२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

वैचारिक रिक्तताको अकुलाहट

सिद्धान्तहीन राजनीति, आस्थाच्युत राजनीतिकर्मी, पारम्परिक संस्कृति, गतिहीन समाज, दिशाहीन नेतृत्व एवं मोहावस्थामा रहेका निरीह जनता रहेको देशमा शासकीय व्यवस्था फगत शक्ति संघर्षको रंगमञ्च बन्न पुग्ने रहेछ ।
सीके लाल

काठमाडौँ — सार्वजनिक वृत्तमा उपलब्ध जानकारीलाई अर्थ्याउने हो भने सत्तासीन दलको आन्तरिक विवाद समाधान गर्न गठित कार्यदलको प्रतिवेदनमा अनपेक्षित कुरा केही पनि छैन । औपचारिकताका लागि शासकीय सुधारका सामान्य कुरा सुझाइएका छन् ।

वैचारिक रिक्तताको अकुलाहट

कार्यदलको मूल जिम्मेवारी नेतृत्व विवादलाई टुंगो लगाउने बाटो पहिल्याउनु थियो । त्यस मुद्दामा यथास्थितिको निरन्तरता कार्यदलको निष्कर्षका रूपमा आएको छ । झन्डै आधा कार्यकाल हल्काफुल्का गफ हाँकेर बिताएका प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली पूरै कार्यावधि पूर्ववत् आफ्नो पदमा विराजमान रहनेछन् । दलका पत्रपर्ण अध्यक्ष पुष्पकमल दाहालको भूमिकामा केही थपघट हुने सम्भावना छ । राजकीय पदहरूमा भागबन्डाको संस्कृतिलाई निरन्तरता दिँदै संघीय एवं प्रदेश मन्त्रिमण्डलको पुनर्गठन हुन सक्नेछ । संवैधानिक एवं शासकीय पदहरूको मनोनयन तथा नियुक्तिमा आपसी सरसल्लाहद्वारा आफन्त, आफ्नो मान्छे एवं आसेपासेलाई सदाझैं आकर्षक अवसर प्रदान गरिराखिनेछ । आर्थिक लाभका ठेक्कापट्टा, आपूर्ति व्यवस्थापन एवं व्यापारिक इजाजतपत्रको निकासामा चाकर पुँजीवादको स्थापित मान्यताअनुसार शासक समूहका अंशियारहरूले आ–आफ्नो हैसियतअनुसार हिस्सा पाउनेछन् । झन्डै दुईतिहाइ बहुमत एवं प्रमुख प्रतिपक्षको पूर्ण समर्थन पाएको सरकारले यस प्रकार देशमा राजनीतिक स्थायित्व सुनिश्चित गर्नेछ ।

कोभिड–१९ बाट उत्पन्न संकटसँग बाँच्ने जिम्मेवारी जनताको हो । संघीय सरकारले बन्दाबन्दी घोषणा गर्न सक्छ, निषेधाज्ञा लगाउन सक्छ र कर्फ्युको आदेशसम्म जारी गर्न सक्छ । प्रहरी परिचालन गरेर अत्यावश्यक काममा घरबाहिर निस्कन बाध्यलाई हप्कीदप्की पनि गर्न सक्छ । त्यसभन्दा बढी गर्ने भनेको स्वास्थ्य मन्त्रालयका प्रवक्ताले दैनिक तथ्यांक वाचन गर्ने मात्रै हो । झन्डै आठ महिनामा सार्वजनिक स्वास्थ्य सेवाभित्र जीवन जोगाउने भेन्टिलेटर वा इन्टेन्सिभ केयर युनिट खासै थप्न नसक्नुको कारक संघीय सरकारको अनिच्छा हुनुपर्छ । प्रचण्ड बहुमतको सरकारको क्षमतामा त प्रश्न उठाउन मिल्दैन, नभए दृष्टिदोषको आक्षेप खेप्नुपर्ने हुन्छ । महाव्याधि एवं सीमा व्यवस्थापन संघीय सरकारको अधिकार क्षेत्रभित्र पर्छ । त्यसैले प्रदेशका मुख्यमन्त्रीहरू प्रमुख जिल्ला अधिकारीको चुरीफुरी हेर्दै चुपचाप मुरमुरिन अभिशप्त छन् । स्थानीय सरकारको सीमित क्षमताले दुःखाइ कम गर्न मल्हम दल्नबाहेक केही गर्न सक्दैन ।

