मधेसमा सम्भ्रान्तको (अ)सफलता- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मधेसमा सम्भ्रान्तको (अ)सफलता

सिरहा बजारमा एउटा राम्रो, रङरोगन गरिएको पुस्तकालयअगाडि ठेलाको पसलमा खाजा खाँदै गरेका एक हूल शिक्षक युवाहरूसँग हामीले सोधेका थियौं, ‘यो पुस्तकालय खुल्छ कि खुल्दैन ?’ आफूहरू त्यस पुस्तकालयभित्र पसेको सम्झना नरहेको तिनले सुनाए ।
प्रमोद मिश्र, तुलानारायण साह

२०१९ को डिसेम्बरमा मधेसको झापादेखि कैलालीसम्मको यात्रा गर्दा हामी मध्यमधेसका आर्थिक र सामाजिक रूपले सम्पन्न नामीगामी गाउँहरू पनि गयौं । कोशी र गण्डकबीचको मध्यमधेस घुम्ने क्रममा हामीले आर्थिक र सामाजिक रूपले सम्पन्न राजपूत र भूमिहारहरूका गाउँका पुराना मानिसहरूसँग गफ गर्‍यौं ।

लेखपढको हिसाबले निकै अगाडि रहेका ब्राह्मणहरूका गाउँ घुम्यौं । जमिनदारी र व्यापारिक पुँजीको हिसाबले धनी कहलिएका यादव र साहहरूका कस्बा, बस्ती पनि गयौं । राज्यसँगको पुरानो सम्बन्ध र जमिनदारीका कारण शक्तिशाली रहेका कतिपय पहाडे नेताहरूसँग लामो संवाद गरेका थियौं । कतिपय उदाउँदा नेताहरूको कार्यशैली, विचार बुझ्ने प्रयास गर्‍यौं । मधेसमा सम्भ्रान्तहरूको अवस्था र भूमिका बुझ्ने मन थियो । सप्तरीको एउटा चर्चित गाउँमा राजपूतहरूका भव्य बहुमन्जिला, रङरङका चूना पोतिएका महलहरूको शृंगार हेर्नलायक थियो । त्यस्ता व्यक्तिगत घर त काठमाडौंमा पनि धेरै हुँदैनन् । विशाल अनुहार भएका र रङले पोतिएका द्वारलाई त्यस्तै राम्रा अग्ला पर्खालले घेरेका थिए । पर्खालभित्र खुला चौरजस्तो दरबाजा र दरबाजाबाट केहीपछिका भवनका मूलद्वारसम्म डोर्‍याउने सडक पनि त्यस्तै कालिगडीले बनेको देखिन्थ्यो । यो फलानो सिंहको घर, त्यो फलानो सिंहको घर भनेर हामीलाई परिचय गराइयो । कोही नेपालका प्रधानन्यायाधीश त कोही सत्तालाई नै चुनौती दिने मुलुकका नामी योद्धा । कोही ऐतिहासिक आन्दोलन गरेर मधेसी जनतालाई अधिकार दिलाउने जीवन उत्सर्ग गरेका । डाक्टर र इन्जिनियर त कतिकति ! अतीतमा तिनका पुर्खालाई कोशीदेखि कमला नदीबीचका हजारौं बिघा जमिन राजा र राणाहरूले बक्सेर पहिलो परिवारलाई बसाएका थिए भन्ने कुरा हामीले थाहा पायौं । पछि छ खाले राजपूत एकपछि अर्को त्यहाँ आएर बसेका रहेछन् । तीमध्ये कोही भारतमा परिवारै चिकित्सा पेसामा लागी नर्सिङहोम खोलेर निकै सम्पत्ति कमाएका रहेछन्, जसको झलक त्यहाँको आलिसान दरबारजस्तो घर र त्यसको गेटमा देख्न सकिन्थ्यो । कोही पूरै परिवार भारतको प्रशासन र न्यायालयमा उच्च पदमा रहेको तिनको घरअगाडिको नेमप्लेटबाट जानकारी पाइन्थ्यो । त्यस्तै कोहीको चल–अचल पहिलादेखिको अथाह सम्पत्ति रहेको तिनको घरको बनोटबाटै झल्कन्थ्यो ।

गाउँको मूलद्वारमै हामीले एक–दुई किशोरीलाई साइकलमा गाउँमा प्रवेश र बहिर्गमन गर्दै गरेको देख्यौं । सोध्दा ती बालिका कुनै मध्यम जातका रहेछन् । गाउँ वृत्ताकार भएर बसेको रहेछ जसको साँघुरो गल्ली कतैकतै ढलान गरिएको थियो भने कतैकतै कच्ची नै थियो । तर, त्यस वृत्ताकार गाउँको एकचौथाइ बस्ती फुस वा त्यस्तै सामग्रीले बनेको थियो र गाईगोठ पनि साँघुरो गल्लीकै छेउ कोचिएको थियो, जो विपन्नता र आर्थिक संघर्षको कथा भन्दै थियो । हामीलाई घुमाउने युवकलाई सोध्दा ती घरहरू मण्डल जातका मानिसहरूको रहेको थाहा भयो । यत्रा ठूलठूला हस्तीहरू भएको गाउँमा वर्गीय असमानताको गहिरो खाडल कायम रहनुको कारण के होला भन्ने प्रश्न हाम्रो विमर्शको विषय बनिरह्यो, यात्राका दौरान ।

