नेपाल, भारत र अयोध्या

हामीले नेपाली राज्यमाथिको दाबी गोपालवंशीदेखि नै गर्नुपर्दछ । आफैं पृथ्वीनारायण शाहका पालादेखि मात्रै नेपालको उदय भएको हो भन्ने कुरा उच्च स्वरमा कराउने हो भने त्यो लुलो दाबी मात्रै हुनसक्छ । 
नेपालको इतिहास केही सय वर्षको मात्र होइन, चार हजार वर्षदेखिको छ । इतिहासको यही निरन्तरता हाम्रो सबलता हुनुपर्छ ।
रामचन्द्र झा

काठमाडौँ — यतिबेला अयोध्या निकै चर्चामा छ । सायद मनुले मध्यदेशको राजधानी वा केन्द्रको रुपमा स्थापित गर्दा पनि त्यति चर्चा भएको थिएन होला । चर्चाको एउटा कारण हो, राममन्दिरको भूमि पूजन । भारतको सर्वोच्च अदालतको चीर–प्रतिक्षित फैसला र सत्ताधारी भारतीय जनता पार्टीको एजेण्डाकै कारण पनि चर्चाको शिखरमा छ अयोध्या ।

नेपाल, भारत र अयोध्या

दोस्रो पक्ष हो, नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा भानु जयन्तीको अवसरमा दिएको मन्तव्य, जसमा अयोध्या नेपालको ठोरीमा वा माडीमा थियो भने भनाईको आधारमा आएका समाचारहरुले नेपाल र भारत दुवैतिर तरंगित पार्‍यो ।

भारतीय उपमहाद्वीपमा आर्य र आर्येत्तरहरुबीच भएका लामा लडाइँपश्चात आर्यहरु विजयी भए । राजनीतिक सत्ता स्थापनापश्चात मनु वैवश्वत छैठौंद्वारा ‘मध्यदेश’ जसको चार किल्लाबारे मनुस्मृतिको अध्याय दुई र श्लोक एक्काइसमा उल्लेख भएको देखिन्छ, जसबाट मध्यदेशको केन्द्र अयोध्या नै थियो भने प्रमाणित हुन्छ ।

नेपाल राज्यको स्थापना र विस्तार

विश्व मानचित्रमा कतिपय राष्ट्रको उदय र अस्त भइरहन्छ । बलियो जगमा टेकेर प्रकट भएका राष्ट्रहरु आफ्नो अस्तित्वको ध्वजा फहराइरहेका हुन्छन् भने कतिपय अल्पजीवीहरु अकाल मृत्युवरण गर्छन् ।

नेपाल राज्यको स्थापना कृषि सभ्यताको विकासक्रममा भएको हो । काठमाडौं उपत्यकामा जमेको पानी चोभार डाँडा हुँदै बगिसकेपछि यो घाँसे मैदानको रुपमा विकसित भयो । तल्लो भागमा हजार वर्षपूर्व विदेह गणराज्य स्थापना भइसकेको थियो । त्यहाँका पशुपालकहरु आफ्ना पशुहरुको लागि उपयुक्त चरन क्षेत्रको खोजी गर्दै उपत्यका छिरेका थिए । यसै क्रममा नेपाल नामक राज्यको स्थापना विदेह गणराज्यको तिनै गोपालवंशीबाट भयो ।

गोपालवंशीहरु एवं तत्पश्चात महिषपालवंशीहरुले लगभग ६ सय वर्षभन्दा बढी नै राज्यसत्ता सञ्चालन गरे । तिनै भूमि गोप अर्थात् भुक्तमान नेपालको संस्थापक थिए । त्यसपछि यलम्बरको नेतृत्वमा किराँतवंशीहरुले सत्ता कब्जा गर्न पुगे र किराँतहरुले ८ सय बर्षभन्दा बढी नै राज्य सञ्चालन गरे । महाभारतको युद्धमा ‘हुमति’ नामक छैठौं किराँती राजाले भाग लिएका थिए । त्यस्तै गौतम बुद्ध जितेदास्तको पालामा र अशोक चौधौं र किराँती स्थंकूको पालामा किराँती राजाहरुको मगधसँग व्यापारिक सम्बन्ध थियो । नेपाल र मगधबीच त्यसबेला दौत्य सम्बन्धको स्थापना भयो । किराँतको सीमा उपत्यका र त्यसदेखि पूर्व अरुण नदीसम्म विस्तारित थियो ।

