कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

नेताको भूमिका

दुईतिहाइ भनिएको स्थिर सरकार छ तर गति छैन, बालुवाटारबाट निर्देशन दिने प्रधानमन्त्री छन् तर जनतालाई प्रत्यक्ष भेट्न सक्ने अवस्थामा छैनन् । सरकार अकर्मण्य र अर्थतन्त्र धराशायी भइरहे पनि प्रतिपक्ष दलका नेताको भूमिका बालुवाटार गई केही नियुक्तिमा राय दिनेमा परिणत भएको छ ।
लोकराज बराल

काठमाडौँ — सामान्य मानिस र नेतामा अनेक गुणले फरक पार्छन् । अरूलाई डोर्‍याउने भएकाले नेताले मानिसको अवस्था, समय र परिस्थितिको बढी मूल्यांकन गर्ने क्षमता राख्छ । निर्णय लिने क्षमता, सहयोग लिन सक्ने गुण, निर्भीक भई जस्तोसुकै प्रतिकूल परिस्थितिको सामना गर्न सक्ने क्षमता, त्याग, अल्पकालीन र दीर्घकालीन परिस्थितिको आकलन अनि आफ्ना कुरा जनतासमक्ष राख्न सक्ने वाक्कला आदिले गर्दा नेता अरूभन्दा फरक गुणले सम्पन्न भएको मानिन्छ ।

नेताको भूमिका

यस्ता अनेक लक्षण नेतामा हुनुपर्ने मान्यता भए पनि ती सबैले थोरै मात्र सम्पन्न हुन्छन् । तर कतिपय लक्षण एक आकर्षक (क्यारिस्माटिक) नेतामा देखिनैपर्छ । सर्वसाधारण जनताका दुःखसुखसित भिज्न सक्ता मात्र नेता जनप्रिय हुन्छ ।

म नेतालाई परिवर्तनको वाहक मान्छु । सोच र नयाँपनको चाहनाले कुनै नेताको नवीकरण (रिन्युवल) भइरहेको हुन्छ । नेतालाई आफू बसेको समाजको अवस्था बुझ्ने र अति परम्परामा जकडिएको त्यस्तो समाज परिवर्तन गर्ने इच्छाशक्ति भएको, ठोस नीति र लक्ष्यको ख्याल गरी अघि बढ्ने गतिशीलता र जनपक्षीय परिवर्तनको अगुवा भएको मानिन्छ । कुनै नेता विद्वान् र चुम्बकीय दुवै गुणले सम्पन्न हुन्छन् । भारतका महात्मा गान्धी र जवाहरलाल नेहरू, नेपालका विश्वेश्वरप्रसाद कोइराला, बेलायतका विन्स्टन चर्चिल आदि बौद्धिकता र राजनीतिले सजिएका नेता हुन् । यस्ता गुणसम्पन्न नेता अरू पनि छन् र उनीहरूले आफ्नो देशको सामाजिक, आर्थिक र राजनीतिक रूपान्तरणमा ठूलो भूमिका खेलेका छन् । ली क्वान यी सिंगापुरलाई नयाँ विकास नमुनाका रूपमा अघि बढाई विश्वमा चर्चित भएका छन् । नेहरू र कोइरालाले आफ्ना कृतिमा विश्व र आफ्नो देशको चित्रण र विश्लेषण गरी आफ्नो व्यक्तित्वलाई अनेक किसिमले उजागर गरेका छन् । गान्धी र नेहरूकै व्यक्तित्व, लोकतन्त्रप्रतिको समर्पण, स्वच्छ छविका कारण भारतमा लोकतन्त्रको जग स्थिर भएको हो ।

नेताको समर्पण र संस्था निर्माण गर्ने अठोटका कारण भारतको लोकतन्त्रलाई एक सफल प्रयोगशालाका रूपमा हेरिँदै आएको छ । त्यसैले क्रान्ति या परिवर्तन गर्नभन्दा गाह्रो छ परिवर्तनका उपलब्धिलाई संस्थागत गर्न । क्रान्ति सफल भए पनि प्रतिक्रान्तिको खतरा रहिरहन्छ । क्रान्तिका उपलब्धिलाई स्थिर राखी अघि बढ्न संस्कार, प्रतिबद्धता र निर्णयशक्ति चाहिन्छ । भारतमा लोकतान्त्रिक व्यवस्थाको विकृति र विसंगतिका अनेक लक्षण देखिए पनि विकास र लोकतन्त्र सँगै लिई हिँड्ने क्षमता देखिएको छ । यसको जस भारत स्वतन्त्र भएपछि त्यहाँका नेताहरूको भूमिकालाई जान्छ किनभने विकासोन्मुख देशमा राष्ट्र र राज्य निर्माणमा नेताको भूमिकाको मूल्य धेरै हुँदो रहेछ ।