त्यही दिन हामी नजिकैको अर्को मैथिल ब्राह्मणहरूको बसोबास रहेको, मधेसमै निकै नामी गाउँ पुग्यौं । विरलै यस्तो घर होला त्यस गाउँमा जहाँ डाक्टर वा इन्जिनियर नहोऊन् । उच्च शिक्षाप्राप्त र सरकारी जागिरे पनि । त्यस गाउँको एउटा खास विशेषता थाहा भयो : लगभग एक शताब्दीअघि त्यहाँका मानिसहरू पढ्न बनारस जाँदा रहेछन् । कोही काठमाडौंका राणा परिवारका ज्योतिषी थिए र जग्गाजमिन पाएका थिए । बिहारको बलुवाका मिश्र परिवारसँग बिहेवारीको सम्बन्ध गाँसेका थिए । सन् १९८० को दशकसम्म बिहारको राजनीतिमा बलुवाका ललितनारायण मिश्र, जगन्नाथ मिश्रको वर्चस्व थियो । यसरी ज्ञान र सीमावारिपारि सत्ताकेन्द्रमा एकसाथ पहुँच स्थापित गरेको त्यस गाउँमा घुम्दा अधिकांश घर पुराना र पक्की थिए तर अहिले खण्डहरजस्ता देखिन्थे । अनगिन्ती इन्जिनियर र डाक्टरहरूको घर रहेको त्यस गाउँका बाटा अत्यन्त साँघुरा र कच्ची । मधेसमै शिक्षितहरूको चर्चित गाउँलाई जंगलझारले निलिसकेको भान हुन्थ्यो ।

हामीले अवकाशप्राप्त एक प्राध्यापकसँग गाउँबारे लामो कुराकानी गर्‍यौं । तर निचोडमा गाउँको रूपान्तरणमा कुनै शैक्षिक सम्भ्रान्तहरूको खासै रुचि नरहेको थाहा भयो । गाउँमा आफैं हिँड्ने बाटो पनि फराकिलो बनाउन नचाहने वा नसक्ने सम्भ्रान्तहरूबाट थप के आशा गर्ने ? हाम्रा मनमा प्रश्न उठिरह्यो । सीमासँग टाँसिएरै रहेको भए पनि गाउँमा ज्ञान आदानप्रदान गर्ने पुस्तकालय, पत्रपत्रिकाको पहुँचजस्ता कुनै माध्यम नरहेको जानकारी भयो । समकालीन गम्भीर विचारहरूको प्रवाहबाट त्यो गाउँ पूरै वञ्चित रहेको भान भयो हामीलाई ।

सिरहा जिल्लामा अनेकौं जमिनदार थिए तर उत्तर भेगका गिरी र दक्षिण भेगका यादव परिवार सबैभन्दा ठूला जमिनदार मानिन्थे । यी दुवै खाले भूमि सम्भ्रान्त परिवारहरूबीचको प्रभाव र अवस्थामा भिन्नता जान्ने मन थियो । एक रात हामी सिरहाको उत्तरी भेगमा पहाडे जमिनदारको छेउछाउको बस्तीमा बास बस्यौं । भोलिपल्ट हामी जिल्लाको दक्षिणी भेगका यादव जातिका एक पुराना जमिनदारको गाउँमा गएका थियौं । विशाल खुला चौरजस्तो दरबाजा थियो ती यादव जमिनदारको । त्यस परिवारको पनि कुनै समय कोशी र कमला नदीबीच हजारौं बिघाको जमिनदारी थियो । राणाविरुद्धको संघर्षमा कोइराला परिवारका सहयोद्धा रहेका थिए तिनका घरमूली । पहिलो संसद्मा त्यस परिवारबाट दुई दाजुभाइले नै प्रतिनिधित्व गरेका थिए ।

त्यस परिवारको नेपाल–भारत दुवैतिर जग्गाजमिन र कारोबार थियो । तर हाल त्यस परिवारको राजनीतिक भविष्य संकटग्रस्त भएको बुझ्यौं । गाउँमा ठडिएको महल अग्लो देखिए पनि आबद्ध पार्टीमा त्यस परिवारको राजनीतिक कद होचो भइसकेको छ । उत्तरतर्फका पहाडे जमिनदार परिवारका सदस्यहरूले राजनीतिमा आफ्नो ओज कायम राखेका छन् । गाउँमा अग्लो घर देखिएन तर त्यस परिवारका नेताहरूको नाम र व्यक्तित्व निकै उचो रहेछ । त्यस परिवारबाट पञ्चायतकालमा प्रधानमन्त्री बनेका थिए । प्रजातान्त्रिक कालमा पनि कद्दावर नेता दिएको छ त्यस परिवारले । प्रभाव पनि कायम छ । छ–सात दशकको अन्तरालमा दुइटा भूमि सम्भ्रान्त परिवारमध्ये एउटाले आफ्नो ओज कायम राखेको छ भने अर्को लगभग लोप हुने अवस्थामा छ ।

