१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

चालीस, दिल्ली र जिन्दगी

हरेक परिवारले ऋण काढेर हुन्छ कि, जमिन–कुखुरा–बाख्रा बेचेर हुन्छ कि, छोराछोरीलाई पढाउनै पर्छ । यही मात्रै होडबाजीको मैदानमा पस्ने र बस्ने उपाय हो, डोको–थुन्सेबाट निस्कने ढोका हो ।
महेन्द्र पी‍. लामा

दिल्लीको लड्डु जसले खायो ऊ पछुतायो अनि जसले खाएन ऊ अझै पछुतायो । यो दिल्लीमा बसोबास गरेको ठीक चालीस वर्ष पुग्यो । दार्जिलिङको स्वच्छ वातावरण, पर्वतमालाको काख र निःशुल्क अक्सिजन छोडी १९ वर्षको अल्लारेबल्लारे उमेरमा दिल्ली पुगेको थिएँ म ।

चालीस, दिल्ली र जिन्दगी

तीनसुखिया मेलबाट उत्रिएपछि सीधै एसियाकै नामी जवाहरलाल नेहरू विश्वविद्यालयमा पसेँ, अर्थशास्त्रमा एमए गर्न भनी । गरमको चुली, मान्छेको भीड, गाडी–वाहनको कोलाहल । अर्कातिर हाम्रो सुन्दर विश्वविद्यालयको नयाँ क्याम्पस । यसरी सुरु गरेको थिएँ यो दिल्लीको जिन्दगी । थाहा थियो होडबाजीको जंगलमा पस्दै छु भनेर, तर थाहा थिएन दिल्ली वर्णभेदको पनि केन्द्र हो भनेर । उता क्याम्पस भने टिस्टा र रंगीतजस्तै सलल बग्थ्यो, गाउँ, पहाड, नगर, देश–विदेशका विद्यार्थीहरू अनि जानेमानेका शिक्षकहरूसँगसँगै ।

दार्जिलिङमा राति नौ बजेको अंग्रेजी समाचार रेडियोमा सुनेपछि ओछ्यानभित्र गुटमुटिन्थ्यौं । यो क्याम्पसमा राति नौ बजे पो सबै ब्युँझेको जस्तो लाग्दो रहेछ । स्याल–फ्याउरा–हाप्सिलोझैं मध्यरातमा विद्यार्थी–शिक्षकहरूको चियाको ढाबामा घण्टौं वाद–विवाद, चर्चा–परिचर्चा । सुनेरै पनि आफूले ज्ञान पाउने वातावरण । इरान–इराकको युद्ध, अफगानिस्तानमा सोभियत संघको हमला, भारतले अन्तर्राष्ट्रिय मुद्रा कोषबाट लिइरहेको ऋणको निन्दा, आपत्कालीन स्थितिमा सरकारले पुर्‍याएको आघात, अन्टार्टिकामा वैज्ञानिक अभियान र फेरि क्रिकेट । ज्ञानैज्ञानको भारी आउनासाथ बोक्नुपर्‍यो, सबै–सबैले । श्रेणीमा होडबाजी, टक्कर, उस्तैउस्तै होनहार विद्यार्थीहरू । दार्जिलिङको प्रसिद्ध सन्त जोसेफ कलेजमा स्वर्णपदक प्राप्त गर्ने म यहाँ त हराउने भएँ । तर हामी पहाडेहरू हराउनै दिँदैनौं, हार्नै सक्तैनौं र बिस्तारै सिकेँ होडबाजीका यन्त्रतन्त्रहरू । साथीहरू अध्ययन नै नगरेको जस्तो गर्थे र पनि परीक्षामा उच्च ग्रेड ल्याउँथे ।

