कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

इम्बोस्ड नम्बर प्लेटसम्बन्धी फैसलामा प्रश्न

प्रविधिले मान्छेलाई नभएर मान्छेले प्रविधिलाई बनाएको हुँदा प्रचलित वर्णलाई मास्ने होइन, त्यसैअनुरूपको प्रविधि निर्माण गरी प्रयोग गर्नुपर्छ ।

केही वर्षदेखि सरकारी र अन्य निकायबाट षड्यन्त्रपूर्वक मानक नेपाली भाषालाई ध्वस्त पार्न पटकपटक आक्रमण गरिँदै आएको छ । सवारीसाधनहरूमा नेपाली भाषाको पहिचान एवं अस्तित्व नै मेट्ने गरी अङ्ग्रेजी भाषामा मात्र इम्बोस्ड नम्बर प्लेट राख्नू भनी हालसालै सर्वोच्च अदालतबाट भएको फैसला यसैको पछिल्लो कडी हो ।

इम्बोस्ड नम्बर प्लेटसम्बन्धी फैसलामा प्रश्न

इम्बोस्ड नम्बर प्लेट भनेको गाडीमा प्रयोग गरिने परम्परागत नम्बर प्लेटभन्दा भिन्न धातुको प्लेटमा उठेका अङ्क र अक्षरमा लेखिएको प्लेट हो र यो विशेषतः ट्राफिक व्यवस्थासँग सम्बद्ध भएकाले सबैले बुझ्ने हुनुपर्छ । इम्बोस्ड नम्बर प्लेट अङ्ग्रेजीमा राख्ने सरकारी निर्णयको सर्वत्र विरोध हुँदाहुँदै सर्वोच्च अदालतबाट गरिएको फैसलामा दिइएका अधिकांश तर्क तथ्यप्रमाणमा आधारित नभई मनगढन्ते र कतिपय हास्यास्पदसमेत छन् । जस्तै—

१. नेपालको संविधानको धारा ७(१) मा ‘देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुनेछ भन्ने भाषासम्बन्धी संवैधानिक व्यवस्थाको सामान्य र स्वाभाविक अर्थ गर्दा नेपाल सरकारले सम्पादन गर्ने कामकारबाहीमा सरकारी कामकाजको भाषा नै प्रयोग गर्नुपर्ने भन्नेमा विवाद देखिँदैन’ भन्नेहरूलाई आम नेपालीको कामकाजको भाषाकै रूपमा रहेको इम्बोस्ड नम्बर प्लेटमा चाहिँ किन अङ्ग्रेजीमोह त ?

‘नेपाली अक्षरमा प्रयोग हुने मात्राको कारण अक्षरको आकार सानोठूलो हुने भएकोले नम्बर प्लेटको साइज एउटै हुन नसक्ने भएकोले एउटै साइजको नम्बर प्लेट जडान गरी एकरूपता कायम गर्न तथा अन्य देशहरूमा समेत प्रचलनमा रहेका इम्बोस्ड नम्बर प्लेटमा लेखिएका अक्षरहरूसमेतलाई आधार मानेर सहजताका लागि मात्र अङ्ग्रेजी भाषाको प्रयोग भएको... यसबाट नितान्त प्राविधिक हिसाबले मात्र अङ्ग्रेजी भाषा प्रयोग भएको देखियो’ भन्ने कुरा अत्यन्त हास्यास्पद छ ।