नेपालको ऐतिहासिक पृष्ठभूमि, नेताको अभिमुखीकरण र उद्देश्य अरू देशको जस्तो छैन । परस्पर विरोधी सिद्धान्त र अभ्यासका साथ पाइएका उपलब्धिलाई संवर्द्धन गर्दै देश विकासमा लाग्नुपर्ने हुन्छ । २००७ साल र २०६२/६३ सालको परिवर्तन या क्रान्तिले नेपालीको चेतनाको अवस्थालाई आफ्नै किसिमले उचाइमा पुर्‍याएको हो । २००७ सालको क्रान्तिले नेपाललाई अँध्यारोबाट उज्यालोमा पुर्‍याएको र पछिल्लो परिवर्तनले लोकतन्त्रको उत्कर्ष मानिएको लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गराएको हो । गणतन्त्रसम्म पुग्ने अवस्था सृजना गर्न माओवादी दलको भूमिका मुख्य भए पनि अरू दलले समेत यो एजेन्डासहितको लोकतान्त्रिक परिपाटीको बाटो तय गर्न कम सहयोग गरेका होइनन् । बाह्रबुँदे सहमतिले व्यापक आधार तयार पारेकाले सबै राजनीतिक शक्तिहरूको साझा समर्पणले गर्दा नयाँ संविधान जारी भएको हो । यसमा केही कमजोरी भए पनि यसअन्तर्गत दलहरूले सबै शक्ति अभ्यास गरिरहेका छन्, अनेक असन्तुष्टिबीच ।

तर यस्ता विकासक्रमबीच जनता किन आक्रोशित भइरहेका छन् ? यसको उत्तर परिवर्तनकारी नेता र दलहरूले दिनुपर्ने भएको छ । ओठे जवाफ, टालटुले नीति र कार्यबाट अब लोकतन्त्र बच्न सक्तैन । एकातिर परिवर्तनकारी नेताको स्खलन तीव्र रूपमा देखिन थालेको छ भने, अर्कातिर शासन गर्ने प्रणाली अति बिटुलिएर भ्रष्ट हुन थालेको छ, जनविश्वास घटिरहेको छ । जनमुखी कार्यक्रम ठप्प हुँदा कतै फेरि नेपाली जनता सडकमा उत्रिने अवस्थामा त पुग्दैनन् भन्ने शंका बढ्न थालेको छ । दुईतिहाइ भनिएको स्थिर सरकार छ तर गति छैन, मन्त्री छन् तर भूमिका देखिँदैन, प्रधानमन्त्री छन् बालुवाटारबाट निर्देशन दिने तर जनतासमक्ष प्रत्यक्ष भेट्न सक्ने अवस्थामा छैनन्, कर्मचारीतन्त्र छ तर माथिको मनसायमा टिप्पणी उठाउनुबाहेक अर्को भूमिका छैन, प्रान्तीय सरकार छन् जो सधैं केन्द्रको निगाहमा बसेका छन्, नारा छन् काम भने ठप्प छन् । त्यस्तै, प्रतिपक्षी नेपाली कांग्रेसका नेताको भूमिका हराएको छ । बौद्धिक रूपमा नभए पनि संगठनात्मक नेतृत्वको लक्षणसम्म देखिँदैन ।

कोही उत्तराधिकारीका रूपमा नेतृत्वको दाबी गर्छन्, कोही वरिष्ठताका आधारमा नेताको चाहना राख्छन्, कोही योग्यता र क्षमताका आधारमा । तर आजका देखिने पहिलो पंक्तिका नेता भनिनेहरूमा न भावी नेपालको परिकल्पना छ, न त जनतामुखी सामाजिक र आर्थिक रूपान्तरणका प्रस्ताव र आक्रामक भूमिका । देशमा यत्रो भ्रष्टाचारको जालो फैलिरहँदा, देशको विकास ठप्प भइरहँदा, सरकार अकर्मण्य र अर्थतन्त्र धराशायी भइरहँदा र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सरकारको विदेशनीति अपत्यारिलो भइरहँदा पनि प्रतिपक्ष दलका नेताको भूमिका बालुवाटारमा गई केही नियुक्तिमा राय दिनेमा परिणत भएको छ । न संसद्मा प्रतिपक्ष दलका नेताको सक्रिय भूमिका देखिन्छ न त बाहिर जनताका कष्ट निवारण गर्ने र सरकारका असफलतालाई औंल्याई उत्तरदायी बनाउने अभियान चलाउने जाँगर । अपवादबाहेक कांग्रेसका सबैजसो नेता यथास्थितिमा रमाउने तर नेतृत्व भने ओगटिराख्ने भूमिकामा देखिन्छन् । यस्तो विश्लेषण कुनै एक नेतामा मात्र होइन, पद ओगटेका र ओगट्न अग्रसर सबैजसोमा लागू हुन्छ । अब यी नेता थाकेका र गलेका देखिन्छन् । आज प्रतिपक्षका लागि यस्तो उर्वरा (फर्टायल) ठाउँ पाउँदासमेत प्रतिपक्ष आकर्षक हुन नसक्ता कतै यो दलको अस्तित्व झन् अप्ठ्यारोमा पर्ने त होइन भन्ने चासो लोकतन्त्रमा विश्वास गर्ने सबैको छ ।

