प्रमत्त प्रधानमन्त्रीको मध्यावधि आकांक्षा

ती विपक्षीहरू, जो अहिले पावरमा छन् वा पावरको लाइनमा छन्, ओलीलाई छाड्ने मुडमा देखिँदैनन् । पावरको तेजमा परेपछि जो कसैको पनि सहयोगी जतिसुकै आत्मीय भए पनि त्यसले धोका दिन्छ । राजनीतिमा यस्तो सम्भावना शून्य हुँदैन ।
किशोर नेपाल

प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीलाई सत्तासँग ‘प्रमत्त’ व्यक्ति भन्दा एकदमै सुहाउँछ । सत्ताले सबैलाई अलिकति मात र उन्मादको अवस्थामा ल्याउँछ । यो अस्वाभाविक होइन । तर, प्रधानमन्त्री ओलीको सत्तासँगको सम्मोहन लरतरो छैन ।

प्रमत्त प्रधानमन्त्रीको मध्यावधि आकांक्षा

जापानका ६५ वर्षीय प्रधानमन्त्री सिन्जो आबेले स्वास्थ्यका कारण राजीनामा गरेको समाचारले प्रधानमन्त्री ओलीलाई पटक्कै प्रेरित गरेन । उनको अहिलेको स्वास्थ्यस्थितिमा सत्तासँग निरन्तरको संसर्गबिना उनी चलहल नै गर्न नसक्ने देखिएको छ । प्रधानमन्त्री ओलीका लागि देशमा सधैं केही न केही भइरहनुपर्छ । नत्र भने, सत्तामा बसेको स्वाद नै आउँदैन । यो तथ्यसँग जानिफकार उनका सहयोगी र विरोधीहरू उनलाई यो वा त्यो बहानामा गिजोलिरहन्छन् । यो उनका लागि पीडादायी कुरा हो ।

अहिलेको सन्दर्भ अर्थमन्त्री युवराज खतिवडाको पुनर्नियुक्तिसँग जोडिएको छ । आजका दिनमा नेपालको अर्थतन्त्रलाई गति दिन सक्ने युवराज खतिवडाको टक्करको अर्को व्यक्ति प्रधानमन्त्री ओलीले भेटेका छैनन् । अर्थमन्त्रीका रूपमा खतिवडाले जति ‘प्रभावकारी’ भूमिका निर्वाह गरेका छन्, त्यो अहिलेसम्मका कुनै पनि अर्थमन्त्रीले गरेका छैनन् । कुनै अर्थमन्त्री सरकार–प्रमुखको रक्षाकवच भएर खडा नभएसम्म सरकार–प्रमुखले संसद्लाई समेत छायामा पारेर आफ्नो प्रतिरक्षा गर्नै सक्दैन । खतिवडाको मन्त्री हुने म्याद सकिएको छ । प्रधानमन्त्री उनलाई निरन्तरता दिन चाहन्छन् । तर, पार्टीमा अर्घेलो खडा गर्नेको कमी छैन । वामदेव एकपटक फेरि बुर्लुक्क उफ्रेर रंगमञ्चमा आएका छन् र भन्दै छन्, ‘म जाने हो राष्ट्रिय सभामा ।’

वामदेवको मनसाय राष्ट्रिय सभामा अड्किएर बस्ने छैन । उनी आनन–फाननमा राष्ट्रिय सभाका सदस्य पनि प्रधानमन्त्री बन्न सक्छन् भन्ने आशयमा संविधान संशोधन गराउने मानसिक तयारीमा छन् । यो सबैले बुझेको कुरा हो । संविधान संशोधन वामदेवले सोचेजति सजिलो छ कि छैन ? त्यो बेग्लै प्रश्न हो । उनलाई प्रधानमन्त्री बनाउनकै लागि संविधान संशोधन गर्न उनको आफ्नै पार्टी तयार होला ? यो अर्को जटिल प्रश्न हो । वामदेवजी एकै दशकमा नेपाललाई चीनभन्दा विकसित देश बनाउन चाहन्छन्, तर कसरी ? देश बनाउनु त्यति सजिलो भएको भए राजा महेन्द्र र राजा वीरेन्द्रले आफ्नो सत्ताको पकड खुकुलो पार्ने थिएनन् । यो कुरा उनले बुझेकै होलान्, चुनावमा हारेपछि व्यक्तिको महत्त्व स्वाट्टै घट्छ ।

प्रधानमन्त्री ओलीलाई ठीक बेलामा आएर यो अनुभूति भएको छ, एमाले र माओवादी ‘मिलेर’ यो जुन नेपाल कम्युनिस्ट पार्टी बनेको छ, त्यो एमालेको भन्दा माओवादीको आवश्यकताले बनेको थियो । प्रधानमन्त्री ओलीलाई गद्दीबाट उतारेर कांग्रेससँग गठबन्धन गर्न पुगेका माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री ओलीको लोकप्रियता देखेर आत्तिएका थिए । त्यो अत्त्याहटले प्रचण्डलाई एमालेसँग नजिक ल्याएको थियो । प्रचण्डमा एक प्रकारको हुटहुटी थियो नेपालमा एउटै बृहत् कम्युनिस्ट पार्टी बनाउने । तर, प्रधानमन्त्री ओली र उनका निकटवर्तीहरू प्रचण्डको यो हुटहुटीको खिल्ली उडाउँछन् । उनीहरू जनयुद्धको प्रारम्भकालीन दिनमा माओवादीलाई जुन दृष्टिले हेर्थे, त्यो दृष्टि अहिले पनि बदलिएको छैन । त्यति बेला एमालेभित्रको बहुदलीय जनवादी पक्ष, राप्रपा र कांग्रेसको बोली एउटै थियो । अहिले पनि त्यो बोलीमा खासै भिन्नता आएको छैन ।

