कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

अब नयाँ कल्पनाको कुरा गरौं

सामाजिक–सांस्कृतिक रूपान्तरणसहितको आन्दोलनको कोर्सले बिट मारिसक्यो भन्ने निष्कर्ष निकालेर आर्थिक समृद्धिको कोर्समा अघि बढ्नुपर्छ भन्ने सत्तारूढ दल जात, धर्म र लिङ्गका आधारमा भइरहेका तमाम हिंसा, सामूहिक हत्या र बर्बरताविरुद्ध, पीडितको न्यायका पक्षमा एक शब्द बोल्दैन बरु पीडककै पक्षपोषण गर्छ ।
सरिता तिवारी

काठमाडौँ — लामो उपवास–निद्रापछि बाइसौं शताब्दीको कुनै दिन ब्युँझन्छ, विश्वबन्धु नामको एक वृद्ध । निदाउनु अघि र ब्युँझेपछिको संसारका घनघोर भिन्नता देखेर ऊ अकल्पनीय सुखद आश्चर्यले प्रफुल्ल हुन्छ ।

अब नयाँ कल्पनाको कुरा गरौं

भाषा, जाति, धर्म र संस्कृतिका रूढ पर्खाल र कट्टर आग्रहलाई छिचोलेर पृथ्वी सुखी मान्छे र सन्तुलित पर्यावरणको साझा घर बनिरहेको दृश्य साक्षात् चर्मचक्षुले देख्ने विश्वबन्धु जगत्को काया र रूपले चित खान्छ ।

न हिन्दु र मुसलमानबीच हिंसा छ न रैथाने र आप्रवासीबीच वैमनस्य । न स्त्री–पुरुषबीच कुनै विभेद बाँकी छ न अपराध र अपराधी नै शेष छन् । न शासक छन् न शोषित । कतिसम्म भने ‘प्रजातान्त्रिक’ नेपालको कार्यकारी प्रमुख छ, साठी वर्षीय ‘युवक’ इस्माइल जो हिन्दु, मुस्लिम दुवै समुदायको संस्कृतिका स्त्रीद्वेष र धर्मान्धताको युग अन्त्यपछि अपूर्व सहिष्णु समाजको ‘सेवक’ बनेको छ, शासक होइन ।

भाषा र भूगोलका जड आग्रह र सीमाहरू फड्कने अद्भुत लेखक राहुल सांकृत्यायनको उपन्यास ‘बाइसवीं सदी’ को कथा हो यो । बीसौं शताब्दीको पिँढीमा उभिएर झन्डै दुई सय वर्षपछिको समाज कस्तो होला भन्ने स्वैरकल्पनामा लेखिएको ।

हुन त यस्तो कल्पना गर्ने न उनी पहिलो हुन् न अन्तिम नै । युटोपियन समाजवादीदेखि कम्युनिस्ट र उदात्त लोकतान्त्रिकसम्म थरीथरी विचारका शिविर, चिन्तन र आन्दोलनहरूले प्रत्येक समाज र समग्र विश्वलाई साँच्चिकै मान्छेको साझा घर बनाउने कल्पना गरेकै हुन् । तीमध्ये पनि कम्युनिस्ट आन्दोलनले त जात, जाति, धर्म, राष्ट्र, नस्ल र लिङ्गका विभेदकारी साँधहरू मेटेर मानिसको अन्तर्राष्ट्रिय जाति बनाउने संकल्प नै गरेको थियो ।

मान्छेका अनुभवले सिद्ध गरिसकेको छ, कल्पनामा असीमित शक्ति हुन्छ । कल्पनाले नै मान्छेभित्र उद्दाम साहस र पराक्रम भर्छ । कल्पनाले नै मान्छे निरन्तर प्रयोग र परीक्षण गर्दै सयौंपल्टका असफलतापछि पनि सफल भएरै छोड्छ । कल्पनाकै बलले संसारले यति विघ्न भौतिक र मानसिक उन्नति गरेको हो । सत्तरी हजार वर्षअघिको बुद्धि (संज्ञान) को क्रान्तिदेखि आजको डिजिटल क्रान्तिसम्म, सबै थोक कल्पनाशक्तिकै उपज हुन् ।

अंग्रेजी कवि सेमुअल टेलर कलरिजले साहित्य लेखनमा कल्पनाको महत्त्वबारे प्रतिपादन गरेको कल्पना सिद्धान्तबारे थाहा नपाउने साहित्यका विरलै विद्यार्थी होलान् । त्यसमा उनले समस्त मानवीय ज्ञानको जिउँदो शक्ति र प्रमुख माध्यम (एजेन्ट) नै कल्पना हो भनेका छन् । हुन त साहित्यका विमर्शमा कल्पनालाई तर्क–बुद्धि र विवेकभन्दा माथि राखेर निरपेक्ष र रहस्यमय शक्तिका रूपमा पनि परिभाषित नगरिने होइन तर जीवन, समाज र समयका मुखर प्रश्नहरूलाई निरपेक्ष कल्पनाको तर्कले थेग्न सक्दैन । किनभने शून्य र ‘नथिङनेस’ मा कल्पनाको अस्तित्व असम्भव छ ।

