२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

बिलाएको एक लोक परम्परा

सन्दर्भ : इन्द्रजात्रा
राज्य, सरोकारवाला संघसंस्था, प्रतिष्ठान कतैबाट पनि संरक्षण र संवर्द्धनको प्रयास नहुँदा उपत्यकामा इन्द्रजात्राका अवसरमा परम्परागत नाटक प्रदर्शनको मौलिक संस्कृति विलुप्तप्रायः भएको छ ।
मल्ल के. सुन्दर

गायक योगेश्वर अमात्यका बुबा भुवनेश्वर अमात्य नायकका रूपमा थिए, नायिकाको वेशभूषामा सजिएका थिए वरिष्ठ गायक पन्नाकाजी शाक्य, लेखक थिए चर्चित संगीतकार न्ह्यू बज्राचार्यका पिता परमानन्द बज्राचार्य । देशगानका रचयिता थिए युगकवि सिद्धिचरण श्रेष्ठ । यस्तो थियो ‘राजकुमार कुणाल’ नाटक प्रदर्शनको ऐतिहासिक सन्दर्भ !

बिलाएको एक लोक परम्परा

सम्राट् अशोकका पुत्र थिए राजकुमार कुणाल । सौतेनी आमा कञ्चनमालाको षड्यन्त्रका कारण राज्यच्युत हुनुपरेको राजकुमारको चरित्रमा केन्द्रित कथानकको एक सन्दर्भमा राजगद्दीविरुद्ध जोसिलो भाषणको क्रम पनि आउँथ्यो, त्यस नाटकमा । मोहनशमशेर प्रधानमन्त्री थिए । सत्ताविरुद्ध जनता सडकमा आउने क्रम सुरु भइसकेको थियो । काठमाडौंको ओमबहालका केही युवा इन्द्रजात्राका अवसरमा नाटकका माध्यमबाट जनतामा राजनीतिक चेतना जगाउने प्रयासमा थिए । प्रदर्शनका लागि सडकबीच बनाइएको रंगमञ्चमुनि गुपचुप लुकेर बसेका सुरक्षाकर्मीहरू एक्कासि जाइलागे, कलाकारहरूको भागदौड सुरु भयो ।

इन्द्रजात्रा, पर्वविशेषको दृष्टिकोणबाट एक उत्कृष्ट र अत्यन्त मौलिक छ । यस अवसरमा भाद्र शुक्ल द्वादशीदेखि भाद्र कृष्ण चौथीसम्म कुमारी रथयात्रादेखि, महाकाली, लाखे, देवी नाच, पुलुकिसि अनि आकाश भैरव, श्वेत भैरव, इन्द्रका मूर्तिहरूको सार्वजनिक प्रदर्शनीबाट उपत्यका उत्सवमय बन्छ । दागीं माजु, बौमतको जात्रा, मृतकहरूको सम्झनामा गरिने उपाकु यात्रा, दीप यात्रा, दाफा गीत गायन आदि गतिविधिबाट सिंगो उपत्यका नै उल्लासमय हुन्छ । तर इन्द्रजात्राका क्रममा सम्पन्न गरिने यी जात्रा, पूजा, प्रदर्शन सबै आख्यान, लोककथन, आस्था, विश्वासमा आधारित अनुष्ठानहरू हुन् ।

इन्द्रजात्राको अर्को रमाइलो पक्ष भनेको साँझ समानान्तर रूपमा उपत्यकामा हुने गैरधार्मिक अर्थात् लौकिक सांस्कृतिक गतिविधि हुन् । स्वस्फूर्त रूपमा स्थानीय बासिन्दाकै सक्रियता र सहभागितमा हुने यस्ता सांस्कृतिक क्रियाकलापहरू मूलतः नाटक मञ्चनमै केन्द्रित हुने गर्थे । स्थानीय बोलीमा ‘खः प्याखं’ वा ‘ज्यापु प्याखं’ भनिने यस्ता प्रदर्शनहरू वास्तवमा सडक नाटकका अर्का रूप थिए ।

