कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

तीजमा आचारसंहिता

मनीषा थापा

क्यालेन्डर हेर्दाहेर्दै तीज आइपुगेको छ । महिलाविशेष पर्वका रूपमा सबैजसो क्षत्री–ब्राह्मण समुदायले तीज मनाउँछन् । तीजमा विवाहित छोरी माइत जान्छन् । छोरी आउँछे भनी आँखा झिमिक्क नगरी आमाले बाटो हेरिरहेका हुन्छन् । छोरी आए खुसी हुन्छन्, नआए दुःखी ।

तीजमा आचारसंहिता

माइत जान नसक्ने छोरीका लागि तीज उत्सवजस्तो हुन्न । रौनक क्षणभरमै हराउँछ । अरू बेला आफ्नै काममा व्यस्त हुने छोरीलाई माइत गएर रमाउने समय तीजले दिन्छ । विशेष गरी विवाहिता छोरीहरूमाझ यो पर्व लोकप्रिय छ ।

पछिल्लो समय क्षत्री–ब्राह्मण समुदायबाहिर पनि तीज पुगिरहेको छ । अन्य समुदायले पनि यो पर्व आफ्नै तरिकाले मनाउन थालेका छन् । तीजसँग हिन्दुहरूले मान्ने शिव र पार्वतीको पौराणिक कथा जोडिन्छ । कथाअनुसार, हिमालय पर्वतमा शिव बस्थे । उनलाई पार्वतीले मन पराउँथिन् । अर्का देवता विष्णुले पनि पार्वतीलाई मन पराउँदा रहेछन् । तर पार्वतीको रोजाइमा शिव थिए । यो कुरा विष्णुलाई थाहा थिएन । त्यसैले पार्वतीका पिता हिमालयसामु उनी पार्वतीसँगको बिहेको प्रस्ताव लिएर गए । हिमालयले विष्णुको प्रस्तावलाई स्विकारे । पार्वतीलाई भने यो कुरा चित्त बुझेको थिएन । बुबाको यस्तो चाहना थाहा पाएर पार्वती आफ्नी सखीसँग अज्ञातस्थल गइन् । विष्णुसँगको विवाहलाई छल्न लामो समय गुप्तवास बसिन् । गुप्तवासमा बस्दा उनले शिवलाई पाउने कामना गरिन् । शिवले उनको कामनालाई नकार्न सकेनन् । यसरी पार्वतीको शिवसँग विवाह गर्ने प्रतिज्ञा पूरा भयो । योबाहेक पनि तीजसम्बन्धी विभिन्न किंवदन्ती छन् ।

आजभोलि परिवारको सुख–शान्ति र समृद्धिका लागि तीज मनाइन्छ । लामो समयदेखि चलिआएको चलनलाई जीवन्त बनाउने अभिभारा हाम्रै हो । स्वतन्त्रतापूर्वक घरमै परिवारका सदस्यहरूसँग रमाइलो गर्ने, सखी अनि छरछिमेकी भेट्ने, परम्परागत गीत–सङ्गीतमा रमाउनेजस्ता गतिविधिमा सरिक हुने अवसर हो, तीज । तीजको अघिल्लो दिन दर खाने चलन छ । माइतमा वा माइत आउन नसकेकाहरू आआफ्नो बासस्थानमा रही मिष्टान्न खान्छन् । खानाभन्दा पनि जमघट र कुराकानी गर्ने वातावरण दर खाने दिनले बनाउँछ ।

तीजको दिन प्रायः महिलालाई हेर्दा लाग्छ, उनीहरू निकै स्वतन्त्र र निर्भीक छन् । हाँसोठट्टामा रमाइरहेका देखिन्छन् । तर यथार्थ त्यस्तो नहुन पनि सक्छ । काठमाडौंको पशुपतिनाथ–गुह्येश्वरी क्षेत्रमा यो दिन महिलाहरूको भीड हुन्छ । अर्को जुनीमा इन्द्रपुरीकी अप्सरा हुने आशामा भोक–प्यासै मन्दिर धाउने चलन ठीक होइन । तीजसँग जोडिएका मौलिक गीतहरू छन् । समूह–समूहमा त्यस्ता गीत गाउँदै महिलाले आफ्ना कथा–व्यथा व्यक्त गर्छन् । यो तीजको आकर्षण पनि हो । यस्ता दृश्य हामी सबैले देखेकै छौं । रोजगारी र पढाइका लागि संसारका विभिन्न स्थानमा नेपाली पुग्ने क्रम बढ्दो छ । नेपालीले जहाँजहाँ टेकेका छन् त्यहाँ तीज संस्कृति पनि पुगेको छ । यसले तीजलाई विश्वव्यापी बनाइरहेको छ । हामीले पशुपतिनाथ–गुह्येश्वरी क्षेत्रमा देखेका दृश्यहरू अब संसारभरि देख्न पाइन्छ । विदेशी भूमिमा परम्परागत नेपाली गानाबजाना, संस्कृतिको पहिचान दिने एक सशक्त माध्यमका रूपमा यो पर्व देखा परेको छ ।

पछिल्लो समय तिजमा थुप्रै विकृति–विसङ्गति देखा परेका छन् । आफ्नो आर्थिक अवस्थाले नथेग्ने गरी खर्च गरिन्छ । परिवर्तनका नाममा महिनौंअगाडिदेखि दर खाने भन्दै टोलटोलमा भोज हुन थालेको छ । अरूलाई देखाउनकै लागि महँगा गहना किनिन्छ, लगाइन्छ । पहिरनमा पनि निकै पैसा खर्च गरिन्छ । सकी–नसकी अरूलाई बोलाएर दर खुवाइन्छ । यस्तो तडकभडकलाई नियन्त्रण गर्न आचारसंहिताको आवश्यकता छ । अधिकांश नागरिक गरिबीमा पिल्सिएका छन् र यस्तो चाडबाडले तिनलाई आर्थिक रूपमा झन् कमजोर बनाउँछ ।

मौलिकतालाई कायम राख्दै तीजमा हुने गतिविधिलाई भड्किलो हुन दिनु हुन्न । घरेलु हिंसा, लैङ्गिक असमानताविरुद्ध आवाज उठाउँदै महिला सशक्तीकरणको माध्यमका रूपमा तीजलाई प्रयोग गर्न सकिन्छ । आडम्बर र विकृतिलाई प्रवेश गर्न दिए तीजको मौलिकता हराउँछ । र, यस्तो कार्य हाम्रो परम्पराविरुद्ध छ ।

[email protected]

प्रकाशित : भाद्र ५, २०७७ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?