महामारी न्यूनीकरणमा महिला

साधना प्रतीक्षा

यसपालिको तीज कसैको आयु बढाउनभन्दा घटाउन उद्यत देखियो । काठमाडौंको कागेश्वरी मनहरा नगरपालिकामा पचास जनालाई दर खुवाउने महिला कोरोना संक्रमित देखिएपछि दर खाने सबैलाई क्वारेन्टिन गर्नुपर्‍यो ।

महामारी न्यूनीकरणमा महिला

महामारीको सम्भावित जोखिमभन्दा पनि तीज र दरलाई प्राथमिकता दिने नारी मानसिकतालाई सायद कुनै परिवर्तनले छोएको रहेनछ; बाहिर गएर नाच्न नपाएको गुनासो गर्दै घर–आँगन र कोठाभित्रै नाचेका तस्बिरहरू फेसबुकमा हालेका महिला–समूहमध्ये कसैले पनि संक्रमणमा ज्यान गुमाएका तथा मृत्युसँग जुधिरहेका आफ्नै बन्धुहरूको चिन्ता गरेको देखिएन ।

घिरौंले तिलहरीसहितको एक अँगालो हरियो पोतेको सप्को हालेर ‘रत्यौली’ शैलीमा नाच्दैमा पतिको आयु लम्बिने विश्वासका साथ यस्तो विषम परिस्थितिमा पनि गहना–कपडा प्रदर्शनको होडबाजी गर्नुले हामी कहाँ रहेछौं भन्ने देखाएको छ । जीवन महत्त्वपूर्ण हो कि पर्व ? स्वास्थ्य ठूलो हो कि सम्पन्नताको प्रदर्शन ? छिमेकीको झुप्रोमा डढेलो लागेपछि आफ्नो महल पनि सुरक्षित रहँदैन । आफ्नै देश, आफ्नै समाज अनि आफ्नै परिवेशमा महामारी फैलिइरहेका बेला आफू मात्र सुरक्षित छु भन्नु भ्रम हो । संस्कार, संस्कृति, चाडपर्व आदि त समाजनिर्मित हुन् । समाजको स्वरूप, अवस्था र आवश्यकताअनुसार ती परिवर्तित र परिमार्जित हुन सक्छन् । जस्तोसुकै प्रतिकूलतामा पनि सांस्कृतिक पर्वलाई निरन्तरता दिइनुपर्छ भन्ने मान्यताबाट मुक्त हुन सकेमा पनि हालको विषम परिस्थिति न्यूनीकरणमा सघाउ पुग्न सक्छ । नजिकिँदै गरेका दसैं–तिहार, इद, छठ आदि पर्वहरू साबिकमा जस्तै मनाइने हो भने सामाजिक दूरी केवल नारामा सीमित रहनेछ । यी पर्वहरूलाई पनि मनाउनैपर्ने तथा आर्थिक हैसियत प्रदर्शनकै माध्यम बनाइने हो भने महामारी नियन्त्रणबाहिर हुनेछ । हरेक व्यक्ति तथा परिवार अहिलेदेखि नै यसतर्फ सचेत हुनुपर्छ ।

परिवारमा महिलाको सर्वाधिक भूमिका हुन्छ । हरेक विपत्मा सर्वाधिक पीडा महिलाले नै खेप्नुपर्ने हुन्छ । विपत् न्यूनीकरणमा पनि सर्वाधिक दायित्व महिलाकै हुने गर्छ । पारिवारिक व्यवस्थापन तथा सामाजिक सम्बन्धको सन्तुलनमा महिलाकै सक्रियता हुन्छ । अहिलेकै अवस्थामा हेर्ने हो भने हात धुने–धुवाउनेदेखि घर–परिवारलाई संक्रमणमुक्त गराउने दायित्व पनि महिलाकै काँधमा देखिन्छ । परिवारजनको बाहिरी सम्पर्कको हेक्का राख्नुका साथै घरमा पाहुना ल्याउने–नल्याउने आदिमा समेत महिलाको निर्णय अन्तिम हुने गर्छ । चाडपर्व तथा सामाजिक व्यवहार कसरी चलाउने, फजुल खर्च गर्ने या मितव्ययिता अपनाउने, यो पनि महिलामै निर्भर गर्छ । त्यसैले हरेक क्षेत्रमा बराबरी अधिकारको दाबा गरिरहेका हामी दायित्व निर्वाह गर्न पनि त्यति नै सक्षम छौं भनेर साबित गर्नुपर्ने बेला हो यो । व्यक्ति र परिवारको घेराबाहिर निस्केर, देश र समाजको सापेक्षतामा आफूलाई प्रस्तुत गर्न सके मात्र हामी यो परीक्षामा सफल बन्नेछौं ।

यो कठिन परिस्थितिमा हाम्रासामु मुख्य दुई चुनौती उभिएका छन् । पहिलो, परिवार तथा समाजमा सामाजिक दूरी प्रभावकारी बनाएर सम्भावित जोखिमको न्यूनीकरण गर्नु । दोस्रो, चाडपर्वका नाममा हुने फजुल खर्च र तडकभडक नियन्त्रण गरी सामुदायिक तहबाट महामारीविरुद्ध अभियान सञ्चालन गर्नु । म स्वस्थ छु, मेरो परिवार सजग छ, अतः हामी खतरामुक्त छौं भन्ने भ्रमबाट आफू र आफ्नो परिवारलाई मुक्त गराएर सही अर्थको सामाजिक दूरी बनाइराख्नमा पनि महिलाकै सक्रियता प्रभावकारी हुने गर्छ । अहिले भनिएको सामाजिक दूरी आफैंमा हास्यास्पद देखिन्छ किनभने आफूलाई संक्रमणरहित घोषित गरेर समूहमा आबद्ध भई भलाकुसारी, मनोरञ्जन गरिएकै देखिन्छ ।