भ्रमणका क्रममा हामीले धनुषा र महोत्तरीका अनेक बस्तीमा तेली र सुँडी जातिका पुँजीपति सम्भ्रान्त र भूमिहार जातिका भूमिपति सम्भ्रान्तहरूको अवस्था जान्ने कोसिस गर्‍यौं । हामीले धनुषा र महोत्तरी जिल्लामा तीन दिन चार रात बितायौं । धनुषाको यदुकहा बजार शहीदहरूका कारण राजनीतिक रूपमा जति चर्चित सुनेका थियौं, भौतिक पूर्वाधारको हिसाबले त्यति नै जीर्ण देख्यौं । स्कुल पुराना थिए तर वरिपरिका गाउँबस्तीमा कुनै खास आधुनिकताको झलक थिएन, बजारमा कृषिका लागि पम्पसेट र उपभोक्ता सामग्रीबाहेक । जनकपुरमा सडक चौडा गरिएको तर मुख्य सडकका भवनहरूलाई भगवा रङले रंगिनुपर्ने उर्दी र अनिवार्यताले उत्तर भारतमा भगवा रङले फैलाएको आतंकको त्रासयुक्त कल्पना गरायो । भवनहरू पुराना तर सहरमा निस्किने पत्रपत्रिकाको स्तर हेर्दा पुँजीपति सम्भ्रान्तहरूको बाहुल्य भएको सहरको सक्रियता र सृजनशीलताको आभास हुन्थ्यो ।

हामी महोत्तरीको दक्षिणी भेगका पुँजीपति र भूमिपतिहरूको गाउँबस्ती घुम्यौं । पुँजी र भूमि सम्भ्रान्तहरूको अवस्था र भूमिका बुझ्ने प्रयास गर्‍यौं । जनकपुर–जलेश्वर सडकमा पर्ने भूमिपतिहरूको एक गाउँको विगत निकै सम्पन्न रहेछ । सप्तरीका राजपूतहरूको गाउँजस्तै महोत्तरीका भूमिहारहरूको गाउँ मानिन्छ त्यो । असंख्य मानिसहरू पढे–लेखेका, सरकारी जागिरमा भएका । २००७ देखि २०१७ सालको दशकमा त्यस गाउँका अनेकौं नाम नेपालको राजनीतिमा चर्चित थिए । कुनै बेला नेपाल र भारत दुवैतर्फ जमिनदारी भएका भूमि सम्भ्रान्तहरूको गाउँ हो त्यो ।

हामी गाउँ प्रवेश गर्दा एकतर्फ गेट भएको सम्पन्नको घर र अर्कातर्फ विपन्न दलित बस्ती देखिन्थ्यो । हामीले एक स्थानीय मिलनसार भूमिपति राजनीतिज्ञलाई बाटाका मानिसहरूको सिफारिसमा भेट्यौं । तिनी समाजसेवी र लोकप्रिय रहेको थाहा पायौं । सन् १९६० को दशकमै भारतको प्रतिष्ठित विश्वविद्यालयबाट स्नातकोत्तर गरेका रहेछन् । तर, समाजको वर्गीय र जातीय सम्बन्धबारे अलमलिएका लाग्ने । संवादमा दिनदुनियाँबारे निकै कुरापछि हामीले सोध्यौं, ‘माओवादी जनयुद्धले के प्रभाव पार्‍यो तपाईंको गाउँमा ?’ उनको जावाफ थियो, ‘गरिब र दलितहरू बोल्न सक्ने भए । कुर्सी–बेन्चीमा बराबरी भएर बस्न त मै भन्छु, तर मान–मर्यादाको ख्याल गर्दैनन् । उच्छृंखलता बढ्यो समाजमा ।’ उहिलेदेखि नै यत्रो पढे–लेखेका सम्भ्रान्त व्यक्तिमा ज्ञान र सूचनाको स्रोत के रहेछ भनी बुझ्ने चाहनाका कारण हामीले सोध्यौं, ‘देश–समाजबारे यत्रो कुरा कसरी थाहा पाउनुहुन्छ दैनिक रूपमा ?’ तिनले भने, ‘चिनजानका मानिसहरूले मोबाइलमै सबै कुरा बताइदिन्छन् ।’

हामीले पूर्वपश्चिम राजमार्गछेउका एक प्रभावशाली पहाडे नेतालाई पनि भेट्यौं । गज्जबको स्मार्टनेस रहेछ ती नेतामा । राज्य र राजनीतिबारे व्यष्टि–समष्टि सम्पूर्ण व्याकरण बुझेका । भविष्यका केही वर्षसम्मको राजनीतिक तस्बिरको आकलन एक छिनमा गर्न सक्ने । तर मूल कुरो उनले गर्ने राजनीति ठूलाठाला, शक्तिशालीले साना र निर्धोलाई मदत गर्ने संरक्षणवादी रहेको भान भयो, उनका कुरा सुन्दा । संरचना निकै बुझेका तर संरचनात्मक परिवर्तनको सोच नभएका । झन्डै तीन घण्टाको संवादमा उनले अनेकौंपटक कतिलाई जागिर लगाइदिएको, कतिलाई सरुवा गराइदिएको भनिरहे ।