अहिले पार्टी एकताको नाममा पार्टीभित्र सचिवालय र स्थायी समितिका माध्यमबाट आफ्ना विरुद्ध जुन मुहिम छेडिएको छ, प्रधानमन्त्री ओलीको विचारमा, त्यो पनि माओवादीको आवश्यकता हो । माओवादीको आडमा पार्टीभित्रका उनका विरोधी अहिले उनीसँग पौंठेजोरी खेल्न उतर्सिएका छन् । पार्टीभित्र एमाले पक्षका ‘असन्तोकी’ नेताहरूलाई बटुलेर माओवादी पक्षकाले प्रधानमन्त्री ओलीलाई जति दुःख दिएका छन्, त्यसको हिसाबकिताब नै छैन । तर, उनले त्यसको निवारक औषधि तयार पारिसकेका छन् । त्यो, पक्कै पनि, कोरोना भाइरसको भ्याक्सिनजस्तो परीक्षणको प्रतीक्षामा रहेको छैन । तीन दशकअघि नेपालकै प्रयोगशालामा बनेको त्यो औषधिको ‘अचूक’ प्रयोग भैसकेको छ । हो, प्रधानमन्त्री ओली मध्यावधि चुनाव घोषणाको तयारीमा छन् । स्रोतहरूका अनुसार, मध्यावधि चुनावका सन्दर्भमा प्रधानमन्त्री ओलीको राष्ट्रपति विद्यादेवी भण्डारीसँग नियमित वार्ता भैरहेको छ । यसबाहेक, नेपाली सेनाका अधिकारीहरूसँग पनि प्रधानमन्त्री ओलीको वार्ता भैरहेको छ ।

प्रधानमन्त्री ओली मध्यावधि निर्वाचनमा जानुपर्ने पक्षमा सार्वजनिक तहमा छलफल भएको पाइएको छैन । तर, आन्तरिक रूपमा जनमत बुझ्ने काम भइरहेको छ । जनमत बुझ्नेभन्दा पनि, मध्यावधिको समर्थनमा कसरी जनमत तयार पार्ने भन्नेमा छलफल केन्द्रित छ । एमाले पक्षका केहीले मध्यावधि चुनावको घोषणा आत्मघाती हुने बताए पनि धेरैले प्रधानमन्त्री ओलीको पक्षमा जनता ‘टड्कारो’ उभिने निष्कर्ष निकालेका छन् । सरकार झन्डै दुईतिहाइको भएकाले प्रस्तावित मध्यावधि चुनावलाई २०५१ मा नेपाली कांग्रेसका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गराएको मध्यावधि चुनावसँग तुलना गर्न नमिल्ने निष्कर्ष प्रधानमन्त्री ओलीका सहयोगीहरूको छ । प्रधानमन्त्री ओलीका एक निकटवर्तीले बताएअनुसार, ‘समकालीन राजनीतिमा प्रधानमन्त्री ओली लोकप्रियताको जुन शिखरमा हुनुहुन्छ त्यहाँ अहिलेसम्म कोही पुगेकै छैन । उहाँमाथि जनताको चरम विश्वास छ । २०५१ मा गिरिजाप्रसाद कोइरालाले मध्यावधि चुनावको घोषणा गर्दा कांग्रेस पार्टी पूरै विभाजित थियो । हाम्रोमा त्यो समस्या छैन । माओवादी बाहिरिए पनि बहुमत प्रधानमन्त्री ओलीको नाममा आएकाले चुनाव परिणाम उहाँकै नेतृत्वको पक्षमा आउनेछ ।’

प्रधानमन्त्री ओलीले पार्टीका अरू महत्त्वपूर्ण नेताहरूसम्म कुरा पुर्‍याउने हेतुले आफ्ना सहकर्मीहरूसँग ‘पार्टीको बृहत् रूपमा विकास गर्नेबाहेक आफ्नो अर्को अभीष्ट नभएको’ बताउने गरेका छन् । उनले बाँचुन्जेल देश र पार्टीको सेवामा लाग्ने आफ्नो लक्ष्यमा ‘साथी’ हरूले अवरोध गरेकामा गुनासो गर्ने गरेका छन् । साथीहरूले पदोचित सम्मान नदिएकामा पनि प्रधानमन्त्री ओलीको चित्तदुखाइ छ । प्रधानमन्त्री ओलीको विश्लेषणमा, उनका एक सहयोगीका अनुसार, अहिले पार्टीलाई शिखरमा पुर्‍याउने सुनौलो मौका छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस इतिहासकै खतरनाक मोडमा रहेको छ । जनताले कम्युनिस्ट पार्टीमाथि विश्वास गरेका छन् । अहिले पार्टीलाई विशाल आकारमा लैजाने यो अवसर गुम्न दिनु हुँदैन ।

