कांग्रेसका सञ्‍जीवनी बुटी- विचार - कान्तिपुर समाचार

कांग्रेसका सञ्‍जीवनी बुटी

नेपाली कांग्रेस यस्तो मोडमा छ जहाँ जबर्जस्त रूपान्तरणको खाँचो छ । त्यस्तो रूपान्तरणको सञ्जीवनी बुटी कोहीसँग छ भने, त्यो कांग्रेसको नयाँ पुस्तासँग मात्र छ ।
राजाराम गौतम

पछिल्लो समय नेपाली कांग्रेस मिडिया विमर्शको केन्द्रमा छ । दुई कारणले मिडियाले कांग्रेसलक्षित बहसलाई प्राथमिकतामा राखेका छन् । एक, यो पार्टीले आगामी फागुनमा महाधिवेशन गर्ने घोषणा गरेको छ ।

बुढ्यौलीले छोएका कतिपय र युवा पुस्ताका नेताले सभापति/महामन्त्रीजस्ता नेतृत्वदायी पदका लागि दाबा गर्न थालेका छन् । आम कार्यकर्तामा महाधिवेशनकेन्द्रित सक्रियता बढ्न थालेको छ । दोस्रो, पार्टी घेरोबाहिरको जनमतले पनि कांग्रेस नेतृत्व चुन्ने प्रक्रियालाई नियाल्दै छ । यो अघिल्ला महाधिवेशनजस्तै गुट र परिवारवादको चंगुलभित्रै रहेर कर्मकाण्डी हुन्छ वा यसले साँच्चिकै गतिशील नेतृत्व जन्माउँछ ? आम चासोको विषय भएको छ । यो आलेख पनि कांग्रेसको आगामी नेतृत्वकै विषयको सेरोफेरोमा केन्द्रित हुनेछ । कांग्रेसको प्राण भर्न कस्तो नेतृत्व, किन चाहिन्छ भनी विश्लेषण गर्नुअघि कांग्रेसको अहिलेको अवस्थाबारे संक्षिप्त चर्चा गरौं ।

आजको कांग्रेसप्रति जनताको अपेक्षा, भरोसा खासै छैन । पछिल्लो निर्वाचनको नमिठो पराजयले पनि कांग्रेसप्रतिको जनविकर्षण सिद्ध गरिसक्यो । यो विकर्षणलाई आकर्षणमा बदल्न कांग्रेसले यसबीच केही गर्न सकेन । प्रमुख प्रतिपक्षी दलको हैसियतले उसले राष्ट्रिय राजनीतिमा जुन खबरदारी र हस्तक्षेपकारी भूमिका खेल्न सक्नुपर्थ्यो, त्यो गर्न पटक्कै सकेन । सभापति शेरबहादुर देउवा सत्तारूढ नेकपाको ‘पोलिटिकल बिजनेस’ का एक साझेदारजस्ता मात्रै देखिए । संसद्मा गगन थापा बेलाबेला नगर्जिएका भए ‘कांग्रेस हराएको सूचना’ जारी गर्नुपर्ने अवस्था आइसकेको थियो ।

यस्तो टीठलाग्दो अवस्था भएको कांग्रेसतिर यो बेला जनताको नजर किन पनि सोझिएको छ भने, यो गर्विलो इतिहास भएको पार्टी हो । यसले नेपाली समाजको राजनीतिक रूपान्तरणमा उल्लेख्य भूमिका निर्वाह गरेको छ । राणाशाही फाल्दा, निरंकुश पञ्चायत उखेल्दा वा संविधानसभाबाट नयाँ संविधान घोषणा गर्दासम्म कांग्रेस अग्रमोर्चामै छ । यस्तो पृष्ठभूमि भएको पार्टी ‘सुध्रिएर आइहाल्छ कि’ भन्ने झिनो आश आम रूपमा पलाएको देखिन्छ ।