हामी सर्लाही र रौतहटका अनेक बस्ती घुमेर बाराको दक्षिण सीमावर्ती एक गाउँमा बास बस्यौं । त्यस गाउँमा कुशवाहा, कलवार, यादवहरूको सामाजिक र राजनीतिक प्रभाव रहेछ । जनकपुरको सत्तामा प्रभावशाली रहेका एक युवा नेताको कार्यशैली गज्जबको रहेको पत्ता लाग्यो । स्थानीय बासिन्दाका अनुसार, प्रदेश सरकार र प्रदेश सरकारको सदस्य कोषबाट छुट्याइने परियोजनाहरूमा प्रिपेड २५ प्रतिशत लिने चलन रहेछ तिनको । यो प्रतिशत खाने चलन यस क्षेत्रभरि नै तलदेखि मन्त्रीस्तरमै व्याप्त रहेको हामीलाई भान पर्‍यो, हेर्दा–बुझ्दा ।

मधेस यात्राका दौरानका यी अनुभवबारे एकआपसमा गरेको विचारविमर्शका क्रममा हामीले मधेसमा चार किसिमका सम्भ्रान्त रहेको ठम्यायौं : जातीय सम्भ्रान्त, भूमि सम्भ्रान्त, शैक्षिक सम्भ्रान्त र राजनीतिक सम्भ्रान्त ।

१) जातीय सम्भ्रान्त : मधेसका जातीय सम्भ्रान्तले जातिको जनसंख्या र जमिनदारीको बलमा राजनीति गर्न खोजेर आफ्नो परिवार, जाति र नाताकुटुम्बबारे मात्र सोचे । पहाडे सम्भ्रान्तले भाषा र पहिचानका कारण नेपाली राज्यसँग आफूलाई आत्मसात् गरेर राज्यमा पहुँच बनाउनलाई आफ्नो अधिकार दाबी गरेजस्तै । तर राज्यबाट अपहेलित यो जातीय सम्भ्रान्तले खुला सीमाका कारण, भारतमा पनि बेटी–रोटीको सम्बन्ध गाँसी सीमावारिपारि स्वाभिमान–तुष्टि र जीविकोपार्जन गर्दै आए, नेपाली राज्यले यिनको मानमर्दन गर्दै आएकाले ।

२) भूमि सम्भ्रान्त : तल्लो जात, खास गरी दलितलाई मजदुर बनाएर आफ्नो कृषि कार्य पूरा गर्ने, जसरी पनि भूमि आबाद गर्ने सोच रह्यो मधेसका भूमि सम्भ्रान्तहरूको । पारम्परिक रूपले राज्यको साधनस्रोतमा पहुँच नरहे पनि कृषिसँगको सम्बन्धले गर्दा स्थानीय तहमा यी सम्पन्न थिए । पछि गएर राजनीतिमा पनि हात हाले । मनोनीत वा चुनाव जितेर थप प्रभावशाली बनेका छन् । कतिपयले छोराछोरीलाई पढाई डाक्टर–इन्जिनियर बनाएर व्यावहारिक रूपमा आर्थिक र सामाजिक प्रतिष्ठागत, व्यक्तिगत लाभ हुने आधुनिकता अपनाए पनि शानसौकतका भोका, शोषणलाई आफ्नो अधिकार ठान्ने प्रवृत्ति गइसकेको देखिएन । विगतमा यीमध्ये कतिपयले राजविराजदेखि वीरगन्जसम्म जग्गा दान गरी स्कुल–कलेज खोलेको पनि हामीले भेट्यौं । तर पछि यस्तो सार्वजनिक हितको काम किन रोकियो भन्ने प्रश्नको उत्तर खोतल्दा थोरैले समाजसेवाको भावनाबाट ओतप्रोत भएर त्यस्तो गरेको जस्तो लाग्यो । धेरैले भूमिसुधारबाट जोगिन, राज्यसँगको सम्बन्ध बलियो राख्न, राजाको आदेश पालन गर्न, आफ्नो वैध–अवैध सम्पत्तिलाई जोगाइराख्न त त्यसो गरेका थिएनन् ? हाम्रा मनमा प्रश्न उठिरह्यो ।

३) शैक्षिक सम्भ्रान्त : मधेसमा जातीय र भूमि सम्भ्रान्तहरू शैक्षिक सम्भ्रान्त पनि हुन् । तर शैक्षिक सम्भ्रान्तको पहुँच शिक्षण पेसा, प्राविधिक शिक्षा र जागिरमा मात्र रह्यो । राज्यको बन्दुक (सुरक्षा क्षेत्र) र कलम (प्रशासन, न्यायालय) मा प्रवेशका लागि