संघीय सरकारलाई लाभ–हानिको हिसाबकिताबबाट फुर्सद छैन । सामान्यजनसँग ‘आफ्नो त कर्मै खोटो’ भन्दै दुःखमनाउ गर्नुको विकल्प छैन । अर्थतन्त्र धराशायी हुन लागेको छ । गड्डाचौकीबाट भित्रिनेभन्दा बाहिरिनेको लर्को ठूलो देख्नेहरू पूर्वाग्रही हुन् । विद्वान् अर्थमन्त्री भन्दै छन् त— किताबमा कर कायम छ, त्यसैले सब ठीकठाक छ ! आसन्न भागबन्डामा उनको कुर्सी धरापमा पर्न सक्ने सम्भावना छ । तर, निर्देशक उही रहिरहेसम्म परिवर्तित अभिनेताले बदलावको आभास मात्रै दिने हुन्, रूपान्तरणको अगुवाइ गर्न सक्दैनन् । अन्तर्राष्ट्रिय मञ्चमा एक्लिएको भए पनि डर मान्नुपर्दैन । सत्तासीनहरूले अंगीकार गरेको ‘सी विचारधारा’ सबै खाले राजनीतिक, कूटनीतिक एवं आर्थिक व्याधिहरूको रामवाण हो । अरू जेजसो हुनु छ, ‘ठोरीका राम’ वैभवशाली मन्दिरमा विराजमान भएपछि हुनेछ ।

प्रदर्शन कला

सरकारी प्राज्ञ जगमान गुरुङका अनुसार, सर्वेसर्वा शर्मा ओलीसँग चिकित्सकलाई चिकित्साशास्त्रमा, इन्जिनियरलाई इन्जिनियरिङ विषयमा, साहित्यकारलाई साहित्य रचनामा, ज्योतिषीलाई ग्रहस्थिति गणनामा एवं तान्त्रिकलाई तन्त्र विधामा नाजवाफ तुल्याउन सक्ने अलौकिक क्षमता छ । त्यति विघ्न बहुआयामिक योग्यता चटक देखाउने जादुगर, आत्मविश्वासका साथ झुट बोल्न सक्ने धोकेबाज, ढिपी कस्ने बेवकुफ वा सबै किसिमको भूमिका कुशलतापूर्वक निर्वाह गर्ने अभिनेतामा मात्र हुन सक्छ । देशको कार्यकारी प्रमुख पदको गरिमाले गर्दा सर्वेसर्वा शर्मा ओलीलाई अन्तिमबाहेक अन्य कुनै पेसागत श्रेणीमा राख्नु अनुपयुक्त हुनेछ । उनी कुशल अभिनेता मात्र नभएर नाटक प्रदर्शन कलाका उस्ताद लाग्छन् । उनको पटकथामा उनी आफैं निर्देशक रहन्छन् । मुख्य पात्र पनि उनी स्वयं बन्छन् । मञ्चसज्जामा उनको दक्षता अद्वितीय छ— दुई अध्यक्षका दुई थरी टेबुल एवं फरक मेजपोसको प्रयोगद्वारा शक्ति–सोपानको सन्देश प्रवाहित गर्न सक्नु चानचुने सृजनात्मकता थिएन ।

सर्वेसर्वा शर्मा ओली एवं पत्रपर्ण अध्यक्ष दाहालले कार्यदलको प्रतिवेदन बुझ्न लागेको बेलाको प्रधानमन्त्रीको सचिवालयले जारी गरेको तस्बिरलाई नियाल्ने हो भने प्रतीकात्मक नाटकको पोसाक चयन, पृष्ठभूमि विन्यास एवं प्रकाश व्यवस्थापनमा समेत उनी पोख्त देखिन्छन् । दाहाल औपचारिक पहिरनमा छन् । शर्मा ओली सहज वस्त्रमा सजिएका छन् । दाहालको हातमा रहेको प्रतिवेदनले मुख्य पृष्ठ देखाइरहेको छ । शर्मा ओलीको दाहिने हात खाली पन्नामा छ । तस्बिरको अनुपस्थित केन्द्रविन्दुमा भित्तामा झुन्डिएको राष्ट्रपतिको रंगीन रूपचित्र (पोट्रेट) छ । प्रतीकात्मक नाटकमा कहिलेकाहीँ परिस्थिति अर्थात् सेटिङले संवादभन्दा पनि प्रभावकारी तवरले सन्देश प्रवाहित गर्न सक्ने रहेछ भन्ने कुरा नाट्यधर्मी सुनील पोखरेलले ‘सपनाको साबिती’ कथाको प्रस्तुतिमा ऐना एवं मास्कको कलात्मक प्रयोगद्वारा देखाएका थिए । मञ्च व्यवस्थापन विधामा सर्वेसर्वा शर्मा ओलीको तत्क्षण रचनात्मकता अब्बल रहेकामा कुनै शंका छैन ।

