१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

जात्राको स्थगन पनि संस्कृति हो

हरेक धर्म र संस्कृतिको आधारभूत उद्देश्य नै मानव समाजलाई सुखी बनाउनु हो।
लीला न्याइच्याईं

सानो क्षेत्रफलमै प्रशस्त जैविक र सांस्कृतिक विविधता हुनु नेपालको विशिष्ट परिचय हो । विविध भाषा र संस्कृतिले भरिपूर्ण देश भएकैले हरेक दिनजसो कुनै न कुनै जाति, समुदायको उत्सव परिरहेको हुन्छ ।

जात्राको स्थगन पनि संस्कृति हो

हरेकजसो जाति, समुदायका आफ्नै संस्कृति भए पनि जात्रा, भोज र उत्सवका लागि नेवाः समुदाय प्रसिद्ध छ । समयक्रममा देशैभर छरिएर रहे पनि काठमाडौं उपत्यका नेवाः समुदायको मूल भएकाले यहाँ नै बढीजसो जात्रापर्व, भोज र उत्सव हुने गर्छन् ।

काठमाडौं, ललितपुर र भक्तपुरका ऐतिहासिक सहर नै यी सांस्कृतिक अभ्यासका केन्द्र हुन् । यी सांस्कृतिक अभ्यासलाई नेवाः समुदायले केवल आफ्नो पहिचानगत परिचयमा सीमित राखेको छैन । आफ्नो सांस्कृतिक अभ्यासलाई संरक्षण गर्ने सिलसिलामा यसैलाई जीविका र जीवनका अन्य आयामको पाटो बनाउने प्रयत्नमा भक्तपुर नगरपालिकाको प्रयत्न उल्लेखनीय छ । उसले सांस्कृतिक धरोहरको संरक्षण–संवर्द्धन गरेरै आयस्रोत बनाइरहेको छ । भक्तपुर नगरपालिकाको ८० प्रतिशत आय सांस्कृतिक क्षेत्रको पर्यटनबाटै हुन्छ । यही आयबाट उसले शैक्षिक संस्था, शिशु स्याहार केन्द्र र स्वास्थ्य संस्थाहरू सञ्चालनदेखि विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।

स्थानीय सरकारको सक्रियता र प्रत्यक्ष नेतृत्वमा नभए पनि संस्कृति संरक्षणमा ललितपुर र काठमाडौंको नेवाः समुदाय पनि उत्तिकै प्रयत्नशील छ । विभिन्न संघ–संगठन बनाएर परम्परा र संस्कृतिलाई नयाँ पुस्तामा प्रवाह गर्ने क्रम नियमित छ । नेवाः सांस्कृतिक अभ्यासको निरन्तरतामा यस वर्ष भने गतिरोध सिर्जना भएको छ । कोभिड–१९ का कारण यसपालि भने नेवाः समुदायले सांस्कृतिक अभ्यासलाई निरन्तरता दिन पाएन । भक्तपुर नगरमा हरेक वर्षको अन्तिमतिर मनाइने वर्षभरिकै ठूलो जात्रा बिस्केट पनि मनाइएन । भैरवको रथ बनाइएन । बिस्केटको लिंगो उभ्याइएन । हरेक बिस्केट जात्रामा श्रद्धालुहरूको भीडले खुट्टा राख्ने ठाउँ नहुने भक्तपुरका आदिम गल्लीहरू सुनसान भए । अति महत्त्वपूर्ण मानिने देवाली कुलपूजाहरू घरभित्रै सीमित भए । सुकुलमा लहरै बसेर आफन्त र इष्टमित्रसँग गफ चुट्दै खाइने नेवारी भोज परिवारजनमा सीमित भयो ।

