आयुर्वेदको विस्थापन : आफ्नै पाइला मेट्दै- विचार - कान्तिपुर समाचार

आयुर्वेदको विस्थापन : आफ्नै पाइला मेट्दै

‘बा र बाजेको पालामा हाम्रोमा राणा र राजादेखि जनतासम्मको घुइँचो हुन्थ्यो, तर हाम्रा पालामा त विदेशी मात्रै उपचारमा आउँछन् । उनीहरू त यहाँ हुँदा मात्र हैन,स्वदेश पुगेर पनि मलाई यस्तो भयो के खाने, औषधि पठाइदिनुस् भन्छन् ।’
बिनु पोखरेल

हाम्रो मौलिकता कतातिर गयो मूलस्थली हो कता ?
भाषाभूषण भेष संस्कृति कला आदर्श शैली कता ?
कस्मा छन् थरका थला तल हुँदा थारू कसोरी भयो ?
जेठो वेद हिमाल हो सकलको कैलाश साक्षी छ यो ।।

योगी नरहरिनाथका हस्तलिखित उपर्युक्त पंक्तिमा हाम्रा जीवनशैलीमा भित्रिएका बित्पाते प्रवृत्तिको चिन्ता छ । यस लेखको उठान पनि यही हो, संसारले आफ्नो बनाउन उद्यत रहेका हाम्रो जीवनशैली र संस्कृति हामी आफैं भने छोडेर कहाँ जान खोजिरहेछौं ।

हामीले आफ्ना धेरै संस्कृति त गुमाइसकेका छौं । खाना खानुअघिसम्म लगाएका लुगा फेरेर सेतो धोती लगाई हातपाउ धुने, पलेटी कसेर बस्ने, खाना चढाएर खाने, नबोली खाने, अन्त्यमा अलिकति खाना जनावर वा चराचुरुंगीलाई दिने परम्परा कति जीवनोपयोगी रहेछ ! धर्मको ठेक्का लिनेदेखि वर्ग हटाउन लागेका उग्र क्रान्तिकारीसम्म सबैका आदर्श पूरापूर समेटेको छ हाम्रो वैदिक संस्कृतिले । तर बारीभरि भएको हीरा बेच्न लैजाने दुःखका कारण बारी नै बेच्ने मूर्खको कथाभन्दा फरक छैन हाम्रो अवस्था । अहिले कोरोना महामारीले हाम्रो आइसोलेसन संस्कृति सुसंस्कृत जीवनका लागि कति उत्कृष्ट थियो भनेर सम्झाइदिएको छ । नमस्कार संस्कृति मात्र पनि कति प्रयोगात्मक रहेछ, यस बेला संसारले यसैको सिको गरिरहेबाट बुझ्न सकिन्छ । पहिला आयुर्वेद के हो, त्यो हेरौं ।

आयुर्वेद अर्थात् उमेरको शास्त्र

वेदहरूमध्ये आयुर्वेद हाम्रो जीवनका सबै पाटा जोडिएको ग्रन्थ हो । आयुर्वेद संस्कृत शब्द हो । यो शब्द आयुस् र वेदको समास भएर बनेको छ । आयुस् भनेको आयु र वेद भनेको ज्ञान या शास्त्र । आयुर्वेदको अर्थ आयुको शास्त्र अथवा जीवनशास्त्र भन्ने हुन्छ । आयु कसरी लामो बनाउने, आयु रहुन्जेल कसरी स्वस्थ रहने, स्वस्थ रहन के गर्ने/नगर्ने आदि सदाचारदेखि रोग लाग्दा मात्र हैन रोगै लाग्न नदिन के गर्ने भन्ने विषयको समग्र शास्त्र हो आयुर्वेद । आयुर्वेदले वात, पित्त र कफमा केन्द्रित भएर उपचार गर्छ । अर्थात्, शरीरमा पस्ने तीन कुरा विचार, खाना र हावा दूषित भयो भने हामी बिरामी हुन्छौं । उपचार भनेको औषधिभन्दा धेरै विचारशुद्धि हो, जुन हाम्रा संस्कृतिले नै बोकेर आएका छन् ।