अन्यथा, कांग्रेस सत्तासीन हुँदाको अवस्था कम्ती निराशाजनक छैन । २०४६ सालपछिको लोकतान्त्रिक व्यवस्थाका विभिन्न चरणमा यो पार्टी धेरै समय सत्तासीन भयो । आन्दोलनको मोर्चामा कांग्रेस सशक्त देखियो, तर सत्ता सम्हाल्दा त्यो साख गुमायो । कुशासन, भ्रष्टाचार, बेथिति, राजनीतिक विसंगति र अपराधीकरण बढाउन यसको प्रधान भूमिका रह्यो । त्यसैले विकल्पमा कम्युनिस्टहरू आए । कांग्रेससँग आन्दोलनमा हातेमालो गर्दै आएका कम्युनिस्टहरू पछिल्लो डेढ दशकदेखि शासनसत्ता र राष्ट्रिय मुद्दाहरूमा हावी भए । कांग्रेस ‘पिछलग्गू’ मात्रै भयो । कम्युनिस्टहरूले उठान गरेको राजनीतिको प्रतिक्रियामा रमाउने अनि सत्तातिर मात्रै आँखा लगाउने कमजोर शक्तिका रूपमा कांग्रेस सीमित भयो ।

दुई ठूला कम्युनिस्ट पार्टी एक भएर सत्तामा हालीमुहाली गरिरहेका छन् । प्रतिपक्ष कमजोर हुँदा उनीहरूमा चरम शक्तिउन्माद छ । कुशासन, भ्रष्टाचार र बेथितिमा नेकपाले विगतको कांग्रेसलाई बिर्साएको छ । अग्रगामी र प्रगतिशील राजनीतिक व्यवस्था ल्याएपछि मुलुक/जनताको जीवनमा ‘खुसहाली’ ल्याउने वाचा गरेका कम्युनिस्टहरू कति निकृष्ट अवस्थामा पुगे भने, स्वयं कम्युनिस्ट पार्टीकै नेताहरूले छिःछिः र दूरदूर गर्नुपर्ने अवस्था आयो । हालै कान्तिपुर दैनिकमा प्रकाशित एक कम्युनिस्ट नेता राम कार्कीको आत्मालोचित टिप्पणी भाइरल भएको छ । उनले भनेका छन्, ‘लेनिनले सुँगुर सफा गर्न सुँगुरको खोरमा प्रवेश गर्नुपर्छ भनेका थिए, सुँगुर नै बन्नु भनेका थिएनन् । तर हामी त सुँगुर नै भएर निस्कियौं ।’ सहकर्मीले सत्तारूढ नेतृत्वप्रति यो तहमा ओर्लेर टिप्पणी गर्नुपर्ने अवस्था आउनुले नेकपाभित्रको यति बेलाको उकुसमुकुस धेरै हदसम्म बयान गर्छ । कांग्रेसको आगामी नेतृत्व कस्तो होला भनेर उत्सुकता बढ्नुमा सायद यो पृष्ठभूमि र सन्दर्भले पनि काम गरेको छ ।

नेपालको राजनीतिमा बेलाबखत वैकल्पिक शक्तिबारे बहस हुन्छ । तर, आजसम्मको राजनीतिक शक्ति सन्तुलनको अवस्थाले कम्युनिस्टको विकल्प कांग्रेस र कांग्रेसको विकल्प कम्युनिस्ट मात्रै देखाएको छ । अरू साना दलले वैकल्पिक राजनीतिको अभ्यास र अभियान बढाए पनि त्यो बौद्धिक विमर्शको विषयमा सीमित छ । जनतालाई त्यसले न आकर्षित गर्न सकेको छ, न त आश जगाउन नै । दुई ठूला शक्तिलाई सुधारेर, यिनैभित्र रहेको तुलनात्मक उन्नत नेतृत्व अघि बढ्नुपर्छ भन्ने अहिलेको राजनीतिक परिवेश छ । यो पृष्ठभूमिमा कांग्रेसको आगामी महाधिवेशन र नेतृत्व परिवर्तनको बहस मिडिया, विश्लेषक, नागरिक समाज आदिको चासोको विषय भएको हो । के कांग्रेस यी चासो सम्बोधन गर्न समर्थ होला ? एकै छिन कांग्रेसको आगामी महाधिवेशनका मुद्दाहरूबारे चर्चा गरौं ।

