२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

नीतिनिर्माण तहमा महिला

सन् २०१६ मा संसारभरिका राष्ट्रिय व्यवस्थापिका वा संसद‌मा औसतमा २३.०२ प्रतिशत महिला रहेकामा सन् २०१९ मा त्यो बढेर प्रतिशत २५ पुग्यो ।

राजनीतिक नीतिनिर्माण तहमा पुरुषहरूको पकड र वर्चस्व कायमै रहे पनि महिलाहरूको सहभागिता क्रमशः बढ्दै छ । विश्व इतिहास पल्टाउँदा देखिन्छ, निर्वाचनमा मत हाल्ने अधिकार महिलालाई सर्वप्रथम आइल अफ म्यानले सन् १८८१ मा र त्यसपछि तत्कालीन बेलायती उपनिवेश न्युजिल्यान्डले सन् १८९३ मा दिएका थिए ।

नीतिनिर्माण तहमा महिला

मताधिकार पाए पनि संसद्को निर्वाचनमा निर्वाचित हुन भने महिलाले अरू १४ वर्ष कुर्नुपर्‍यो । सन् १९०७ मा तत्कालीन रुसी साम्राज्य मातहत रहेको ग्रान्ड डची अफ फिनल्यान्डमा सम्पन्न संसदीय निर्वाचनमा विश्व इतिहासमा पहिलोपटक एउटी महिला पनि विधायक/सांसद बन्न सफल भइन् ।

रुस आफैंभित्र भने महिलाहरूले मताधिकार सन् १९१७ को अक्टोबर क्रान्तिलगत्तै पाएका थिए, जबकि संयुक्त राज्य अमेरिकामा पहिलो विश्वयुद्ध समाप्त भएपछि, सन् १९२० मा मात्र प्रदान गरिएको थियो (सायद विश्वयुद्धको बेला युद्धमैदानमा खटाइएका पुरुषहरूको ठाउँमा महिलाहरूले कलकारखाना चलाएर नदेखाएका भए अमेरिकामा महिला मताधिकार अझै टाढाको विषय हुन सक्दथ्यो ।) बेलायतले सन् १९१८ मा महिलालाई मताधिकार दिँदा महिलाको उमेर ३० वर्ष कटेको हुनैपर्ने सर्त थियो भने, जर्मनी (सन् १९२८) मा उमेरको हद कम्तीमा २१ वर्ष हुनैपर्ने प्रावधान थियो । महिलालाई मताधिकार दिने पछिल्लो देश साउदी अरब बनेको छ । त्यहाँ सन् २०१५ डिसेम्बरमा सम्पन्न नगरपालिका चुनावमा महिलाहरूले पहिलोपटक मतदान गरेका थिए । तर जे होस्, आज एक शताब्दीपछि संसारभर राजनीतिक नीतिनिर्माण तहमा महिला उपस्थिति र प्रभाव बढ्दै छ ।

सन् २०१६ मा संसारभरिको आँकडा हेर्दा देखियो, राष्ट्रिय व्यवस्थापिका वा संसद्मा २३.०२ प्रतिशत महिलाहरू रहेकामा सन् २०१९ मा त्यो बढेर प्रतिशत २५ पुग्यो । तीन दशक अगाडिदेखिको आँकडा हेर्‍यौं भने महिलाहरूको त्यो प्रतिशत सो अवधिमा दोब्बर बढेको प्रस्ट देखिन्छ । देशैपिच्छेको तस्बिर हेर्ने हो भने कुनै बेलाको जर्जर एवं जातीय गृहयुद्धले ध्वस्त भइसकेको अफ्रिकी देश रुवान्डा सबैभन्दा अगाडि देखिन्छ । हुटु तथा तुत्सीहरूको आपसी द्वन्द्वमा लाखौंले ज्यान गुमाएको त्यो देशको व्यवस्थापिका (संसद्) मा ६४ प्रतिशत महिलाहरू सांसद छन् । रुवान्डाले तीव्रतर गतिमा काँचुली फेर्दै छ । त्यसपछि क्रमशः दोस्रो र तेस्रो स्थानमा बोलिभिया (५३ प्रतिशत) र क्युबा (४९ प्रतिशत) छन् । प्रजातन्त्रको जननी मानिएको बेलायतमा भने केवल ३२ प्रतिशत सांसदहरू महिला छन् । प्रजातन्त्रको माला जपेर नथाक्ने संयुक्त राज्य अमेरिकामा त्यो प्रतिशत केवल १९ छ । ‘संसारको सबैभन्दा ठूलो प्रजातन्त्र’ भनिएको भारतमा १२ प्रतिशत महिला सांसद छन् (सन् १९९० मा त्यो ५ प्रतिशत मात्र थियो), जबकि हाम्रो अर्को छिमेकी चीनमा त्यो प्रतिशत ठ्याक्कै दोब्बर (२४) छ । उदारतातिर लम्किँदै गइरहेको मुस्लिम देश इरानमा समेत कुल सांसदमध्ये ६ प्रतिशत विधायकहरू महिला छन् ।

प्रकाशित : भाद्र ८, २०७७ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?