राज्यबाट संरचनागत विभेद वा वर्चस्वशाली समुदायको पूर्वाग्रहले गर्दा शैक्षिक सम्भ्रान्तहरू पनि मोटामाटी रूपमा आफू र आफ्नो परिवारका लागि जोहो गर्न र राज्यप्रदत्त पदानुक्रम सोपान अँगाल्नभन्दा माथि उठ्न सकेनन् । यीमध्ये कतिपय राजनीतिमा प्रगतिशील तर सामाजिक रूपले पुरातनवादी भएको पनि पाइयो । राज्य संरचनामा सीमान्तकृत भाएकाले कथङ्कदाचित् महत्त्वपूर्ण पद पाउँदा पनि दबेको मनोविज्ञानका कारण यिनले कुनै साहसी काम गर्न वा बृहत् योजना आफ्नो क्षेत्रका लागि ल्याउन सकेनन् । आफ्नो पिछडिएको क्षेत्रबाट राजधानी वा मधेसकै अरू सहरमा बसाइँ सर्ने प्रवृत्ति पनि यसको कारण र परिणाम दुवै हुन सक्छ ।

४) राजनीतिक सम्भ्रान्त : यो तप्काका सम्भ्रान्तहरूले लामो समयसम्म मनोनीतको राजनीति गरे । पछि केही मात्रामा निर्वाचन पनि जित्न थाले । अहिले पनि विभिन्न दलका दोस्रो वा तेस्रो तहसम्मका नेता हुने अवस्था छ । त्यसैको बलमा निर्वाचन जित्ने वा मनोनीत हुने, कोही मन्त्री त कोही अञ्चलाधीश हुने गरेका थिए । वेदानन्द झा होऊन् वा भद्रकाली मिश्र, तिनले मन्त्री र अञ्चलाधीश बन्ने काम त गरे तर वैचारिक नेतृत्व दिन सकेनन् ।

रामराजाप्रसाद सिंह र गजेन्द्रनारायण सिंहले राजनीतिक विद्रोह त गरे तर वैचारिक विद्रोह र नेतृत्व गर्न सकेनन् । खोइ, कुनै मधेसी बीपी कोइराला वा गान्धी वा नेहरू हुन सकेका, जसले आफूलाई वैचारिक रूपले स्थापित गरेर राजनीतिक विद्रोहका साथै वैचारिक नेतृत्व पनि गर्न सकून्, ताकि मधेसमा स्थानीय समस्याको विश्लेषण र विवेचना स्थानीय तहकै नेतृत्वबाटै भएर समाज परिवर्तनका लागि विचार प्रवाह हुन सकोस्, जसले आम मानिसमा वैचारिक परिवर्तन ल्याओस् र सबै जातजातिमा एकता होस् ? (रूढीकृत जात व्यवस्थाको निरन्तरता र दाइजो प्रथामा खासै कुनै परिवर्तन नआउनु र प्रदेश भइसकेपछि पनि स्वामित्व लिने अभावमा भ्रष्टाचार आकासिनुको कारण यही त होइन ?)

मधेसमा स्थानीय स्तरमा विचार उत्पादनको सर्वथा अभाव रह्यो । राष्ट्रियस्तरमा विचार उत्पादनमा नेपालीभाषी मिडियाको वर्चस्व रहिआयो । मधेसमा त्यसको प्रभाव न्यून पर्नुको मूल कारण हो— नेपाली मिडियालाई मधेसका मानिसले आधारभूत रूपमा विभेदकारी राज्य संरचनाको संरक्षक र संवर्द्धक ठान्नु, जुन कुरा मधेसको समाज र सामन्त कसैले पनि रुचाएनन् । लामो समयसम्म भारतका रेडियो र पछि टेलिभिजनमार्फत सम्भ्रान्तहरूमा थोरै ज्ञान प्रवाह भयो, बाहिरी संसारका बारेमा । साधनस्रोतले विपन्न आम मानिसको त के कुरा गर्ने !

गणतन्त्र आगमनपछि सांख्यिक बाहुल्यका कारण मधेसमा मध्यम जातका राजनीतिक सम्भ्रान्तहरूको उदय हुँदै छ । तर हाम्रो यात्राका दौरान यिनीहरूमध्येबाट दलितमाथिको विभेदका कुरा सुन्दा र कोभिड महामारीमाझ दलितको हत्यामा मध्यम जातकै मानिसको संलग्नताले गर्दा यो नयाँ राजनीतिक सम्भ्रान्त पनि आफ्नो परिवार, नाताकुटुम्ब र जातमै सीमित हुने शंका छ । तर फेरि यही समूहका शिक्षित युवाहरूको सामाजिक हितका कार्य र सबैलाई समेट्ने बौद्धिक सक्रियता हेर्दा भविष्यप्रति आशा गर्ने ठाउँ पनि छ ।

मधेसी सम्भ्रान्तमा राज्यका निजामती र न्याय सेवा प्रवेशमा विभेदका कारण मेधावी युवाहरूमा प्राविधिक शिक्षाबाहेक बौद्धिक हुने, विचार उत्पादक बन्ने मानविकी र समाजशास्त्रीय अध्ययनको अभाव रह्यो । पढे–लेखेका मानिसहरूको गाउँका रूपमा चिनिएको सप्तरीको नामी ब्राह्मण गाउँ र महोत्तरीको भूमिहार गाउँ जाँदा यो कुरा अझ महसुस भयो । पहिला डाक्टर–इन्जिनियर बन्ने, पछि सोखले वा रुझानका कारण मानविकी र समाजशास्त्रको स्वाध्ययनबाट बौद्धिक बन्ने चलन भयो । सन् १९६० को दशकमै भारतको प्रतिष्ठित विश्वविद्यालयबाट स्नातकोत्तर गरेका उच्च जातका केही व्यक्तिसँग लामो संवाद गर्दा तिनीहरूमा पनि समसामयिक विषयबारे ज्ञानमा ‘अपडेट’ को भोक अनुभव भएको हामीलाई लागेन । अध्ययन सामग्रीको अत्यन्त सीमितता रहेको देखियो ।