यद्यपि दुईमत नै छैन, हरेकजस्ता भाषामा सबभन्दा मीठा र चिरकालीन महत्त्वका कल्पना कविहरूले नै गरेका छन् । तपाईं चाहे जोन लेननको ‘इम्याजिन’ सम्झनोस् या विजय मल्लको ‘छोरीलाई मानचित्र पढाउँदा’ सम्झनोस् । विस्लावा सिम्बोर्स्काको ‘द लिकी बाउन्ड्रिज’ सम्झनोस् या टैगोरको ‘ह्वेर द माइन्ड इज विदाउट फियर’ अथवा यस्तै भावका अरू कविता सम्झनोस् । अलिखित साहित्यका अनाम कवि, गायकहरूका कल्पना त ‘अफ द रेकर्ड’ नै छन्, कतिकति ।

एउटा मान्नैपर्ने तथ्य के हो भने कल्पना यथार्थ जगत्भन्दा भिन्दै र अर्कै कुरा पटक्कै होइन । यथार्थ नै कल्पनाको प्रेरणा हो । यथार्थसँगको भौतिक र मानसिक द्वन्द्वकै परिणतिमा नै कल्पना अस्तित्वमान हुने हो । यही द्वन्द्वको संश्लेषणबाट नै हो हाम्रै वरिपरिबाट सिद्धार्थ गौतमजस्ता सामान्य मानिस ‘बुद्ध’ बनेका । कल्पनाकै आलम्बमा हो अराजकता, विद्रोह हुँदै क्रान्ति बन्ने आधार–विचारको जन्म हुने पनि । यथार्थ र कल्पनाकै मानस–द्वन्द्वको परिणति हो, हरेक युगले आफ्नो समयका लागि विचार र व्याख्याका ‘न्यारेटिभहरू’ सूत्रबद्ध या अद्यावधिक गर्ने पहल पनि ।

०० ००

यो पनि उत्तिकै सत्य हो, कल्पनाशक्तिबाट आर्जित स्वप्न र आदर्शको भयंकर दुरुपयोग गरेर मानिसको चेतनालाई पंगू बनाउने उद्यम विश्वभरि र नेपालमा पनि धेरै नै भएको छ । पछिल्ला दिनहरूमा प्रकट मुलुकको राजनीतिक र सांस्कृतिक परिदृश्य आफैं त्यसको जगजाहेर दृष्टान्त हो । यस्ता विषयमा लेखक, स्तम्भकार र बौद्धिक वृत्तले ओगटेका अखबार र कचहरी मात्रै होइन चोक, चौतारा, खेत–खेताला र पानी–पँधेरासमेत आ–आफ्नो सामर्थ्यअनुसारको बहसमै छन् ।

सबैजसो सार्वजनिक टिप्पणीको सार छ, यो के हुन लागेको हो नेपालमा ?

विचलन र क्षयीकरणमा कुनै कसर बाँकी नराखेको तर आफूलाई कम्युनिस्ट भनिरहन कत्ति पनि असुविधा नमानिरहेको पार्टी सत्तामा छ । सामाजिक र सांस्कृतिक रूपान्तरणसहितको आन्दोलनको कोर्सले बिट मारिसक्यो भन्ने निष्कर्ष निकालेर आर्थिक समृद्धिको कोर्समा अघि बढ्नुपर्छ भन्ने यही दल जात, धर्म र लिङ्गका आधारमा भइरहेका तमाम हिंसा, सामूहिक हत्या र बर्बरताविरुद्ध, पीडितको न्यायका पक्षमा एक शब्द बोल्दैन बरु पीडककै पक्षपोषण गर्छ । द्वन्द्वात्मक भौतिकवादको आधारभूत विचारको फलाको पनि नछोड्ने र ‘जनताको सेन्टिमेन्ट’ को सम्मान गर्ने भन्दै गेरुवा राजनीतिको प्रवर्द्धन पनि कम्मर कसेरै गर्ने दोहोरो चरित्र देखाउँछ । सत्तारूढ नेकपाले रोजेको प्रतिगामी र पतनशील बाटोले ऊ स्वयम्लाई मात्रै होइन, सिर्जनशील र बहुलवादी लोकतन्त्रका सतत कल्पनालाई समेत ध्वंस गर्नेबाहेक अर्को परिणाम दिनेवालै छैन ।

यो कुराले सत्तासीन दलभित्रको थोरै नै सही प्रगतिशील र इमानदार तप्कालाई भतभती पोल्नुपर्ने होइन ?