केही समयअघि प्रधानमन्त्री केपी शर्मा ओलीले यहाँको हावापानी राम्रो भन्दा हावा प्याक गरेर सप्लाई गरौं भन्दै विद्वान् महानुभावहरूले उडाउनुभयो । उहाँहरूले इतिहासविद् महेशराज पन्तले ४१ वर्षअघि लेख्नुभएको कुरा हेर्नुपर्ने म ठान्दछु— शुक्लयजुर्वेद, वाल्मीकि रामायण, महाभारत र आयुर्वेदको शल्यक्रियासम्बन्धी ग्रन्थ सुश्रुतसंहिताको सबैभन्दा पुरानो लेखोट नेपालको पुस्तकालयमा भेटियो । कहीँ रहन नसकेको हजार वर्षअघिको त्यो पुस्तक हाम्रा पुस्तकालयमा उस्तै रहनुमा नेपाल खाल्डोको समशीतोष्ण हावापानी हो (पन्त, अन संस्कृत एजुकेसन, सन् १९७९, पृ. १११–११२ ) ।

आयुर्वेदले भन्छ, २,००० मिटरभन्दा अग्ला पहाडका सबै वनस्पति जडीबुटी हुन् । नेपालमा बाह्रै महिना हिउँ पर्ने उच्च हिमाली भूभाग १५ प्रतिशत छ, जहाँको जडीबुटी मात्र हैन माटो र पानी पनि औषधि मानिन्छ । समयसमयमा हिउँ पर्ने ६८ प्रतिशत भूभाग छ नेपालमा, जहाँ बहुमूल्य जडीबुटी र वनस्पति पाइन्छन् । वेदमै भनिएको छ, हिमाली क्षेत्रका त प्राकृतिक हावा, पानी र माटो पनि औषधि हुन् । अथर्ववेदमा भनिएको छ, यदि केही गर्दा रोग सन्चो भएन भने हिमालमा गएर बस (अथर्ववेद प्रथम काण्ड, रोग उपशमन सूक्त, अपांभेषज सूक्त) ।

तराईका भावर क्षेत्रमा तपस्या गर्न सकिने कुरा भएन । त्यसैले योग, ध्यान र आयुर्वेदको केन्द्र भूमि, भारतवर्षका अधिकांश ऋषिले तपस्या गरेको तपोभूमि हो— नेपाल । आफ्ना संस्कृतिलाई असभ्य ठानेर हामीले हाम्रो होइन भन्यौं, अरूले आफ्नो बनाउँदै गए । आज योग र आयुर्वेदमा भारतको नाम छ । भारत मात्र हैन, अहिले पश्चिमाहरूले अविकास, गरिबी, सूचनाको कम पहुँचको बावजुद नेपालीहरू किन यति खुसी छन् भनेर खोजी गरे र यसको कारण एलोप्याथीको कमभन्दा कम प्रयोग र आयुर्वेद उपचार पद्धति रहेको ठम्याए । त्यसैले उनीहरूले हाम्रो योग, ध्यान, तपस्याको पश्चिमीकृत शब्द नै बनाएर आएका छन् । अब कहिलेदेखि आयुर्वेदमा आफूलाई पारंगत भन्दिन्छन्, अनि हामी हेरेको हेर्‍यै हुन्छौं ।

आयुर्वेद ब्रह्माण्डको उत्पत्तिसँगै आएको ज्ञान हो । तर हामीसम्म आइपुग्नका लागि हजारौंहजार वर्षको अनुभव यसमा मिसिएको छ । एउटा एलोप्याथिक औषधि आज तयार भयो भने भोलि त्यसको ठाउँमा अर्को तयार गर्नुपर्छ किनकि त्यसले काम गर्न छोडिसक्छ । आयुर्वेद १० हजार वर्षअघि पनि जे थियो, अहिले पनि त्यही छ किनकि यो प्राकृतिक हो । यस्तो सशक्त ज्ञान हामी खोज गर्न त सक्दैनौं–सक्दैनौं, आफ्ना पुर्खाले तयार गरेका यस्ता ज्ञानको संरक्षणका लागि कसैले केही भनिहाल्दा पनि त्यसबारे बुझ्नुको साटो आफ्नो बाँझो बुद्धिमा पानी पस्न नदिन समय खर्चिरहन्छौं ।

हामी आफ्ना यस्ता संस्कृति छोडेर एलोप्याथीतिर भीड लागिरहँदा विदेशीहरू भने आयुर्वेदिक उपचारमा घुइँचो लागेका छन् । आयुर्वेदसम्बन्धी अध्ययन गर्दैगर्दा म एक दिन काठमाडौंस्थित असनको पीयूषवर्षी औषधालयमा पुगेकी थिएँ, जुन १५० वर्षदेखि सञ्चालनमा छ । पुस्तौंदेखि उपचारमा संलग्न हुँदै आएका त्यस औषधालयका सञ्चालक मधुवज्र वज्राचार्य भन्नुहुन्छ, ‘बा र बाजेको पालामा राणा, राजादेखि जनतासम्मको घुइँचो हुन्थ्यो, तर हाम्रा पालामा त विदेशीहरू मात्र उपचारमा आउँछन् । उनीहरू त यहाँ हुँदा मात्र हैन, उतै घर पुगेर पनि मलाई यस्तो भयो के खाने, औषधि पठाइदिनुस् भन्छन् । अनि यहाँबाट पठाउने गरेको छु ।’

