कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

किन हुन्छ देशको दुर्दशा ?

लकडाउनको आदेश र निषेधाज्ञा जारी गरेपछि आपूर्ति सहजीकरण गर्नुपर्छ र कम्तीमा ज्यालादारीमा बाँचेकालाई खान दिनुपर्छ भन्नेसम्मको विवेक नहुनेहरूलाई राजकाजको जिम्मा दिएको वर्तमान अवस्थाको चित्रण नै कहालीलाग्दो छ ।

काठमाडौँ — आज राजनीतिको केन्द्रीय भावमा कुन दल र कुन नेता छ ? केन्द्रीय भाव अर्थात् जो राष्ट्र मर्मअनुरूप छ, जसमाथि भरोसा गर्न सकिन्छ, जसको नेतृत्वमा आफू, आफ्नो परिवार र देश सुरक्षित छ भनेर मानिस ढुक्क हुन्छन् ।

किन हुन्छ देशको दुर्दशा ?

जसमाथि आज नपुग भए भोलि होला, अहिले अपर्याप्त भए पनि क्रमशः गर्ला भन्ने आशा र भरोसा हुन्छ, त्यसैलाई भनिन्छ, लोकतन्त्रमा राजनीतिको केन्द्रीय भाव, त्यहीँ अडेको हुन्छ मानिसको विश्वास । नास्तिकको त थाहा भएन, आस्तिकका मनमा भगवान् भएजस्तै भाव, आस्था र विश्वासको आधार । जो राष्ट्रप्रति समर्पित छ, त्यही चिन्तन गर्छ र देशवासीको चिन्ता जसको मनमा हुन्छ, त्यही रहन्छ केन्द्रीय भावमा र जो संकटका बेलामा स्रोत परिचालन गरेर संकट टार्न आफैं लागिपर्छ, त्यसैलाई भनिन्छ नेतृत्व । मैले यी हरफमा उठाएको विषय सधैंभन्दा फरक छ र म यस आलेखमा यसै विषयमाथि चर्चा गर्न गइरहेको छु ।

यो किन पनि भने यस बेला त झनै केन्द्रीय भावमा को छ भनेर ठम्याउनु आवश्यक भएको छ । विश्वभरि नै महामारीको प्रकोप छ र यसलाई सत्ता र प्रतिपक्षमा रहेका दलहरूले कसरी ग्रहण गरे र प्रत्युत्तर दिए, यसैमा यिनको प्रतिबद्धता र कार्यकौशल झल्किन्छ र झल्किने हो । सामान्यभन्दा असामान्य परिस्थितिमै राज्यको प्रभावकारिता/अप्रभावकारिता र संवेदनशीलता/असंवेदनशीलताको प्रत्यक्ष अनुभूति हुने हो र त्यो बडो वेगपूर्वक भइरहेको छ । मान्छे चिनिने पनि असामान्य परिस्थितिमै हो । देशमा औषधि र जाँच उपकरणमा भ्रष्टाचार हुनु, उपचार नपाई धेरैको ज्यान जानु ‘अवश्यम्भावी निष्कर्ष’ जस्तै भएको छ । भ्रष्टाचार, अनियमितता, अमानवीयता सामान्य भएका छन् । कमिसनखोरको मिलेमतोमा जनस्वास्थ्यमाथि नै खेलबाड गर्ने काम भइरहँदा सरकारमा बस्नेहरूको त विवेक खुलेन नै, प्रतिपक्ष पनि सत्ताकै अनुहार हेरेर मुग्ध भइरह्यो । ज्यादै नै अनुरक्त प्रेमी उद्दण्ड प्रेमिकाप्रति मुग्ध भएजस्तै ।

निम्न आय वर्गका मानिस रोगले होइन, भोकले मर्ने अवस्था आएको छ र मध्यम वर्ग पनि दैनन्दिनी धान्न नसक्ने अवस्थामा पुग्दै छ । हुन त ठानिन्छ उच्च वर्गलाई समस्या छैन तर त्यस्तो हुँदैन । उच्च वर्ग पनि कम समस्याग्रस्त छैन किनभने उच्च वर्गमाथि निर्भर मानिस त्यत्तिकै हुन्छन् । जस्तै ः चौधरी, गोल्छा, खेतान, ज्योति ग्रुप आदि धनी छन् तर उनीहरूमाथि निर्भर मानिस पनि उत्तिकै हुन्छन्, निर्भरको छाक उनैले टारिदिनुपर्छ । जीविकोपार्जनको ख्याल उनीहरूले गर्नुपर्छ । त्यसैले निम्नदेखि उच्च वर्गसम्मका सबैको आश राज्यप्रति नै हुन्छ, थेग्न मद्दत गर्नु राज्यको कर्तव्यभित्र नै पर्छ । कर उठाउन मात्र मानिसलाई राज्य चाहिएको होइन, यथार्थमा संकटमा विशेष व्यवस्था गरोस् भनेर हो । किनभने विशेष गरेर संकटका अवस्थामा सबैको भर राज्यमाथि हुन्छ । राज्य चाहिने नै त्यसैका लागि हो, आड–भरोसा होस् भनेर । आफ्नो कोही छ, आश्रय भनेर ।

