तीजमा आचारसंहिता- विचार - कान्तिपुर समाचार

तीजमा आचारसंहिता

मनीषा थापा

क्यालेन्डर हेर्दाहेर्दै तीज आइपुगेको छ । महिलाविशेष पर्वका रूपमा सबैजसो क्षत्री–ब्राह्मण समुदायले तीज मनाउँछन् । तीजमा विवाहित छोरी माइत जान्छन् । छोरी आउँछे भनी आँखा झिमिक्क नगरी आमाले बाटो हेरिरहेका हुन्छन् । छोरी आए खुसी हुन्छन्, नआए दुःखी ।

माइत जान नसक्ने छोरीका लागि तीज उत्सवजस्तो हुन्न । रौनक क्षणभरमै हराउँछ । अरू बेला आफ्नै काममा व्यस्त हुने छोरीलाई माइत गएर रमाउने समय तीजले दिन्छ । विशेष गरी विवाहिता छोरीहरूमाझ यो पर्व लोकप्रिय छ ।

पछिल्लो समय क्षत्री–ब्राह्मण समुदायबाहिर पनि तीज पुगिरहेको छ । अन्य समुदायले पनि यो पर्व आफ्नै तरिकाले मनाउन थालेका छन् । तीजसँग हिन्दुहरूले मान्ने शिव र पार्वतीको पौराणिक कथा जोडिन्छ । कथाअनुसार, हिमालय पर्वतमा शिव बस्थे । उनलाई पार्वतीले मन पराउँथिन् । अर्का देवता विष्णुले पनि पार्वतीलाई मन पराउँदा रहेछन् । तर पार्वतीको रोजाइमा शिव थिए । यो कुरा विष्णुलाई थाहा थिएन । त्यसैले पार्वतीका पिता हिमालयसामु उनी पार्वतीसँगको बिहेको प्रस्ताव लिएर गए । हिमालयले विष्णुको प्रस्तावलाई स्विकारे । पार्वतीलाई भने यो कुरा चित्त बुझेको थिएन । बुबाको यस्तो चाहना थाहा पाएर पार्वती आफ्नी सखीसँग अज्ञातस्थल गइन् । विष्णुसँगको विवाहलाई छल्न लामो समय गुप्तवास बसिन् । गुप्तवासमा बस्दा उनले शिवलाई पाउने कामना गरिन् । शिवले उनको कामनालाई नकार्न सकेनन् । यसरी पार्वतीको शिवसँग विवाह गर्ने प्रतिज्ञा पूरा भयो । योबाहेक पनि तीजसम्बन्धी विभिन्न किंवदन्ती छन् ।

आजभोलि परिवारको सुख–शान्ति र समृद्धिका लागि तीज मनाइन्छ । लामो समयदेखि चलिआएको चलनलाई जीवन्त बनाउने अभिभारा हाम्रै हो । स्वतन्त्रतापूर्वक घरमै परिवारका सदस्यहरूसँग रमाइलो गर्ने, सखी अनि छरछिमेकी भेट्ने, परम्परागत गीत–सङ्गीतमा रमाउनेजस्ता गतिविधिमा सरिक हुने अवसर हो, तीज । तीजको अघिल्लो दिन दर खाने चलन छ । माइतमा वा माइत आउन नसकेकाहरू आआफ्नो बासस्थानमा रही मिष्टान्न खान्छन् । खानाभन्दा पनि जमघट र कुराकानी गर्ने वातावरण दर खाने दिनले बनाउँछ ।

