मुखमा 'राम’, बगलीमा छुरा

जीवन क्षेत्री

काठमाडौँ — केही दिनको अन्तरमा चितवनको माडी दुईखाले समाचारको हेडलाइनमा देखियो । पहिले निकुञ्जले खोला किनारका चेपाङहरुका घर रातारात जलाएर बिचल्ली बनाइदियो । लगत्तै निकुञ्ज सुरक्षाका लागि भनेर बसेको सेनाको निर्घात कुटपिटबाट एक युवाको मृत्यु भएको समाचार आयो ।

मुखमा 'राम’, बगलीमा छुरा

समाचार आए र गए । सम्बन्धित निकायले सनातनी पारामा छानविनको आश्वासन दिए । त्यसरी उठिवास लगाइएका विपन्न चेपाङहरुले खूला आकाशमुनि बर्खे झरी कसरी खेपिरहेका छन्? तिनका लागि राज्यले के गर्‍यो ? समाजको परोपकारी नागरिक संयन्त्रले के गर्‍यो? निर्दोष युवकलाई निउरो टिपेको आरोपमा निर्घात पिटेर मार्ने सेनाका अधिकारीमाथि कस्तो छानविन र कारबाही भयो? यी प्रश्न अद्यापि अनुत्तरित छन् ।

त्यही समयको हाराहारीमा प्रधानमन्त्री ओलीको दिव्य अभिव्यक्ति आयो- 'राम नेपालमा, वीरगन्ज पश्चिमको ठोरी नजिकैको भूमिमा जन्मेका हुन् । भारतले नक्कली अयोध्या सिर्जना गरेर प्रचार गरेको मात्रै हो ।' आख्यान र गैर–आख्यान, लोककथा र इतिहासको भेद हुनेले ओलीको मजाक उडाए । कुन राम ? कहिले ? कुन सीता ? कुन खेतमा जोत्दा मानिस भेटिन्छन् ? कुन महिला पतिव्रता भएकै कारणले आगोले डढाउन सक्दैन ? अलिकति तर्कसित खेल्नेहरुले सोधे, संसारमा धर्मलाई गरीबको अफिम भन्ने मार्क्सले सारा शक्ति उत्पादनका साधनको स्वामित्वसित जोडिएको हुन्छ भनेर गए, प्रधानमन्त्रीले नेपालमा सुरु गर्न खोजेको राम नामको राजनीति त्यससँग कसरी जोडिन्छ ?

त्यसैसँग जोडिएर अर्को झनै गम्भीर प्रश्न आयो- कतै भोलि गएर नेपालमा पनि आजको भारतमा झैं रामका असली भक्त वा हिन्दु धर्म मान्नेहरुलाई मात्रै पहिलो दर्जाका नागरिक बनाउने राजनीतिलाई मूलधारमा ल्यााउने अभ्यासको सुरुआत त हैन ? बहुसंख्यकको आस्थालाई राजनीतिसित मिसाएर समाजमा विभेद र हिंसाको विष छर्ने अभियानको पूर्वसुचक त हैन ? सुरु गरिहाल्नको मात्रै कठिनाइ हो, ओरालोतिर गुल्टिन थालेपछि समाजलाई रसातलमा पुग्न धेरै समय लाग्दैन ।

राजनीतिज्ञहरुले कहिलेकाहीं लहडमा उट्पट्याङ कुरा बोल्नु अनौठो हैन । अक्सर बोलिसकेपछि उनीहरु आफैंलाई त्यो महसुस हुन्छ र उनीहरु लज्जित हुन्छन् । अरु बेला तिनका वरिपरिकाले तिनलाई सम्झाउँछन् र त्यसपछि चनाखो हुन सुझाउँछन् । आवश्यक पर्दा सार्वजनिक रुपमा गल्ती स्वीकारेर माफी माग्नेदेखि प्रष्टीकरण दिनेसम्म अभ्यास हुन्छ । हामीकहाँ चाहिँ त्यसो भएन । प्रधानमन्त्रीको एकालाप सार्वजनिक हुनासाथ 'महाराजको नयाँ लुगा कति भव्य’ भन्ने शैलीमा स्तुति र रामभजन सुरु भयो । माडीका जनप्रतिनिधि लस्कर लगाएर प्रधानमन्त्रीलाई भेट्न गए । मन्दिर निर्माणको अभियानले यति सहज रुपमा गति लियो मानौं प्रधानमन्त्रीले यस विषयमा नबोलेकै कारण आजसम्म त्यो काम रोकिएको थियो ।

सञ्चारमाध्यमले प्राथमिकताका साथ त्यो भेटबारे लेखेका सामाग्रीमा फुटनोटजस्तै एक हरफ पनि थियो- माडीमा निकुञ्जले घर जलाइदिएका चेपाङहरुको बसोबासको व्यवस्था गरिदिन जनप्रतिनिधिले प्रधानमन्त्रीलाई आग्रह गरे ।