कांग्रेस महाधिवेशनलक्षित कुनै मुद्दा उठेको छ भने, त्यो नेतृत्व परिवर्तनको विषयमा मात्रै केन्द्रित छ । पुरानो पुस्ता फेरि पनि नेतृत्व कब्जा गर्ने रणनीतिमा छ भने, एकाध नयाँ पुस्ताका नेताहरू पनि नेतृत्वकै दाबा गरिरहेछन् । बौद्धिक जमातले पनि मरणासन्न कांग्रेसमा प्राण भर्न गतिशील नेतृत्वको आवश्यकता औंल्याएका छन् । अर्का थरी विश्लेषकले चाहिँ बौद्धिक विमर्श र हस्तक्षेपबाट मात्रै यो पार्टीलाई विसर्जन हुनबाट जोगाउन सकिने तर्क राखेका छन् । यो बखत कांग्रेसको दुःख भनेकै नेता, नीति अनि त्यसको पूर्ण कार्यान्वयन हुन नसक्नु हो । अर्थात्, प्रस्ट नीतिसहित कार्यान्वयनको निश्चितता गर्न सक्ने गतिशील नेतृत्व यो बेला कांग्रेसको आवश्यकता हो । ‘गतिशील’ नेतृत्वका लागि कांग्रेसमा अहिले चलेका अभ्यास यस्ता छन् :

१. सभापति शेरबहादुर देउवा आफैं पुनः दोहोरिने ‘चालबाजी’ मा छन् । पुराना कांग्रेसी गच्छदारदेखि पुराना पञ्च सूर्यबहादुर थापाका छोरा सुनील थापासम्मलाई फर्काउन सफल देउवा भोटको अंकगणितलाई आफूअनुकूल बनाउन लागिपरेका छन् । बुथ कमिटीदेखि महाधिवेशन प्रतिनिधि छनोटसम्म आफूअनुकूल बनाउन देउवा गुट तल्लो तहसम्म सक्रिय हुन थालिसकेको छ ।

२. शशांक कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह आ–आफ्ना पिताहरूको योगदानको ब्याज असुल्दै नेतृत्वको दाबा गरिरहेका छन् ।

३. देउवाका समकक्षी र एकपटक पनि प्रधानमन्त्री हुन नसकेका रामचन्द्र पौडेलले नेतृत्वको स्वाभाविक दाबा गर्ने नै भए । उनी देउवा गुटको पराजयका लागि रणनीतिहरू तय गर्न व्यस्त छन् ।

४. गोपालमान श्रेष्ठ, शेखर कोइराला आदि पनि नेतृत्वको दाबी गर्दै छन् ।

५. युवा पंक्तिबाट कोही नलडे आफू सभापतिकै लागि लड्न तयार रहेको उद्घोष गगन थापाले गरेका छन् ।

६. प्रवक्ताबाट रिटायर्ड नहुने इच्छा व्यक्त गर्दै आएका विश्वप्रकाश शर्मा पनि महामन्त्रीमा लड्ने तरखरमा छन् ।