यात्राका क्रममा हामीले अनेकौं ठाउँका युवाहरूलाई सोध्दा कहीँ कतै कसैले विद्यापतिका एक–दुई गीत–कविता सम्झे पनि समाज र राजनीतिबारे लेखपढ गरेको पाइएन । सप्तरीदेखि पर्सासम्म सक्रिय पुस्तकालयहरू छैनन् भन्दा पनि हुन्छ । सिरहा बजारमा एउटा राम्रो, रङरोगन गरिएको पुस्तकालयअगाडि ठेलाको पसलमा खाजा खाँदै गरेका एक हूल शिक्षक युवाहरूसँग हामीले सोधेका थियौं, ‘यो पुस्तकालय खुल्छ कि खुल्दैन ?’ आफूहरू त्यस पुस्तकालयभित्र पसेको सम्झना नरहेको तिनले सुनाए । पुस्तकालय परिसरभित्र पालेलाई सोध्दा फलानो–फलानो दिन एक–दुई घण्टा खुल्छ भने । मधेसका सम्भ्रान्तहरूमा अध्ययनको अभावको प्रमुख कारण भाषाको समस्या र विगतको ‘पढेर के हुन्छ, आखिर जागिर पाइने होइन’ भन्ने मानसिकता रहेको हामीले ठम्यायौं । भाषाका कारण पनि ज्ञानमा कमी देखियो ।

राज्यमाथि आफ्नो दाबी गर्ने मनोविज्ञानमा पनि कमी देखियो । जातीय रूढीकरण हावी रहेकाले गर्दा तिनमा समष्टिगत सोच विकास हुन सकेन । राज्यको अडेस नपाएकाले हुन सक्छ, मधेसी सम्भ्रान्तमा धार्मिकता बढी तर धर्मनिरपेक्ष दार्शनिक सोचको कमी देखियो । राज्यबाट भएको विभेदका कारण हरहमेसा असुरक्षाको भावना व्याप्त रहेकाले आफ्नो र परिवारका लागि जोहो गर्न धौधौ भएपछि समाज र समष्टिबारे सोच नपलाएको हो जस्तो लाग्यो हामीलाई ।

मधेस विद्रोहपछिको विचार प्रवाह र जागरणले र राज्यमा हकदाबी गर्ने माहोलले सम्भ्रान्तमा सामाजिक चेतनाको सम्भावना बढेको हुन सक्छ र समाजलाई समष्टिमा हेर्ने दृष्टिकोण बदलिन सक्छ । बदलिइरहेको पनि छ । तर पूर्ण परिणाम आउन पर्खिनुपर्ने हुन्छ ।

प्रकाशित : भाद्र १९, २०७७ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्

कोरोनाले भारतीय अर्थतन्त्र खुम्चियो

पहिलो त्रैमासिक अवधिमा देखिएको गिरावटका आधारमा अर्थविद्हरुले यस वर्ष भारतको समग्र आर्थिक वृद्धिदर करिब ७ प्रतिशतले ऋणात्मक रहने प्रक्षेपण गरेका छन् ।
सुरेशराज न्यौपाने

नयाँदिल्ली — कोरोना भाइरसको महामारीका कारण थलिएको भारतले अर्थतन्त्रमा पनि नराम्रो चोट बेहोर्नुपरेको छ । भारतको केन्द्रीय तथ्यांक कार्यालयका अनुसार चालु आर्थिक वर्ष (सन् २०२०/२१) को पहिलो त्रैमासिक अवधिमा भारतीय अर्थतन्त्र करिब एक चौथाइले खुम्चिएको हो ।

कार्यालयका अनुसार देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) २३.९ प्रतिशतले ऋणात्मक रहेको छ । यसको अर्थ गत वर्षको तुलनामा यस वर्षको पहिलो तीन महिनामा वस्तु तथा सेवाको उत्पादनमा करिब २४ प्रतिशतले घटेको छ ।

अर्थविद्हरूले पहिलो त्रैमासिक अवधिमा भएको गिरावटका आधारमा यस वर्ष भारतको समग्र आर्थिक वृद्धिदर करिब ७ प्रतिशतले ऋणात्मक रहने प्रक्षेपण गरेका छन् । त्यसो भएको खण्डमा पछिल्लो दशकमा वार्षिक औसत ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गरेको भारतीय अर्थतन्त्रका लागि ठूलो झट्का हुनेछ । र, स्वतन्त्र भारतको इतिहासमै सबैभन्दा दुःखद खबर बन्नेछ । यसअघि सन् १९७९/८० मा भारतीय अर्थतन्त्र ५.२ प्रतिशतले ऋणात्मक रहेको थियो ।