आकार, इकार, उकार, ओकार नेपाली भाषाका मात्र नभएर देवनागरी लिपिकै विशेषता हुन् । सम्भोट लिपि, अरबी लिपिलगायत एसिया र अफ्रिकाका विभिन्न मुलुकमा प्रचलित पर्सियन, सिन्धी, बलोची, पास्तो, उर्दू, काश्मिरी आदिका साथै स्पेनिस, तुर्किस, चिनियाँ, जापानी, कोरियाली आदि भाषाका वर्णमा पनि यस्ता प्रवृत्ति पाइन्छन् । अङ्ग्रेजीमा पनि सबै वर्ण समान आकारका छैनन् । देवनागरी लिपिलाई प्रविधिमा उपयोग गर्न सकिन्न भन्नु सरासर गलत हो । प्रविधिले मान्छेलाई नभएर मान्छेले प्रविधिलाई बनाएको हुँदा प्रचलित वर्णलाई मास्ने होइन, त्यसैअनुरूपको प्रविधि निर्माण गरी प्रयोग गर्नुपर्छ । आधुनिकीकरण र प्रविधिमैत्री अङ्ग्रेजीमा मात्र हुन्छ भन्ठान्नु जनतालाई दिग्भ्रमित तुल्याउनु हो ।

२. ‘नेपाली भाषा सरकारी कामकाजको भाषा हुने संवैधानिक व्यवस्था हुँदाहुँदै अहिले पनि नेपाल सरकारले सम्पादन गरेका कतिपय कामहरूमा अङ्ग्रेजी भाषा प्रयोग हुने गरेको यथार्थता हामी सामु रहेको छ । परराष्ट्र मन्त्रालयबाट सम्पादित हुने कार्यमा तथा यातायात व्यवस्था विभागबाट जारी गरिने स्मार्ट अनुमतिपत्रमा अङ्ग्रेजी भाषा प्रयोग भइरहेको देखिन्छ भने नेपाली राहदानी, नेपाली नागरिकताको प्रमाणपत्रमा नेपाली भाषाको साथसाथै अङ्ग्रेजी भाषाको पनि प्रयोग भइरहेको देखिन्छ । नेपालमा विश्वविद्यालयद्वारा अङ्ग्रेजी भाषामै प्रमाणपत्र जारी गरिएको छ ।’ परराष्ट्र मन्त्रालयबाट सम्पादित हुने कार्य अङ्ग्रेजीमा मात्र हुन्छ भन्नु पनि गलत हो । विदेशी निकायहरूमा बाहेक स्वदेशमा गरिने सम्पूर्ण कार्य नेपाली माध्यममै हुने गरेको तथ्यलाई बङ्ग्याउनु उचित होइन । नेपाली राहदानी र नेपाली नागरिकताको प्रमाणपत्रमा पनि नेपाली र अङ्ग्रेजी भाषाको प्रयोग गरिएको छ भने इम्बोस्ड नम्बर प्लेटमा पनि नेपाली र अङ्ग्रेजी दुवै राख्न किन मिल्दैन ?

नेपालमा विश्वविद्यालयद्वारा अङ्ग्रेजी भाषामै प्रमाणपत्र जारी गरिएको छ भन्ने कुरा झुठा हो । विश्वविद्यालयबाट प्रदान गरिने सबै तहका प्रमाणपत्रमा माथि ठूला अक्षरमा नेपाली र तल साना अक्षरमा अङ्ग्रेजी लेखिएको हुन्छ । स्मार्ट अनुमतिपत्रमा पनि नेपाली र अङ्ग्रेजी दुवै भाषाको प्रयोग गर्नु उपयुक्त हुन्छ ।

३. ‘सार्वजनिक खरिद ऐन, २०६३ को दफा १५(२) अनुसार नेपाल सरकारका मन्त्रालयलगायत अन्य निकायले अन्तर्राष्ट्रिय बोलपत्र आ≈वानको सूचना अङ्ग्रेजी भाषामा प्रकाशन गर्नुपर्ने कानुनी व्यवस्था रहेको’ भनिए पनि यस्ता बोलपत्र ज्यादै कम हुन्छन् र राष्ट्रिय बोलपत्र आह्वानका सूचना नेपालीमै हुन्छन् । यदि कहीँ कसैले अङ्ग्रेजीमा गरेको छ भने पनि त्यसलाई नेपालीमै गर्नुपर्छ । अपवादका रूपमा कतिपय सरकारी कामकाजमा अङ्ग्रेजी भाषाको प्रयोग हुने गरेको कुरालाई लिएर इम्बोस्ड नम्बर पनि अङ्ग्रेजीमा मात्र राख्नुपर्छ भन्नु ठीक होइन ।

