३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

छाउगोठ भत्काएर मात्रै के हुन्थ्यो !

आधुनिकताका नाममा छाउगोठहरू भत्काएर महिलाहरूलाई झनै जोखिम मोल्न विवश पार्नु जायज होइन । सबैभन्दा ठूलो कुरा चेतना हो । चेतना बढाउनतिर लागौं ।

छोटो समयकै अन्तरालमा पढ्न–सुन्न पाइरहिन्छन् छाउगोठसम्बन्धी समाचारहरू । ‘छाउगोठमा सर्पले डस्यो,’ ‘सुतेकै ठाउँमा मृत अवस्थामा फेला,’ ‘छाउ बसेकी आमासँगै बसेका साना बालबालिकाको बिजोग,’ ‘प्लास्टिक ओढेर रात काट्दै,’ ‘छाउ बसेकी महिला बलात्कृत’ जस्ता शीर्षकका समाचार पढेपछि मन–मुटु छियाछिया हुन्छ ।

छाउगोठ भत्काएर मात्रै के हुन्थ्यो !

यस्तै समाचार आएपछि सम्बन्धित ठाउँतिर पुग्छन् महिला अधिकारकर्मी, सुरक्षाकर्मी र बुद्धिजीवीहरू । छाउ बस्नलाई स्थानीय महिलाहरूले बनाएका गोठहरू डाङडुङ पारेर भत्काउँछन् र बहादुरीको काम गरेझैं छाती चौडा पार्दै फर्किन्छन् । फेरि अलि दिनलाई साम्य हुन्छ यो घटना ।

भत्काएर हिँड्नेलाई अब स्थानीय महिलाहरूले के गर्छन् भन्ने चिन्ता हुन्न । जसलाई परेको छ उनीहरूलाई बडो पीर पर्छ । अब छाउ हुँदा कता बसेर बार्ने ? किनकि उनीहरू कुनै हालतमा घरभित्र बसेर छाउ बार्न सक्दैनन् । सक्नेले फेरि गोठ बनाउलान्, तर नसक्नेले ओढारमा छाउका दिनहरू काट्नुपर्छ, काटिरहनुपरेको छ, जहाँ उनीहरू झन् बढी असुरक्षित हुन्छन् ।

छाउगोठ भत्काउनु मात्र समस्याको समाधान हो त ? उनीहरू नै छाउ भएका बेला भरसक घरभित्र बस्नै चाहँदैनन् भन्ने पनि सुनिन्छ । छाउका बेला घरै बस्दा बिरामी पर्ने, काम्ने, बरबराउने हुने भएको उनीहरू बताउँछन् । उनीहरू किन काम्छन् ? किन बरबराउँछन् ? साँच्चै काम्छन् या कुनै मनोवैज्ञानिक कारण छ ? यसबारे सरोकारवालाहरूको कत्तिको चासो छ ? छाउगोठ भत्काइसकेपछि उनीहरूले के–के गर्छन् भन्नेबारे खोजीनिती गरिएको छ त ? बस, भत्काइदियो पुगिहाल्यो ? छाउगोठ भत्काइसकेपछिका उनीहरूको पीडा छाउ बार्न गोठमा बस्नुभन्दा दर्दनाक लाग्छ ।

सबैभन्दा पहिले त्यस्ता महिलामा यो अन्धपरम्पराबारे चेतनाको विकास गराउनुपर्‍यो । स्थानीय तहले सचेतनामूलक कार्यक्रम देखाउने, सन्देशमूलक चलचित्रहरू देखाउने, देश–विदेशका महिलाहरूका प्रेरणादायी कथा सुनाउने, गाउँमा अनेक शीर्षकमा प्याकेज लैजाने र अग्रस्थानमा महिलाहरूलाई अवसर दिने, महिलाहरूलाई धेरैभन्दा धेरै अवसर दिलाउने, जिल्ला हुँदै देश भ्रमण गराउने कार्यक्रमहरू ल्याउने, समाज बुझाउने जस्ता कार्यक्रम गर्न सके उनीहरूमा महिनावारीबारे केही न केही चेतनाको विकास हुन सक्थ्यो ।

वर्षौंदेखि चलिआएको अन्धपरम्परालाई सहरिया शिक्षित भनाउँदा नारीले त चटक्कै त्याग्न सकेका छैनन् भने, भौगोलिक बनावटले नै ठगिएका दुर्गम ठाउँका अशिक्षित महिलाले त्यति सजिलै त्याग्न सक्लान् ? महिनावारी भएका बेला हामी महिलालाई खानेकुरादेखि सरसफाइसम्ममा उति नै ध्यान दिनुपर्ने हुन्छ । छाउ भएर गोठ बस्ने महिलाहरूले त्यो पाउँदैनन् । तर यसो भन्दैमा उनीहरूको पुर्खादेखि चलिरहेको चलनलाई एक्कासि परिवर्तन गर्न पनि नसकिएला । यसका लागि छाउगोठ भत्काउनु मात्र समाधान पक्कै होइन । गोठ भत्काइसकेपछि उनीहरूका लागि सही व्यवस्था गरिदिन सकेको खोइ ? सरोकारवालाहरूको दायित्व होइन र यो ?

समाज चेतनशील बन्दै छ । पुर्खौंदेखि चलिआएका कुरीतिहरू क्रमशः हट्दै गइरहेका छन् । म अहिले सम्झन्छु, हाम्री हजुरआमाले मेरी आमा छुई हुँदा हामीलाई समेत छुनुहुन्नथ्यो, हामी आमासँगै लुटपुटिइरहने भएकाले । हजुरआमा हामीलाई भन्नुहुन्थ्यो, ‘जति बेला पनि आमासँगै टाँसिएका हुन्छौं, परपर बस ।’ पछि आमाकोे पालामा हामी र भाउजू कसैलाई त्यस प्रकारको व्यवहार भएन ।

नातिनातिनाले पनि आमा छुई भएकै कारण हजुरआमाको छेउ जानबाट वञ्चित हुनुपरेन । अब हाम्रो पुस्तासम्म आइपुग्दा सोच अर्कै भइसकेको छ र अब हाम्रा छोरीबुहारीको सोच पनि हाम्रोभन्दा पक्कै भिन्न हुनेछ । पुर्खौंदेखि चलिआएको चलनमा एक्कासि परिवर्तन सम्भव छैन । त्यसैले परिवर्तन र आधुनिकताका नाममा छाउगोठहरू भत्काएर महिलाहरूलाई झनै जोखिम मोल्न विवश पार्नु जायज होइन । सबैभन्दा ठूलो कुरा चेतना हो । चेतना बढाउनतिर लागौं, न कि छाउगोठ भत्काएर महिला र उनीहरूसँगै हुर्किरहेका बालबालिकालाई समेत अलपत्र पार्नतिर ।

[email protected]

प्रकाशित : भाद्र १४, २०७७ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?