तीजको दिन प्रायः महिलालाई हेर्दा लाग्छ, उनीहरू निकै स्वतन्त्र र निर्भीक छन् । हाँसोठट्टामा रमाइरहेका देखिन्छन् । तर यथार्थ त्यस्तो नहुन पनि सक्छ । काठमाडौंको पशुपतिनाथ–गुह्येश्वरी क्षेत्रमा यो दिन महिलाहरूको भीड हुन्छ । अर्को जुनीमा इन्द्रपुरीकी अप्सरा हुने आशामा भोक–प्यासै मन्दिर धाउने चलन ठीक होइन । तीजसँग जोडिएका मौलिक गीतहरू छन् । समूह–समूहमा त्यस्ता गीत गाउँदै महिलाले आफ्ना कथा–व्यथा व्यक्त गर्छन् । यो तीजको आकर्षण पनि हो । यस्ता दृश्य हामी सबैले देखेकै छौं । रोजगारी र पढाइका लागि संसारका विभिन्न स्थानमा नेपाली पुग्ने क्रम बढ्दो छ । नेपालीले जहाँजहाँ टेकेका छन् त्यहाँ तीज संस्कृति पनि पुगेको छ । यसले तीजलाई विश्वव्यापी बनाइरहेको छ । हामीले पशुपतिनाथ–गुह्येश्वरी क्षेत्रमा देखेका दृश्यहरू अब संसारभरि देख्न पाइन्छ । विदेशी भूमिमा परम्परागत नेपाली गानाबजाना, संस्कृतिको पहिचान दिने एक सशक्त माध्यमका रूपमा यो पर्व देखा परेको छ ।

पछिल्लो समय तिजमा थुप्रै विकृति–विसङ्गति देखा परेका छन् । आफ्नो आर्थिक अवस्थाले नथेग्ने गरी खर्च गरिन्छ । परिवर्तनका नाममा महिनौंअगाडिदेखि दर खाने भन्दै टोलटोलमा भोज हुन थालेको छ । अरूलाई देखाउनकै लागि महँगा गहना किनिन्छ, लगाइन्छ । पहिरनमा पनि निकै पैसा खर्च गरिन्छ । सकी–नसकी अरूलाई बोलाएर दर खुवाइन्छ । यस्तो तडकभडकलाई नियन्त्रण गर्न आचारसंहिताको आवश्यकता छ । अधिकांश नागरिक गरिबीमा पिल्सिएका छन् र यस्तो चाडबाडले तिनलाई आर्थिक रूपमा झन् कमजोर बनाउँछ ।

मौलिकतालाई कायम राख्दै तीजमा हुने गतिविधिलाई भड्किलो हुन दिनु हुन्न । घरेलु हिंसा, लैङ्गिक असमानताविरुद्ध आवाज उठाउँदै महिला सशक्तीकरणको माध्यमका रूपमा तीजलाई प्रयोग गर्न सकिन्छ । आडम्बर र विकृतिलाई प्रवेश गर्न दिए तीजको मौलिकता हराउँछ । र, यस्तो कार्य हाम्रो परम्पराविरुद्ध छ ।

manishanova@gmail.com

प्रकाशित : भाद्र ५, २०७७ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्

नारामा वैकल्पिक शक्ति, काममा यथास्थितिवादी

एकीकरण भएको चार महिना हुन लाग्दा पनि जनता समाजवादीमा अध्यक्षद्वयको भूमिका निर्धारण गरिएको छैन, केन्द्रीय कार्यकारिणी समितिमा जिम्मेवारी तोकिएको छैन, सांगठनिक गतिविधि ठप्प छन् ।
गृहकार्य नपुगेकाले केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट निर्णय गर्न सकिएन, अब सचिवालयले जिम्मेवारी टुंगो लगाउँछ । तयारी नभएर हो, विवाद भएर होइन । – राजेन्द्र महतो, वरिष्ठ नेता
कुलचन्द्र न्यौपाने

काठमाडौँ — वैकल्पिक राजनीतिक शक्ति बनाउने घोषणा गरिए पनि जनता समाजवादीले अहिलेसम्म नेताहरूकै जिम्मेवारी बाँडफाँटको टुंगो लगाउन सकेको छैन । जिम्मेवारी नपाउँदा नेताहरूले काम पाएका छैनन् ।

पार्टीको सांगठनिक गतिविधिसमेत ठप्प छ । पार्टीमा दुई अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवबाहेक अन्य नेताहरूको भूमिका खुम्चिएको छ ।