४. ‘नेपाल, भारत, भुटान र बङ्गलादेशबीच अन्तर्देशीय पारवहन सम्झौता भइसकेको सन्दर्भमा नेपालमा दर्ता भएका सवारीसाधनहरूको आवतजावत अन्य मुलुकमा समेत हुने हुँदा अङ्ग्रेजी लिपिमा नम्बर प्लेट जारी हुँदा अन्तर्देशीय आवतजावतलाई समेत सहज हुने देखिन्छ । इम्बोस्ड नम्बर प्लेट प्रयोगमा ल्याएका भारत, चीन, भुटानलगायतका मुलुकमा समेत अङ्ग्रेजी अक्षर प्रयोग भएको छ’ भन्ने तर्क सरासर गलत हो । अधिक भाषा प्रयोग गरिने मुलुक भारतका संविधानको आठौँ अनुसूचीमा नेपालीसमेत २२ वटा भाषालाई मान्यता दिइएको छ । भारतमा अङ्ग्रेजी सरकारी कामकाजको मुख्य भाषा नै भएकाले सवारीसाधनमा अङ्ग्रेजी प्रयोग गरिएको हो । भुटान, बङ्गलादेश र चीनका सवारीसाधनको नम्बर प्लेटमा आनो र अङ्ग्रेजी दुवै भाषाका लिपिको प्रयोग गरिएको स्पष्ट हुँदाहुँदै यसको अपव्याख्या गरिनु त्रुटिपूर्ण देखिन्छ । अन्तर्देशीय पारवहन सम्झौता भए पनि नेपालका सवारीसाधन यी देशमा कति जान्छन् भन्ने सबैलाई थाहा छँदै छ ।

५. विभिन्न मुलुकमा इम्बोस्ड नम्बर रखाइमा विविधता देखिन्छ । म्यान्मारलगायतका कतिपय देशमा आनै भाषाका लिपिको मात्र प्रयोग गरिएको छ भने पाकिस्तान, बङ्गलादेश, मध्यपूर्वका सबैजसो देशमा पहिले आनो र त्यसपछि मात्र रोमन लिपिको प्रयोग गरिएको छ । अङ्ग्रेजी भाषा प्रयोग हुने देश अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया आदिमा रोमन लिपिको प्रयोग गरिएको छ । अमेरिकालगायत कतिपय मुलुकमा व्यक्तिका इच्छाअनुसारको नाम राखेर प्लेट लिई प्रयोग गर्न पाउने व्यवस्था पनि छ । युरोपेली युनियनअन्तर्गतका देशहरूमा सडक ट्राफिकसम्बन्धी भियना कन्भेन्सन (भियना कन्भेन्सन अन रोड ट्राफिक) अनुरूप ल्याटिन र ग्रिक वर्णको प्रयोग विशेषतः ग्रिक वर्णानुक्रममा गरिएको छ । यिनमा ल्याटिन अक्षर र अरबिक नम्बर प्रयोग गरिएको छ अनि रसिया, युक्रेन, बेलारुस, बोस्निया हर्जगोभिना, बुल्गेरियाले पनि यही प्रयोग गरेका छन् । युरोपेली मुलुकमा पूरै खुला सिमानाका कारण लेखाइ र बुझाइमा एकरूपताका लागि रसियाली, फ्रेन्च, जर्मनी आदि विभिन्न भाषाका लिपिमध्ये रोमन लिपिसँग मिल्ने लिपिको मात्र प्रयोग गरिएको छ । ती झट्ट हेर्दा अङ्ग्रेजी जस्ता देखिए पनि ती अङ्ग्रेजी नभएर तत्तत् देशकै लिपि हुन् । रुसका गाडीमा प्रयोग गरिएको अङ्ग्रेजीको पि जस्तो वर्ण रसियालीको आर हो । रूसलगायतमा प्रत्येक राज्य वा सहरलाई छुट्टाछुट्टै सङ्केत नम्बर दिएर त्यसैअनुरूप सवारीसाधनको नम्बर निर्धारण गरिएको पनि देखिन्छ ।