पछिल्लो समय चितवनको माडीमा रोप्न लागिएको ‘राम प्रोजेक्ट’ प्रधानमन्त्रीले आफ्नै सक्रियतामा गरिरहेको हिन्दुत्ववादी राजनीतिको ‘मेनिफेस्टो’ त हो नै, देशलाई दीर्घकालसम्म धार्मिक, साम्प्रदायिक द्वन्द्वमा फसाउने मूर्खतापूर्ण थालनी पनि हो भन्ने कुरालाई इन्कार गर्न सक्ने कोही छ जस्तो लाग्दैन । तर सत्तारूढ सिंगो नेकपा र त्यसका नेता–कार्यकर्ता पंक्तिबीच राणाकालीन उर्दी र फरमानको याद गराउने यो मूर्खताको विरोध त के बहसको आग्रहसम्म सुनिँदैन । सबका सब अजिंगरले सुँघेका सर्पजस्ता देखिन्छन् । जिम्मेवार व्यक्ति कोही, केही बोल्दैन । यो मौनता रहस्यमय मात्रै होइन विनाशकारीसमेत छ ।

एकातिर खोकनाजस्तो मौलिक सांस्कृतिक सम्पदालाई तहसनहस पार्ने, अर्कोतिर माडीमा आदिवासी थारू इतिहास र वर्तमान दुवैको चिहान खन्दै नयाँ अयोध्या खडा गर्ने ! ‘कम्युनिस्ट’ सरकारको यो कस्तो सांस्कृतिक चेत हो ? यस्तो प्रश्न गर्ने कोही ‘जिउँदो मान्छे’ नेकपाभित्र किन प्रकट हुँदैन ? अचम्म लाग्छ ।

रोचकचाहिँ के भने विचार र विज्ञानसम्मत तर्कबुद्धिसँग उहिल्यै नाता तोडिसकेका (चितवनका) जिल्ला र स्थानीयस्तरका नेकपा नेताहरू भने ‘जनताका लागि’ हामी वैचारिक आत्मघात गर्न पनि तयार छौं भन्छन् । मार्क्स, लेनिन र माओलाई गलत उद्धरण गर्दै तिनले रचेको ‘जनसेवा’ को रामकहानी सुन्ने हो भने कम्युनिस्ट मात्रै होइन, अध्ययनशील गैरकम्युनिस्टसमेत लाजले भुतुक्कै हुन्छ । प्रधानमन्त्रीको ठाडो आदेशको शतशः पालना गर्नेहरूले माडीमा मन्दिर त कसैगरी बनाउलान् नै तर अयोध्या र जनकपुरबीचको हालसम्मको सांस्कृतिक आदानप्रदान, विवाह पञ्चमीमा जन्ती जानेलगायतका विषय त्यति सजिला हुनेवाला छैनन् जति सोचिएको छ ।

मधेससँग बालुवाटार र शीतलनिवासको सम्बन्धको निकट इतिहास र तथ्यांक बिर्सिइएको छैन भने सीमापारिको प्रचलित अयोध्यालाई छोडेर माडीको हुनेवाला ‘अयोध्या’ लाई जनकपुरले कसरी प्रतिक्रिया गर्ला ? यो अनुमानबाहिर छैन । त्यतिखेर हुन सक्ने जुन भयावह चित्रको विम्ब छ, त्यसले विगतमा माओवादी र मधेसी जनअधिकार फोरमबीच रौतहटमा भएको दोहोरो रक्तपात सम्झाइदिन्छ । कल्पना गर्दासमेत आङ झस्किने र रौं ठडिने त्यस्तो अप्रिय दिन आओस् भन्ने अपेक्षा कम्तीमा एउटा विवेकवान नेपालीले गर्दैन ।

इतिहासमा पृथ्वीनारायण शाहले देखेको ‘असिल् हिन्दुस्थाना’ को सपना पूरा गर्न कालक्रममा कुनै कम्युनिस्ट पार्टी नै लिट्टी कसेर लाग्नेछ, यो अनुमान सायदै गरिएको हुँदो हो । यसको प्रमाण देशैभर बनिरहेका र बन्ने क्रममा रहेका मन्दिरहरू र अस्पतालको तुलनात्मक संख्या जाँच्दा थाहा भैहाल्छ ।

