै प्रतिक्रियावादीलाई एउटौ खाल्डोमा पुर्नेछौं ।’ एमालेको नौमहिने सरकार भएका बेला दिल्लीको एउटा जमघटमा उनले त्यसो भनेका थिए ।

वामदेवको खाल्डो : प्रतिक्रियावादी पुर्ने कि आफ्नै राजनीति ?

रुस, भारतलगायत विभिन्न देशका कम्युनिस्ट पार्टीका प्रतिनिधिको भेलामा, मदन भण्डारीद्वारा प्रतिपादित ‘जनताको बहुदलीय जनवाद’ को बखान गर्दै उनले भनेका थिए, ‘त्यत्रो ठूलो सोभियत संघ भत्किरहेको बखत हामी शासन–सत्तामा पुगेर हँसिया–हथौडा फहराउन सफल भएका छौं । हाम्रो सफलताको बाटोमा साम्राज्यवादी/प्रतिक्रियावादी शक्ति अवरोध भए भने सबैलाई एउटै खाल्डोमा पुर्नेछौं ।’

२०५२ असार १४ गते ‘जननेता मदन भण्डारी र जनताको बहुदलीय जनवादका विविध पक्षहरू’ विषयक अन्तरक्रियामा सो अभिव्यक्ति दोहोर्‍याएपछि वामदेवले खुब चर्चा पाएका थिए ।

चर्चा त उनी अहिले पनि बटुल्दै छन् । फरक के छ भने, २०५२ सालमा ‘प्रतिक्रियावादीहरूलाई एउटै खाल्डोमा पुर्ने’ हुँकारका कारण चर्चा कमाएका उनी अहिले पदलोलुप प्रवृत्तिका कारण गफको विषय बनेका छन् ।

कम्युनिस्टहरू आफूलाई प्रगतिशील शक्ति ठान्छन् । परिवर्तनको पक्षधर दाबा गर्छन् । तिनको बुझाइमा, समाजको अग्रगामी सुधार नचाहने, परिवर्तनविरोधी, विधि मिच्ने, अलोकतान्त्रिक चरित्र भएका दक्षिणपन्थी शक्ति/समूह ‘प्रतिक्रियावादी’ हुन् । केही प्रतिकूल अवस्था आइपर्दा उनीहरू ‘प्रतिक्रियावादी’ षड्यन्त्र देख्छन् । तर यथार्थमा नेपालका कम्युनिस्टको आचरण, चरित्र अनि व्यवहार ‘प्रतिक्रियावादी’ को भन्दा गए–गुज्रेको हुँदै गएको छ ।

वामदेवको अवस्था यस्तै छ । नैतिक साख गुमेको, फिटिक्कै लज्जाबोध नभएको । प्रतिनिधिसभा निर्वाचनमा पराजित उनी विधि मिच्दै छिद्रबाट छिरेर राष्ट्रिय सभा उक्लिन खोजेपछि घट्दै गएको साखको सूचक स्वाट्टै ओर्लिएको छ ।

पराजित भएर राष्ट्रिय सभा जाने गौतम मात्रै हुन् र ? यत्रो कोकोहोलो किन ? एउटा कोणबाट यस्ता प्रश्न पनि उठेका छन् । यो विषयमा पुछारमा चर्चा गरौंला । त्यसअघि वामदेवको पाँच दशक लामो राजनीतिक यात्रालाई नियालौं ।

संघर्षपूर्ण विगत भएका कम्युनिस्टमा सत्ताको मात चढ्दा कुन स्तरको राजनीतिक स्खलन हुन्छ ? तिनले राजनीतिक आस्था, मूल्य–मान्यतालाई कसरी तिलाञ्जलि दिन्छन् ? वामदेव एउटा नजिर हुन सक्छन् ।

२००५ सालमा जन्मिएका वामदेव बालखैमा कम्युनिस्ट राजनीतिप्रति आकर्षित थिए, धेरै कुरा नबुझ्दै । सामन्ती पृष्ठभूमिको परिवार, मावली कांग्रेससँग जोडिएको हुँदाहुँदै उनी सात–आठ वर्षको उमेरमै ‘बाल कम्युनिस्ट समूह’ तिर लागे । प्यूठान, बागलुङ, रुकुम, रोल्पातिर मोहनविक्रम सिंह कम्युनिस्ट राजनीति बढाउँदै थिए । त्यो बेलाका जल्दाबल्दा नेता सिंहको अभियानप्रति वामदेव पनि आकर्षित भएर सांस्कृतिक कार्यक्रम, आमसभा, जुलुस आदिमा सहभागी हुन्थे ।