६. ‘आरएफआईडी चिप्स/स्टिकर राखेर सवारीसाधनको आवागमनको नम्बर यातायात व्यवस्था विभागस्थित नेपाल सरकारको तथ्याङ्क केन्द्रमा भण्डारण हुने’ भन्ने कुरा ठीकै हो तर इम्बोस्ड नम्बर प्लेट निर्माण गर्ने विदेशी कम्पनीले सूचना लिन मिल्ने कुराचाहिँ गोपनीयताको हक मात्र नभएर सार्वभौमसत्ताका दृष्टिले पनि अनुपयुक्त हो । संसारमा प्रचलित इम्बोस्ड नम्बर प्लेटमध्ये कतिपयमा बारकोड राखिएको हुन्छ भने कतिपयमा सङ्केताङ्क मात्र राखिएको हुन्छ र ट्राफिकले त्यसैबाट आवश्यक सूचना प्राप्त गर्छ ।

७. ‘नेपालमा सञ्चालित सवारी साधनहरूमा तिनको चोरी, राजस्व छली तथा अन्य आपराधिक क्रियाकलाप रोक्ने, सवारीसाधनको व्यवस्थापनलाई आधुनिक एवं वैज्ञानिक बनाउने उद्देश्यले उच्च सुरक्षायुक्त डिजिटल इम्बोस्ड नम्बर प्लेट लागु गर्दा यातायात व्यवस्थापनलाई वैज्ञानिक बनाउने, सुरक्षा प्रबन्ध, चोरीपैठारी नियन्त्रण, कर असुलीसमेतलाई सहज बनाउने’ भनिएकामा, हाल नेपालमा चलेका सम्पूर्ण गाडीहरू चोरीपैठारीकै हुन् त ? यी सबैले राजस्व छली र आपराधिक क्रियाकलाप नै गरेका छन् त ? मानौँ यसकै लागि गरिएको हो भने पनि इम्बोस्ड नम्बर अङ्ग्रेजीमा राख्दा मात्र सुरक्षित हुने र नेपालीमा राख्दा असुरक्षित हुने कसरी हुन्छ ?

८. ‘नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा सवारी तथा व्यवस्था ऐन, २०४९ को अनुसूची २ मा हेरफेर गरी सवारी साधनमा अङ्ग्रेजी लिपिमा लेखिएको इम्बोस्ड नम्बर प्लेट राख्नुपर्ने गरी भएका निर्णय एवं कामकारबाहीमा कुनै संवैधानिक एवं कानुनी त्रुटि रहेको नदेखिँदा रिट निवेदन मागबमोजिम आदेश गर्न मिलेन’ भन्ने कुरा संविधानसँग बाझिएकाले स्वतः बदरभागी छ । नेपालमा चल्ने सवारीसाधन प्रत्यक्षतः जनसरोकारको विषय भएकाले यिनमा अङ्ग्रेजी भाषामा मात्र नम्बर प्लेट राख्दा दुर्घटना अत्यधिक बढ्ने देखिन्छ । अहिले नम्बर प्लेट नेपालीमै हुँदा त यति धेरै दुर्घटना भएका छन् भने झन् सामान्य जनताले नबुझ्ने भाषामा लेख्दा त्यसको परिणाम के हुन्छ ? नेपालीमा हुँदा कुनै सवारीसाधनले कसैलाई ठक्कर दिई भागेमा त्यहाँ वरिपरिका सामान्य साक्षर व्यक्तिले पनि नम्बर टिपेर ट्राफिकलाई खबर गर्नसक्छ तर अङ्ग्रेजीमा लेखिएको नम्बर प्लेट सामान्य साक्षरको त के कुरा, उच्चशिक्षितलाई समेत हेर्नेबित्तिकै तत्काल बुझ्न र टिप्न कठिन हुन्छ । यसर्थ यसले दुर्घटना र अपराध झन् बढाउँछ ।