मैले पनि छिट्टै सिकें, नदेखाई पढ्न । उसले बाह्र घण्टा पढ्छ भने, म लुकेरै सोह्र घण्टा पढ्ने गर्थें । स्कुलमा छँदा शिक्षकले कराएर पढ्न लगाउँथे, यहाँ एक शब्द पनि निस्किँदैनथ्यो । यसरी नै मेरा साथीहरू कोही प्रशासनिक सेवामा पसेर भारत सरकारको सचिव भए, रिजर्भ बैंकको उप–गभर्नर भए । राजनीतिमा धेरै माथि पुगे । मेरो कक्षाकी अभिन्न मित्र निर्मला सीतारमन भारतको रक्षा र वित्तमन्त्री हुन पुगिन् । मलाई पनि त्यही वातावरण र होडबाजीले धेरै नै माथि पुर्‍यायो । हाम्रो श्रेणीमा मभन्दा एक वर्ष कान्छा अभिजित बनर्जीले नोबल पुरस्कार पनि पाए ।

दिल्लीमा के छैन ? राष्ट्रपति, प्रधानमन्त्री, सर्वोच्च न्यायालय, संसद्, भारत सरकार, विश्वप्रसिद्ध संस्थाहरू । भारतलाई नै दिल्लीले चलाउँछ अरे । यसर्थ सबै दिल्ली नै आउँछन् । यहाँ गत चालीस वर्षमा के देखिनँ मैले ? एसियाली खेल, गुट, निरपेक्ष आन्दोलनको शिखर सम्मेलन, प्रधानमन्त्री इन्दिरा गान्धीको हत्या, आतंकवादीहरूबाट संसद्मा हमला, साम्प्रदायिक हिंसा, विश्वका नेताहरूको आगमन, विद्वान्–विदुषीका चर्चा–परिचर्चा, टेलिभिजन च्यानल र फेरि संगीत अनि खेलको रमझम । विद्यार्थी छँदा नै एसियाली खेलमा भारत सरकारको जनसम्पर्क अधिकारीमा हामी नियुक्त भएका थियौं । त्यहीँ भेटेँ राजीव गान्धी, पण्डित रविशंकर र अमिताभ बच्चनलाई । खेलगाउँमा भेटेँ गोर्खा बक्सर बीएस थापा र जसलाल प्रधान । फिलिपिन्सका लिडिया डी भेगा, सबैभन्दा तेज धावक । अनि नेपालका राजकुमार दीपेन्द्र, सानो उमेर अनि चिटिक्क ।

हाम्रा प्रकाश पादुकोण र चीनका हान जियान । लगत्तै पछि सन् १९८३ को गुट निरपेक्ष आन्दोलनको शिखर सम्मेलनमा काम गर्ने अर्को ठूलो मौका पाएँ । विज्ञान भवनको प्रांगणमा हाम्रा प्रधानमन्त्री इन्दिरा गान्धी र क्युबाका राष्ट्रपति फिडेल कास्ट्रोको ऐतिहासिक अंकमाल पनि देखेँ । भवनभित्र नेपालका नरेश वीरेन्द्र, पाकिस्तानका सैनिक शासक जिआउल हक, प्यालिस्तिनी नेता यासर अराफत, लिबियाका कर्णेल गद्दाफी र श्रीलंकाका राष्ट्रपति जयवर्द्धनेलाई त्यहीँ देखेँ अनि अटोग्राफ पनि लिएँ ।

पैसा, धन र घमन्डले परिपूर्ण भएको यो दिल्ली महानगरीमा ठग, बदमास र दलालहरू गल्लीगल्लीमा बसेका हुन्छन् । हवाई अड्डा र रेलको स्टेसनमा उत्रनासाथ ट्याक्सी र अटोले ठग्न थाल्छन् । बजारमा त्यस्तै, संस्थाहरूमा त्यस्तै । यसर्थ धेरै दिल्ली आउनै मान्दैनन् । बोली टर्रो, गालीको थेगोजस्तै बकबक, तँ र तपाईंको अन्तर नजान्ने ठाउँ हो यो । आँखा चिम्म गर्नु हुँदैन, सब्जीवालाले कुहिएको प्याज, आलु र बैगुन मिसाएर तौलिहाल्छ । राति आठ बजेपछि केटी–महिलाहरू हिँडिनसक्नु हुन्छ र नै ‘बलात्कारको राजधानी’ को नामसमेत पाउँछ यो दिल्लीले ।