अर्थात् मन्दिर निर्माणका विषयमा घण्टौं उल्लासपूर्ण वार्ता भएपछि जाँदाजाँदै औपचारिकताका लागि यो विषय पनि उठाइयो । त्यसयता प्रधानमन्त्रीले बारम्बार माडीमा राम मन्दिर निर्माणका लागि फोनमा जनप्रतिनिधिलाई अह्राएकोदेखि मन्दिरका लागि जमिन खोज्ने र बजेट छुट्याउने गरेका समाचारहरु आइरहेका छन् । चेपाङका लागि बास बनाउने विषय स्वभावतः समाचारबाट सर्वथा गायब छ ।

राजनीतिलाई आस्थाको वरिपरि परिक्रमा गराउने जुन प्रवृत्तिले अहिले नेपालको सत्तारुढ दलमा जरा गाड्दैछ, त्यसको संकेत दिने उत्कृष्ट विम्ब थियो दुई विषयमा १८० डिग्री फरक सत्ता संस्थापनको रवैया । पक्कै पनि चेपाङहरुप्रति सबै तहका सरकारहरुको बेवास्ताको कारण उनीहरुको आस्था हैन । कम्तीमा अहिलेसम्म । तर जब लोकतान्त्रिक सरकार अहिले बाँचेका जनताप्रतिको जवाफदेहिताबाट बच्न पौराणिक कथा र पात्रमा भर पर्छ, तब अहिले दु:ख पाइरहेका लौकिक जीवहरुको दु:ख उसलाई बिझाउन छाड्छ । राम, सीता, लक्ष्मण, रावण आदि पात्र भएको रामायणले स्वभावतः आज कलियुगमा मानिस र राष्ट्रिय निकुञ्जबीचको द्वन्द्व र त्यसबाट निःश्रृत हुने पीडा वा दमनलाई व्याख्या गर्दैन । त्यो शास्त्रले महिलालाई 'सीताजस्तै पतिव्रता बन’ भन्छ । पुरुषलाई 'रामले झैं हैकम जमाऊ र निर्दोष महिलालाई समेत दण्डित गर’ भन्छ तर राज्य संयन्त्रले गर्ने अन्यायविरुद्ध बोल वा हिंसाको प्रतिकार गर भन्दैन ।

दक्षिणको पाठ

छिमेकी भारतको प्रसंग नजोडी नेपालमा सुरु रामनामी राजनीतिबारे बुझ्न सकिँदैन । भारतमा राष्ट्रिय स्वयंसेवक संघको विध्वंशक 'हिन्दु राष्ट्र अभियान’ झण्डै शताब्दी पुरानो भए पनि उसले राजनैतिक सत्ता हात पार्न राम जन्मभुमिको विषयलाई केन्द्रमा ल्याएको धेरै भएको छैन । स्वतन्त्रता र विभाजनलगत्तै धर्मनिरपेक्ष राज्य बनाउने कााग्रेसको योजना तुहाइदिन हिन्दुवादी संगठनहरुले सन् १९४९ मै बाबरी मस्जिदमा 'राम लल्ला’को मुर्ति छिराएर साम्प्रदायिक द्वेषको बीउ रोपेका थिए । तर बृहत्तर समाजमा खासै छाप छाड्न नसकेपछि रामलाई पुल बनाएर सत्तामा पुग्ने र गणतन्त्र भारतलाई हिन्दु राष्ट्र बनाउने उनीहरुको सपना तामेलीमा रहृयो ।

त्यसपछिका अढाई दशक एक छत्रजस्तै भारतमा राज गरेको कांग्रेसले इन्दिरा गान्धीको संकटकालसँगै लोकप्रिय वैधता गुमाउँदै गयो । त्यससँगै सिर्जना भएको भ्याकुममा ती अतिवादीहरुले रामका नाममा राजनीति चर्काउन थाले । तैपनि भाजपाले सन् १९९० मा लालकृष्ण आडवाणीको नेतृत्वमा 'राम रथ यात्रा’ मार्फत् साम्प्रदायिकताको विष नफैलाउँदासम्म समग्र भारतमा धर्मको राजनीतिको पहुँच साँघुरै थियो । जब सन् १९९२ मा बाबरी मस्जिद भत्काइयो र त्यसले सिर्जना गरेका भयावह साम्प्रदायिक दंगाहरुले दक्षिण एसियालाई त्राहिमाम पारे । र आस्थागत ध्रुवीकरणलाई मूलधारमा ल्याए, भाजपाले केन्द्र सरकारमा सत्तारोहण गर्न धेरै वर्ष कुर्नु परेन । २०१४ मा मोदी आएपछि भारतीय समाज जसरी बदलिएको छ, त्यो त हाम्रा सामू छर्लंगै छ ।