नेपालमै पनि धेरै जना अस्पतालका रिपोर्ट बोकेर आफूकहाँ आउने गरेको बताउनुहुन्छ, दस पुस्तादेखि आयुर्वेदमार्फत उपचार गराउँदै आएको नेपालको सबैभन्दा पुरानो श्रीकृष्ण औषधालयका सञ्चालक वसन्त । हामी कस्ता छौं भने, आयुर्वेदमा औषधिको पनि औषधि भएको भन्दै वेद शास्त्रहरूमा सर्वौषधि भनिएको बेसार बिहान पानीमा र बेलुका दूधमा राखेर खाएरै बेसारको खिल्ली उडाउँछौं । बेसारलाई उडाएर हामीले आफ्नै संस्कृतिको, आफ्नै जीवनशैलीको खिल्ली उडायौं र ताली पिट्यौं । आकाशतिर हेरेर थुक्नु बराबर होइन यो ?

हाम्रा यस्तै स–साना स्वार्थका कारण नेपालमा एलोप्याथी भित्र्याउने मात्र हैन, सिंहदरबार वैद्यखानालाई फस्टाउन नदिने प्रयाससम्म भए । हाम्रा घरका औषधि हेला हुन थालेपछि भारतीय आयुर्वेद कम्पनीहरू यहाँ भित्रिए । अनि यहाँका जडीबुटीहरूलाई उनीहरूले निर्बाध रूपमा लगिरहे ।

इतिहासविद् महेशराज पन्तका अनुसार, इसाई पादरीले ल्याएका औषधिले आयुर्वेदिक औषधिलाई विस्थापित गर्दै लगेका हुन् । चर्च बनाउने पादरीहरूले औषधि बोकेर ल्याए । हाम्रो खरानी–पानीको ठाउँमा सिंगै गाउँलाई जुकाको औषधि खुवाए र उनीहरूले एलोप्याथी औषधिका साथमा हाम्रो मन पनि जिते । यसरी धर्मान्तरण र आयुर्वेदबाट एलोप्याथीमा सार्ने काम पादरीहरूले गरेका थिए । कुनै बेला सहरमा एलोप्याथी नै आउँदा पनि नेपाली उत्पादन किन्नुपर्छ, एलोप्याथीले हाम्रो पैसा बिदेसिन्छ भन्ने अभियान नै चल्थ्यो । पैसा बाहिर नजाओस् भनेर पनि मान्छेहरू आयुर्वेद नै प्रयोग गर्थे । अहिले त मुखले राष्ट्र र राष्ट्रियता अलाप्ने तर काम पराईकै लागि गर्ने भैसकेका छौं हामी ।

एलोप्याथी नआउँदा घाउ चिर्ने काम वैद्य मात्र हैन, नाउहरूले पनि गर्थे । आयुर्वेदको उपचारबाट रोग सन्चो हुने मात्र हैन, काटेका ठाउँहरूमा दागै रहन्नथ्यो । रोगको उपचारलाई व्यावसायिक मात्र हैन, सामाजिक सेवाको कोणबाट हेरी आयुर्वेदको अध्ययन सशक्त बनाई अघि बढाउनुको साटो एलोप्याथी भित्र्याइयो । सन् १९४० को दशकअघिसम्म, एन्टिबायोटिक औषधिको प्रयोग गर्न नथालिएसम्म आयुर्वेदीय र एलोप्याथिक उपचार पद्धतिमा खास फरक थिएन । अष्टांग आयुर्वेदमध्ये सात अंग क्रमशः प्रयोगमा आउन छोडेपछि आयुर्वेदलाई साँच्चै भन्ने हो भने कायचिकित्साले मात्र धानिरहेछ । ३० वर्षसम्म नेपालको हर्ताकर्ता बनेका जंगबहादुरसमेत चिरफार गर्नुपरे एलोप्याथीको उपचारमा जान्थे, होइन भने औषधिचाहिँ आयुर्वेदकै खान्थे भनी तात्कालिक ब्रिटिस दूतावासका डाक्टर ओल्डफिल्डले लेखेको भनेर उपर्युक्त पुस्तकमा पन्तले उल्लेख गरेका छन् ।