संसद्को वरिपरि, विदेशी दूतावास र धनी इलाकाहरू वासिङ्टन, किओटो र ज्युरिकजस्तै सफा र चिटिक्क । फेरि अलिक पर्तिर मुनिरका, आयानगर र पूर्व दिल्ली फोहोरको भारी । छोरी–चेलीहरूका भ्रूण हत्या गरिएकाले नै एकदेखि छ वर्ष उमेरका बालिकाहरूको संख्या प्रत्येक बालकको संख्याको तुलनामा घीनैलाग्दो प्रकारले कम्ती यो दिल्लीमा । अर्कातिर, लाजै नमानी ‘बेटी बचाऊ र बेटी पढाऊ’ का पोस्टरहरू भित्तैभरि ।

ठन्डा महिनामा धेरै मानिस ठूलो कम्बल ओढेर जबर्जस्ती बसको सानो ढोकामा घुस्दा अरू चढ्नै पाउँदैनथे । हामी रिसले चूर हुन्थ्यौं । केही नजान्ने, अर्थ न बर्थका लाठेहरू हूलका हूल, बथानका बथान पाइन्छन् दिल्लीमा । बाटो बिर्सेर कसैले ‘भैया, यो ठेगाना कतातिर पर्‍यो ?’ भन्नु मात्रै पर्छ, उसले भूगोल नै खाएको जस्तो आँखा चम्काउँदै ‘यताबाट सीधा जाऊ, दाहिनेतिर मोड र फेरि सीधा जाऊ, त्यहीँ छ यो बिल्डिङ’ भन्छ । त्यो भैयाले भनेको बाटो पहिल्याएर जो पनि जान्छ, फोहोर फ्याँक्ने ठाउँमा पुग्छ । यो कुरा धेरै विदेशीले भन्ने गर्छन् । जसले दिल्लीको लड्डु खाए, ती फेरि आउनै मान्दैनन् यहाँ । विश्वासको मुटु नै अविश्वास हो यहाँ ।

तर दिल्ली नै हो भारतको मुटु । विश्व नै भारत भन्नासाथ दिल्लीमा ओर्लन्छ । प्रधानमन्त्रीको कार्यालय साउथ ब्लक, अर्को ब्लकमा विदेशमन्त्री, बाटापारि वित्तमन्त्री नर्थ ब्लकमा, अलि पर रक्षा, रेल र शिक्षामन्त्रीहरू । नजिकै संसद् भवन, राष्ट्रपति भवन, इन्डिया गेट र बोट क्लब अनि फेरि सर्वोच्च न्यायालय । एटम बम बनाउने निर्णयदेखि गाउँघरमा बाटो, पानी र बिजुली पुर्‍याउने अनि राज्य–राज्यलाई कहाँ कति किन कोष दिनुपर्ने बहस र देशको राजनीतिक प्रणाली र संवैधानिक ढाँचासम्म तय गर्ने यो सानो दिल्ली हो । नोकरशाहीको खेलको मैदान, राजनीतिक नेताहरूको लुछाचुँडी, विदेशनीति निर्धारणको कोख पनि यही दिल्ली नै हो । संस्थैसंस्था भएको यो दिल्ली साहित्य अकादमी, ऐतिहासिक अध्ययन केन्द्र, संगीत कला अकादमी, अखबार र टेलिभिजन एकापट्टि र हरेक दस–पन्ध्र किलोमिटरमा शैक्षिक संस्था र अस्पतालहरू — दिल्ली यसैले प्रसिद्ध छ । खेल्नेका लागि जुनै क्षेत्रमा पनि ठूलो खुला मैदान नै हो दिल्ली ।