तर महामारीले निम्त्याएको कहरसँगै देखिँदै छ, औधि आश गरिएका र भरोसायोग्य ठानिएका प्रधानमन्त्री ओली तथा स्थिरता र समृद्धि सुनिश्चित गर्न रोजिएको उनको नेकपाले देशलाई लकडाउन गरिदिएपछि आफ्नो काम सम्पन्न भएको ठाने । दल र प्रधानमन्त्री दुवैले । प्रधानमन्त्रीले आफू बालुवाटारबाहिर निस्कनु नै आवश्यक ठानेनन् । अरू त अरू, आफ्नै दलका बैठकहरू र यावत् कार्यक्रम प्रधानमन्त्री निवासमै सम्पन्न गरिए, गरिँदै छन् । पार्टीको काम पार्टी कार्यालय र राज्यको काम सिंहदरबारबाट हुनुपर्नेमा काम–बेकाम सबै बालुवाटार निवासमा हुन थालेका छन् ।

यसर्थ यो शासन कति जिम्मेवार रहेछ त, पाइलैपिच्छे उदांगिँदो छ । महामारीका कारण भारतबाट देश फर्केका मानिस, यहाँ भोकभोकै परेर दिनहुँ फेरि लस्करै उतै फर्किन थालेका छन् । प्रधानमन्त्री ओलीले भनेका थिए, कोही भोकै बस्नुपर्दैन तर मानिस भोककै कारण मलर सदा तराईमा र सूर्यबहादुर तामाङ काठमाडौंका सडकमै मरे । यस्तै बेहाल धेरै ठाउँमा छ । मनकारी मानिसले भोजन उपलब्ध गराएका कारण धेरैको ज्यान जोगिएको छ । राज्य कहाँ हुन्छ यस्तो बेलामा ? यसको उत्तर स्वयं प्रधानमन्त्रीसँगै छैन । राज्यकै भर पर्ने हो भने रोगभन्दा भोकले मृत्यु हुने सम्भावना अत्यधिक छ । आत्महत्या बढ्दो छ ।

विदेश गएका नेपाली फर्किन चाहँदा फर्किन पाएनन् । भर्खरै मात्र यूएईमा रामजीवन केवटको जहाज कुर्दाकुर्दै मृत्यु भयो । यहाँ, देशैभित्र त्यस्तै बेहाल छ । विदेशबाट फर्केकाको सञ्चिति सकिँदै छ, कसरी चलाउने घर–व्यवहार कुनै टुंगो छैन । यता भने लकडाउन र निषेधाज्ञाको अवधि निरन्तर बढाइँदै छ । यस्तोमा जीवन धान्ने वैकल्पिक उपाय के भन्ने सोच्नु नै आवश्यक ठानिएन । त्यस्तै, ज्यालादारी र न्यूनतम आम्दानीमा आश्रित व्यक्ति र परिवारलाई मुखमा माड लगाइदिन सरकारको संयन्त्र सक्रिय हुनुपर्ने, तर एकै दिन पनि सरकार यसतर्फ चिन्तित भएन, भएको पाइएन । लकडाउनको आदेश र निषेधाज्ञा जारी गरेपछि आपूर्ति सहजीकरण गर्नुपर्छ र कम्तीमा ज्यालादारीमा बाँचेकालाई खान दिनुपर्छ भन्नेसम्मको विवेक नहुनेहरूलाई राजकाजको जिम्मा दिएको वर्तमान अवस्थाको चित्रण नै कहालीलाग्दो छ । दुर्भाग्यवश, यो सबै नेपालको इतिहासमा सबैभन्दा बढी पत्याइएका भनिएका प्रधानमन्त्रीको कार्यकालमा भइरहेको छ ।

यस परिचित्रबाट के प्रस्ट हुन्छ भने, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुईतिहाइ नजिकको अभिमत भएर पनि देशको केन्द्रीय भावमा स्थापित हुन सकेन । संकट सम्हाल्ने तत्परता र विवेकै देखिएन । चाहिने कार्यकौशल भएन नै भने, अर्कातिर लोकतान्त्रिक निष्ठा पनि भएन । अर्थात्, जहाँ कुनै बेला नेपाली कांग्रेस थियो र त्यसका बीपी कोइरालासदृश युगद्रष्टा नेता थिए, नेकपा र ओली त्यो स्थानमा उक्लिन सकेनन् । सक्ने पनि देखिएन । ओली बीपी कोइरालासदृशै युगान्तकारी आशा–भरोसाका रूपमा स्थापित हुन पुगे भनेर यदि कसैले भन्यो भने त्यो पक्कै अतिरञ्जना हुन्छ र त्यसले बीपीको उच्चमूल्यन होइन अवमूल्यन भएको ठहर्छ । चुनावमा जनताको अपार साथका बावजुद ओली केन्द्रीय भावमा स्थापित हुनै सकेनन् । त्यसैले कसैले यदि उनको बिर्सेर उच्च मूल्यांकन गर्‍यो भने उल्टै व्यंग्यका रूपमा लिइने सम्भावना बढी छ । यसो हुनाका दुई कारण छन् ।