ओलीले भोलिका दिनमा नेपाली समाजलाई त्यस्तै दिशामा धकेल्ने नियतसहित यो मुद्दालाई उठाएका हुन् वा यस्तो गम्भीर विषयको गहिराइमा पुगेर सोच्ने क्षमता गुमाएर, त्यो भविष्यले नै बताउनेछ । उनको एक संकेतमा स्तुति र भजनमा उत्रेका कार्यकर्ता तथा जनप्रतिनिधिलाई पनि सायद आफूहरु आगोसित खेल्दै गरेको अझै हेक्का छैन । तर उनीहरुकै कारण नेपाली समाजमा बहुलताद्वेषी गेरुवा राजनीतिले टाउको उठायो भने उनको नियत के थियो भन्ने कुराले केही फरक पर्ने छैन ।

लेखको तरंग

यो विषयमा अप्राकृतिक सन्नाटापछि एक दिन कान्तिपुरमा सरिता तिवारीको धारिलो लेख प्रकाशित भयो जसले यस विषयका सारा भ्रमका पत्रहरु चिरेको थियो । त्यो पढेलगत्तै उहाँसँग भएको आधा घण्टे संवादपछि म झनै स्तब्ध भएँ । यस विषयमा विमर्श गर्दा नेकपा पंक्तिका केही मानिसहरुले उहाँलाई यतिसम्म भन्न भ्याएछन्- 'यो (मन्दिरको) एजेण्डा हामीले नबोके राप्रपाले बोक्छ ।' उसो भए अब नेकपाले राप्रपाका कुन-कुन एजेण्डा बोक्दै जाने हो? हिन्दु राष्ट्र ? राजतन्त्र ? पञ्चायत ? राप्रपाकै एजेण्डा बोक्ने हो भने त हिन्दुवादी दक्षिणपन्थलाई यो सरकारको निर्देशक सिद्धान्त किन नमान्ने ?

यसरी खुलेआम राप्रपाका एजेण्डा सकार्ने नेपालको कुनै पनि राजनीतिक पार्टी र छिमेकको भाजपाको चरित्रमा फरक नै के हुन सक्छ ? यसै पनि आरक्षणलाई निस्तेज गर्ने, संघीयतालाई कमजोर बनाउने र लोकतन्त्रको खोल ओढेर अधिनायकवादलाई संस्थागत गर्दै जाने समानता त दुई पार्टीबीच यस अगाडि नै छ ।

अरु धेरैले सरिताजीलाई भनेछन्- धार्मिक पर्यटन र माडीको विकासका लागि मन्दिर बन्नुपर्छ । के स्थानीयदेखि प्रदेश र संघीय जनप्रतिनिधिसमेत नेकपाका रहेको माडीको विकासका लागि अरु बाटा बन्द भएका हुन् ? के आजसम्म राम मन्दिर नभएरै माडीको विकास नभएको हो ? मन्दिरका नाममा उत्पादनका साधनहरुमा जग्गा दलालहरुको स्वामित्व अझै बलियो बनाएर मात्रै माडी 'मुक्त’ हुने हो ? माडीको विकासमा चेपाङलगायतका सीमान्तकृत समुदायको ज्यान र जीविकाको रक्षा पर्छ कि पर्दैन ? कि माडीलाई त्रेतायुगमा फर्काउँदा त्यसमा नअट्ने कलियुगका मनुवाहरु त्यहाँबाट लखेटिने हुन्?

यो प्रकरणपछि धेरैलाई नेकपा कम्युनिष्ट वा वामपन्थी रहेन भन्ने चिन्ता लागेको छ । नेकपाले आफूलाई क्रोनी पुँजीवादको पाउमा समर्पण गरेको धेरै भइसकेकाले उसले ओढेको वामपन्थको खोलमा यससँगै अर्को ठूलो भ्वाङ परेको मात्रै हो । तर ओली–राम प्रकरणको सबभन्दा ठूलो खतरा भनेको नेपाली समाजको गुजरातीकरण हो जहाँ राजनीतिज्ञले शक्ति हत्याउनका लागि पौराणिक वा काल्पनिक विम्बका आधारमा मानिसलाई ध्रुवीकृत गर्छ, द्वेष र हिंसा फैलाउँछ वा तिनलाई प्रश्रय दिन्छ अनि मानिसको आस्थालाई आफ्नो सत्तारोहणको भर्‍याङ बनाउँछ ।

अहिले त्यस दिशामा केही परसम्म नेपाली समाज घचेटिइसकेको छ । त्यो विसंगत दिशामा हामी जति पर पुग्छौं, पछि फर्कन उत्तिकै कठिन हुनेछ । नेकपाभित्रबाट अहिलेसम्म त्यस्तो भूल सच्याउने कुनै ज्युदो प्रयास देखिएको छैन, सायद चिन्तनकर्ममा प्रम ओलीको एकाधिकार भएकाले । त्यसैले बाहिरबाट यस्ता घातक कदमहरुलाई नंग्याउँदै नागरिक खबरदारी गरिरहनुको विकल्प छैन ।

प्रकाशित : भाद्र ७, २०७७ १३:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?