लिच्छवीहरुको आगमन र राज्य विस्तार

विदेह गणराज्यका अन्तिम शासक करालविरुद्ध नागरिक विद्रोह भएपछि उनी मारिए र विदेह गणराज्यको खण्डहरमाथि लिच्छवी गणराज्यलगायतका राज्यहरु मिलेर बज्जी महासंघको निर्माण भयो, जो सम्भवतः विश्वकै पहिलो संघीय गणतन्त्र थियो । नागरिकहरुको सक्रिय सहभागितामा रहेको शासन प्रणालीका कारण छोटो अवधिमा आर्थिक विकास एवं सैन्यशक्तिमा बज्जी महासंघ सवल नै थियो । नेमानिदिष्ट नामक मनुवैवस्वतका पुत्रले तिरहुत र फेरि उनकै विशाल नामक पुत्रले आफ्नो नाममा त्यसलाई विशाल गणराज्य नामाकरण गर्दै त्यसको विस्तार पनि गरे । कालान्तरमा त्यसलाई लिच्छवी पनि भनियो । बिहारको हाजीपुर जिल्लाको वसाढ नामक ठाउँमा त्यसको राजधानी स्थापना भयो ।

यता बज्जी महासंघको उन्नतीप्रति छिमेकका मगधका शासकले आँखा लगाइराखेकै थिए । हर्यकवंशका अजातशत्रुले १६ बर्षसम्म त्यहाँ आक्रमण गरिरहे । अन्तमा महाशीला, कंटक र रथमूसलजस्ता विशिष्ट हतियारका कारण बज्जी महासंघको पराजय भयो ।

मगधबाट पराजित लिच्छवी एवं विदेहहरुले काठमाडौं उपत्यकामा शरण लिन पुगे । लिच्छवीहरुको शासन ३२० ई. पूर्व नै मगधमा गुप्त वंशको शासन प्रारम्भ भइसकेको थियो । नेपालमा लिच्छवीहरुको शासन ईस्वी ३२० देखि ६४६ सम्म चल्यो । चन्द्रगुप्त प्रथमको बिहे लिच्छवी राज्य वृषभदेवकी पुत्री कुमारी देवीसँग भएपछि नेपाली लिच्छवी सेनाको सहयोगमा गुप्तवंशको राज्य विस्तार अत्यधिक भयो । भनिन्छ, लिच्छवीका ज्वाँई चन्द्रगुप्त प्रथम र भान्जा समुद्रगुप्तको पहिलो सुरक्षा घेराको नेतृत्व लिच्छवी सेनाले नै गर्थे । गुप्त साम्राज्यको विस्तारसँगै आफ्नो पुर्खाले गुमाएको वज्जी महासंघसँगै नेपालको सीमा पूर्वमा असम (कामरुप) देखि पश्चिम कश्मिरसम्म र उत्तरमा तिब्ब्तसम्म विस्तार भयो, जो ई. ६४६ पछि हर्षवर्धनको समयमा अतिक्रमित भयो । यसरी नेपालकै नामबाट माथि उल्लिखित भूभाग ई. ६४६ सम्म शासित थियो ।