नेपालका सवारीसाधनमा प्रयोग हुने भाषा विदेशीहरूका लागि नभएर मूलतः नेपालीहरूका लागि हो भन्ने स्पष्ट छ । यति हुँदाहुँदै नेपाली भाषाका वर्णलेखनमा जटिलता रहेको भनी सर्वोच्च अदालतबाट कुत्सित स्वार्थका कारण नेपालको राष्ट्रभाषा, माध्यमभाषा र सरकारी कामकाजको भाषाका रूपमा रहेको नेपाली भाषाको अपमान गरी अङ्ग्रेजीमा इम्बोस्ड नम्बर प्लेट राख्ने फैसला गरिनु घोर निन्दनीय र अत्यन्त आपत्तिजनक कार्य भएकाले यो कदापि मान्य हुन्न । यो फैसला असंवैधानिक र राष्ट्रघाती प्रकृतिको भएकाले यसलाई तत्काल सच्याउनुपर्छ ।

निष्कर्षतः इम्बोस्ड नम्बर प्लेट निकै खर्चालु भएकाले नेपालका सवारीसाधनमा नराखे पनि फरक पर्दैन । यदि राख्नैपर्ने भए सबै प्रदेशको नाम राखिसकेपछि मात्र राखेमा दोहोरो खर्च नभई राज्यको ठूलो धनराशि बचत हुन्छ । नेपाली राहदानी, नेपाली नागरिकता, विश्वविद्यालयका प्रमाणपत्रहरूका माथि नेपाली र तल अङ्ग्रेजी भएजस्तै गरी नेपालमा चल्ने सवारीसाधनमा अधिकांश देशमा प्रचलित अभ्यासअनुरूप माथि नेपाली र तल अङ्ग्रेजी लेख्ने व्यवस्था गरिनुपर्छ । यसका लागि नेपालको राष्ट्रियता र अस्मितासँग गाँसिएको यस्तो महत्त्वपूर्ण विषयबारे सर्वोच्च अदालतको संवैधानिक इजलासबाट भएको असंवैधानिक फैसलालाई विवेकका साथ पूर्ण इजलासबाट वा अन्य प्रक्रियाबाट सच्याउन सकिन्छ । अझ सजिलोका लागि पहिले सरकारले गरेको निर्णय वा सवारी तथा व्यवस्था ऐन, २०४९ को अनुसूची २ सच्याए मात्र पनि पुग्छ । सर्वोच्च अदालतको फैसलामा इम्बोस्ड नम्बर प्लेट अङ्ग्रेजीमा लेख्नू भनिए पनि नेपालीमा नलेख्नू भनी स्पष्ट रूपमा नभनिएकाले यसकै आधारमा पनि यातायात विभागले दुवै भाषामा लेख्ने व्यवस्था मिलाउन सक्छ । यसो नगरी कसैको निहित स्वार्थपूर्तिका लागि अङ्ग्रेजीमा मात्र इम्बोस्ड नम्बर प्लेट राखिएमा देशको अस्तित्व नै सङ्कटग्रस्त हुने भएकाले त्यो कदापि स्वीकार्य हुन्न । नेपाली भाषामाथि यस किसिमका दुष्कार्य गर्नु हुन्न तथा न्यायालय र न्यायाधीश पर्यायवाची नभएकाले यसलाई कसैले पनि प्रतिष्ठासङ्घर्षको विषय बनाउनु हुन्न ।

(लुइटेल मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालका अध्यक्ष हुन् ।)

[email protected]

प्रकाशित : भाद्र ८, २०७७ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?