२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

विकल्पको भ्रम

जनता विकल्प खोजिरहेका छन्, विकल्पको भ्रम होइन । जनता स्याउ खोजिरहेका छन्, स्याउको चित्र होइन ।
बसन्त बस्नेत

विकल्पको बहसमा बित्यो अघिल्लो सोमबार । बिहान कृषिमन्त्री घनश्याम भुसाल नेकपा विवाद निप्ट्याउने विकल्पहरूसहित कान्तिपुरको एक पानाभरि उपस्थित थिए । त्यसै साँझ कांग्रेस महामन्त्री शशांक कोइरालाले आफ्नो पार्टीभित्र विकल्प चाहिएको भन्दै ‘फायर साइड’ मार्फत अर्को आयाम थपे । मध्यराति ट्विट गर्दै त्यो बहस टुंग्याइदिए, जसपा नेता बाबुराम भट्टराईले ।

विकल्पको भ्रम

पहिले बिहानीको कुरा । भुसालले आफ्नो लेखमार्फत शक्तिशाली कम्युनिस्ट जनाधार गुम्न नदिन के गर्ने, त्यसका विकल्पहरू पेस गरेथे । नेकपाको आन्तरिक विवादबारे विगतमा मुखर रहँदै आएका भुसालमाथि मन्त्री भएपछि बोल्नै छाडेको आरोप लाग्दै आएको थियो । युवा बुद्धिजीवी रामचन्द्र श्रेष्ठले भुसालको वैचारिकता र नेकपाको राजनीतिक ध्येयबीच नमिल्दो संगतिबारे केही साताअघि यसै पत्रिकामा प्रश्न उठाएका थिए । सम्भवतः त्यसलाई समेत जवाफ हुने गरी, अनि दुई अध्यक्षबीच ‘राष्ट्रिय सहमति’ जुटाउने सूत्र फेला पार्ने गरी भुसाल उपस्थित थिए । यसअघि उनले ‘किन मर्छन् कम्युनिस्ट पार्टीहरू’ र ‘कसरी बाँच्छ कम्युनिस्ट पार्टी’ शीर्षकमा दुई लामा लेखहरू लेखिसकेको प्रसंग धेरैलाई हेक्का होला । तत्कालीन एमालेको सातौं–आठौं महाधिवेशनदेखि नै उठाउँदै आएका मतहरूलाई भुसालले बहसका रूपमा अगाडि बढाउन खोजेको, यो लेख त्यसैको निरन्तरताका रूपमा आएको देखिन्छ ।

तर भुसालले कोरेको विकल्पको मार्गचित्र भने कस्तो दुर्गम ! उनी भन्छन्, ‘दुई अध्यक्षहरू बैठकसमेत बस्न नसकेर एकअर्कालाई दुत्कार्दै छन् । यिनको बाटो स्पष्ट छ ः एकअर्कालाई नंग्याउने र अन्ततः सबै नांगिने ।’ विधि नहुँदाको समस्या भनेर उनले यसलाई अर्थ्याएका छन् । तर त्यो त पार्टी एकता भएयता मात्रै नभएको होइन, पहिले पनि थिएन । अरू दलभन्दा विधिमा चल्ने भनिएको एमालेलाई केपी शर्मा ओलीले पछिल्ला वर्षहरूमा आफ्नो अह्रनखटनमा हाँक्न थालेका थिए । पार्टीभित्रको ‘जनवाद’ त्यसै बेला भताभुंग भइसकेको थियो । तर केही दिनअघि भूषण दाहाललाई अन्तर्वार्ता दिँदै ओलीले आफू अध्यक्ष भएयता राजनीति आफ्नो वरिपरि केन्द्रित हुन पुगेको पो उद्घोष गरिदिए । फेरि एकचोटि प्रस्ट भयो, भुसालहरूले जस्तोसुकै विधिका कुरा गरे पनि ओली त्यसलाई ‘बाल दिनेवाला’ छैनन् ।