नेपालमा सेनवंश र कर्णाटवंश

नेपालमा पाल वंशको सूर्यास्तसँगै दक्षिणका चालुक्य वंशका छैठौं विक्रमादित्यको आक्रमणको फलस्वरुप मिथिलामा कर्णाट वंश र बंगालमा सेनवंशको उदय भयो । सेनवंशी राजाहरुको पूर्वज कर्णाटक ब्राम्हण थिए । उनीहरु अध्ययन–अध्यापन एवं बौद्धिक कार्यबाट जीविका चलाउँथे । पछि सैनिक कार्यमा संलग्न हुँदै गए । विक्रमादित्यको आक्रमणपश्चात उत्तरमा बंगाल, मिथिला र कन्नौजमा चालुक्यका सेनामा कार्यरत सामन्तहरु एवं सिपाही तथा विभिन्न ओहदामा रहेकाहरुमध्ये १०९७ ईस्वीमा न्यानदेवले ‘मिथिला’ तथा सामन्त सेन र तिनका पुत्र हेमन्त सेनले बंगालको ‘राढ’ नामक स्थानबाट आफ्नो राज्यसत्ता स्थापित गरि सञ्चालन गर्न थाले । हेमन्त सेनका छोरा विजय सेनले ई.सं.१०९५ देखि ११५८ सम्ममा बंगालबाट जहाजका माध्यमले गंगा तरेर भारतको कटिहार, पूर्णिया हुँदै नेपालको पूर्वी भाग कब्जा गर्दै विजयपुर चौदण्डी, उदयपुर, मकवानपुर ईत्यादिमा राज्य स्थापना गर्दै पछि पाल्पा, बुटवल, अर्घाखाँचीलगायतका क्षेत्रमा राज्यसत्ता सञ्चालन गरे ।

नेपाली इतिहासकारहरु एकातिर सेनहरु पूर्वबाट राज्य विस्तार गर्दै आए भन्ने तथ्य स्वीकार गर्छन् । तर उनीहरु राजस्थानबाट आएका थिए भन्छन् । मुसलमानहरुको आक्रमणका कारण पहिला हिमाल, पछि मात्रै तलतिर गएको नेपाली इतिहासकारको तर्क छ । पूर्वप्रधानमन्त्री स्वर्गीय मातृकाप्रसाद कोइरालाले एउटा आलेखमा सेनहरुलाई बंगाली मानेका छन् । उनको भनाइअनुसार सेनहरुले पूर्व हुँदै हिमालसम्म पसेर राज्य सञ्चालन गरे । अर्कातर्फ, डा.चन्द्रकान्त राउतले ‘मधेशको इतिहास’मा सेनवंशीहरुलाई मधेशी भनेका छन् । विभिन्न भारतीय इतिहास तथा ‘उत्तर भारतका राजनीतिक इतिहास’ (डा. विशुद्धानन्द पाठक, पृष्ठ ३०३–३११), ‘प्राचीन भारतका सांस्कृतिक इतिहास’ (डा. महेशकुमार शरण, पृष्ठ २९) आदिले कर्णाटवंशी पनि सेनकै समकालीन भएको उल्लेख गरेका छन् । उनीहरुले दक्षिणबाट मिथिलालाई पश्चिममा चम्पारणसम्म, पूर्व कोशीसम्म, उत्तरमा चुरेसम्म र दक्षिणमा गंगासम्म राज्य सञ्चालन गरेका थिए । त्यसको राजधानी पहिला नान्यपुर र पछि सिमरौनगढ भयो । कर्णाट वंश ई. १०९७ देखि १३२५ सम्म अर्थात गयासुद्दीन तुगलकको आक्रमणपछि सत्ताच्यूत भए । त्यसपछि मल्ल एवं शाहहरु क्रमशः स्थापित भए । त्यसबेला कर्णालीतिर खसहरुको राज्य थियो । अहिलेको नेपाल भनेको यही नै हो ।

भारतीय राज्यको विस्तार एवं सूर्यवंश

भनिन्छ, राज्य एउटा यस्तो संगठन हो, जसले परिभाषित क्षेत्रभित्र र सीमाभित्र सार्वभौम क्षेत्राधिकारको स्थापन गर्दछ । स्थायी संस्थाको समुहद्वारा सत्ताको प्रयोग गर्दछ । मनु वैवश्वत छैंठौ आकस्मिक रुपमा प्रकट भएका शासक थिएनन् । आर्यहरुको विजयपश्चात त्यसको सत्तालाई स्थापित गर्ने पहिलो व्यक्ति थिए । मनुले राज्य प्रबन्धका मान्यताहरुको विशद व्याख्या गर्दै त्यसको विस्तारका क्रममा आफु मध्यदेशको पहिलो राजा भए ।