उसै पनि सिद्धान्तहीन राजनीति, आस्थाच्युत राजनीतिकर्मी, पारम्परिक संस्कृति, गतिहीन समाज, दिशाहीन नेतृत्व एवं मोहावस्थामा रहेका निरीह जनता रहेको देशमा शासकीय व्यवस्था फगत शक्ति संघर्षको रंगमञ्च बन्न पुग्ने रहेछ । सर्वेसर्वा शर्मा ओलीको मातृदलले नेपाललाई सबभन्दा धेरै संख्यामा प्रधानमन्त्री प्रदान गरेको छ । आफ्नै नेतृत्व वा गठजोडहरूमा सहभागी भएर उनको राजनीतिक दलले झन्डै साढे दुई दशकसम्म सत्ता सञ्चालन गरेको छ । सन् १९९० पछि सुस्तरी प्रभाव विस्तार गर्दै लगेको तत्कालीन एमालेका समर्थकहरूले नेपालको स्थायी सत्तालाई लगभग पूर्ण रूपले कब्जामा लिइसकेका छन् । नृजातीय राष्ट्रियताको फाइदाले गर्दा मिडियामा एमालेका कार्यकर्ताहरूको सुरुदेखि नै जब्बर उपस्थिति थियो । सत्ताको प्रतिफल बाँड्ने किचलोले त्यो अवस्था केही कमजोरजस्तो देखिए पनि गैसस–उद्यममाथि सरकारको कडा नियन्त्रणको प्रभाव मिडियाकर्मीहरूको नरम आलोचनामा प्रतिविम्बित हुन्छ । सर्वेसर्वा शर्मा ओलीलाई थाहा छ, यथास्थितिलाई चलाउन खोज्यो भने अनपेक्षित परिणाम आउन सक्छ । जे छ, त्यही अवस्थाको निरन्तरताको सबभन्दा सहज बाटो सामान्यजनलाई नयाँनयाँ नाटक देखाएर अलमल्याइराख्नु हो । राइनो भनिने गैंडा, नाकचुच्चे रेल, झन्डावाल पानीजहाज, पुच्छ्रे नक्सा र बेसार–पानी प्रतिरक्षापछि एकता अधिवेशनको उधारो आश्वासन नाट्यकर्मी शर्मा ओलीको नयाँ प्रस्तुतिको उपयुक्त शीर्षक बन्न सक्छ ।