६० वर्ष पुग्नै लागेका अरू पनि थुप्रै ‘युवा’ नेता छन्, जो यसपालि कम्तीमा महामन्त्री लड्न चाहन्छन् । यस्तै–यस्तै आकांक्षाहरूको सम्बोधन गर्न कांग्रेसमा देउवा गुट, पौडेल–कोइरालाहरूको गुट अनि कृष्ण सिटौलाको तेस्रो धार सक्रिय छन् । सबैको ध्येय आफू कसरी सुरक्षित हुने र नेतृत्वमा पुग्ने भन्नेमै छ । कसैले पनि नेतृत्व परिवर्तन नीति र विचारका आधारमा हुनुपर्छ भनिरहेको छैन ।

आफूलाई नेता दाबी गर्दैगर्दा कुनै पनि कांग्रेसले किन चौधौं महाधिवेशनपछि कांग्रेस अघि बढाउने सूत्र के हो भन्न सकिरहेको छैन ? पार्टीको कार्यदिशा के हो ? यो अहिले सत्तारूढ नेकपाभन्दा के–के कुरामा फरक हुन्छ ? भोलि सत्तामा पुगेपछि यसले के ‘डेलिभर’ गर्छ ? के अब पनि ‘बीपीकै समाजवाद’ को अमूर्त बखान गरेर र ब्याज खाएर मात्रै कांग्रेस जीवन्त हुन सक्छ ? नेतृत्व परिवर्तनको बहस चल्दै गर्दा यो पक्ष बेवास्तामा पर्नु अनौठो छ । नेतृत्वको दाबी गर्नेहरूले कांग्रेसको आर्थिक, सामाजिक, राजनीतिक सबै खाले नीतिबारे समाजलाई प्रस्ट रूपमा भन्नुपर्छ ।

त्यो किन पनि भने, कांग्रेसको जन्म राजासहितको उत्तरदायी शासन व्यवस्था बन्नुपर्छ भनेर भएको हो । २००६ सालमा जन्मिएयता कांग्रेसले स्वेच्छाचारी राजा होइन, संवैधानिक राजाको वकालत गर्दै, जनउत्तरदायी शासन व्यवस्थाको वकालत गर्दै आयो । यति बेला कांग्रेसले त्यो नीति छोडेको छ र मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा छ । सात दशक लामो राजनीतिक यात्रापछि मुलुकमा संविधानसभाबाट संविधान मात्रै आएको छैन, संघीयता पनि लागू भएको छ ।

राजतन्त्र इतिहासको विषय बनिसकेको सन्दर्भमा कांग्रेसले आफ्ना नीतिलाई समयअनुरूप परिष्कृत गर्दै लैजान सक्नुपर्छ । कांग्रेसले नीतिगत रूपमा आफूलाई किन पुनर्जागृत गर्न सकेन भने, त्यहाँ ‘डाइनामिक लिडरसिप’ को अभाव रहिरह्यो । देउवा कांग्रेसका ‘फस्ट म्यान’, चारपटक प्रधानमन्त्री भएका व्यक्ति । पार्टीभित्र संरक्षण पाएका गुटका नेतालाई बाहेक गर्ने हो भने उनीप्रति आम रूपमा न कुनै भरोसा छ न त आकर्षण । गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईबीचको अन्तर्द्वन्द्वका उपज हुन्, देउवा । युवाकालीन राजनीतिमा कार्यकर्ता पंक्तिमा उनीप्रति आकर्षण रहे पनि सत्तामा मात बढ्न थालेपछि उनको छवि कलंकित हुँदै गयो । र, आज पार्टीको नेतृत्व गरिरहँदा पनि उनीप्रति जनमानसको भरोसा छैन ।

उनी मात्रै होइन, उनको विकल्पमा प्रस्तुत भएका रामचन्द्र होऊन् वा शशांक, प्रकाशमान, विमलेन्द्र, गोपालमान वा अरू यस्तै समकालीन नाम, ती सबै कांग्रेसको आजको अवस्थाप्रति कुनै न कुनै रूपमा जिम्मेवार छन् । कुनै बेला युवा कार्यकर्ताको धड्कन देउवा यो तहमा ‘पथभ्रष्ट’ हुनुमा परोक्षतः उनका समकालीनहरूको पनि भूमिका छ । त्यसमाथि पटक–पटक कांग्रेस सत्तासीन हुँदा यी नामहरू नै सत्ताको वरिपरि रहे । अर्थात्, यिनको परीक्षण भइसकेको छ र सफल भएका दृष्टान्त भेटिँदैनन् ।