‘राजकुमार कुणाल’ इन्द्रजात्राकै अवसरमा प्रदर्शन गरिएको एक अविस्मरणीय नाटक थियो । त्यसताका महिलाको भूमिका पनि पुरुषले नै निर्वाह गर्थे । तसर्थ अमर गायक पन्नाकाजी नायिकाको भूमिकामा देखा परे । सात सालको क्रान्तिको पूर्वार्द्धमा उपत्यकाका एक थरी युवामा राजनीतिक चेत निकै माथि पुगिसकेको थियो । प्रजातन्त्र संघजस्तो राजनीतिक संगठनभित्र युवाहरूलाई गोलबन्द गर्न लागिपरेका प्रेमबहादुर कंसाकार इन्द्रजात्राकै अवसरलाई सदुपयोग गर्न चाहन्थे । उनले इन्द्रजात्राको अवसर पारेर संगठन सुदृद्ध गर्ने उद्देश्यबाटै ‘करुणा कुञ्ज’ नाटक तयार गरे ।

यतिखेरै ‘कुम्हाः दाजु’ नाटकमार्फत समाजभित्रको जातीय भेदभाव र ठूलो–सानो भन्ने व्यवहारप्रति असहमति जनाउँदै डबलीमै सबै जातले सहभोज गर्ने र एकै हुक्कामा तमाखु तान्ने दृढता प्रदर्शन गरे । शासकहरूलाई सह्य भएन, कलाकारहरूलार्ई पाता फर्काएर लगे । त्यो २००२ सालको घटना थियो । त्यस्तै अन्य जागरुक युवाहरूले ‘समाज’ नाटक प्रदर्शन गरेर अनमेल विवाहको विरोध गरे, विधवा विवाहका पक्षमा सार्वजनिक वकालत गरे । ती कलाकारहरू पनि पक्राउमा परे । यो २००६ सालको इन्द्रजात्राको कुरा हो ।

इन्द्रजात्राका यस्ता सांस्कृतिक गतिविधि मूलतः मनोरञ्जनका लागि हुन्थे । मल्लकालदेखि निरन्तरता रहेको यो लोक परम्परा विशेषतः सात सालको क्रान्तिको पूर्वार्द्धतिर इन्द्रजात्रा परिवर्तन र जागरणको संवाहक बन्यो । अन्यथा पूर्वइतिहास केलाउँदा यस पर्वमा परम्पराका रूपमा मञ्चन गरिने नाटकहरू बौद्ध जातक र अवदानमा आधारित ‘महासत्त्व महाराज’, ‘विश्वन्तर’, ‘कबीर कुमार सर्वार्थ सिद्ध’ वा हिन्दु पुराण र आख्यानका ‘सावित्री सत्यवान्’, ‘महाभारत’, ‘रामायण’ आदिका उपकथाहरूबाट प्रेरित हुन्थे ।

साहित्य सृजनामा लामो परम्परा रहेको नेपालभाषामा प्राचीनकालका धेरै कृति गीतिकाव्य, भक्ति रचनाहरूका रूपमा थिए । नाटक लेखन र मञ्चनको इतिहास पनि त्यत्तिकै पुरानो छ । अध्येताहरूका दाबी छन्— नेपालभाषामा लेखिएको सबभन्दा जेठो नाटक ललितपुरको हरिसिद्धिमा देखाइने ‘जल प्याखं’ हो । यो कलिगत संवत् २०६०, इसापूर्व १५० मा रचिएको हो । यसको पूर्वरूप संवादशैलीमा थियो । गोपालराज वंशावलीमा उल्लेख गरिएअनुसार यसको नृत्य मुद्रामा रूपान्तरण नेसं ४९५ पछि मात्र गरिएको थियो । जयदेवको राज्यकाल नेसं ३७६ तिर नाटक ‘नह्री प्याखं’ प्रदर्शन गरिएको पाइन्छ । त्यसपछि लिच्छविकालदेखि मल्लकालसम्मका विभिन्न अभिलेखमा नाटक लेखन, प्रदर्शन तथा राजा आफैं कलाकारको हैसियतमा संलग्न भएका थुप्रै प्रसंग पाइन्छन् ।