ओलीको आत्मबल निःसन्देह सिक्नलायक छ, तर त्यसले सरकार प्रमुखको गरिमा बढाउँदैन । उनले त्यस अन्तर्वार्तामा दिएका औषधि खरिददेखि अयोध्या प्रकरणसम्मका एक–एक जवाफले भन्छन्, उनको कार्यशैली सुध्रिने गुन्जायस छैन । नेकपा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले यो पंक्तिकारसँग भने, ‘हाम्रो सम्पूर्ण प्रयास व्यक्ति (ओली) लाई सुधार्नमा खर्च भयो । अब व्यक्तिको सुधार होइन, व्यक्तिको परिवर्तन हाम्रो एजेन्डा ।’ श्रेष्ठले दृढतापूर्वक भन्न त भने, तर त्यो सजिलो देखिँदैन । किनभने ओली आफैंले नेकपा सचिवालयमा घोषणा गरिसके, ‘मलाई हटाउन खोजिए कुर्सी नै फोडिदिन्छु ।’ यहीँबाट बुझिन्छ, संस्थाको अविच्छिन्न विरासतप्रति त्यसका प्रमुख उत्तरदायी छैनन् । यसर्थ भुसालदेखि श्रेष्ठसम्मका वैकल्पिक ‘प्रेस्क्रिप्सन’ हरू कामयाब नहुने खतरा छ । प्रचण्डले थापागाउँ बैठकमा निकटस्थहरूसँग शुक्रबार ओलीको मनोदशाबारे ‘ब्रिफिङ’ गरिसकेका छन् ।

तर प्रचण्ड आफैं पनि पानीमाथि छैनन् । उनी त्यस्तो पार्टीमा तीन दशक नेतृत्व गरेर आए, जहाँ ओलीको जस्तै व्यक्तिकेन्द्रित हाइहुकुम चल्ने गर्थ्यो । प्रचण्ड परिवर्तनका एजेन्डाहरू अघि सार्दै तत्कालीन वैकल्पिक राजनीतिको केन्द्रमा आएको इतिहास कसैले उपेक्षा गर्न नसक्ला, तर नेतृत्वको अपारदर्शिताले सीमा नाघ्दा पार्टीका कमरेडहरूले नै पचाउन सकेनन् । जुन सहकर्मीहरू प्रचण्डमा ‘चामत्कारिक नेतृत्व र गतिशीलता’ रहेको भन्दै वर्षौंदेखि व्यक्तिपूजाको गजुर ठड्याइरहेका थिए, अन्ततः तिनैले उनलाई एक–एक छाड्दै हिँड्ने परिस्थिति निर्माण भयो । बाबुराम भट्टराई, मोहन वैद्य, नेत्रविक्रम चन्द आदि त्यसका दृष्टान्त हुन् । उनलाई छाडेर हिँडेका रामबहादुर थापा केही वर्षपछि फर्केर त आए, तर विश्वासको सम्बन्ध छैन । यति हुँदाहुँदै प्रचण्ड भन्दै छन्, आजको नेकपा विवाद पदका लागि नभएर विधिका लागि हो । जबकि प्रत्येकलाई थाहा छ, नेकपाका दुई पाइलटबीच नमिलेको कुरोको चुरो कुर्सीमै छ ।

यो भयो पार्टीभित्रका सत्ता–प्रतिपक्षीको कुरो । अब एकफेर साँच्चिकै प्रतिपक्षको कुरा गरौं । दुर्भाग्य, हामी जसलाई प्रतिपक्ष भनेर चिन्दै आयौं, त्यो ‘प्रतिपक्ष’ नै रहेनछ, बरु सारमा अझै बढी सत्तापक्ष । सभापति शेरबहादुर देउवाको कुरो यहाँ के गरिबस्नु ? आगामी सभापतिका लागि खुलेरै देखिन थालेका महामन्त्री शशांकको प्रसंगचाहिँ रोचक हुन सक्छ । किनभने हिजोआज उनीसमेत राजनीतिक विकल्पको बहस गर्न थालेका छन् । उनको राम्रो बानी के छ भने, आफ्नो सप्पै कुरो नलुकाई भन्दिने । तर त्यो लुकाउन नजानेर होइन, लुकाउन नसकेर हो । बीपीपुत्र भएको हुँदा अबको निर्विकल्प नेता आफू हुन पाउनुपर्ने उनको दाबी छ । यो ‘वंशजको सहुलियत’ लाई उनले ‘बाध्यता’ का रूपमा चित्रित गर्न खोजेका छन् । महामन्त्री भएपछि सिन्को नभाँचेर के भो त ? आफ्ना अकर्मण्यताबारे उनी बोलिरहन आवश्यक ठान्दैनन् । बरु शेखर कोइरालाले चलाइरहेको जिल्ला दौडाहालाई ‘लावालस्कर’ भन्दै कटाक्ष गर्छन् । फायर साइडमा उनले किञ्चित् अप्ठेरो नमानी त्यसै गरे । न संसद्मा, न सडकमा, न पार्टीमा, न निर्वाचन क्षेत्रमा — शशांक कहीँ छैनन् । यसर्थ कांग्रेसको आजको बिजोग देउवाको मात्रै एक्लो असफलता होइन । शशांक त्यसका साझा भागीदार छन् । त्यसैले हुनुपर्छ, कार्यक्रम सकिएपछि प्रस्तोतालाई ‘ट्याग’ गर्दै नवलपरासीका धेरैले लेखे, ‘मेरो निर्वाचन क्षेत्रका सांसद धेरै समयदेखि हराइरहनुभएको थियो । खोजेर ल्याइदिएकामा रूपेश श्रेष्ठजीलाई धन्यवाद ।’