पहिलो, दुईतिहाइ नजिकको बहुमत पाएको एकछत्र कम्युनिस्ट सरकारको शासनमा के देखियो भने कम्युनिस्टले जत्ति गरे पनि आफूमा लोकतन्त्र प्राकट्यको सम्भावनाका लागि मार्ग नै प्रशस्त नगर्दा रहेछन् । त्यसैले कम्युनिस्टहरू लोकतन्त्रसम्मत हुँदैनन् भनेर अरू कसैले भनिरहनै नपर्ने भएको छ । एकान्त पर्दा कम्युनिस्टहरू आफैं भन्दा रहेछन् र व्यवहारबाट त्यही नै प्रदर्शित हुँदो रहेछ । उनीहरूका पाठशालाले पढाएको प्रणाली नै फरक हुन्छ त्यसैले । स्वयं कम्युनिस्टहरू सविनय, सहर्ष लोकतन्त्रको जीवनदर्शनलाई आत्मसात् गर्दैनन् नै, एकान्त पर्नासाथै यसलाई यस्सो मुख बंग्याएर बुर्जुवा भन्दा रहेछन् । आफू अलोकतान्त्रिक हुनाको प्रमाण आफ्नै आचरण र व्यवहारबाट प्रदर्शित गर्दा रहेछन् । त्यसैले जति नै हाउभाउ प्रदर्शन गरे पनि कम्युनिस्टले यस प्रणालीप्रति अपनत्व ग्रहण गर्न सक्दैनन्, सकिरहेका हुँदैनन् । त्यसैले प्रबल बहुमत हुँदाहुँदै पनि नेकपा लोकतान्त्रिक प्रणालीको केन्द्रीय भावमा स्थापित हुन नसकेको हो । अर्को कारण हो, व्यक्तित्व स्खलन ।

निश्चय नै, २०७२ सालमा संविधान जारी भएलगत्तै भारतले लगाएको नाकाबन्दीविरुद्ध उभिएका ओलीमा नेपाली जनताले राजनेता (स्टेट्सम्यान) देख्न खोजेका थिए । तर दोस्रोपटक प्रधानमन्त्री बनेपछि स्वयं ओली आफैं आफूमाथि नै व्यंग्य गर्न थाले र लोकप्रियताबाट ओरालो लाग्दै गए । ओरालो यतिसम्म लागे कि, उनको प्रतिरक्षामा प्रस्तुत हुन कोही तयार नभएरै होला, उनी निवासमै टेलिभिजन बोलाएर आफैं दुई घण्टाभन्दा लामा व्याख्यान दिनुपर्ने अवस्थामा पुगेका छन् । नेकपामा अर्को को छ त्यस्तो व्यक्तित्व जो आफ्ना ससाना स्वार्थभन्दा माथि उठेको छ, जो रातोदिन देशका बारेमा सोच्दो होस् । दुर्भाग्यवश, दृश्यमा त्यस्तो भरोसायोग्य व्यक्तित्व कोही छैन । अर्थात्, नेकपा दल र नेताका व्यक्तित्व राजनीतिको केन्द्रीय भावमा स्थापित हुनु त परै, उल्टै लाखापाखा उछिट्टिइरहेका छन् ।

राजनीतिमा केन्द्रीय भावको महत्त्वपूर्ण अर्थ हुन्छ र त्यसैअनुसार दल होस् अथवा व्यक्तिको स्थान निर्धारित हुन्छ । सामान्य त सामान्य भइगयो, असामान्य अवस्थामा नेतृत्वको परख हुन्छ । यस परखमा सत्ता त विफल भयो नै, प्रतिपक्ष पनि आश गर्नयोग्य रूपमा प्रस्तुत हुन सकेन । वर्तमान संकटको सामना गर्ने दिशामा तत्परता त परै, सत्ता र प्रतिपक्ष दुवै आफैं लुकेका, कुना पसेका छन् । यसर्थ मैले यस आलेखको प्रारम्भमा राखेको कुन दल र नेता छ राजनीतिको केन्द्रीय भावमा भन्ने जिज्ञासा रिक्ततामा टुंगिएको छ । अर्थात्, नेपाली राजनीतिको केन्द्रीय भाव रिक्त छ, आजका सत्ता र प्रतिपक्ष दुवै त्यो स्थान ग्रहण गर्न अयोग्य छन् । राजनीतिको केन्द्रीय भाव रिक्त भएकैले जनताले असह्य कष्ट भोग्नुपरेको र देश दुर्दशाग्रस्त हुन पुगेको हो ।

(शुक्रबार प्रकाशित हुने कान्तिपुरको प्रिन्ट संस्करणबाट ।)

प्रकाशित : भाद्र १८, २०७७ १९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?