केन्द्रीय कार्यकारिणी समितिमा ५१ सदस्य छन् । उनीहरू पार्टी पदाधिकारी हुन् । पार्टी हाइकमान्डमा रहेकै नेताहरूको जिम्मेवारीको टुंगो लाग्न नसक्दा समायोजन र संगठनसम्बन्धी सबै काम अलपत्र छन् ।

‘नेताहरूकै जिम्मेवारी तोक्न नसक्दा जनता समाजवादीलाई वैकल्पिक राजनीतिक शक्ति बनाउने घोषणाप्रति आम नागरिकले पत्याउन छाडेका छन्,’ पार्टीका एक केन्द्रीय कार्यकारिणी समिति सदस्यले भने, ‘अहिलेसम्म पार्टीको संगठनसमेत खडा हुन सक्दैन भने कसरी वैकल्पिक शक्ति बनाउन सकिएला ?’

नेताहरूको पद तथा जिम्मेवारी बाँडफाँट टुंग्याउन केन्द्रीय कार्यकारिणी समितिको बैठक बसेको थियो । साउन २१–२४ सम्म बसेको बैठकले पदीय जिम्मेवारी तोक्न नसकेपछि पाँच सदस्यीय सचिवालय बनाएर त्यसैलाई जिम्मेवारी सुम्पिएको छ । सचिवालयमा अध्यक्षद्वय ठाकुर र यादवका अतिरिक्त वरिष्ठ नेताहरू अशोक राई, बाबुराम भट्टराई र राजेन्द्र महतो सदस्य छन् ।

सचिवालयका सदस्यहरूबीच अनौपचारिक संवाद चलिरहे पनि पदका लागि रस्साकसी चर्को छ । संसद्मा करिब बराबरी हैसियतमा रहेका तत्कालीन राजपा र समाजवादीले पार्टी एकीकरण समान हैसियतमा गर्ने समझदारी गरेका थिए । एकताको भावनाअनुसार पद तथा जिम्मेवारी बाँडफाँट गर्दा तत्कालीन समाजवादीको तुलनामा राजपाका नेताहरूको व्यवस्थापन मुख्य चुनौती बनेको छ ।

पार्टीको केन्द्रीय कार्यकारिणी समितिमा अहिले पूर्वराजपाबाट २६ र पूर्वसमाजवादीबाट २५ जनाको प्रतिनिधित्व छ । तत्कालीन समाजवादीमा पदाधिकारीको संख्या त्यति नै रहेकाले नेता व्यवस्थापन गर्न सहज छ । तर राजपा ६ अध्यक्षको चक्रीय प्रणालीमा पार्टी चलेकाले उनीहरूकै व्यवस्थापन कसरी गर्ने भन्नेमा अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतोलाई टाउको दुखाइ बनेको छ ।

तत्कालीन राजपाका अध्यक्ष मण्डलका सदस्यहरू महेन्द्र राय यादव, शरतसिंह भण्डारी, अनिल झा र राजकिशोर यादवले वरिष्ठ नेताकै भूमिका खोजेका छन् । अध्यक्ष यादवले राजपाका पाँच जनालाई नै वरिष्ठ नेता बनाउन नसकिने बताउँदै आएका छन् । राजपाका महतोसहित पाँच जना नेतालाई वरिष्ठ नेता दिँदा समाजवादीबाट पनि त्यति नै संख्यामा वरिष्ठ बनाउनुपर्ने हुन्छ । राजपाभित्रको यही लफडाले पनि केन्द्रीय कार्यकारिणी समितिले पद तथा जिम्मेवारीको टुंगो लगाउन नसकेको हो ।