कांग्रेस यस्तो मोडमा छ, जहाँ सामान्य सुधार गरेर हुन्न, एउटा जबर्जस्त रूपान्तरणको खाँचो छ । त्यस्तो रूपान्तरणको सञ्जीवनी बुटी कोहीसँग छ भने, त्यो कांग्रेसको नयाँ पुस्तासँग मात्रै छ । गगन थापाको पुस्ताले मरणासन्न कांग्रेसमा प्राण भर्न सक्छ । गगन थापाको पुस्ता भन्नाले उनी एक्लै होइनन् । उनको साथमा विश्वप्रकाश शर्मा, प्रदीप पौडेललगायतको आश गर्नलायक युवाहरूको लामो सूची बन्न सक्छ, जसले एकै ठाउँमा उभिएर कांग्रेस रूपान्तरणको नयाँ प्रयास गर्न सक्छन् ।

गुट र ठूला नेताको फेरो समातेर राजनीतिक सुरक्षाको खोजी गर्ने प्रवृत्ति कांग्रेसमा रोगकै रूपमा छ । यो रोगबाट मुक्त हुन सके मात्रै कांग्रेसले वृद्ध र ‘आउटडेटेड’ नेताहरूबाट त्राण पाउन सक्छ । गगन थापा पुस्ताको कुनै कमजोरी छैन भन्ने होइन । माथि भनिएझैं यो पुस्ताले जुन स्तरमा पार्टीमा वैचारिक हस्तक्षेप गर्न सक्नुपर्थ्यो, त्यो गर्न सकेको छैन । तर, आम जनताप्रति थोरै भए पनि कांग्रेसप्रति आशा–भरोसा छ भने त्यो यही पुस्ताको देन हो । त्यसकारण पनि यो पुस्तालाई एकपटक परीक्षण हुने मौका कांग्रेसले दिनैपर्छ ।

सधैं गुट, गिरोह र परिवारवादकै चपेटामा पर्ने कि राष्ट्रिय आवश्यकता, समाजको मत र विवेकको फ्रयोग गर्ने ? आम कांग्रेसीजनले सोच्ने बेला आएको छ ।

ट्विटर : @Rajaramgautam

प्रकाशित : भाद्र ८, २०७७ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्

बायर्नको अद्वितीय यात्रा : लिग, कप र च्याम्पियन्स लिग

हिमेश

काठमाडौँ — बायर्न म्युनिकले यो सिजन तय गरेको यात्रालाई के मात्र भन्ने ? ऐतिहासिक, सनसनीपूर्ण अथवा रोमाञ्चक । सायद एक शब्दमा बयान गर्दा यसका लागि ‘अद्वितीय’ प्रयोग गर्नु ठीक हुनेछ, किनभने यस्तो उपलब्धि विरलै मात्र दोहरिएर आउने गर्छ ।

त्यसैले यसलाई कोशेढुंगा प्रदर्शन भन्दा पनि हुनेछ । कारोना भाइरस संक्रमणको महामारीबीच बायर्नले जर्मन बुन्डेसलिगा मात्र जितेन्, उसलाई जर्मन कप मात्र जितेर पनि पुगेन, अब त यो क्लब युरोपेली च्याम्पियन पनि भएको छ ।