भारतीय अर्थतन्त्रमा पूर्वानुमानअनुसार गिरावट देखिएको खण्डमा उसको सन् २०२४/२५ भित्र ५० खर्ब डलरको अर्थतन्त्र बन्ने आकांक्षामा ठूलो चोट पुग्ने निश्चित छ । करिब ३० खर्ब डलरको भारतीय अर्थतन्त्र हाल विश्वको पाँचौं ठूलो अर्थतन्त्रमा पर्छ ।

भारतीय अर्थतन्त्रमा देखिएको पछिल्लो गिरावटको प्रमुख कारण कोरोना भाइरसको महामारी रोकथाम र नियन्त्रणका लागि गरिएको लकडाउन प्रमुख कारण हो । त्यसो त महामारीको प्रभाव सुरु हुनुअघि नै भारतीय अर्थतन्त्रमा केही नकारात्मक संकेतहरू नदेखिएका होइनन् । मार्च पहिलो साता सार्वजनिक तथ्यांकले भारतमा बेरोजगारीको अवस्था गएको ४३ वर्षकै सबैभन्दा बढी देखाएको थियो ।

कोरोना महाव्याधिले भने अर्थतन्त्रका सबै क्षेत्रमा प्रहार गरेको सार्वजनिक पछिल्ला तथ्यांकहरूबाट बुझ्न सकिन्छ । भारतीय अर्थतन्त्र विशेषगरी उपभोगमा आधारित अर्थतन्त्र हो । सवा अर्बभन्दा बढी जनसंख्याले गर्ने खर्चले नै भारतीय अर्थतन्त्र मूलतः निर्भर छ । त्यही उपभोगका लागि चल्ने माग र आपूर्तिको चक्रले नै भारतीय अर्थतन्त्रलाई अगाडि बढाउने गर्छ । तर, कोरोना महामारीले आममानिसको खर्च गर्ने क्षमतामै प्रहार गरेका कारण माग र आपूर्ति चक्र नै तोडिन पुगेको छ । त्यसको प्रभाव प्रायः सबै क्षेत्रमा पर्न गएको छ । मागमा आएको कमीले सेवादेखि उत्पादनमूलक क्षेत्रले बढी धक्का बेहोरेको छ ।

पहिलो त्रैमासिक अवधिमा होटल, रेस्टुराँलगायतका सेवा क्षेत्रमा सबैभन्दा गिरावट देखिएको छ । त्यसैगरी उद्योगधन्दा, खानीलगायतका क्षेत्रहरूको अवस्था ऋणात्मक छ । भारतको कुल गार्हस्थ्य उत्पादनमा सेवा तथा वस्तुको उपभोगले ठूलो हिस्सा ओगट्छ । त्यसैले यही क्षेत्रमा आएको २७ प्रतिशतको कमीले पूरै अर्थतन्त्रलाई प्रहार गरेको हो ।

कोरोना महामारीका कारण अर्थतन्त्रको अर्को अंगका रूपमा रहेको निजी क्षेत्र पनि त्यत्तिकै संकटमा परेको छ । आर्थिक वर्षको पहिलो तीन महिनामा निजी क्षेत्रबाट हुने खर्च र लगानी अघिल्लो वर्षको तुलनामा ४७ प्रतिशतले कमी आएको छ । माथिका दुई क्षेत्रले भारतको अर्थतन्त्रमा करिब ८८ प्रतिशतको योगदान गर्ने बताइएको छ । त्यसैले पनि यी दुई क्षेत्रमा देखिएको नकारात्मक प्रभावका कारण पूरै अर्थ व्यवस्थामा नै असर पुगेको दाबी गरिएको छ ।

त्यतिमात्र होइन, रोजगारीको प्रमुख स्रोत मानिने यी क्षेत्रमा देखिएको संकुचनले बेरोजगारी थप बढाउने अनुमान गरिएको छ । वैदेशिक व्यापार सकारात्मक देखिए पनि अर्थविद्हरूले आन्तरिक माग घटेका कारण आयातमा कमी आएकाले त्यस्तो परिदृश्य बनेको दाबी गरेका छन् ।

मोदी सरकारले त्यो प्रयास नगरेको पनि होइन । लकडाउनका कारण आर्थिक गतिविधि बन्द प्रायः हुँदा समस्यामा परेका साना व्यवसायी, गरिब र किसानलाई लक्षित गर्दै दर्जनौं प्याकेजहरू पनि घोषणा गरियो । गरिबीको रेखामुनि रहेका जनताका लागि निःशुल्क खाद्यान्न वितरणसमेत गरिएको थियो ।

यसका बाबजुद महामारीका कारण आमनागरिकको क्रय क्षमतामा ह्रास आएसँगै आन्तरिक मागमा ठूलो गिरावट आएका कारण पूरै अर्थतन्त्रलाई नराम्रो असर परेको देखिन्छ । र, अर्थतन्त्रमा देखिएको गिरावटले थप दस करोड मानिस गरिबीको रेखामुनि धकेलिएको अनुमान गरिएको छ ।

