चटर्जी संवाद र नेपाली राजनीति

पोपुलिस्ट अथवा आमवादको जन्म विपन्न वर्गलाई शोषण गरेर शासन सत्तामा ढलीमली गरेर बसेका एलिट वर्गविरूद्धको आक्रोशबाट जन्मिएको मानिन्छ । तर, यस्तो आक्रोशित आम जनतालाई चलाख गफबाट अलमल्याएर केही नेताहरुले फाइदा उठाउँछन् ।
अभि सुवेदी

पोपुलिस्ट अथवा आमवादको जन्म विपन्न वर्गलाई शोषण गरेर शासन सत्तामा ढलीमली गरेर बसेका एलिट वर्गविरूद्धको आक्रोशबाट जन्मिएको मानिन्छ । तर, यस्तो आक्रोशित आम जनतालाई चलाख गफबाट अलमल्याएर केही नेताहरुले फाइदा उठाउँछन् ।

चटर्जी संवाद र नेपाली राजनीति

राजनीतिक चिन्तक र पहिले सबाल्टर्न अध्ययन समूहका देब्रेढल्कुवा विद्वान् कोलम्बिया विश्वविद्यालयका पार्थ चटर्जीको वेबिनार आयोजना गरे मेरा मित्र र पूर्वविद्यार्थी प्राध्यापक– अरुण गुप्तोले । भदौ ६, २०७७ को त्यो साँझ म भर्चुअलदानी खोलेर बसें । चियादानीबाट शब्दरचना गरें । भर्चुअलदानी खोल्दा परिचित र अपरिचित अनेकौं पुस्ताका विद्वान् र युवायुवती देखिए । अरुणले चटर्जीको परिचय दिँदा यिनका सैद्धान्तिक पक्षको चित्र आयो ।

यसको सञ्चालन गर्ने महिलाहरूमध्ये एक जना अमेरिकी विश्वविद्यालयमा अङ्ग्रेजी साहित्य पढाउने छोरी डा. पल्लबी गुप्तो र दक्षिण एसियाली भेकका प्राध्यापक मित्र र लेखकहरू देखेपछि लाग्यो सायद भर्चुअलदानी यो कोभिड–कालमा एउटा यथार्थ भैसकेछ । म सामेल हुनुको अर्को कारण म यी चटर्जीका केही किताब र लेखहरूबाट निकै प्रभावित छु । यी चटर्जीलाई मैले व्यक्तिगत रूपमा नभेटे पनि अरुणले यिनलाई भेटेर अनि कुरा गरेर अमूक सूत्र गाँसिदिएका छन् । त्यस्तै पूर्वविद्यार्थी र ‘कलिग’ डा. शिव रिजालले यिनलाई बाहिर सेमिनारमा भेटेका र यिनका विद्वत्देखि रागात्मक व्यक्तित्वका ‘न्यारेटिभ’ पनि सुनाएका हुनाले मलाई लाग्छ म पार्थ चटर्जीलाई मित्र ठान्न थालिसकेको छु ।

यो वेबिनारमा चटर्जीले आफ्नो पछिल्लो किताबको ‘आई एम् द पिपुल्’ (२०२०) को विषयमा बोले । किताब सानो छ तर जटिल छ । किताब पढिसकेको हुनाले मलाई उनका कुरामा झन् चाख लाग्यो । यो किताब पढेपछि मेरो मनमा अनेकौं तरङ्ग र विचारहरू उठे । यिनले बहस गरेका विषयमा लाग्छ, कहीं न कहीं अन्तरङ्गमा नेपाली राजनीतिको अहिलेको चरित्र पनि भेटिन्छ । इटालेली विद्वान् आन्टोनियो ग्राम्चीको हेजिमोनीको सिद्धान्त, अर्नेस्टो लकलाउ र सन्ताल मुफका हेजिमोनी र पोपुलिज्म (वा आमवाद भनिराख्छु) र फुकोका सिद्वान्तको व्याख्यालाई चटर्जीले आधार राखेका छन् र तिनका आधारमा हेजिमोनी राज्यका पतन र पोपुलिस्ट आन्दोलनका उदयहरूलाई हेरेका छन् ।

