कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

आश्वस्तकारी वर्तमान !

व्यक्ति–व्यक्ति नितान्त आफ्नो ‘देह’प्रति मात्रै संवेदनशील हुँदै गर्दा कस्तो खाले सामाजिक सम्बन्धको व्याकरण निर्माण होला ? सामाजिक सम्बन्ध जोगिए पो समाज जोगिएला !
चन्द्रकिशोर

पटुका पसारी भीखि मांगेली बालकवा के माई

हमराके बालकवा के भीखी दी

मोरी दुलारी हो मईया, हमरा के बालकवा भीखी दी ।

आश्वस्तकारी वर्तमान !

अर्थात्, साडीको आँचल फैलाएर बालककी आमा प्रार्थना गर्दै छिन्, ‘ए माता, मेरो बालकलाई भिक्षा दिनुस् ।’ चेचक (बिफर) बच्चाहरूलाई बढी हुने भएकाले तिनको रक्षाका लागि गाइने प्रार्थनाका गीतहरू अधिक छन् । चेचकलाई ‘शीतला देवी’ नामले पुकारिन्छ । यो भन्न गाह्रो छ— शारीरिक गर्मीको प्रधानता रहने बिमारीलाई जनसामान्यले ‘शीतला’ नाम किन दिए होलान् ? कालान्तरमा यही शीतलालाई थप महत्त्व दिन ‘माई’ (माता) समेत भनेर गुहार्न थालियो । कतिपयले छोटी माता र बडी माताका सम्बोधनसमेत दिए । तिनलाई दैहिक ताप हरण गर्ने र शीतलता प्रदान गर्ने देवीका रूपमा हेरियो । अनेकौं बिमारीमध्ये सम्भवतः चेचक नै यस्तो हो जसलाई देवी वा माताका रूपमा पुजिन्छ ।

यस प्रकारको सांस्कृतिक प्रतिक्रिया त्यतिखेर देखिएको थियो जतिखेर विज्ञान आजको जस्तो शक्तिशाली थिएन । यसो पनि हुन सक्छ, महाव्याधिसँगै बाँच्ने जिजीविषामा तत्कालीन समाजले यस खालको सांस्कृतिक प्रतिक्रिया जनायो । दुनियाँमा विज्ञानको शक्ति बढेसँगै उसैमाथि मान्छेको निर्भरता बढ्दै आयो । जब समाजमा विज्ञान प्रभावकारी पक्ष भएर स्थापित हुन्छ तब मानिसहरूको प्रतिक्रिया भिन्न हुन्छ । समाजको नयाँ सांस्कृतिक प्रतिक्रियामा कर्मकाण्डभन्दा पनि राज्यमाथि आश गरिन्छ । कोरोनासामुन्ने यतिखेर विज्ञान कमजोरजस्तो देखिए पनि आखिर समाजको बहुसंख्यक हिस्साले विज्ञानकै मुख ताकिरहेको छ ।

सुरुआती चरणमा कोरोनालाई हामीतिर ‘कोरोना माई’ भनेर पुज्ने उपक्रमहरू भए । तर पार लागेन । महामारी जबजब आउँछ तबतब मानवजीवनमा ठूलो उथलपुथल ल्याउँछ । सुरुआतमा अन्धश्रद्धालाई लक्षणबिनाको संक्रमणले पनि मौका दियो, तर जब संक्रमित र मृत्युको गणित फेरिन थाल्यो तब पढालिखाका साथै निरक्षरहरूले पनि अन्ध अनुष्ठानबाट आफूलाई जोगाउन थाले । यसमा उत्तर भारतीय सांस्कृतिक प्रतिक्रियाको बाछिटा महसुस गरियो ।