गाथामंगलहरू अति कम निकालिए । गुँलाबाजा निकालिएनन् । गाईजात्रामा कुनै बाजा बजाइएन । मृतकका परिवारजनले सादा रूपमा अनुशासित भई नगरपालिकाको आह्वानअनुसार गाईजात्रा परिक्रमा गरे । टोलटोलका रथ खट यात्रा रोकिए । यमद्यो उठाइएनन् । जात्राको त चरित्र नै भीडभाड, होहल्ला हो । तर भक्तपुर नगरपालिका, स्थानीय सांस्कृतिक समूहका अगुवा र गुरुहरूको संयोजनकारी अगुवाइमा जात्राको त्यो चरित्रले निरन्तरता पाएन । भक्तपुरका टोलटोलमा रहेका पुराना दाफा र भजनहरूले साथ दिएकाले नै महामारीविरुद्ध लड्न स्थानीय सरकार धेरै हदसम्म सफल भयो । नगरपालिकाको अनुरोध नै नमान्ने जनता नभएका पनि होइनन् तर स्थानीय सरकारले यस्तो बेला जनतालाई केन्द्रमा राख्यो । उसले सांस्कृतिक गतिविधिलाई औपचारिकतामा सीमित गर्न नगरवासीलाई हौस्यायो । काठमाडौंमा पनि यस्तै अभ्यास भयो । स्थानीय सरकारको भन्दा पनि स्थानीय नेवाः समुदायको प्रयत्नले बर्सेनि बडो धुमधामका साथ निकालिने इन्द्रजात्रा स्थगित भयो ।

रातो मच्छिन्द्रनाथ जात्रा गर्नैपर्छ भन्ने जोडबलले पाटनमा भने भिडन्त निम्त्यायो । महामारीको संकट बिर्सेर मानिसहरू जम्मा भए । उनीहरूले भौतिक दूरी राख्न त परै जाओस्, मास्क नै नलगाएको वा चिउँडोमा झुन्ड्याएको देखियो । पाटनको ज्यापू समुदाय र टोलवासीलगायत विभिन्न नेवाः समूहले त्यो भीडमा आफ्नो सहभागिता नभएको प्रस्ट्याइसकेका छन् । उनीहरूले त्यसरी जबरजस्ती रथ तान्न खोजिएकोप्रति खेदसमेत जनाएका छन् ।

आखिर को थिए त ती आक्रोशित मानिसहरू ? शंकाका अन्य ढोका बन्द गर्ने हो भने पनि एउटा तथ्य प्रस्ट छ— ती रैथाने नेवाः नै थिए । संस्कृति र परम्परालाई निरन्तरता दिनुपर्छ भन्ने मानसिकताले उद्वेलित थिए । सम्भवतः उनीहरूलाई बुङद्यःलाई मलमास सुरु हुनुअगावै बुङमतीसम्म नपुर्‍याए भक्तपुरले देवता लगिदिन्छ भन्ने मिथकले पनि प्रभावित पार्‍यो । तर, यो प्रवृत्तिले एउटा गम्भीर प्रश्न सिर्जना गरेको छ । आखिर संस्कृति कसका लागि हो ? जनताका लागि कि केवल संस्कृतिका लागि ? भेन्टिलेटरमा सास अडिरहेका कोभिड बिरामीको संख्या बढिरहेको छ । महामारीको केन्द्र उपत्यका नै भएको छ । अस्पतालमा संक्रमित राख्ने ठाउँ छैन । यो विषम परिस्थितिमा पनि जसरीतसरी जात्रा गर्नैपर्छ भन्ने मानसिकताले के अभिव्यक्त गर्छ ? जात्रा मानिसका लागि कि केवल जात्राकै लागि ?

त्यसो त नेपालभाषा साहित्य, कला र संस्कृतिका क्षेत्रमा क्रियाशील मानिसहरूबीच पहिलेदेखि दुई थरी मान्यता छ । एक थरीको विचारमा भाषा बाँचे जनता बाँच्छ । अर्को थरी भन्छन्, जनता बाँचे भाषा बाँच्छ । यी दुवै मान्यतामा जनता र भाषाको अन्तरसम्बन्ध चर्चा गरिएको छ । एक थरीले भाषालाई केन्द्रमा राखेका छन् भने अर्का थरीले जनतालाई । भाषा र संस्कृतिले कसको सेवा गर्ने भन्ने विषयले नै यी दुई फरक मान्यता सिर्जना गरेको छ ।