नेकपाको सैद्धान्तिक र सांगठनिक रूप अझै प्रस्ट छैन । यो एकातिर लेनिनवादी दलीय चरित्रमा हिँड्न खोज्छ भने अर्कातिर उदार लोकतन्त्रको मसिहाका रूपमा । अझै पनि पहिलेका माओवादी र एमालेका नेताबीच सैद्धान्तिक बहस चलेको र माओवादी जनताको बहुदलीय जनवाद (जबज) मान्न तयार भएको पाइँदैन, क्षणिक स्वार्थका लागि दुवै दल नेकपा भए पनि । जनवाद विशुद्ध एकदलीय चरित्रको सोच हो भने बहुदलीय जनवाद हालको बहुदलीय व्यवस्थाभित्र गरिने दलीय अभ्यासको रणनीति । तर यी दुवै आजका सन्दर्भमा असान्दर्भिक र स्थापित संवैधानिक खाकासित मेल नखाने भनाइ हुन् । शब्दजालमा रमाउने नेताहरूलाई यी ठीकै लागे पनि नेपालको परिस्थितिका कारण एकदलीय व्यवस्थाको सम्भावना देखिँदैन, कुनै विदेशी शक्तिको कठपुतली नभएसम्म । भूराजनीतिक अवस्थाका कारण पनि यो सम्भव छैन । त्यसैले यस्तो विवादको बाटोमा लाग्नुको साटो प्राप्त जनाधारमा खडा भएको सरकार सक्षम, जनमुखी, पारदर्शी र गतिशील भई देशविकासमा जुट्नुको विकल्प छैन ।

आजको व्यवस्था दलीय नभई नेतातन्त्र भएकाले सबै गतिविधि नेताकेन्द्रित छन् । अरू तहका नेता र कार्यकर्ता भने आसेपासे या रमिते भएका छन् । कतिपय भने स्वार्थवश यस नेतातन्त्रमा नेताले दिएको निर्देशन पालना गर्ने जमातमा पुगेका छन् । नेकपाका सबै मुख्य निकाय अकर्मण्य छन् किनभने एक–दुई नेताको स्वार्थ र हठले तिनीहरूको भूमिका हराएको छ । नेता बेलगाम भएकाले राजनीति पनि अराजक र विकृत भएको छ अनि यसको प्रभाव तलसम्मै पुग्न थालेकाले अब यसको निदान कसरी होला, भन्न गाह्रो भएको छ । यसको विकल्प निर्वाचित राष्ट्रपतीय प्रणाली र सुधारिएको निर्वाचन हुन सक्ने तर्क पनि छन् र म आफैं पनि त्यसको समर्थनमा वकालत गर्नेमा पर्थें ।

तर अनेक देशमा भइरहेका घटना र जनताको आक्रोशका कारण त्यस्ता निर्वाचित सरकार अस्थिर भएका देशहरूका उदाहरणले अब सक्षम, स्वच्छ र उत्तरदायी हुने सरकार मात्र टिक्ने सम्भावना बढेको छ । संस्कार, प्रतिबद्धता र जनाधार नभए जस्तोसुकै प्रणाली अँगाले पनि सरकार र व्यवस्था स्थिर हुँदैनन् । यस्तो सरकार त्यति बेला सम्भव हुन्छ जतिखेर अघि सुरुमा उल्लेख गरिएका नेताको गहन भूमिका महसुस गरिन्छ । अब जनआक्रोशको सही विश्लेषण गर्दै जनताका साधारण समस्या हल गर्न सक्ने नेता र सरकारले मात्र देश र जनताको भविष्य निर्धारण गर्न सक्छन् । तर शक्तिमा बस्नेहरूका लागि यस्ता भनाइ र विश्लेषण काल्पनिक लाग्न सक्छन् । तिनले आफूहरू मात्र सही बाटो हिँडेको भन्ने ठानी सचेत गराउने भाषा लत्त्याउने र पछि पछुताउने गरेका अनेक उदाहरण छन् ।

(शुक्रबार प्रकाशित हुने कान्तिपुरको प्रिन्ट संस्करणबाट ।)

प्रकाशित : भाद्र ११, २०७७ १९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?