तत्कालीन समाजमा नाट्य विधाप्रति कतिको मोह रहेछ भन्ने कुरा राजा रणजित मल्ल एक्लैले छब्बीस नाटक रच्नुले पुष्टि गर्छ । भूपतीन्द्र मल्लका नेपालभाषाका अतिरिक्त मैथिली, प्राकृत र संस्कृत भाषामा रचित नाटकहरू दर्जनौं थिए । मल्लकालमा मात्र सयौं नाटक रचिएका थिए । नेसं ४४० मा राजा जयरुद्र देव आफैंले खेलेका थिए ‘रत्नागत नाटक’ । राजा धर्मदेवको विवाहको अवसरमा नेसं ५०३ मा माणिक्यले लेखेको ‘भैरवानन्द’ नाटक टोलटोलमा देखाइएको थियो । त्यस ऐतिहासिक प्रसंगलाई आधार मान्दा उपत्यकामा यसरी सार्वजनिक रूपमा नाटक प्रदर्शनको प्रचलन छ/सात सय वर्षअगाडिदेखि नै सुरु भइसकेको अनुमान गर्न सकिन्छ । प्रताप मल्ल आफैं नाटक लेख्दै र आफू पनि अभिनयमा सहभागी भएर प्रजाजनको मनोरञ्जनका लागि हनुमानढोका परिसरमा मञ्चन गर्थे । सिद्धिनरसिंह मल्लले लेखेको ‘कार्तिक नाच’ आजपर्यन्त प्रदर्शनमा छ । यसमा ‘बाथः’ चरित्रमा प्रहसन र व्यंग्यका संवाद अंश थपेर श्रीनिवास मल्ल आफैं कलाकारका रूपमा मंगलबजारको डबलीमा प्रस्तुत हुन्थे । जयप्रकाश मल्लको ‘रत्नेश्वर प्रादुर्भाव’ तथा राजेन्द्रविक्रम शाहको ‘महासत्त्वोपाख्यान’ पनि त्यत्तिकै चर्चित ऐतिहासिक नाटकहरू हुन् ।

तत्कालीन शासकहरूका सोखका कारण शास्त्रीय मान्यतामा रचित ती नाटकहरू मूलतः धार्मिक प्रवृत्तिका हुन्थे । कुनै अलौकिक पुरुष, शासक वर्ग वा सामन्तलाई नायकका रूपमा प्रस्तुत गरिन्थ्यो । सर्वसाधारणको जीवनका सवाल र भूमिका प्रायः त्यस्तोमा गौण हुन्थ्यो । तर, इन्द्रजात्रामा प्रदर्शन गरिने ‘खः प्याखं’ नेपालभाषाका प्राचीन शास्त्रीय नाटक र पाश्चात्य शैलीका थिएटरबीचको संक्रमणकालीन सृजनाका रूपमा विकसित भएको थियो ।

त्यसैले ‘खः प्याखं’ मा शास्त्रीय परम्पराअनुसार सूत्रधार पनि हुन्थे, उनैले पात्र परिचय गराउँथे । अनि अनिवार्य रूपमा मंगलाचरण, राजवर्णन तथा देशवर्णनका अंश पनि हुन्थे । तर, कथावस्तु, पात्र, संवादशैलीलाई भने समकालीन लोकजीवनको प्रतिविम्बका रूपमा प्रस्तुत गरिन्थ्यो । त्यस अतिरिक्त मनोरञ्जनका लागि ‘घिन्तामुनि’, ‘चैन सिपाही’, ‘ख्याली’ जस्ता हल्का तर हास्यप्रधान नाचगानबाट बेग्लै स्वाद थपिने गर्थ्यो ।