पोपुलिस्ट अथवा आमवादको जन्म विपन्न वर्गलाई शोषण गरेर शासन सत्तामा ढलीमली गरेर बसेका एलिट वर्गविरुद्धको आक्रोशबाट जन्मिएको मानिन्छ । तर, यस्तो आक्रोशित आम जनतालाई चलाक गफबाट अलमल्याएर केही नेताहरूले फाइदा उठाउँछन् । ती चुनावबाट छानिएर आएका भए पनि आफ्नो शक्ति र जसरी भए पनि आफ्नो लोकप्रियता मात्र बढाउने चाहनाले काम गर्छन् । चटर्जी भन्छन्, पश्चिमी उदारवादी प्रजातान्त्रिक प्रणालीले आर्थिक उन्नति, समाजमा शान्ति र राजनीतिक वैधताको खुब उपभोग गरिआए । चटर्जीले किताबको दोस्रो अध्यायमा युरोपमा कसरी आधुनिक उदारवादी प्रजातन्त्र र कल्याणकारी राज्यको उदय भयो भनेर व्याख्या गरेका छन् । भन्छन्, जागिर र घरको व्यवस्था, स्वास्थ्य र शिक्षा सरकारले सबै नागरिकलाई उपलब्ध गरायो । त्यसमा एक मौन सहमतिको अवस्था रचना गर्न राजनीतिक दल र ट्रेड युनियनहरूको सहयोग रह्यो । त्यो एउटा हेजिमोनीको अवस्था थियो, ग्राम्चेली भाष्यमा ।

इतिहासलाई समेट्दै चटर्जी संक्षेपमा भन्छन्, उत्तर अमेरिकामा र युरोपमा बुर्जुवाहरूको प्रभुत्व बढ्यो । युरोपेलीहरूको अफ्रिका र एसियामा साम्राज्य फैलियो । तर उपनिवेशमा परेका देशहरूमा राष्ट्रवादको जन्म भयो । अनि युरोपेली साम्राज्य ढल्न थाले । पश्चिमी पुँजीवादी मुलुकहरूका माथि भनिएका कल्याणकारी राज्य समाप्त भए र ती नवउदारवादी तन्त्रमा परिणत भए । उपनिवेशपछिका देशहरूमा राष्ट्र निर्माण र आर्थिक परिवर्तनका शृृङ्खलाहीन प्रयोग भए । ट्रेड युनियन र विचार मिल्ने राजनीतिक दलहरू भङ्ग भए । अब सम्मति बनाउने काम विशेषज्ञहरू र सरकारको ‘टेक्निकल’ र आर्थिक काम–कारबाहीबाट हुने भयो । त्यसपछिको संसार परिवर्तन भयो । माथि भनिएको हेजिमोनीको संरचना भत्कियो । सन् २००१ मा अमेरिकी टावरमाथि प्रहार भयो । अफगानिस्तान, इराक, लिबिया र सिरियाका युद्ध भए ।

इस्लामी आतङ्कवाद जन्मियो । सन् २००८–२००९ को आर्थिक मन्दी जन्मियो । सानो आय भएका मानिसको जीवन झन् कठोर भयो । चटर्जी भन्छन्— आज जसलाई पोपुलिज्म भनिन्छ त्यो यही विषाक्त ‘टक्सिक्’ परिस्थितिहरूको मिश्रणबाट जन्मियो ।

चटर्जी भारतीय पोपुलिज्मको उदाहरण दिँदै भन्छन्— त्यहाँ नेताहरूले आफूअनुकूलका ‘आदर्श जनता’ का चित्र बनाएर चुनावमा फाइदा लिन प्रयोग गर्न थाले जसका निम्ति तिनले शत्रुका परिकल्पना गरे । शक्तिको केन्द्रीकरण सुरु भयो । अधिनायकवादी शासनका चरित्र जन्मिए । भारतका पोपुलिस्ट दलहरूका नेताहरू अचम्मसँग परिवर्तन भइबसे । प्रचारले ठूलो ठाउँ लियो । भारतलाई लिएर चटर्जी भन्छन्, जुन देशमा मानिसहरूको किताब पढ्ने बानी छैन, त्यस्तो ठाउँमा टेलिभिजन र सिनेमाको, एकल प्रभाव पर्ने नै भयो ।