तर, सिंहलाई वामदेव आफ्नो संगठन या अभियानमा सरिक भएको सम्झना छैन । ‘द्रोणाचार्यलाई एकलव्यले गुरु मानेजस्तै होला उनको मप्रतिको सद्भाव’, सिंह भन्छन्, ‘एउटै भेगको भए पनि उनी हाम्रो राजनीतिसँग कहिल्यै जोडिएनन् ।’

वामदेव बरु पुष्पलाल समूहसँग जोडिए २०२६ सालमा, कम्युनिस्ट पार्टीको पूर्णकालीन कार्यकर्ता भएर । उनलाई जोड्ने कडी थिए, जीवराज आश्रित, मोदनाथ प्रश्रित, गोविन्द ज्ञवाली र देवी पाण्डे आदि । २०२५ सालमा मत्स्यपालन केन्द्र, भैरहवामा जागिर खाएका उनी एक वर्षपछि कम्युनिस्ट राजनीतिमा लागेका थिए । ‘फाटेका चप्पल, सात–आठ कक्षा मात्रै पढेका वामदेव बडो बिचरा अवस्थामा भेटिएका थिए’, प्रश्रित सम्झिन्छन्, ‘पुष्पलालको पार्टी खोज्दै आउँदा हामीले उनलाई राजनीतिमा प्रवेश गराएका थियौं ।’

मदन भण्डारी, जीवराज आश्रित, प्रश्रितहरूसँगै राजनीतिमा सक्रिय गौतम २०३३ सालमा पुष्पलालसँग मतभेद भएर ‘मुक्ति मोर्चा’ गठन गरिँदा त्यतै लागे । त्यही वर्ष रूपन्देहीबाट पक्राउ परेका उनी २०३५ सालमा जेलमुक्त हुँदा मुक्ति मोर्चा र झापा विद्रोहको पृष्ठभूमि भएको कोअर्डिनेसन केन्द्रबीच एकता भईवरी नेकपा (माले) गठन भइसकेको थियो । त्यसपछि नेकपा मालेमा आबद्ध भए । माले हुँदै एमाले, एमाले फुटाएर माले, एकता गरेर फेरि एमाले र अहिले नेकपाको उपाध्यक्ष भएका छन् उनी । उनको ५१ वर्षे राजनीतिक यात्रा यही हो ।

यो यात्रामा उनका केही सबल पक्ष देखिन्छन् । जस्तो, उनी संगठनको काममा निरन्तर खट्न सक्थे । कतिसम्म भने, संगठनको काममा जहाँ खटियो, त्यहीँको खानपान, वेशभूषामा रमाउँथे । रूपन्देहीमा हली भएर एक दर्जन मानिसलाई सदस्य बनाएको उनी गौरवसाथ सुनाउने गर्छन् । भन्छन्, ‘रूपन्देहीको पश्चिमी सीमामा एक जना धनी किसानको घरमा उनका छोराछोरी पढाउने काम गर्थें । मसँग पढ्न अरू पनि आउन थालेपछि ती किसानसँग मिलेर स्कुल खोलें । तर, मेरो क्रियाकलाप मन नपराउनेहरूले स्कुल चल्न नदिएपछि म हली बनेरै त्यही गाउँमा काम गर्न थालें । बाह्र जना किसानलाई सदस्य बनाएको थिएँ ।’ (सूर्य मासिक, २०५० असोज अंक)

निरंकुश पञ्चायतकालमा जोखिम मोलेका, जेलनेल भोगेका वामदेवको सांगठनिक सक्रियता र जुझारुपन २०४६ सालको राजनीतिक परिवर्तनपछिका सुरुआती वर्षमा पनि कायमै थियो । खासगरी कांग्रेसको गिरिजा सरकारविरुद्धका सडक आन्दोलनमा उनी अग्रमोर्चामा हुन्थे । भौतिक रूपमा धेरै खट्न सक्ने, कार्यकर्तालाई कजाएर काम लगाउन सक्ने उनको ‘क्रेज’ पार्टी पंक्तिभित्र थियो ।