शशांकले अर्को कुरा पनि लुकाएनन् । उनी धर्मनिरपेक्षताबारे जनमतसंग्रह चाहन्छन् । आफू धार्मिक स्वतन्त्रताको पक्षपाती भन्दै गरे पनि त्यो जनमतसंग्रह गरिए हिन्दुराष्ट्रले पूर्ण बहुमतसाथ जित्नेमा उनी पूर्ण विश्वस्त छन् । उनले त्यसैलाई आजको राजनीतिक विकल्प ठानिरहेका छन् । २०१२ सालको चर्चित वीरगन्ज महाधिवेशनबाट कांग्रेसले धर्मनिरपेक्षतालाई अनुमोदन गर्‍यो । त्यसका अगुवा उनका पिता बीपी थिए । बीपीलाई ज्ञान नभएको होइन, नेपालीहरूको बहुसंख्या हिन्दु छ, तर धर्मनिरपेक्षता

कुनै पनि लोकतन्त्रको आधारभूत सर्तमध्ये एक हो । उनै बीपीलाई गोलघरमा थुन्ने राजाले नेपाललाई पछि मात्रै हिन्दुराष्ट्र घोषणा गरेका थिए । तर शशांकलाई छुः मतलब ! प्रस्तोता रूपेश दोहोर्‍याई–दोहोर्‍याई सोधिरहन्छन्, तपाईं नेतृत्वमा आउनुभयो भने योजना कार्यक्रम के हुन्छ ? शशांक भावशून्य देखिन्छन् । ‘पहिले जितौं न, कार्यक्रम त साथीहरूले बनाइहाल्छन्’ भन्ने किसिमको टालटुले, गैरजिम्मेवार जवाफ दिन्छन् । उनले अघि सारेको ‘विकल्प’ शब्दसँग स्वयं विकल्प डराउँछ ।