युरोपेली च्याम्पियन्स लिग उपाधिका लागि बार्यनले आइतबार राति पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई हरायो । यो खेल जर्मन लिग विजेताविरुद्ध फ्रान्सेली च्याम्पियनको थियो । स्कोर भयो, १–० । यही स्कोरले पनि देखाउँदा फाइनल जस्तो अपेक्षित थियो, त्यति साह्रो भएन । धेरै अपेक्षा गरिएको खेल प्राय: यस्तै हुने गर्छ । तर यसमा बायर्नलाई चिन्ता नै किन हुनु पर्छ र ? एक मात्र निर्णायक गोल गर्ने खेलाडी थिए, किंग्सली कोमन ।

उनले ५९ औं मिनेटमा गोल गरे । संयोग कस्तो भने उनी फ्रान्सेली खेलाडी थिए, अझ कुनै समय पीएसजीकै खेलाडी । तिनकै गोलले क्लब स्थापनाको ५० वर्षमा पीएसजी च्याम्पियन्स लिगको उपाधि जित्न असफल रह्यो, टिम उपाधिको नजिक त पुगेको थियो, तर अन्त्यमा देखियो, टिम अझै यसबाट टाढा छ । च्याम्पियन्स लिग जस्तो प्रतियोगितामा इतिहासले पनि धेरै फरक पार्छ । बार्यन मबजुत इतिहास बोकेको क्लब हो र यसले जितेको च्याम्पियन्स लिग उपाधिको संख्या पनि अब ६ पुगेको छ ।

एक समय सबैलाई लागेको थियो, यसपल्टको च्याम्पियन्स लिग हुने छैन, जताततै महामारीको स्थिति थियो । तर जति बेला प्रतियोगिताले यसपल्ट पूर्णविराम पाएको छ, सबैलाई लागेको छ, बायर्न उपाधिका लागि पूरापूर हकदार छ । सायद यसपल्ट यो जत्तिको यो उपाधि जित्ने हक लागेको टिम अरू छैन । घरेलु लिग र कप जित्नु, अनि च्याम्पियन्स लिग पनि जित्नुले बायर्न वास्तवमै कति बलियो छ भनेर प्रस्ट देखाएको छ । यो कमै मात्र सुन्न पाइने ‘ट्रेबल’ उपलब्धि हो ।

उपाधिसम्मको यात्रामा बायर्नले केही अन्य दुर्लभ उपलब्धि पनि हात पारे, जस्तो फाइनलसँगै बायर्नले यसपल्टको प्रतियोगितामा लगभग सबै खेल जित्न सफल रह्यो । बराबरी समेत खेलेन । यसमध्ये एक खेल त त्यही बार्सिलोनाविरुद्धको पनि रह्यो, ८–२ को जित । क्लबको यो यात्राको धेरै श्रेय प्रशिक्षक हान्सी फ्लिकलाई पनि जान्छ । नोभेम्बरमा मात्र उनले क्लबको जिम्मा पाएका थिए । त्यस अगाडि बायर्नले निको कोभाचलाई बर्खास्त गरेको थियो ।

प्रशिक्षक हान्सी के आए, बायर्नमा राम्रा दिन पनि फर्के । यी प्रशिक्षक फेरि उत्तिकै भलादमी पनि छन् । उनले यो सफलताको श्रेय पनि लिन चाहेनन र भनेका छन्, ‘खेलाडी छन् त हामी पनि छौं ।’ उनी के मान्छन् भने अहिलेको बायर्न म्युनिक टिम वास्तवमै बलियो छ । यो टिम युवा पनि छ । तर टिमका यस्ता केही प्रमु्ख पुराना खेलाडी पनि छन्, जसले टिमलाई मज्जाले अगाडि बढाइरहेका छ, जस्तो, गोलरक्षक म्यानुएल नोयादेखि रोबर्ट लेवनडोस्की र थोमस मुलर । उनकै भाषामा मुख्य कुरा, बायर्न युरोपेली च्याम्पियन हुन पूरा हकदार छ ।

सबै तस्बिर : रोयटर्स

सम्बन्धित समाचार

प्रकाशित : भाद्र ८, २०७७ १०:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×