महामारी मधेसतिर फैलिएपछि जताततै निषेधाज्ञा लागू गरिएको छ । ‘साइबर स्पेस’ यस्ता सांस्कृतिक अभिव्यक्तिका लागि वैकल्पिक थलो बन्दै आएको छ । फेसबुक लाइभ, जुम संगोष्ठी, गीतहरूका भिडियो, साहित्यिक सृजना साइबर स्पेसमा घुम्ती मार्दै छन् । चेचकका बेलाजस्तो भक्ति वा अन्धश्रद्धाका गीत लेखिनुभन्दा यतिखेर सरकारलाई गुहारिँदै छ । भोजपुरीमा गोपाल ठाकुरले लेखे— ‘सुन सरकार, तनि दे द रोजगार / सैयाँ घरहि रहिहेर अपन देशबा होई गुलजार ।’ अर्थात्, थातथलो छाडेर बाहिर कमाउन गएका आफन्तले महाव्याधिको चपेटामा परी भयानक दुःख भोग्नुपरेकाले मुलुकमै आजीविकाको प्रबन्ध गरिदेऊ । वीरगन्जका युवा अभियन्ता ओमप्रकाश सर्राफले ‘डिजिटल सत्याग्रह’ को अभियान थाले, जसमार्फत उनले सहरमा बढ्दो संक्रमणमाझ संघीय स्वास्थ्यमन्त्रीसमक्ष तत्काल केही गर्न भन्दै एसएमएस पठाउन लगाए ।

घरबाहिर निस्किन वर्जित मानिएको समयमा चारैतिर डिजिटल माध्यमहरू दबाब, असहमति, ध्यानाकर्षण, संवाद र समझदारीको साधन बने । सूचनाहरू यस्तै माध्यमहरूमार्फत भुइँतहबाट छचल्किन थाले ।निर्वाचित नेतृत्वले कानुनद्वारा निर्देशित शासन सञ्चालन गर्नुपर्ने हो । नेतृत्व चमत्कारी बन्न खोज्नु समयको विपरीत दिशामा जानु हो । यो महामारीमा सरकारी तौरतरिका एक दुःखद आख्यान बनेर प्रकट भयो । वैधानिक नेतृत्व जब चमत्कारी नेतृत्व बन्ने रहर पाल्छ, त्यतिखेर यस्तै शोकान्तिका कोरिन्छ । हामी धेरै कुरा गर्न सक्थ्यौं/सक्छौं तर गरेनौं र गरिरहेका छैनौं । संक्रमणको पाठलाई सुषुप्त राख्यौं र कमजोर रहन दियौं । सरकारले गर्न सक्ने र गरेको कामबीच ठूलो अन्तर रह्यो । यस्तो खाडल कसरी भयो ?

यसले सामाजिक मनोविज्ञानमा कस्तो प्रभाव पार्दै लगिरहेको छ ? थोत्रिएका सरकारी संयत्रहरू कामै नलाग्ने बनाइए कि कुहिएका राजनीतिक संगठनहरूले सरकारी संयन्त्रलाई तान्न सकिरहेका छैनन् ? संयन्त्र, संरचना र साधनबारे राजनीतिक नेतृत्वको दृष्टिकोणमा खाडल छ भन्ने उजागर हुँदै गर्दा भुइँतहमा सामञ्जस्य कायम कसरी गर्ने ? महामारी व्यवस्थापन गर्ने ढोल पिट्दै हुँदाखाँदाको वास्तविक लोकतन्त्र मास्ने काम हुँदै छ । रामको नाम लिँदै, राष्ट्रियताको झन्डा उठाउँदै नागरिक अधिकार कुल्चिने काम भइरहँदा भुइँमान्छेमाथि कस्तो मनोवैज्ञानिक दबाबको अवस्था परिरहेको होला ? यस्तो उकुसमुकुसको सहज अभिव्यक्ति डिजिटल माध्यमबाट मात्र सम्भव छ वा सबैबाट ?

अन्यत्रजस्तै नेपालमा महामारीबाट जोगिने लडाइँ लडिँदै छ । यहाँका बहुसंख्यक जनतासँग दमदार र उपयुक्त साधन–संसाधन छैन । के धनी के विपन्न, कोरोना प्रकोपको सामुन्ने सबै निरीह र हताश देखिँदै छन् । जोसँग पैसा छ, संसाधनमा पहुँच छ, तिनीहरू पनि चपेटामा छन् । कुनै पनि व्यवस्थामा आफ्ना लागि अनुकूलताको प्रबन्ध गर्न खप्पिस तप्काहरूले समेत यो महाव्याधिलाई छल्न सकेका छैनन् । जुन वर्गलाई पर्यावरण र प्रकृतिको भन्दा आफ्नो वैभवको भोक अधिक छ, जो दोहनका लागि राजनीतिक मिलेमतोमा जस्तोसुकै दादागिरी गर्न पन्छिँदैनथे, तिनीहरूको समेत होस उडेको छ । जल, जंगल र जमिनको दोहन गर्दै एक मात्र लक्ष्य ‘लुट फस्ट’ राख्नेहरू यतिखेर बेचैन देखिएका छन् । के तिनलाई केही आत्मबोध भएको छ त ?