अर्थतन्त्रमा संकुचन देखिएपछि विपक्षी भारतीय राष्ट्रिय कांग्रेसले मोदी सरकारको चर्को आलोचना गरेको छ । पूर्वअर्थमन्त्री पी चिदम्बरमले आफूले बारम्बार सतर्क गराउँदा गराउँदै पनि मोदी सरकारले बेवास्ता गरेका कारण भारतीय अर्थतन्त्रले हालको परिस्थिति भोग्नुपरेको दाबी गरेका छन् ।

चिदम्बरमले कोरोना महामारीभन्दा धेरै अघि नै अर्थतन्त्रका परिसूचकहरू राम्रो नरहेको र मोदी सरकारले सही नीति लिन नसकेको आरोप लगाउँदै आएका थिए । उनले गत फागुनमा नै बढ्दो बेरोजगारी र घट्दो उपभोग भारतीय अर्थतन्त्रका लागि राम्रो संकेत नभएको चेतावनी दिएका थिए ।

तर, मोदी सरकारका प्रमुख आर्थिक सल्लाहकार कृष्णमूर्ति सुब्रमन्यनले भने भारतीय अर्थतन्त्रका नराम्रा दिन गइसकेको र क्रमशः सुधारका संकेतहरू देखापर्न थाल्ने दाबी गरेका छन् । ‘पहिलो त्रैमासको अवधिमा पूरै विश्व नै लकडाउनको अवस्थामा थियो, त्यसैले पनि अर्थतन्त्रमा त्यस्तो गिरावट देखिएको हो । तर, अर्थतन्त्र फेरि कोरोनाको परिस्थितिबाट सुधारोन्मुख दिशामा अघि बढिसकेको छ र त्यसको प्रस्ट संकेत देखिइसकेको छ,’ मंगलबार भारतीय न्युज च्यानल एनडीटीभीसँग सुब्रमन्यनले भनेका छन् ।

निकट छिमेकी भएको र सबैभन्दा ठूलो व्यापार साझेदार भएका कारण भारतीय अर्थतन्त्रमा देखिने उतारचढावको बाछिटा क्रमशः नेपालमा पनि पर्ने गर्छ । त्यसैले भारतीय अर्थतन्त्रमा हाल देखिएको शिथिलताको असर नेपाली अर्थतन्त्रमा पनि बिस्तारै देखिँदै जानेछ ।

भारतीय रुपैयाँसँगको स्थिर विनिमय दरका कारण भारतीय अर्थतन्त्र कमजोर भएसँगै अन्तर्राष्ट्रिय मुद्रा बजारमा भारतीय रुपैयाँ कमजोर बन्दा त्यसको असर नेपाली रुपैयाँमा पर्छ । जसले गर्दा भारतबाट र तेस्रो मुलुकबाट हुने आयात महँगिने छ । त्यसैगरी भारतीय बजारमा मागमा कमी आउँदा त्यसको असर नेपालको निर्यात व्यापारमा पनि पर्नेछ किनभने नेपालको कुल निर्यातमा करिब ७२ प्रतिशत हिस्सा भारतको छ । आ.व. २०७६/७७ मा नेपालले गरेको ९८ अर्ब रुपैयाँको कुल निर्यातमध्ये ७० अर्ब भारततर्फ भएको थियो ।

त्यसैगरी सोही अवधिमा भएको ११ खर्ब ९७ अर्बको आयातमा भारतबाट मात्र ७३५ अर्बको आयात भएको थियो । वैदेशिक व्यापारको यो तथ्यांकबाट प्रस्ट हुने नेपालको अर्थतन्त्रको भारतमाथिको परनिर्भरताले पनि भारतीय अर्थतन्त्रमा देखापर्ने उतारचढावको प्रत्यक्ष असर नेपालमा स्वतः पर्ने प्रस्ट हुन्छ ।

अर्को प्रमुख कुरा भारत नेपालको रेमिट्यान्सको प्रमुख स्रोत मुलुक पनि हो । गत आर्थिक वर्षमा भारतबाट औपचारिक रूपमा मात्र ९३ अर्बभन्दा बढी रेमिट्यान्स भित्रिएको थियो, जुन कतारबाट भित्रिनेभन्दा मात्र कम हो । अनौपचारिक रूपमा भित्रिने रकमको हिसाब गर्ने हो भने त्यो अझै धेरै हुन जान्छ ।

२० लाखभन्दा बढीको संख्यामा भारतमा रहेका नेपाली कामदारहरूले नै त्यति ठूलो रकम पठाउने गरेका छन् । तर, कोरोना महामारीका कारण भारतमा विशेषगरी होटल, रेस्टुराँ क्षेत्र र उद्योग/व्यवसाय सबैभन्दा बढी मारमा परेका कारण ठूलो मात्रामा नेपाली कामदारहरूको आम्दानीमा पनि असर परेको छ, धेरैले रोजगारी नै गुमाएका छन् । यसको असर भारतबाट जाने रेमिट्यान्समा पनि क्रमशः देखापर्दै जानेछ ।

प्रकाशित : भाद्र १९, २०७७ ०८:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×