अनि पालो आउँछ, बाबुराम भट्टराईको । त्यसै राति एघार बजे उनले गरेको ट्वीट यस्तो छ, ‘मन्त्री भुसालले नेकपा बचाउन सिफारिस गरेको औषधि चौथो चरणको क्यान्सर रोगीलाई सिटामोल सिफारिस गरेजस्तो लाग्यो । सिकिस्त नेकपा सिंगो बचाउने प्रयत्न गर्नु सट्टा सद्दे अंगहरूलाई बेलैमा दान गरेर वैकल्पिक शक्ति निर्माणमा योगदान गर्नु श्रेयस्कर होला । नयाँ समाजवादी ध्रुवीकरण पो ठीक ।’ २०७४ असोज १७ गतेको वाम गठबन्धन ऐजन कायम रहेको भए भट्टराई यति बेला सायद नेकपाका एक शीर्षस्थ नेता हुने थिए । गोरखाको चुनावमा उनलाई मत माग्न गगन थापा होइन, सायद उनै भुसाल पुग्न सक्थे । तर बीचैमा समझदारी भत्किन जाँदा भट्टराईले सूर्य चिह्नबाट चुनाव लड्न मिलेन । त्यस पृष्ठभूमिलाई एक छिन बिर्सिदिने हो भने पनि भुसालको लेखबारे भट्टराईका टिप्पणीमाथि प्रशस्तै छलफल गर्ने आधार छन् । कुरा रह्यो, उनले ट्वीटमा लेखेको ‘वैकल्पिक शक्ति’ र ‘समाजवादी ध्रुवीकरण’ को । नयाँ शक्ति निर्माणदेखि ओली–प्रचण्डसँग पार्टी एकतासमेतको लक्ष्यसहित चुनावी गठबन्धनसम्म आइपुग्दा भट्टराईको ‘वैकल्पिक शक्ति’ निर्माण यात्राले फन्को पूरा गरेको छ । त्यो प्रयास असफल भइसकेको उनले आफ्नै व्यवहारहरूबाट पुष्टि गरिसकेका छन् । प्रचारमा आएको ‘समाजवादी ध्रुवीकरण’ चाहिँ भट्टराईको वर्तमानको बाध्यता हो, किनभने पार्टीको नामै जनता समाजवादी पार्टी (जसपा) छ । ती नेतालाई धन्यवाद दिए हुन्छ, जसले ‘१८ घण्टा खटेर’ रातारात ल्याएको दल फुटाउ अध्यादेशमार्फत खास वैचारिक आधार नभएका क्षेत्रीय पार्टीसमेत मिलाएर तेस्रो शक्ति जसपा बन्न सघाए । प्रधानमन्त्रीले कोरोना संकटकालका बेला गरेको एउटा ‘ठोस काम’ जसपाको एकीकरण पनि हो ।

फेरि भट्टराईको समाजवादी ध्रुवीकरणमै आऔं । ओलीले अपहरण गर्न सफल नभएको भए यति बेला ‘समृद्धि’ को ब्रान्ड लोगो भट्टराईसँग हुने थियो । किनभने माओवादी छाडेर नयाँ शक्ति जाँदाखेरि उनको प्रत्येक घोषणापत्र, राजनीतिक प्रतिवेदन अनि भाषण, अन्तर्वार्तामा समृद्धिको टन्नै वाचा छ । भट्टराईले आर्थिक समृद्धिको खाकासहित दस्तावेज अघि सार्दा सायद बाँकी पार्टी र नेताहरूले यसबारे राम्रोसँग सोच्न पनि पाएका थिएनन् । तर याद गरौं, भट्टराईको ‘समृद्धि’ ओलीको भन्दा आधारभूत रूपमा भिन्न होइन । भलै उनले त्यसलाई ‘समानुपातिक प्रतिनिधित्व र समतामूलक समाजवाद’ जनित शब्द–गुम्फनमार्फत पृथक् देखाउन बल नगरेका होइनन् । मेरी डेसेन, पीताम्बर शर्मालगायतले त्यसैलाई देखाएर भट्टराईको आलोचना गरेका पनि थिए ।

पक्कै पनि भट्टराईसँग वैकल्पिक शक्ति निर्माणमार्फत समृद्धि, समाजवादको गन्तव्यबारे तुलनात्मक प्रस्ट बुझाइहरू हुन सक्छन् । उनी यसै पनि अध्ययन गर्न रुचाउने थोरै नेतामध्ये पर्छन् । तर यात्रा त्यसको उल्टो छ । जसपाभित्र उनीसहित नेताहरूको वरीयता ‘इगो’ ले बैठकसम्म बस्न नसकिरहेका दृष्टान्त, अनि लगभग असमाधेयजस्तै देखिएको छरपस्ट कचिंगल हेर्दा नेकपा या कांग्रेसभन्दा जसपा किञ्चित् भिन्न देखिन्न । न त सिद्धान्त, संगठन र राजनीतिक कार्यक्रमबाट यो वैकल्पिक समाजवादी पार्टी बन्न सक्ने छाँट देखिन्छ ।

यसर्थ अघिल्लो सोमबारको दिन यी तीन नेताहरूले अलग–अलग जमिनमा उभिएर, अलग–अलग भाषामा बोले पनि कतै त्यो सारमा एउटै कुरा त थिएन ? जनता विकल्प खोजिरहेका छन्, विकल्पको भ्रम होइन । जनता स्याउ खोजिरहेका छन्, स्याउको चित्र होइन ।

ट्विटर : @basantabasnet

प्रकाशित : भाद्र २, २०७७ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?