प्रधानमन्त्री ओलीले पार्टीका बैठकहरूलाई अलिकति पनि महत्त्व दिएको देखिँदैन । पार्टीका प्रमुख भनिने नेताहरूसँग उनी नियमित विचार–विमर्श पनि गर्दैनन् । सरसल्लाह पनि आफ्ना कनिष्ठहरूसँग गर्ने स्वभाव छ उनको । एकातिर, पार्टीका वरिष्ठ नेता माधव नेपालका आफ्नै राजनीतिक समस्या छन् । पार्टीमा अनुयायीहरूको राम्रै संख्या भए पनि उनी आफूलाई सुरक्षित ठान्न सक्ने अवस्थामा छैनन् । प्रधानमन्त्री ओलीसँगको ‘लभ–हेट’ सम्बन्ध लामो समय पार्टी नेतृत्वमा रहेका माधव नेपालका लागि महाभारतमा वर्णित ‘धृतराष्ट्र–भीम अंकमाल’ समान भएको छ । माधव नेपालले प्रधानमन्त्री ओलीका अगाडि आफूलाई स्टिलजस्तो दह्रो नपारिनहुने बाध्यता छ ।

यही अवस्थामा छन् अर्का वरिष्ठ नेता झलनाथ खनाल । उनको नाममा खुलेको झलनाथ खनाल फाउन्डेसनलाई सरकारले ७२ करोड उपलब्ध गराएको छ । तर, राजनीतिमा खनाल त्यत्तिकै चुप लागेर बस्नेवाला देखिँदैनन् । प्रधानमन्त्री ओलीलाई नेता खनाल पनि चुनौती हुन् । यसबाहेक, माओवादी पक्षका केही राम्रा मानिसलाई आफ्नो पक्षमा तानेर प्रचण्डको मानमर्दन गर्नमा पनि प्रधानमन्त्री ओली लागेका छन् । प्रचण्डका निकै तेजिला र महत्त्वाकांक्षी सहयोगीलाई तान्ने प्रयत्नमा लागेका छन् प्रधानमन्त्री ओली । प्रधानमन्त्री ओलीको पक्षमा जाने अर्को कुरा ‘एमाले’ भित्रका उनका विपक्षी हुन् । ती विपक्षीहरू, जो अहिले पावरमा छन् वा पावरको लाइनमा छन्, ती प्रधानमन्त्री ओलीलाई छाड्ने मुडमा देखिँदैनन् । पावरको तेजमा परेपछि जो कसैको पनि सहयोगी जतिसुकै आत्मीय भए पनि त्यसले धोका दिन्छ । राजनीतिमा यस्तो सम्भावना शून्य हुँदैन ।

मध्यावधि चुनावमा गएर प्रधानमन्त्री ओलीले बिनाकसैको सहयोग, आफ्नो पार्टीको बलबुतामा मात्र, दुईतिहाइ मत ल्याउलान् ? प्रतिपक्षी दल साह्रै कमजोर र गलित भएको अवस्थामा यो प्रश्नको जवाफ दिनु सजिलो छैन । प्रतिपक्षभित्र जस्तो अस्वस्थ प्रतिद्वन्द्विता देखिएको छ, त्यसको सन्दर्भमा जे पनि हुन सक्छ । राष्ट्रवादको नारामा चल्ने देशमा मध्यावधि चुनावका यस्ता घटना भइरहेकै देखिन्छन् । यो नवीन प्रयोग पनि होइन । प्रधानमन्त्री ओली ‘पार्टी’ लाई अत्यधिक ‘समृद्ध’ बनाउन अलिकति पनि चुकेका छैनन् । तर, कुन पार्टीको समृद्धि हो यो ? नेपाल कम्युनिस्ट पार्टी वा प्रस्तावित नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) ? यो कुराको निर्क्योल भएको छैन । नेकपामा प्रधानमन्त्रीलाई निष्कासित गर्ने क्षमता देखिँदैन भने, नयाँ एमालेमा नेताहरूलाई समेट्ने क्षमता देखिँदैन । दुवै पक्षका आ–आफ्नै बाध्यता छन् ।

खास गरेर, नेपालमा एउटै कम्युनिस्ट पार्टी गठनको हुटहुटी भएका माओवादी जनयुद्धका नेता प्रचण्डका लागि यो निकै जटिल र कठिन अवस्था हुनेछ । प्रधानमन्त्री ओलीले सिक्काका दुवै पाटा आफ्नो पक्षमा पल्टाउने रणनीति लिएको देखिन्छ । यसले कम्युनिस्ट राजनीतिको हित गर्छ कि उसलाई थप भ्रष्टीकरणमा पुर्‍याउँछ, यसै भन्न सकिँदैन ।

प्रकाशित : भाद्र १७, २०७७ १९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?