दार्जिलिङको एउटा गाउँमा हामी केवल सपना देख्थ्यौं, कल्पना गर्थ्यौं र आकांक्षा राख्थ्यौं दिल्लीभित्र पनि कहाँ कसरी कसले नीति बनाउँदो रहेछ त्यो बुझ्नलाई, हेर्नलाई र गर्नेहरू को हुन् त भन्ने कौतूहल मेट्नलाई । चालीस वर्षमा मैले भित्रै पसेर बुझ्ने मौका पाएँ, देखेँ र बुझेँ राष्ट्र यसरी निर्माण गरिँदो रहेछ भनेर, सरकारी प्रक्रिया यसरी चल्दो रहेछ भनेर । भारतको सबैभन्दा बलियो पक्ष तीनवटा । संस्थाहरू, ठूलो सोच र अनुभवले परिपूर्ण ज्ञानी व्यक्तिहरू अनि देशप्रेम र देश निर्माणमा समर्पित जनसमूह । नजिकैबाट देखेँ प्रधानमन्त्री, राष्ट्रपति, मुख्यमन्त्रीहरू ।

केन्द्रीय विश्वविद्यालयको कुलपति हुँदा, प्रधानमन्त्रीको राष्ट्रिय सुरक्षा सल्लाहकार समितिको सदस्य र आईएएस, आईपीएसजस्ता उच्च सरकारी सेवाहरूको चयनमा संघ लोक सेवा आयोगको समितिमा बस्दा गर्व त लाग्थ्यो नै, योसँगसँगै हामी भारतीय गोर्खाहरूअघि आएका पर्खालहरू तोडिदिए जस्तो पनि लाग्थ्यो । अबउप्रान्त भारतीय गोर्खाहरू मुख्यमन्त्रीबाहेक केन्द्रीय सरकारका पदहरूमा पनि क्षमता भएको खण्डमा सहजै बस्न सक्ने भए ! धेरै सरकारी उच्च समितिहरूमा बसेपछि, धेरै कुरो बुझेँ, सिकेँ । लेख्तै जाउँला चालीस वर्षमा ठेस लागेका कुराहरू पनि ।

काम, परिश्रम र अध्यवसायमा लाग्नेहरूका लागि दिल्लीको माटो अति नै मलिलो । बीज छरेपछि टन्टलापुर घाममा पनि टुसा हाल्छ, वृक्ष ठूलो हुन्छ र फल पनि दिन्छ । यो बाँझो जमिन कदापि होइन । तर दिल्लीले दुई–चार कुराहरू माग्छ नै । प्रथम हो शिक्षा र ज्ञान, त्यसपछि समर्पणको भावना र लागिरहने प्रवृत्ति अनि फेरि ठूलो सोच्ने आँट र प्रकृति । म कहिलेकाहीँ एक्लो हुन्थेँ ।

न हाम्रो राजनीतिक नेता छन्, न नोकरशाही, न व्यापार–उद्योगधन्दाका मालिक, न अखबार र टेलिभिजनमा आफ्नाहरू । आफ्नो भनेका परिवार र साथीहरू मात्रै । तर खुड्किलोमा चढ्न थालेपछि वनतरुल खन्दा मेसो पाएजस्तै हुँदो रहेछ । पछि फर्केर हेर्नुपर्दैन रहेछ, केवल आफ्नो जरा नभुली, घरीघरी जरालाई मलजल गर्नुपर्दो रहेछ । यही कारण जाति, ठाउँ, भाषा, संस्कृति, संगीत, पानी, हावा, समाज, परिवारलाई कहिल्यै लत्त्याउन हुँदैन रहेछ । हाम्रा प्रधानमन्त्री, राष्ट्रपति, वैज्ञानिक, विद्वान्‌हरूले कसैले भुलेनन् आफ्नो जरा । पन्जाब, केरला, आन्ध्र, असम, बंगाल, गुजरात, कश्मीरमै जरा गाडेर आफूलाई चाहिँ दिल्लीमा र विदेशमा उडाइरहे, घुमाइरहे । दिल्लीमा यो ठूलो कुरो सिकेँ मैले । र, आत्मसात् सदैव गर्छु; सपना, विपना र कल्पनामा जन्मथलो नै फेरि फर्केर जाने गर्छु । दुःख–सुख र उदास लाग्दा अनि उदास हुँदा पनि त्यतै फर्केर जान्छु ।

