कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

पीडा साटे खुसी

प्रतीक्षा तुलाचन

विश्व आत्महत्या रोकथाम दिवस हरेक वर्ष सेप्टेम्बर १० मा मनाइन्छ । यसपालिको मूल नारा हो— ‘आत्महत्या रोक्नका लागि हाम्रो सहकार्य ।’ के हामीले आत्महत्यालाई रोक्न सक्छौं त ? विज्ञहरूका अनुसार, तीव्र पीडा भाव र नकारात्मक विचार रोक्न सके आत्महत्या कम गर्न सकिन्छ ।

पीडा साटे खुसी

‘आत्महत्या’ शब्द सुनेर मन खिन्न र उकुसमुकुस नहुने व्यक्ति सायदै कोही होला । यो शब्दले जति पीडा बोकेको छ, त्योभन्दा निकै बढी पीडा आत्महत्या गर्ने व्यक्तिहरूले भोग्नुपरेको हुन सक्छ, जुन हामी कल्पना पनि गर्न सक्दैनौं । उनीहरूलाई कहाँबाट आउँछ होला आफ्नै मृत्यु अँगाल्ने सोच ? कहाँबाट आउँछ यस्तो कदम चाल्ने शक्ति ? कति मर्माहत भए होलान् यो बाटो छान्दा ?

आत्महत्या गर्ने वा आत्महत्याको प्रयास गर्ने बालकदेखि बृद्धसम्म सबैको आआफ्नै कथा भेटिन्छ । कथा फरक–फरक भए पनि त्यसमा एउटै समानता हुन्छ— पीडा । यसै भावनासँग जोडिएका हुन्छन् नकारात्मक विचारहरू, जसमध्ये एक आत्महत्या हो । यस्तो विचार र भावना आउनुको कारण व्यक्तिपिच्छे भिन्न हुन सक्छ । कसैलाई उदासीनता, नैराश्यजस्ता मानसिक रोगका कारण आत्महत्याको सोच आउँछ भने कसैलाई क्षणिक पीडा र दुःखद घटनाहरूले गर्दा । उदासीनताले पिरोलिएका व्यक्तिहरूलाई जब आफू निकै निराश, असहाय र बेकम्मा लाग्न थाल्छ, तब आत्महत्याको सोच आउँछ । कुनै घटनाको पश्चात्तापका कारण पनि यस्तो सोच आउन सक्छ । रिस, लाज, ईर्ष्या, इमानदारी वा आत्मसम्मानमा ठेस, धनसम्पत्तिको नाश, शोकजस्ता घटनाले क्षणिक दुःख महसुस गर्नेहरूमा जब आवेगजस्तो अवगुण मिसिन्छ, तब आत्महत्या वा आत्महत्याको विचार निम्तिन सक्छ ।

पीडा अभिव्यक्ति गर्ने तरिका हरेक व्यक्तिमा फरक–फरक हुन सक्छ । यसमा व्यक्तिविशेषको उमेर, लिंग र व्यक्तित्वजस्ता कारकको भूमिका हुन्छ । कसैले बोलेर पीडा व्यक्त गर्न सक्छन्, कसैले सक्दैनन् । बालबालिका रोएर र कराएर पीडा व्यक्त गर्छन् भने बूढापाकाहरू अनुहार र हाउभाउबाट । बोलेर दुःख व्यक्त गर्ने पुरुषहरू कमै हुन्छन् । महिलाहरू भने शारीरिक लक्षणमार्फत पीडा प्रस्तुत गर्छन् । हेराइ, बोलाइ र कामगराइमा परिवर्तन, खाना अनि निद्रामा कमीजस्ता लक्षण सामान्य रूपमा सबैले देखाइरहेका हुन्छन् । व्यवहारमा उल्लेखनीय वा विशेष परिवर्तन पनि आएको हुन सक्छ । यस्ता लक्षणहरू बेलैमा पहिचान गर्न सके या पहिचान गर्न कोसिस गरेर ठीक समयमा सही भूमिका खेल्न सके आत्महत्याजस्तो अप्रिय घटनालाई कम गर्न सकिन्छ ।