मनुद्वारा स्थापित वंश मानववंश वा सूर्यवंशको रुपमा चिन्हित भयो । पछिका विभिन्न प्रतापी राजाहरुले आफ्नै नामले राज्यवंशको नामाकरण गर्न लगाए, जस्तै यथा इक्ष्वांकु वंश, रघुवंश आदि । मनुका आठ पुत्र र एक पुत्री भए । तिनले विभिन्न राज्यको स्थापना गरे । एक पुत्री जसको नाउँ इला थियो, उनीबाट चन्द्रवंशको स्थापना भयो । यसरी भारतमा राज्यको प्रारुपमा विभिन्न राज्यहरु स्थापित भए ।

हामी भौतिकवादीहरु पौराणिक कथाहरुलाई सभ्यता सङ्घर्षको रुपमा ठान्छौं । रामलाई हामी भगवान भन्दा पनि आर्यवंशका श्रेष्ठ पितृपुरुष ठान्दछौं । रामकै पूर्वज मनुले मध्यदेशको स्थापना गरेका थिए । उनीपछि उनका जेठा छोरा इक्ष्वांकु राजा भए । अर्को पुत्र नभानेदिष्ट थिए, जो तिरहुतका राजा भए । पछि यसै वंशमा वैशाल नामक राजा भए, जसले वैशाली नामक नगर बसाए । बौद्ध युगमा वैशालीले धेरै प्रतिष्ठा प्राप्त गर्‍यो, जो लिच्छवी नामले पनि प्रशिद्ध भयो ।

यस्तै मनुको अर्को पुत्रको नाउँ कारुष थियो, जसले कारुष राज्यको स्थापना गरे, जो पछि वघेलखण्ड नामले प्रसिद्ध भयो । चौथो पुत्रको नाउँ शर्मरति थियो, जसले दक्षिणको गुजरात क्षेत्रमा आफ्नो राज्य स्थापना गरे । शर्मरतिको पुत्रको नाउँ अनार्त थियो । उनी धेरै प्रतापी थिए, पछि उनकै नाममा त्यो देशको नाउँ अनार्त भयो । अन्य पुत्रहरुले पनि आ–आफ्नो राज्यको स्थापना गरे, तर ती त्यति प्रशिद्ध भएन । इक्ष्वांकुका पनि अनेक पुत्र भए र सबैले आ–आफ्नो राज्य स्थापना गरे ।

इक्ष्वकुका जेठा छोरा विकुक्ष, जो पछि अयोध्याको राजगद्दीमा विराजमान भए । इक्ष्वांकुका कान्छा छोरा निमीले गण्डक र कोशी बीचमा मिथिला राज्य स्थापना गरे, जसको राजधानी जनकपुर थियो । इक्ष्वांकुका सम्भवतः १० पुत्रहरु वा भनौ मनुका वंशजहरुले भारतीय भूखण्डमा आ–आफ्ना राज्य स्थापना गरे । इक्ष्वांकुले अयोध्यामा आफ्नै स्वतन्त्र राज्य स्थापना गरे । इक्ष्वांकुको उन्नासौं पिढीपछि एउटा अत्यन्त शक्तिशाली राजा भए, जसको नाउँ मान्धाता थियो । उनले आफ्नो छेउछाउको राज्यहरु जितेर एक विशाल शक्तिशाली र स्वतन्त्र राज्य कायम गरे । यसरी उत्तर भारत र गुजरातसम्म पहिलो चरणमै सूर्यवंशको राज्यसत्ता कायम भयो, जो पछि भारतीय राज्यको आधारभूमि बन्न पुग्यो ।