हरेक समुदायको भाषा, संस्कृति, परम्परा, चालचलनले जनताको सेवा गर्नुपर्छ । जनता बाँचे मात्र सांस्कृतिक अभ्यासहरूले निरन्तरता पाउने हुन् । संस्कृति र परम्परा धान्नुको अर्थ हिजो जसरी मनाइन्थ्यो आज पनि त्यसरी नै मनाउनुपर्छ भन्ने होइन । महामारीसँग जुध्न आवश्यक मापदण्ड अपनाउनु पनि संस्कृति नै हो । हामीले आज बडो श्रद्धाका साथ मनाउने संस्कृति र परम्परा पनि लामो समय लगाएर मानिसले नै बसालेका हुन् । संस्कृति भनेकै मानवनिर्मित अभ्यास हो । कुनै पनि समुदाय बसेको भूगोलको बनावट, स्रोत–सामग्रीको उपलब्धता र उत्पादन प्रणालीअनुसार संस्कृति–परम्परा बन्दै/बस्दै आएका हुन् । काठमाडौं उपत्यकाजस्तो उब्जाउ हुने भूमिमा वर्तमान नेवाः समुदायको विकास नभएको भए सम्भवतः भोज र जात्रा भन्ने नै हुँदैनथे । त्यसैले संस्कृति सधैं परिवर्तनशील हुन्छ । विडम्बना, धेरै मानिस यसको परिवर्तनशील चरित्रलाई स्विकार्न चाहँदैनन् ।

विगतको संस्कृति र परम्परा धान्नु मात्र हाम्रो संस्कृति होइन । मानवजीवनको रक्षाका लागि परम्परा र संस्कृतिलाई समयअनुसार परिमार्जन गर्नु वा आवश्यकताअनुसार क्षणिक विराम दिनु पनि संस्कृति हो । हरेक धर्म र संस्कृतिको आधारभूत उद्देश्य नै मानवसमाजलाई सुखी बनाउनु हो । परिस्थितिजन्य कारणले मानवजीवन रक्षार्थ यस्ता परम्परालाई अल्पकालीन विराम गर्नु पनि उच्च कोटिको संस्कृति हो । मानवसमाजको हितका लागि स–साना इच्छा त्याग गर्न हामीलाई संस्कृतिले सिकाएकै छ । जनता बाँचे भने मात्र हाम्रो भाषा, संस्कृति र संस्कार रहनुको अर्थ पुष्टि हुनेछ ।

स्वास्थ्य र जीवनरक्षाकै सबैभन्दा चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेका छौं हामी । यो महामारीको चरित्र नै भयावह छ । यससँग जुध्न कुनै एक ठाउँमा मात्र जमघट वा भीड कम गरेर पुग्दैन । सबै नेपालीको जीवनशैली नै अनुशासित हुनुपर्ने भएको छ । हो, हामी सबैलाई स्वतन्त्रता प्यारो छ तर हामी भयरहित स्वतन्त्रताका पक्षपाती हौं । जीवनकै त्रास रहेको स्वतन्त्रता पक्कै पनि प्रीतिकर हुँदैन । हामी राजनीतिक स्वतन्त्रताबाट कुण्ठित बनेका छैनौं । विचार, बहस, र छलफल गर्न–गराउनका लागि सूचना प्रविधिका नयाँ उपलब्धिले साथ दिएकै छन् ।

जात्रा मनाउन उत्सुक जात्रालुहरूले मानवजीवनलाई केन्द्रमा राख्न जरुरी छ । यसको अर्थ राज्यसंयन्त्रबाट महामारी प्रतिकार्यको अभ्यासमा गरिएको हेलचेक्र्याइँ र गैरजिम्मेवारीपनलाई बेवास्ता गरिनुपर्छ भन्ने होइन । महामारीसँग जुध्ने सुरक्षाका उपाय सबै व्यक्तिले त्यति बेला मात्र अपनाउन सक्छन्, जति बेला उनीहरूको दैनिक जीवनचर्या सुनिश्चित हुन्छ । खुलामञ्चमा एक छाक खानाका लागि लाम लाग्न बाध्य जनताको भोकलाई सम्बोधन गर्न नसक्ने सरकार लाचार र अकर्मण्य मात्र होइन, असफल पनि हो ।

प्रकाशित : भाद्र २२, २०७७ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?