गरिबी भन्नेबित्तिकै सबैको ध्यान दूरदराजका गाउँतिर मात्र जाने भएकाले कोरोनाकालमा सहरतिर बढ्दो गरिबीमा कमै नजर परेको छ । सहरमा सामाजिक एकता र सुरक्षा भावना कम हुनाले पनि गरिबहरू बढी समस्यामा छन् । उता गाउँतिर सुरुमा जो बाहिरबाट आए तिनीहरूले थातथलोमा रोजगारी पाएनन् । हिँडेर फर्किंदाको थकान मेटिएकै थिएन, क्वारेन्टिनबाट घरफिर्ती मात्रै के भएको थियो, फेरि उनीहरू रोटीको खोजीमा बाहिरिए ।

सरकारले भनेको कागजमा मात्रै देखियो । महामारीको महाआतंकमाझ बाहिर कमाउन हिँडेका पुरुषका पत्नीहरू यस्ता भावप्रवण भाका सुसाउँछन्, ‘रेलिया न बैरी, जहजिया न बैरी, पिसवा बैरी ना ।’ अर्थात्, पैसा नै शत्रु हो जसले गर्दा मेरा मान्छे फेरि फर्किएर गए । संक्रमणको निहुँमा असहाय तप्कालाई त्यसको प्रथम वाहक भन्ने भाष्य रचिँदै छ । गाउँबाट सहरफिर्ती हुनेहरू फेरि निसाना बनाइएका छन् । उता, अधुरो सूचनाका कारण संक्रमण वा त्यसबाट हुने मृत्युले भन्दा पनि भयले गाउँसमाजलाई गाँज्दै

छ । कतै मृत्यु हुनेको दाहसंस्कारमा अवरोध त कतै क्वारेन्टिन अवधि गुजारेर फर्किंदासमेत घर छिर्न बन्देजका परिदृश्य देखिएका छन् । व्यक्ति–व्यक्ति नितान्त आफ्नो ‘देह’ प्रति मात्रै संवेदनशील हुँदै गर्दा यसले कस्तो खाले सामाजिक सम्बन्धको व्याकरण निर्माण गर्दै छ ? सामाजिक सम्बन्ध जोगिए पो समाज जोगिएला ! आफन्तको मद्दतका लागि स्वयं उपस्थित हुन नसक्ने अवस्थामा उत्पन्न पारिवारिक मानसले आगतमा कस्तो स्वरूप लेला ?

मानवीय देहलाई बायोलजिकल देहमा अवमूल्यित गर्दै जाँदा मानवीय संवेदनाको स्थान कहाँ होला ? वर्तमान आश्वस्तकारी छैन भने के निकट आगत यसैको निरन्तरता हुनेछ ? कोरोनाकालले नेपाली समाजको जीवनशैलीमा केकस्ता दीर्घकालीन प्रभाव पार्ला, अहिले नै अभिरेखांकित गर्न कठिन छ । तर यति भन्न सकिन्छ, कोरोनाको मानसप्रसवले पक्कै भिन्न गति देला । विश्व, छिमेकी र नेपाल वा गाउँ, सहर र संघीय राजधानीलाई कसरी जोडेर हेर्ने वा आआफ्नै कुवामा डुबल्की मारिरहने ?

राजनीतिशास्त्री हरि शर्माले ट्वीटमार्फत गरेको चिन्ता त्यस्तै छ, ‘महामारीको समय— बहुआयामी भय, अस्थिर र शिथिल मन, आफ्नो र परिवारका साथै सबै इष्टमित्रको चिन्ता, कति दिन यसरी बस्ने होला ? चार महिना अलमलमै बित्यो । अहिले त दैलोमा आइपुगेको छ । कसले बाटो देखाउने होला ? सामूहिक ऊर्जा र ऐक्यबद्धताको निर्माण कसरी सम्भव होला र हामी यस महामारीबाट उम्कन सकौंला ?’

प्रकाशित : भाद्र ४, २०७७ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?