आफ्नो अनुभवका आधारमा म आत्महत्याप्रतिको हाम्रो बुझाइमा कमजोरी देख्छु । मित्र, छिमेकी, परिवारको सदस्य वा शिक्षक कुनै न कुनै भूमिकामा रहेका हामी कसैको दुःखको साथी बन्न सक्छौं । कसैले दुःख पोखेका बेला उसको विचार र भावनालाई ध्यान दिएर सुनिदिने मात्र गरे पनि पीडितलाई सजिलो महसुस हुन्छ । सकिन्छ भने अझ उसलाई बोल्न प्रोत्साहन गर्नुपर्छ । उसको विचार तपाईंको विचारसँग मेल नखान सक्छ, तर उसले आफ्नो कुरा भनिरहँदा तर्क गरियो भने उसलाई झनै पीडा हुन सक्छ । राम्रो बोली–व्यवहारले उसको पीडा कम गर्न प्रयास गर्नुपर्छ । ‘धेरै गाह्रो भयो भने भन, हामी छौं’, ‘एक्लो नठान आफूलाई’ भन्ने र मिल्छ भने हात समाइदिने, काँधमा सुमसुम्याउने या अँगालो मार्नेजस्ता व्यवहार उपयोगी हुन्छन् ।

कसैले आत्महत्याको इच्छा व्यक्त गर्‍यो भने कहिल्यै ठट्टा नगरिदिने वा त्यसलाई ठट्टा नठान्ने, बरु यसको भित्री पाटो बुझ्न कोसिस गर्नुपर्छ । सहयोग गर्ने विभिन्न माध्यमको जानकारी बटुल्नुपर्छ । हाम्रो समाजमा पुरुष रोयो भने वा दुःख व्यक्त गर्‍यो भने ‘कातर’ भन्ने चलन छ । यसबाट पीडा पोख्ने पुरुषहरूमा झन् नकारात्मक असर परिरहेको हुन्छ । अनि त्यस्ता व्यक्ति खुलेर कुरा गर्न वा दुःख पोख्न खोज्दैनन् । यस्तोमा उनीहरूको व्यवहार वा हाउभाउबाट पीडा जतिसक्दो चाँडो चिनेर त्यसलाई हल्का पार्न सके आत्महत्याको घटना कम गर्न सकिन्छ । जसलाई आत्महत्या गर्ने विचार आउँछ, त्यस्ता व्यक्तिहरूले आफ्नो नजिकको कसै न कसैसँग कुरा गर्दा सोचाइ बदलिन सक्छ । हामीलाई सानैदेखि बोल्न त्यति प्रोत्साहन गरिँदैन । यो हाम्रो समाजको कमजोरी हो ।

आफ्नो तर्क र भावना खुलेर राख्न दिइँदैन । भावनालाई कसरी व्यक्त गरिन्छ भनेर पनि सिकाइँदैन । कतिपय घरमा कम बोल्ने, आफ्नो विचार नराख्नेलाई धेरै ज्ञानी भनेर चुपचाप रहन प्रोत्साहित गरिन्छ । आफ्नो भावना पोख्नेलाई निन्दा गरिएको पनि पाइएको छ । यस्ता धारणाका कारण कसैले पीडा महसुस गर्दा पनि व्यक्त गर्न सक्दैनन् । आफ्नो कुरा भन्न गाह्रो हुन्छ अनि पीडा झन् थपिँदै जान्छ । आत्महत्या रोकथाम दिवस मनाइरहँदा अझै पनि विभिन्न स्थानमा धेरै व्यक्ति पीडामा छन् र केही सेकेन्डमै यो पीडा आत्महत्यामा परिवर्तन हुन सक्छ भन्ने बुझ्नुपर्छ । हामी सबै मिलेर यस्ता व्यक्तिहरूको पहिचान गर्नुपर्छ ।

(तुलाचन त्रिवि शिक्षण अस्पतालकी मनोचिकित्सक हुन् ।)

प्रकाशित : भाद्र २५, २०७७ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?