सूर्यवंश एवं चन्द्रवंशको स्थापना एवं विकास

वैवश्वत मनुकी एकमात्र पुत्री इलाको नाउँबाट ऐल वंश वा चन्द्रवंशको रुपमा प्रसिद्ध भयो । सूर्यवंश जस्तै चन्द्रवंश वा ऐलवंश आर्यहरुको दोस्रो धाराको रुपमा भारतीय राज्यको विस्तारको आधारभूमि बन्यो । सूर्यवंशीहरुले जसरी अयोध्यालाई प्रधान केन्द्र बनाए । ऐलले प्रतिष्ठानलाई केन्द्र बनाए । ऐलवंशको अनेक शाखा भयो । पुरुरवाको एकमात्र पुत्र अमावसू कान्यकूब्जमा आफ्नो पृथक राज्य स्थापना गरे । पुरुरवाकै पुत्र नहुष थिए । नहुषका पुत्रले वाराणसीमा एउटा स्वतन्त्र राज्य स्थापना गरे । नहुषका जेष्ठ पुत्र ययाति थिए, जो प्रतिष्ठानका राजा भए । प्रतापी राजा ययातिका पाँच पुत्रहरु भए । यदु, तुर्वसु, द्रुहम, अनु, पुरु– यी पाँचै अनुश्रुतिमा प्रसिद्ध भए । पाँचमध्ये पुरु प्रतिष्ठानका राजा भए । पछि ऐलवंश पौरववंशको नामले प्रसिद्ध भयो । प्रतिष्ठानको दक्षिण पूर्वतिर तुर्वसुले आफ्नो स्वतन्त्र राज्य स्थापना गरे । यदु केन, वेतवा र चम्वलतिर राज्य स्थापना गरे । यसका वंशज यादववंशका नामले प्रसिद्ध भए ।

दक्षिणमा सुर्यवंश र चन्द्रवंशको विस्तार

रामका पूर्वजहरुले उत्तर भारतमा आफ्ना अनेक राज्य स्थापना गरिसकेका थिए । दक्षिणमा विध्याञ्चल र नर्मदासम्म सूर्यवंशीहरुको प्रवेश भइसकेको थियो । दक्षिणमा गैरआर्य जातिहरुको सत्ता थियो । उनीहरुको वैवाहिक सम्वन्ध आर्यहरुसँग हुँदै गएपछि आर्यमिश्रित रक्त प्रवेश दक्षिणमा पनि भयो । आर्य नेता रामद्वारा एउटा हिंसक युद्धमा अनार्य नेता रावणको वधको परिणामस्वरुप दक्षिणमा लंकासम्म आर्य सभ्यताको विस्तार भयो । यो युद्ध शस्त्र युद्ध मात्र नभई विचारधाराको युद्ध पनि थियो । आर्यहरुको त्यो उद्देश्य पुरा हुन महाभारतको युद्धसम्म पर्खनु पर्‍यो । (राधाकुमुद मुखर्जी, ‘प्राचीन भारतका इतिहास’, पृष्ठ४०)

मगध राज्यसत्ताको स्थापना र विकास

पौरव वंशमा राजा वसुका पुत्र बृहद्रथले मगधमा आफ्नो राज्य स्थापना गरे । त्यहाँबाट बृहद्रथको वंशको सुरुआत भएको थियो । बृहद्रथ वंशका अनेकौं राजाहरुले मगधमा राज्य गरे । मगध राज्यको स्थापना र विस्तार पनि चन्द्रवंशद्वारा नै भयो । चन्द्रगुप्त मौर्यको मगध साम्राज्यको विस्तार पूर्वमा बर्मादेखि पश्चिममा इरानसम्म भएको थियो । उनका शासनकालमा पाँच प्रान्त विभक्त थियो । १) उदिच्य–उत्तरी भारत । २) मध्यदेश देश– मध्यवर्ती भारत । ३) प्राच्य –पूर्वी भारत । ४) अपशंतः पश्चिम भारत । ५) दक्षिणापथ– दकन तथा दक्षिण भारत (राधाकुमुद मुखर्जी, ‘चन्द्रगुप्त मौर्य उसका शासनकाल’, पृष्ठ ७२) । यसरी चन्द्रगुप्तको मध्यदेशको केन्द्र उज्येन र अवन्तीपुर थियो ।