जनकवि दुर्गालाल श्रेष्ठ आफ्नो पूर्वस्मृतिका क्रममा सधैं उल्लेख गर्ने गर्नुहुन्छ, ‘मेरो लेखनकर्मको पाठशाला भन्नु नै गाईजात्रा र इन्द्रजात्रामा प्रस्तुति गरिने सांस्कृतिक प्रस्तुतिका डबलीहरू हुन् । लेख्नका लागि कापी–कलमसम्म पनि हुन्नथ्यो, चुरोट बट्टाको पछाडि एउटा ठुटो सिसाकलमले नाटकका संवादहरू लेखिने गरिन्थ्यो, टोलका समकालिक साथीहरू त्यसैलाई कण्ठस्थ गर्थे, त्यसरी नै नाटकले पूर्णता पाउँथ्यो ।’

‘ग्राम्य जीवन’ दुर्गालालले लेखेका नाटकहरूमध्ये एउटा हो, जसमा अमर गायक नारायणगोपाल गुरुवाचार्यले दृष्टिविहीनको भूमिकामा खेलेका थिए । कला क्षेत्रमा उनको बामेसराइ सम्भवतः त्यही नै हो । ‘सत्तलसिंह महाराज’ नाटक काठमाडौंको बांगेमुढाका युवाहरूले इन्द्रजात्राका लागि तयार गर्दै थिए । त्यही टोलका प्रेमध्वज प्रधानले गोरो, कलिलो, आकर्षक अनुहार भएका कारण त्यस नाटकमा नायिका बन्ने जिम्मेवारी पाए । आफ्नो भूमिकाअनुसार गीत गाउने जिम्मा पनि उनकै थियो । गायक फत्तेमान राजभण्डारी, नृत्य निर्देशक वसन्त श्रेष्ठ, गीतकार राममान तृषित, संगीतकार हुतराज, मदन परियार आदिका लागि इन्द्रजात्राको उक्त लोक परम्परा व्यावहारिक प्रशिक्षणको थलो थियो ।

यस खाले नाटक व्यवस्थापनका लागि कुनै स्रोत वा संस्था हुँदैनथ्यो । लेखक वा निर्देशक आफैंले खर्चबर्चको चाँजोपाँजो मिलाउनुपर्थ्यो । त्यति बेला इन्द्रजात्राको नाटक प्रदर्शनमा कहलिएका प्रा. सुवर्ण शाक्य सम्झनुहुन्छ, ‘आमाको टुकी ल्याएर बेचियो । कतिपयले घरको धन्सारमा थुपारिएका अन्न ओसार्थे, त्यसैलाई बेचेर खर्च जुटाइन्थ्यो ।’

वरिष्ठ नृत्य निर्देशक कान्छा बुद्धको निर्देशनमा तयार गरिएको नाटक चर्चित भएपछि २००२ सालमा राजदरबारमा निम्त्याइयो । बक्सिसस्वरूप पाएको रकम थियो पन्ध्र रुपैयाँ । इन्द्रजात्राका डबलीमा दर्जनौं नाटक खेलेका गायक भृगुराम श्रेष्ठका अनुसार प्रत्येक नाट्यमण्डलीले साँझ हनुमानढोकामा हाजिरी जनाउन जानुपर्थ्यो । प्रत्येक कलाकारले जनही तीन आना (बाह्र पैसा) पाउँथे । टोलटोलमा गएर प्रदर्शन गरिँदा स्थानीय बासिन्दाले बढीमा दुई–तीन सय रुपैयाँ थमाउँथे । त्यो जम्मा गरेर पछि समापनका बेला वनभोज गरे उडाइन्थ्यो । पारिश्रमिकका रूपमा कसैले केही पाउँदैनथ्यो ।