अध्यक्ष यादवले तत्कालीन समाजवादी पार्टीमा रहेका पदाधिकारीअनुसार नै जिम्मेवारी तोक्न पूर्वराजपाका नेताहरूलाई सुझाएका छन् । तत्कालीन समाजवादीको २५ सदस्यीय पदाधिकारीमा दुई अध्यक्ष (केन्द्रीय कार्यकारिणी र संघीय परिषद्), एक वरिष्ठ नेता, एक सहअध्यक्ष, ८ उपाध्यक्ष, ३ महासचिव, ३ उपमहासचिव, ६ सचिव र १ कोषाध्यक्ष थिए । पार्टीका वरिष्ठ नेता महतोले सचिवालयबाट केही दिनभित्र पद तथा जिम्मेवारी बाँडफाँटको टुंगो लाग्ने दाबी गरे । ‘गृहकार्य नपुगेकाले केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट निर्णय गर्न सकिएन, अब सचिवालयले टुंगो लगाउँछ,’ उनले भने, ‘तयारी नभएर हो, विवाद भएर होइन ।’

वैशाख १० गते तत्कालीन राजपा र समाजवादीबीच एकीकरण भएको हो । एकीकरणले वैधानिक हैसियत पाएको एक महिना बितिसकेको छ । पार्टीले आगामी मंसिर मसान्तसम्म समायोजनका सबै काम सक्ने लक्ष्य लिएको छ । तर, नेताहरूकै व्यवस्थापनमै लामो समय अल्झिँदा तोकिएकै समयमा समायोजन सकिनेमा आशंका छ । महतोले कोरोना महामारीका कारण पनि समस्या आएको बताए । ‘संगठनका कुनै पनि गतिविधि गर्न सक्ने परिस्थिति छैन । सडकमा न जुलुस निकाल्न सक्ने अवस्था छ, न त सार्वजनिक रूपमा कुनै कार्यक्रम गर्न सकिन्छ,’ उनले भने, ‘यसैका कारण पनि जिम्मेवारी बाँडफाँट गर्ने काम प्रभावित भएको हो ।’

पार्टीको ७ सय ५१ सदस्यीय केन्द्रीय कार्यसमितिसमेत गठन हुन सकेको छैन । १ हजार १ सय सदस्य रहने संघीय परिषद्, १ सय ५१ सदस्यीय राजनीतिक समितिसमेत बन्न सकेको छैन । नेतृ रेणुकुमारी यादव पार्टीलाई चलायमान बनाउन संगठन निर्माण र समायोजन चाँडै सम्पन्न गर्नुपर्ने बताउँछिन् । कोरोना महामारीका कारण काममा सुस्तता आए पनि केन्द्रीय सचिवालयले नेताहरूको जिम्मेवारी बाँडफाँटको काम अब चाँडै टुंग्याउने उनले बताइन् । समाजवादीको तुलनामा राजपाको पार्टीको सांगठनिक संरचना व्यवस्थित नभएकाले पनि समायोजनमा कठिनाइ आएको उनको तर्क छ । ‘एक डेढ सातामै यो काम टुंगिन्छ,’ उनले भनिन्, ‘त्यसपछि अरू सांगठनिक निर्माण र समायोजनका काम अघि अघि बढ्छन् ।’

अहिलेसम्म अध्यक्षद्वय ठाकुर र यादवकै भूमिकाको परिभाषासमेत भएको छैन । पूर्वप्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता भट्टराईलाई संघीय परिषद्कै अध्यक्ष बनाउने तयारी सुरुदेखिकै छ । त्यसपछि वरिष्ठ नेता, सहअध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव, सहसचिव, कोषाध्यक्ष र सहकोषाध्यक्षमा क–कसलाई राख्ने भन्ने निर्णय लिनुपर्नेछ । केन्द्रीय कार्यकारिणी समितिका सदस्य केशव झाले एक/दुई दिनमै सचिवालय बैठक बस्ने र त्यसले सबै निर्णय गर्ने बताए । ‘पाँच जनाको सचिवालय बैठकले सांगठनिक सबै निर्णय गर्नेछ,’ उनले भने, ‘पार्टीको हितका लागि पनि लामो समय यसमा अल्झिन हुन्न भन्ने अनुभूति नेताहरूमा पनि भएको छ ।’

प्रकाशित : भाद्र ५, २०७७ ०८:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×