निष्कर्ष

नेपाल र भारतको शासकीय प्रवृत्ति भिन्न रुपमा विकसित भएको छ । नेपालको आफ्नै किसिमको मौलिकता छ । यहाँ ‘नेपाल’ नाउँको चार हजार वर्षको निरन्तरता देखिन्छ भने भारतमा शासकपिच्छै राज्यको नाउँ नै परिवर्तन हुने गरेको देखिन्छ । यस्तोमा हामीले हाम्रो मौलिकता र विशिष्टतालाई संरक्षण गर्न निम्न अनुसारको सुझाव रहेको छ ।

  • नेपाल कुनै पनि राजवंशद्वारा स्थापित नभई सामान्य पशुपालक अर्थात श्रमजीवीद्वारा स्थापित राज्य हो, जसको चरित्र सूर्यवंशी एवं चन्द्रवंशी भन्दा भिन्न हो ।
  • नेपाल स्थापनाकालदेखि अद्यावधि निरन्तर ‘नेपाल’ नामबाट स्थापित र परिचित रहँदै आएको छ । अन्यत्र जस्तो पिताको नाउँको राज्य पुत्र शासनमा आएपछि उनकै नाम हुने जस्तो भएन ।
  • गण्डकभन्दा पूर्व विदेह गणराज्यको सीमा स्थापनाकालदेखि नै नरहेको र चितवन गण्डकभन्दा पूर्व हो । चितवनतिर अवध सत्ताको केन्द्र रहेको भन्ने कुरा कल्पितमात्र हो ।
  • अयोध्या सूर्यवंशी राज्यसत्ताको केन्द्र हो, जो प्रकारान्तरले भारतीय राज्यसत्ताको आधारभूमि बन्दै गयो ।
  • राम सूर्यवंशको ६५औं पुस्ताका राजा हुन् र भारतीय राज्यको महत्वपूर्ण विस्तारक पनि हुन् । उनकै समयदेखि दक्षिण भारतमा सूर्यवंशको अथवा भारतको सत्ता स्थापित भयो । मान्नेहरुका लागि उनी भगवान होलान्, तर उनको अस्तित्व मुख्यतः राज्यसत्ताको अस्तित्वसँग गाँसिएको छ ।
  • भारतले नेपालको भूभागमाथि दावी छाड्नु पर्दछ र नेपालले पनि अप्रसांगिक बिषय उचाल्नु हुँदैन ।
  • बुद्धको जन्मस्थान, सीता, जनक इत्यादिमाथि हाम्रो अकाट्य दावी हो र त्यसलाई कसैले उछिन्न सक्दैन ।
  • हामीले राज्यसत्ताको प्रश्नलाई आवेश र उत्तेजनामा नभई तथ्यमा आधारित भई उठाउनु प्रासङ्गिक होला ।
  • हामीले नेपाली राज्यमाथिको दावी गोपालवंशीदेखि नै गर्नु पर्दछ । आफैं पृथ्वीनारायण शाहका पालादेखि मात्रै नेपालको उदय भएको हो भन्ने कुरा उच्च स्वरमा कराउने हो भने त्यो लुलो दावी मात्रै हुनसक्छ । अरुले ऐतिहासिक रुपमा नेपालको अस्तित्वमाथि प्रश्नचिन्ह उभ्याउन सक्छन् । नेपालको इतिहास केही सय बर्षको मात्र होइन, चार हजार बर्षदेखिको छ । इतिहासको यही निरन्तरता हाम्रो सवलता हुनुपर्छ ।

प्रकाशित : भाद्र ५, २०७७ १३:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?