२०५१ सालको मध्यावधि निर्वाचनमा एमाले पहिलो दल भएपछि अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वमा सरकार गठन भयो । तत्कालीन महासचिव माधव नेपाल, केपी ओली लगायतका शीर्षनेता सरकारमा सहभागी भए । वामदेवले त्यही बेला पार्टी सञ्चालनको जिम्मेवारी पाए । विधानमै नभएको उपमहासचिव पद सिर्जना गरेर उनलाई जिम्मेवारी दिइयो । त्यही विन्दुबाट उनको महत्त्वाकांक्षा चुलिन थाल्यो ।

नौमहिने अल्पमतको सरकार ढलेपछि उपमहासचिव पदको औचित्य पनि सकियो । पार्टीले उपमहासचिव पद खारेज गर्‍यो । तर, आफ्नो भूमिका खुम्चिएकामा वामदेवभित्र ‘तुष’ चाहिँ पलायो । बलियो हुँदै गएको एमालेको स्वास्थ्यका लागि त्यसपछिका दिन सुखद भएनन् । संसद्मा कसैको बहुमत नहुँदा गठबन्धन सरकारहरू गठन हुने, ढल्ने सिलसिला सुरु भयो । सरकार गठन/विघटनसँगै दलहरू आन्तरिक किचलो बढेर विभाजनको तहसम्म पुग्न थाले । एमाले विभाजित भयो र माले गठन भयो, वामदेवकै नेतृत्वमा ।

त्यो बेला वामदेवको व्यक्तित्व विरोधाभासपूर्ण बनेको थियो । सरकार ढाल्ने/बनाउने विसंगतिपूर्ण खेलका ‘नाइके’ झैं देखिएका थिए उनी । एकातिर सुरा–सुन्दरी, सुन काण्ड आदिमा मुछिएको एउटा विवादास्पद अनुहार थियो भने, अर्कातिर पार्टीभित्र महाकाली सन्धिको विपक्षमा उभिएर ‘राष्ट्रवादी’ नेताको छवि बनेको थियो । राष्ट्रियताप्रति संवेदनशील नेताको छवि बनाएका उनले माले विभाजन हुँदा महाकाली सन्धि असमान भएको अडान राखेका थिए । उनले भारतीय शासकवर्गलाई ‘प्रभुत्ववादी’ र अमेरिकालाई ‘साम्राज्यवादको नाइके’ भन्नुपर्ने अडान पनि राखे । राष्ट्रियताको मुद्दामा मत नमिलेर पार्टी विभाजन भयो । तर, विभाजनको कारक त्यो मात्रै थिएन । पार्टी र सरकारमा भूमिकाको भागबन्डा नमिल्दा आन्तरिक असन्तुष्टि बढेको थियो । पछि पुनः माले एमालेमै मिसिनुले पनि मुद्दाभन्दा प्रधान कुरा आन्तरिक असन्तुष्टि नै रहेको प्रस्ट्याउँछ ।

त्यसो त एमाले होस् वा अहिलेको नेकपा, प्रधान कुरा आन्तरिक किचलो, पदीय भागबन्डा, नेतृत्वको व्यवस्थापन, एकअर्काप्रतिको इगो आदि नै छन् ।

अहिले वामदेवलाई राष्ट्रिय सभामा पठाउने निर्णयकै कुरा गरौं । यो निर्णय पनि आन्तरिक गुटबन्दीको व्यवस्थापन नै हो । निश्चय पनि राष्ट्रिय सभा जाने पराजित अनुहारमध्ये वामदेव पहिलो होइनन् । तर, अरू पराजित जान हुने, वामदेव किन नहुने भनेर यो अलोकतान्त्रिक निर्णयको बचाउ गर्नु अर्को अविवेकी तर्क हुनेछ । पहिलो कुरा, अरू पनि पराजित अनुहार राष्ट्रिय सभा लगिनु भनेको जनमतको निर्मम अवमूल्यन हो । विभिन्न विषयका विज्ञ र राष्ट्रिय व्यक्तित्वहरूलाई समेट्नुपर्ने राष्ट्रिय सभा जनताले अस्वीकार गरेका पात्रको व्यवस्थापन गर्ने थलो हुन सक्दैन । त्यसमाथि वामदेवको महत्त्वाकांक्षा त्यत्तिकै बढेको होइन । उनले राष्ट्रिय सभामा सीमित हुन होइन, मन्त्री बन्न जाँदै गरेको आफैं सगर्व घोषणा गरेका छन् । अझ केहीअघि त नेकपाका केही नेताले ‘संविधान संशोधन गरेर राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री हुन सक्ने व्यवस्था गर्ने’ भन्दै त्यसको असफल अभ्यास थालेका थिए । यी र यस्ता अलोकतान्त्रिक सोच र कर्मले वामदेवलाई यो स्तरमा झर्न उत्प्रेरित गरे ।