नाटक तयार गर्नमा अब्बल थिए— बेखाचा, गोविन्द चिकंमू, मोहनकृष्ण डंगोल आदि । भक्तपुरमा कका भाइदाइ मानन्धर र रामशेखर नकर्मीका नाटकहरू सर्वलोकप्रिय मानिन्थे । खोकनाका देवबहादुर महर्जन, चापागाउँका जग्गमोहन वामी, थिमिका श्रीगोपाल प्रजापति अनि कीर्तिपुर–पाँगाका हरिगोविन्द श्रेष्ठ, शुकराम महर्जन, नरसिंह महर्जनलाई यसै सन्दर्भमा आज पनि सम्झने गरिन्छ । डेढ सयभन्दा बढी नाटकरचनाका अनुभवी थिए— ललितपुरका रत्न ‘बेहोसी’ । विभिन्न स्थानमा नाटक सिकाउँदै हिँड्ने लत लागेका उनले संगीत र गायनको जिम्मा पनि आफैं निर्वाह गर्थे । आफूबाट निर्देशित चर्चित नाटकहरू ‘चिल्लाय्दंगु सः’, ‘उद्घाटन’, ‘दोषी सु ?’, ‘जिं नं स्वयेका’ आदिलाई उनी अझै सम्झने गर्छन् । ‘इन्द्रजात्राको डबलीले आफूलाई सम्मोहन गरेजस्तो हुन्थ्यो,’ उनी भन्छन् । उनैले तयार गरेको ‘थथे नं जुइफु’ नाटक पाटनको कुतिसौगलमा प्रदर्शनको तयारीमा थियो, त्यत्तिकैमा घरबाट सूचना आयो, छोरा बिते । त्यहीँबाटै उनले शंखमूलको वाग्मती पुगेर दागबत्ती दिए, फर्केर डबलीमा गायन प्रस्तुत गर्न हारमोनियम बजाउन थाले । उता छोराको शव जल्दै थियो, यता डबलीमा बाबुचाहिँ गीत गाइरहेका थिए !

यो लोक संस्कृतिमा एउटा मौलिक प्रचलन थियो, नाटक प्रशिक्षणको अन्तिम दिन गरिने ‘नासः पूजा’ (नाट्येश्वर पूजा) । अभिनयमा सिद्धिप्राप्तिका लागि बलिसहित यस खाले पूजा अनिवार्य मानिन्छ । पूजामा साधना गरिएको मोहनी वा कालो टीका गुरुले सबै कलाकारलाई लगाइदिन्थे । कलाकर्मी रामकृष्ण दुवाललाई बाल्यकालको घटना सम्झना छ— बलिका लागि कुखुराका भाले, हाँस वा बोका पैसा खर्चेर किन्ने गरिन्नथ्यो । बरु, टोल छरछिमेकीका घर, गोठबाट चुपचाप उठाएर ल्याइन्थ्यो । यसरी उठाएर ल्याइएको बलिबाट ‘नासः द्यः’ प्रसन्न हुने र शुभाशिष प्राप्त हुने जनविश्वास थियो । यस अतिरिक्त मञ्चनका क्रममा कुनै खाले अनिष्ट नहोस् भनी न्यास वैद्य लगाएर तान्त्रिक विधिबाट डबलीका चारै कुनामा तारन बाँध्नेसमेत गरिन्थ्यो ।आधुनिक सञ्चार साधनका टीभी, भिडियोमार्फत मनोरञ्जनका सामग्री निजी घर–कोठामा पुगेपछि दर्शकहरूको रुचि फेरियो । योसँगै केही वर्षयता अप्रत्याशित रूपमा उपत्यकाभित्र इन्द्रजात्राका अवसरमा परम्परागत नाटक प्रदर्शनको क्रम रोकियो । राज्य, सरोकारवाला संस्था, प्रज्ञा प्रतिष्ठान कतैबाट पनि संरक्षण र संवर्द्धन नहुँदा उपत्यकाको लामो इतिहास बोकेको एक मौलिक लोक संस्कृति आज विलुप्तप्रायः भयो ।

प्रकाशित : भाद्र १६, २०७७ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?