निरीह अभिनेता

नेकपा दोहोरोका पत्रपर्ण अध्यक्ष कुशल अभिनेता त हुन्, तर उनी सर्वेसर्वा शर्मा ओलीको टक्करका नाटकनिर्माता भने होइनन् । उनको प्रारम्भिक राजनीतिको पटकथा मोहन वैद्यले लेखिदिएका थिए । संवादलेखकका रूपमा बाबुराम भट्टराईको तीक्ष्णता थपिएपछि दाहालको प्रस्तुति प्रभावशाली बन्दै गएको थियो । रामबहादुर थापा एवं वर्षमान पुनजस्ता सहयोगी पात्रहरू आ–आफ्नो सीमित भूमिकामा सन्तुष्ट रहने गरेकाले दाहाललाई आफ्नो भावनात्मक प्रदर्शनद्वारा प्रतिबद्ध दर्शकलाई चमत्कृत गरिराख्न गाह्रो हुन्थेन । परिस्थिति अहिले पूरै बदलिएको छ । मञ्च पूर्वएमालेको कब्जामा छ । साजसज्जाको जिम्मा स्थायी सत्ताले लिएकाले उनले आफ्नो अभिनय कला देखाउने उपयुक्त स्थान पाउँदैनन् । प्रकाश व्यवस्थापकले उनलाई निरन्तर धमिलो आलोकमा प्रस्तुत गरिरहेको हुन्छ । कुम हल्लाउने एवं टाउको निहुर्‍याउने वा उठाउनेबाहेक अभिव्यक्ति सम्प्रेषणको कमै मात्र अवसर उनले पाउँछन् । पटकथाकार, मञ्च व्यवस्थापक, संवादलेखक एवं नाटक निर्देशकजस्ता प्रस्तुतिका सबैजसो पात्र विपरीत भएपछि जस्तोसुकै क्षमताको अभिनेताले पनि दर्शकलाई प्रभावित तुल्याउन सक्दैन । अभिनय क्षमताको भरमा मात्रै अर्काको मञ्चमा नायकको भूमिका पाइनेछ भन्ने आशमा सन् २०१५ को १६ बुँदे षड्यन्त्रमा सामेल हुनु सम्भवतः दाहालको गम्भीर त्रुटि थियो । मोहन वैद्य आस्थावान् राजनीतिकर्मी भएकाले सिद्धान्तको प्रवर्द्धन गर्ने उपयुक्त पात्र भेट्टाएपछि सहजै मञ्च खाली गर्न तयार भए । सत्तासीन सर्वेसर्वा शर्मा ओलीको सिद्धान्त नै यथास्थितिको निरन्तरता भएकाले दाहालका लागि सहयोगी भूमिकामा सन्तुष्ट रहनुको विकल्प छैन ।

प्रभावशाली अभिनेताको अर्को समस्या के पनि भइदिन्छ भने, तिनको व्यक्तिगत मूल्यांकन पनि मञ्चीय भूमिकाका आधारमा हुन थाल्छ । सशस्त्र द्वन्द्वका उनी मूलपात्र थिए । त्यसैले नयाँ दिल्लीको दक्षिणपन्थी सत्ताको नजरमा दाहालको राजनीतिक वैधता भारतकै पिपुल्स वार ग्रुपजस्ता माओवादी विध्वंसकहरूभन्दा खासै फरक छैन । सशस्त्र द्वन्द्व अवधिभर नेपालका माओवादीहरूलाई चिनियाँहरूले फगत सत्ताविरोधी समूहका रूपमा चित्रित गरेका थिए । बेइजिङले नेपालका माओवादीहरूलाई अध्यक्ष माओको नाउँ बदनाम गराएको आक्षेप लगाउने गर्थ्यो । दाहालले जति नै राजनीतिक शीर्षासन गरे पनि उनी चिनियाँहरूको विश्वासपात्र बन्न सक्दैनन् । युरोपेलीहरू सन् १९९० देखि नै चल्तापुर्जा गैससकर्मी, महत्त्वाकांक्षी पेसाकर्मी एवं चतुर व्यवसायीहरूमार्फत तत्कालीन एमालेमा मनग्गे लगानी गरेका छन् । तिनले दाहालको प्रमुखता स्वीकार गर्ने प्रश्नै उठ्दैन । केही कालसम्म अमेरिकीहरूले दाहालको कार्यसूचीलाई शंकाको सुविधासम्म दिएका थिए । प्रस्तावित एमसीसीबारे उत्पन्न गराइएको प्रायोजित विवादले गर्दा उनले त्यो अवसर पनि गुमाइसकेका छन् । नाट्य मञ्चमा सीमित भूमिकाका साथ एकताकाका सिद्धहस्त अभिनेता नितान्त एक्ला छन् । कथंकदाचित् निर्देशकीय जिम्मेवारीमा हेरफेर भए पनि विद्यमान परिस्थितिमा उनले बढी भूमिका चाहेको हो भने मञ्च नै फेर्नुपर्ने हुन सक्छ ।