पाका तथा केटाकेटीहरू पनि एकैसाथ जम्मा हुने, खेल्ने गरेका छन् । अहिलेको अवस्थामा बिनापरीक्षण कसैले पनि आफूलाई सुरक्षित मान्नु आत्मरतिबाहेक केही हुँदैन । अतः एकै स्थानमा धेरै परिवारको बसोबास हुने सहरी परिवेशमा महिलाहरूले नै परिवारजनलाई अनावश्यक जमघटमा जानबाट रोक्दै घरभित्रै सुरक्षित राख्न सक्छन् । परिवारमा आर्थिक स्रोत जसले जुटाए पनि त्यसको परिचालनको जिम्मा भने प्रायः महिलावर्गको हुन्छ । आफ्नो आर्थिक स्रोत– साधनलाई केमा र कसरी खर्च गर्ने भन्ने अधिकार पनि उनीहरूकै हुन्छ । राष्ट्रमा यत्रो संकट आएका बेला हामी भने चाडपर्व, संस्कार–संस्कृति अनि परिवारको मान–प्रतिष्ठा भन्दै फजुल खर्च गरिरहेका छौं । जसरी सरकारले हालको अवस्थामा संस्कृति–परम्परा, मठ–मन्दिर, सम्पदा, कला–साहित्य आदिका लागि विनियोजन गरेको बजेट महामारी व्यवस्थापनमा खर्चिनुपर्ने देखिएको छ, त्यसरी नै आम नागरिकले पनि अनुत्पादक तथा अनावश्यक खर्च कटौती गर्नुपर्छ । यसका लागि परिवार तथा समुदायका महिलाहरूको भूमिका प्रभावकारी हुन्छ । हरेक पालिकामा प्रतिनिधित्व गरिरहेका महिलाहरूको अगुवाइमा सामुदायिक कोष बनाएर आम नागरिकबाट स्वैच्छिक दान संकलन गर्न सके त्यसबाट सम्बन्धित वडामा पीसीआर परीक्षणको दायरा बढाउन सकिन्छ । हाल सरकारी स्तरबाट भइरहेको यस्तो परीक्षण तीव्र गतिमा फैलिरहेको संक्रमण नियन्त्रणका लागि यथेष्ट देखिँदैन । महँगो भएकाले सरकारी स्तरबाट सबै नागरिकको परीक्षण हुने आशा केवल आकाशको फल हुनेछ । जटिल अवस्थामा भएका बाहेक अन्य संक्रमितको उपचार गर्न नसक्ने भन्दै सरकारले हात उठाइसकेको छ । चार महिनाको बन्दाबन्दीमा पनि सम्भावित विपत् व्यवस्थापनका लागि ठोस कार्य गर्न नसकेको सरकारका हामी नागरिक अब आफ्ना लागि आफैंले केही गर्नुपर्ने अवस्थामा छौं ।

सरकारसँग ‘बन्द’ बाहेक कुनै विकल्प छैन । यही बन्दले आर्थिक क्षेत्र नराम्ररी प्रभावित भएको हुँदा निकट भविष्यमा सर्वसाधारणका चुला–चौकासमेत बन्द नहोलान् भन्न सकिँदैन । हालकै अवस्थामा त विपन्न वर्गको कुरै छोडौं, मध्यमवर्गीय श्रमजीवीहरूमध्ये कतिले चार–पाँच महिनादेखि तलब पाएका छैनन् भने कतिपयले आधा तलबका भरमा परिवार धान्नुपरिरहेछ । दैनिक बढ्दो संक्रमितको संख्याले भविष्यमा थप जटिलता सिर्जना हुने संकेत गरिरहेको छ । यस्तोमा उपभोग्य वस्तुमा मितव्ययिता अपनाउनुले पनि समस्या समाधानमा सघाउ पुर्‍याउँछ । आर्थिक क्षमता हुनेहरूले भोज–भतेरका नाममा गर्ने उपभोगले समग्र रूपमा उपभोग्य वस्तुको अभाव तथा मूल्यवृद्धि गराउँछ । यसमा पनि महिलावर्गकै भूमिका अग्रणी देखिन्छ । सबैभन्दा ठूलो कुरा जीवन हो, जीवन रहे रमाइलो आउँदै गर्छ । हिमाल–पहाड–तराई अनि सम्पन्न–विपन्न सबैको साझा समस्याका रूपमा देखिएको विपत्मा एउटाको चुलो चिसिएका बेला अर्काको चुलोमा चौरासी व्यञ्जन पाक्नु अनि एउटाको आँगनमा शोकधुन बजिरहँदा अर्काको आँगनमा खुसीयाली मनाइरहनुको औचित्य होला र ? त्यसैले यो विषम परिस्थितिमा हामी त्यस्तो केही गरौं जसले कोरोना संक्रमण न्यूनीकरणमा सघाउ पुर्‍याउनुका साथै दैनिक गुजारा गर्न नसक्नेहरूको जीवनरक्षा पनि गर्न सकोस् ।

प्रकाशित : भाद्र १८, २०७७ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?