अभाग्यवश, विश्वमा अरू महानगरीझैं दिल्लीको पनि स्तर घट्यो । एकापट्टि नयाँ टेक्नोलोजीले प्रेरित हवाई अड्डा र मेट्रो, पसल र बजार व्यवस्था र आधुनिक सुविधाहरू मनग्गे फस्टाए र सहजै पाइने भए; अर्कापट्टि संस्थाहरूको कार्य संस्कृति, कार्य क्षमता र गुणबद्ध प्रतिफलमा धेरै कमी–कमजोरी देखिन थाले । तीस वर्षअघिसम्म मूलघरमा टेलिफोन गर्दा ट्रंक कलको प्रतीक्षामा घण्टौं पर्खनुपर्थ्यो, टेलिग्राम गर्नुपर्थ्यो । आज केही सेकेन्डमै यो सब हुन्छ । तर दार्जिलिङबाट दिल्ली तिनताक साधारण चिठी पनि तीन दिनमा पुग्थ्यो, डाकबाबु घरघर पुग्थे । आज कुरिअर र स्पिडपोस्टले पनि एक सप्ताह त त्यसै लाउँछन् । सरकारी त के, बहुराष्ट्रिय कम्पनीहरूमा पनि कसैले कामै गर्न मान्दैन ।

भोलि आऊ, पर्सि आऊ, सिस्टम ह्याङ भयो, सम्हाल्ने मान्छे आज छुट्टीमा छ भन्दै टार्ने भए । यसमाथि पनि भ्रष्टाचार अति नै व्यापक रूपमा बढेर गयो । कहिलेकाहीँ त प्रणाली नै ध्वस्त भएको जस्तो पनि लाग्न थाल्छ । कसको के दायित्व हो, कसैलाई थाहै नभए जस्तो लाग्छ । दुई दशकअघिसम्म पनि नेपालीजस्तो लागेपछि ‘बहादुर, कान्छा, चौकीदार’ भनेर धेरैले पुकार्ने गर्थे । झगडा हुन्थ्यो, कुटाकुट हुन्थ्यो । सधैं कुरा गर्थ्यौं, जतिजति नेपालीहरूले शिक्षा हासिल गर्दै जान्छन्, उतिउति यो वर्णभेदको पुकारबाट उन्मुक्ति पाउँदै जान्छन् । आज यस्तै हुँदै छ । तरुण–तन्नेरी भारतीय गोर्खा र नेपालका नेपालीहरू आङ जुधाएर, होडबाजी गरेर अघि आउँदै छन् । चिनारीको परिभाषा नै बदल्दै छन् । यो अति नै घतलाग्दो कुरा हो ।

बदलिँदो भारतको राजधानी दिल्लीमा होडबाजी अझै तीव्र र अगम हुँदै छ । जसले पनि ज्ञान र परिश्रमको पुल्टो बोकेर हिँड्दै छ, उसले बाटो देख्दै छ र गन्तव्यतिर लाग्दै छ । त्यही कारण हरेक परिवारले ऋण काढेर हुन्छ कि, जमिन–कुखुरा–बाख्रा बेचेर हुन्छ कि, छोराछोरीलाई पढाउनैपर्छ । यही मात्रै होडबाजीको मैदानमा पस्ने र बस्ने उपाय हो, डोको–थुन्सेबाट निस्कने ढोका हो ।चालीस वर्षअघि दिल्ली आउँदा म आफैँ पनि दोस्रो पिँढी मात्रै थिएँ पढ्नेलेख्नेमा, आज तेस्रो पिँढीसमेत बन्यो हाम्रै परिवारभित्र । कर्मथलो दिल्लीलाई सदैव पर्वतका देवी–देवताले रक्षा गरून् ।

प्रकाशित : भाद्र १६, २०७७ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?