अहिले हामी भारतीय भिजुअल मिडियाले कसरी विचारलाई प्रभावित पार्छन् भन्ने कुरा हेरेर पनि चटर्जीका कुरा बुझ्न सक्छौं । चटर्जीले भारतको सन्दर्भमा भनेका छन्, भारतलाई एक हिन्दु राष्ट्र देखाउँदै ग्राम्चीले भनेजस्तो हेजिमोनिक आमसहमतिको शैलीको शासन शक्तिको रचना भइरहेको छ जसमा अल्पसंख्यक मुस्लिमहरूलाई ‘सही जनता’ को सूचीबाट हटाएर डरलाग्दा बैरीको रूपमा राखिँदै छ । राजनीतिज्ञ रोशन जनकपुरी आन्तोनियो ग्राम्चीलाई उद्धृत गर्दैे नेपालमा पनि शासकवर्गमा ‘धार्मिक र जातीय रुग्णता’ देखिँदै छ भन्छन् (‘नयाँ पत्रिका’, १६ भदौ) ।

चटर्जी दक्षिणपन्थी र वामपन्थी पोपुलिस्ट आन्दोलनका फरक चरित्र देखाउँछन् । दक्षिणपन्थी पोपुलिज्मले राष्ट्रिय सम्प्रभुतालाई जोड दिन्छ र भन्छ यसमा ‘सही जनता’ कारक हुन्छन् । यो बहुसंख्यकवादी, जातीयतावादी र विभेदकारी हुन्छ । आशावादका उपाय देखाउँदै चटर्जी भन्छन्, वामपन्थी पोपुलिस्ट आन्दोलनलाई चलाएर भोट जित्नुपर्छ र सरकारमा प्रवेश गर्नुपर्छ । नीतिहरू निर्माण गरेर गरिब जनताको अवस्थामा सुधार गर्नुपर्छ । यस्तो वामपन्थी पोपुलिज्मको प्रयोगद्वारा आम चेतनामा समाज परिवर्तन हुन्छ भन्ने कुरा भरिदिन सक्नुपर्छ । चटर्जी भन्छन्— दक्षिणपन्थ उदारवादी संस्थाहरूलाई कुल्चिने उपाय खोजिरहेको हुन्छ । यसलाई सामना गर्नका निम्ति वाम हेजिमोनीमा जनतालाई सही किसिमका भाष्य र भावनाले आबद्ध गर्न सक्नुपर्छ ।

पार्थ चटर्जी भन्छन्— हेजिमोनी, कल्याणकारी राज्य, जातिवादी र विभेदकारी राजनीति अनि त्यसको पनि विरोधमा उठिरहने पोपुलिस्ट आन्दोलनका शृङ्खलामा पश्चिमी मोडलको मात्र प्रयोग गर्नु सत्य होइन । उनी एउटा उदाहरण दिन्छन् । दोस्रो विश्व सकिएपछि युरोपमा नुरेम्बर्ग ट्रायलबाट नात्सीहरूलाई सजाय दिइयो । टोकियोमा १९४६ मा जापानी फासीवादीहरूको त्यस्तै ट्रायल गरियो । भारतमा अझै अंग्रेजी शासन थियो । विश्वयुद्धमा भारतले सैनिक सहयोग गरेको गुन तिर्न भारतका एक राधाविनोद पाल भन्ने कलकत्ता हाइकोर्टका बङ्गाली न्यायाधीशलाई बोलाइयो । इतिहासले भन्छ, त्यो सैनिक सहयोगमा लाखौं गोर्खाली मरेका थिए । यी न्यायाधीशले जापानीहरूलाई युद्धअपराधी होइनन् भनेर मुक्त गरेको फैसला दिए । त्यो निर्णय एउटा नयाँ उत्तरऔपनिवेशिक तरङ्ग थियो भन्ने चटर्जीको विचार छ ।