अहिलेका औषधिको आविष्कारको पहिलो ज्ञानका रूपमा रहेको आयुर्वेदमा पनि चरक र सुश्रुतसहिंता अग्रभागमा छन् । चिकित्सा पद्धतिले आयुर्वेदका ज्ञाता सुश्रुतलाई चिकित्सा पद्धतिकै पिताका रूपमा चिन्छ । भोल्तेयर र मुलरलाई पछ्याउने हो भने पनि उनीहरूको हरेक खोजमा वेद र उपनिषद्का चर्चा भेटिन्छन् । संसारले ज्ञानको खानीका रूपमा हेरेको पूर्वको शिक्षा सनातनी, जैन र बुद्ध धर्मका गुरुहरूले अध्यात्मतिर डोर्‍याएपछि आयुर्वेदको अध्ययन र यसको प्रयोगमा कमी आउँदै गएको हो । सयौं वर्षदेखि संस्कृत विद्याका अरूअरू शास्त्रमा जस्तै आयुर्वेदमा पनि नयाँ–नयाँ आविष्कार र खोज बन्द भएको छ । एलोप्याथी मिसाई आयुर्वेदको नाउँमा चलाइएको खिचडी पढाइ, मल्टिनेसनल कम्पनीको कस्मेटिक प्रचारमा जनता मात्र हैन सरकार पनि परेपछि भने आयुर्वेदको प्रभाव झनै खुम्चिन पुग्यो । अझ खानदानी वैद्यहरूले पनि पूरै आयुर्वेद थाम्न नसकी कामचलाउ रूप मात्र कायम राखेकाले आयुर्वेद अनाथ बन्न पुगेको छ । तैपनि ती वैद्यहरूले जेनतेन जुन काम गरेका छन्, त्यसको प्रशंसा नगरी सुखै छैन ।

पुस्तौंदेखि पशुपतिको घाट कुर्न पुर्‍याइएकाहरूलाई बचाउने घाटे वैद्यहरू पनि आयुर्वेद के हो भन्ने कुराका साक्षी हुन् । त्यस्ता व्यक्तिहरूलाई तिनले थप २० वर्ष बचाएका उदाहरण धेरै छन् । अस्पताल नै नदेखी सय वर्ष स्वस्थ भएर बाँचेकाहरू अहिले पनि हाम्रा गाउँघरमा भेटिन्छ । यही हो हाम्रो आयुर्वेद या भनौं हाम्रो जीवनपद्धति । तर, हामी भने आफ्नो जीवन्त संस्कृतिलाई विस्थापित गरी आफ्नो आरोग्यको पाइलो आफैं मेट्ने प्रयास गरिरहेका छौं ।

प्रकाशित : भाद्र १५, २०७७ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्

वीरगन्जमा गरिएको परीक्षणमा थप ३८ जनामा कोरोना

भूषण यादव

वीरगन्ज — नारायणी अस्पतालको प्रयोगशालामा आइतबार ४ सय ३६ जनाको स्वाब परीक्षण गर्दा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाका अनुसार ८ महिलासहित ६ वर्षदेखि ७० वर्ष उमेर समूहका थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नारायणीको आकस्मिक कक्षमा रहेका चार जना बिरामीको जिन एक्सपर्ट टेस्ट विधिबाट परीक्षण गर्दा तीन जनामा कोरोना पुष्टि भएको डा.चौरसियाले बताए ।

संक्रमितमध्येमा पर्साका ३२ जना, वाराका ४ जना र एक जना सर्लाहीका बासिन्दा हुन् । वीरगन्ज महानगरपालिका– ११ श्रीपुरमा थप १२ जनामा कोरोना संक्रमण देखिएको छ । वीरगन्जको छपकैयामा ३ जना, वडा २० मा दुई जना र वडा १५, ६, १३, ५ मा एक/एक जना संक्रमित थपिएका छन् । पर्साको कालिकामाई गाउँपालिका– १ र ४ मा ४/४ जना र वडा ३ मा एक जना कोरोना संक्रमित थपिएका छन् ।

जिराभवानी गाउँपालिका– २ मा थप दुई जनामा कोरोना देखिएको छ । बाराको कोल्भीमा तीन जना र महागढीमाई नगरपालिका– ११ मा एक–एक जनामा कोरोना संक्रमण पुष्टि भएको डा.चौरसियाले जनाए । उनका अनुसार सर्लाहीका एक जना संक्रमित रामनगर गाउँपालिकाका हुन् ।

प्रकाशित : भाद्र १५, २०७७ ०८:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×