आजभोलि बिचौलियाहरूको बढ्दो दबदबाबारे सार्वजनिक वृत्तमा नकारात्मक टिप्पणी फैलिन थालेको छ । यथार्थ के हो भने, विप्रेषणबाट चल्ने अर्थतन्त्रलाई चलाउने नै बिचौलियाहरूले हो । अदक्ष कामदारको निर्यात आफैंमा निर्मम व्यवसाय हो । विप्रेषणको सबभन्दा ठूलो हिस्सा उपभोग्य सामग्रीको खरिदमा खर्च हुन्छ । आयातकर्ता लाभान्वित हुन्छन् । उत्पादन प्रक्रियामा असंलग्नता वा मूल्य अभिवृद्धिबेगरको नाफाले व्यवसायीलाई स्वकेन्द्रित बनाउँछ । बिदेसिएका कामदारका परिवार केटाकेटीको पढाइ एवं अग्रजको उपचारमा खर्च गर्न हच्किँदैनन् । त्यसैले होला, देशका अधिकांश सहरी इलाकामा कारखानाजस्तो देखिने सामान्य टहराहरूमा नाफा क्षेत्रको विद्यालय एवं होटलजस्तो लाग्ने भव्य घरभित्र लगानीकर्ताले निजी फाइदाका लागि सञ्चालन गर्ने अस्पताल रहेका हुन्छन् । आधारभूत शिक्षा एवं जनस्वास्थ्यसमेत नाफा क्षेत्रको जिम्मामा पुगेपछि अर्थतन्त्रको दीर्घकालीन हित सुनिश्चित गर्ने जोखिमपूर्ण क्षेत्रमा लगानी गरेर रोजगारी सृजना गर्नेतिर कुनचाहिँ व्यवसायी लाग्छ र ? स्वाभाविक हो, नाफा क्षेत्रको उल्लेख्य आयाधिक्य आफ्नो तात्कालिक नाफा सुनिश्चित गर्ने कार्यमा प्रयोग हुन्छ । बिचौलिया अर्थतन्त्रले राजनीतिक यथास्थितिको निरन्तरतालाई बल दिन्छ र त्यसैबाट आफ्नो हित प्रवर्द्धन गर्छ । अर्थराजनीतिमा धनाढ्यतन्त्र (प्लुटाक्रसी) संस्थागत गर्न किसिमकिसिमका बिचौलियाहरूको भूमिका अत्यन्त महत्त्वपूर्ण हुन्छ ।

विचारहीनताको वैश्विक संकटलाई महाव्याधिले उजागर गरेको मात्रै हो । यस प्रक्रियाको सुरुआत सन् २००८ देखि नै सुरु भइसकेको थियो । राष्ट्रपति ट्रम्पको कार्यकाल पर्खालको आवश्यकता सिद्ध गर्दै समाप्त हुन लागेको छ । भारतीय प्रधानमन्त्री मोदी आफ्नै इतिहाससँग अयोध्यामा युद्ध लड्दालड्दै लद्दाखको सिमानामा लम्पसार पर्न पुगेका छन् । विचारविहीन राजनीतिमा चटक देखाउनेहरू हावी हुन्छन् । त्यसैले राजनीतिक महत्त्वाकांक्षा भएका युवाहरू पनि प्रतिबद्ध रणनीति एवं लामो अवधिको वचनबद्धताका साथ तयार पारिएको कार्यसूचीको साटो तात्कालिक असर देखाउने सार्वजनिक मञ्च प्रदर्शनतिर आकर्षित हुन थालेका छन् । भविष्यमुखी विचारधाराको छनोट, गतिशील संगठन निर्माण, दिगो स्रोतको व्यवस्थापन एवं राजनीतिक रूपान्तरणप्रति प्रतिबद्ध समर्थकहरूको जमात तयार गर्न चाहिने सृजनशीलता, सहनशीलता, धैर्य एवं अग्रसरता भएको युवा नेतृत्व नयाँ वा पुराना कुनै राजनीतिक दलमा देखिँदैन । हिन्दी कवि श्रीकान्त बर्माका केही पंक्ति समसामयिक नेपालको यथार्थ चित्रणजस्तो लाग्न सक्छन्— ‘कपिलवस्तु में वृद्ध नहीं हैं / सिर्फ / वृद्ध होने का भय है / कपिलवस्तु में कोई वृद्ध न हो / युवा होने का / इतना ही आशय है ।’ अग्रसरता लिने युवा अगुवाको अभाव रहुन्जेल नृजातीय मुख्तियार शर्मा ओली निश्चिन्त भएर सत्तासीन रहिरहनेछन् ।

(बुधबार प्रकाशित हुने कान्तिपुरको प्रिन्ट संस्करणबाट ।)

प्रकाशित : भाद्र ९, २०७७ १९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?