चटर्जीले वामपन्थी पोपुलिस्ट आन्दोलनलाई राम्रो सरकार बनाउन र सही राजनीतिक पद्धति बनाउन प्रयोग गर्न सकिन्छ भनेका छन् । तर वामपन्थी नेपालमा आएर उनको ‘प्याराडाइम’ वा पद्धति अलमलिएको छ । मार्क्सवादी अर्थशास्त्री हरि रोकाले यस विषयमा लेखहरू लेखिआएका छन् । उनको भर्खरै प्रकाशित लेखको निष्कर्ष छ, पुँजीवादले गाउँलाई मजदुर उत्पादन गर्ने कारखानाभन्दा बढी ठान्दैन । ‘नेपालको चित्र पनि अन्यत्रभन्दा भिन्न देखिन्न ।

सबै सूचकांकहरूले गाउँ निरीह र सहर उत्कृष्ट देखाउँछन् ।’ रोका भन्छन्, ‘नवउदारवादी बजार अर्थराजनीतिको आहालमा पौडी खेलेर रमाइरहेका राजनीतिक दलहरूबाट पुनःसंरचना सम्भव देखिन्न’ (नयाँ पत्रिका भदौ १२) । प्राध्यापक लोकराज बराल यो चटर्जी, लकलाउ र मुफले देखाएको मोडलले नेपालमा काम नगर्ने देखाउँदै भन्छन्, ‘नेकपाको सैद्धान्तिक र सांगठनिक रूप अझै प्रस्ट छैन । यो एकातिर लेनिनवादी दलीय चरित्रमा हिँड्न खोज्छ भने अर्कातिर उदार लोकतन्त्रको मसिहाका रूपमा’ (कान्तिपुर, भदौ ११) । ‘अधिवेशनको संघारमा कांग्रेसका चुनौती’ को छलफलको क्रममा पोपुलिस्ट आन्दोलनका चरित्रलाई दलहरूले पहिलेजस्तै क्याडरमुखी बनाएर प्रयोग गर्न अब सम्भव नहुने देख्छन् प्राध्यापक कृष्ण खनाल (कान्तिपुर, भदौ १३) ।

पार्थ चटर्जीका विचारहरूको छलफल नेपालको राजनीतिक परिवेशमा राखेर हेर्दा निकै चाखलाग्दो देखिन्छ । वामपन्थी किसिमको पोपुलिस्ट आन्दोलनका पनि खासै अर्थपूर्ण परिवर्तन नदेखिन सक्छन् । चटर्जीको विचारमा यी पद्धतिले पनि एलिट र निमुखा बहुसंख्यक जनताको बीचमा विभेद बढ्दै गरेको देखिन्छ । कोभिड–१९ सँग जुधेको बेला त्यो झन् टड्कारो देखिँदै छ ।

नेपालमा निमुखा बहुसंख्यक जनता र शासनमा हुने, दल चलाउने र सहरमुखी टाठाबाठाहरूको बीचमा अनेकौं किसिमले दूरी बढेर गइरहेको कुरा खुल्दै गइरहेको छ । नेपालमा सामन्ती, बुर्जुवा र वामपन्थी अनि तिनै वामपन्थीद्वारा नै प्रचार र प्रतिपादन गरिएको पौराणिक संस्कृतिको अनौठो मिश्रित कलेवर रचना भइरहेको छ । सर्वसम्मत राज्य प्रणाली बनाउने योजना भएका दलले चुनावलाई चाहिने धनको जोहो गर्छन् । भारतमा जस्तो सिधै अमुक वर्ग सम्प्रदायका मानिसलाई त्यो हेजिमोनीबाट बाहिर राखेजस्तो नदेखिए पनि नेपालमा दलित र महिलाहरूलाई संविधानविपरीत गएर भयानक विभेद गिंरँदै आएको देखिनु गम्भीर विषय हो । भोलिको पोपुलिस्ट आन्दोलन कस्तो हुन्छ आकलन गर्न सकिँदैन । यो विस्तृत छलफलको विषय हो ।

भर्चुअलदानीबाट पार्थ चटर्जी अमेरिकामा निकै राति बिदा भएर गएपछि मलाई उनको यो किताब र उनको व्याख्या निकै समयसम्म मनमा खेलिरह्यो ।

प्रकाशित : भाद्र २०, २०७७ १०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?