उसै त राजनीतिले बाटो बिराएको छ । पहिलोपटक कम्युनिस्टहरूले यति ठूलो जनमत पाए । राष्ट्रिय–अन्तर्राष्ट्रिय अवस्था अनुकूल हुँदा पनि ‘डेलिभरी’ गर्न नसकेर आम जनता निराश र असन्तुष्ट छन् । त्यसमाथि विधि मिच्ने प्रवृत्तिलाई मात्रै प्रोत्साहन गर्दा त्यसले राजनीतिलाई थप कमजोर बनाउँछ र लोकतान्त्रिक पद्धतिप्रति जनतामा अविश्वास अझ बढ्न सक्छ ।

व्यक्तिगत राजनीतिक करिअरकै कुरा गर्दा पनि पटकपटक मन्त्री/उपप्रधानमन्त्री भएका, पार्टीको शीर्षतहमा बसेका नेताले नैतिकता र सदाचार छोड्दा तिनको छवि पदमुखी र लोभी नेतामा सीमित हुन्छ । कुनै बखत हक्की, अडान राख्ने, संगठनको काममा गतिशील भएर खट्ने नेताको उपमा पाएका वामदेवमा पछिल्लो कालखण्डमा यस्तै दुर्बल पक्षहरू मात्रै हावी हुँदै गएका छन् । उनी जसरी पनि सत्ता र शक्तिको केन्द्रमा रहन चाहन्छन् । उनका एक निकट सहयोगी भन्छन्, ‘समकक्षी नेताहरूमध्ये प्रधानमन्त्री हुन नसकेकामा उनमा बढी नै कुण्ठा छ । त्यही कुण्ठाका कारण उनी कहिलेकाहीँ जेमा पनि सम्झौता गरिहाल्छन् ।’

यो बेला नेकपाभित्र मूलतः तीनवटा गुट छन् । केपी, प्रचण्ड र माधव गुट । वामदेव यी तीनमध्ये कहिले कुन गुटका लागि प्रयोग हुन्छन्, त कहिले कुन । शक्ति र पदीय लालसा देखाउनेबित्तिकै हौसिइहाल्ने स्वभाव भएकाले वामदेव धेरैपटक ‘एक्सपोज’ भएका छन् ।

पदका लागि जे पनि गर्न सक्छन् भन्ने सन्देश उनकै गतिविधिले दिने गरेका छन् । ‘आफैं आग्रह गरेर पदमा जानु कुनै पनि नेताका लागि सुहाउने विषय होइन,’ संगठनको काममा कुनै बखत वामदेवसँगै हिँडेका प्रश्रित भन्छन्, ‘न आर्थिक अभाव छ, न राजनीतिक भूमिका कम छ, त्यस्तो शीर्षतहमा पुगेको नेताले आफैं यो पदमा जान्छु भनेर लोभी देखिनु सुहाउने कुरा होइन ।’

वामदेव ‘प्रिभिलेज्ड’ नेता हुन् । विधानमै नभएको पदसमेत उनका लागि सिर्जना भएका छन्Ù कहिले उपमहासचिव, कहिले उपाध्यक्ष । तैपनि उनी सन्तुष्ट हुन सक्दैनन् र अलोकतान्त्रिक विधिबाट सांसद/प्रधानमन्त्री बन्ने प्रपञ्च गर्नतिर लाग्छन् भने, त्यसबाट उनको बचेखुचेको साख र विश्वसनीयता पनि बाँकी रहँदैन ।

प्रतिस्पर्धात्मक राजनीतिमा पद र सत्ता खोज्नु अस्वाभाविक होइन । तर, त्यो लोकतान्त्रिक विधिभित्र रहेर जनमतका आधारमा हुनुपर्छ । विधि कुल्चेर छिद्रबाट छिरी पदप्राप्तिमा लाग्दा आफ्नै राजनीति ‘खाल्डा’ मा पर्न सक्छ । ‘प्रतिक्रियावादी’ पुर्ने खाल्डो खन्दै गर्दा वामदेवले यो हेक्का राख्नु जरुरी छ ।

(शुक्रबार प्रकाशित हुने कान्तिपुरको प्रिन्ट संस्करणबाट ।)

प्रकाशित : भाद्र २५, २०७७ १७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?