जगजाहेरै छ, राप्रपा नेपाल पूरै र नेपाली कांग्रेसको पुरातनपन्थी धार धर्मनिरपेक्षताविरोधी शिविरमा कायमै छन् । त्यति मात्रै होइन, हिन्दुत्वको एक मात्र एजेन्डा लिएर कतिपय समूहले गर्ने अतिवादी गतिविधि कहिले प्रत्यक्ष र कहिले प्रच्छन्न Û पमा फरकमत राख्नेलाई कारबाही गर्ने चेतावनी दिँदै सक्रिय छन् । यो कसैबाट लुकेको कुरा होइन ।

०० ००

यी सबै घटना र नियत पुरानो नेतृत्वका अन्तिम पटाक्षेप र नयाँ विचार, नयाँ नेतृत्वको सृजनात्मक कल्पनाका भुइँसमेत हुन् । धर्म र परम्पराका आडमा राजनीतिक उद्योग चलाउने नियतलाई निरस्त्र नगरी कुनै त्यस्तो उदात्त कल्पना गर्न सम्भव छैन । यसो गर्न आज दलभित्र रहेका र दलीय राजनीतिमा नभएका (तर निरन्तर राजनीतिक /सांस्कृतिक बहसमा संलग्न) अनुभवी, अध्ययनशील पाका व्यक्तिहरूको पुरानो पुस्ता र युवा जाँगर, संकल्प र साहस बोकेका नयाँ पुस्ताले इतिहासको आत्मबोध मात्रै होइन निरन्तरको बाक्लो बहस र वैचारिक आदानप्रदान गर्नैपर्छ । एउटा दूरगामी दिशाबोधका लागि ज्ञान र प्रबोधनको क्रान्तिका कल्पना र अभ्यास थाल्नैपर्छ ।

जसरी हिजो युरोपमा चर्च र सामन्तहरूको कठोर शासनविरुद्ध विज्ञानसम्मत तर्कबुद्धिले लड्ने ‘एज अफ इन्लाइटेनमेन्ट’ (प्रबोधनको युग) एउटा ठूलो बौद्धिक भुइँचालो, एउटा युगान्तकारी संघटनाका रूपमा स्थापित भएको थियो, त्यसै गरी । छाउघर भत्काइएपछि पनि ओढारतर्फ बढिरहेका कथाले, रुकुम–रूपन्देही–धनुषा र झापामा भएका हिंसात्मक शृङ्खलाले गहिरो ‘बोध’ गराएका छन्, लामो कालखण्डसम्म दलन, दमन र सीमान्त शोषणमा बानी पारिएको समाजमा संविधानको एउटा किताब मात्रै पर्याप्त रहेनछ । जनजीवनका हरेक आदत र घर्षणलाई ‘ज्ञान’ ले हुँडल्न र पुराना विभेदकारी संरचनाको सिर्जनशील ध्वंस गरेर तिनका ठाउँमा नयाँ आर्थिक–सामाजिक संरचना स्थापित गर्न आजको पुस्ताले विगतका आन्दोलनले भन्दा कैयौं गुणा बढी मिहिनेत गर्नुपर्ने बाटो निर्विकल्प छ ।

समाजलाई पछिल्तिर नै फर्काउन चाहने, फरक विचारप्रति असहिष्णु र हिंस्रक बन्न प्रेरित गर्ने, आफूबाहेक अर्काको अस्तित्व र उपस्थिति पटक्कै नसहने एकल जातीय, एकल लिङ्गीय, एकल क्षेत्रीय, एकल धार्मिक परियोजनालाई पूर्णतः इन्कार गर्ने बृहत्तर हितकारी समाजको कल्पनाबिना यस्तो उथलपुथलकारी बौद्धिक, सांस्कृतिक, आर्थिक क्रान्तिको सम्भवना शून्य छ । यसका लागि को, कहाँ, कति प्रतिबद्ध भएर निस्कने हो, परीक्षा सुरु भइसकेको छ ।

घोर अँध्यारो, बरबादी र सीमान्त विसंगतिको चाङमाथि निदाएर बिहान उठ्दा अरू कसैले बनाइदिएको समतामय, समाजवादी, सबैको साझा समाज उपन्यास र कथामा मात्रै सम्भव छ, ‘बाइसवीं सदी’ मा जस्तै । वास्तविकतामा त्यसलाई सम्भव बनाउन आक्रोश र आलोचना मात्रै होइन, नेपाली समाज र राजनीतिको समस्याका जराहरू पहिचान गर्ने खुबी, इतिहासबोध, समकालीन विश्वबोध र विज्ञानसम्मत विचारसहितको सकर्मक ऊर्जा खन्याउन हामीमध्ये कोही पनि तयार हुनुपर्छ ।

प्रकाशित : भाद्र १५, २०७७ १९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?