पुस्तकालय चेतना र संस्कृति- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पुस्तकालय चेतना र संस्कृति

जतिपटक आन्दोलन गरे पनि, जतिवटा सरकार र व्यवस्था पल्टाए पनि नेपालको राजनीतिक चेतना र संस्कृति शून्य लाग्छ मलाई । जमलमा पुस्तकालय बन्न नदिनु, नचाहनु यसको दृष्टान्त हो, प्रतिनिधि घटना हो । तर हाम्रो चेतनाको पृष्ठभूमि यति शून्य त छैन नि !
कृष्ण खनाल

काठमाडौँ — प्राध्यापकहरूको एउटा समूह प्रायः साँझ काठमाडौंको जमलस्थित मण्डला पुस्तक पसलमा हुन्छ । त्यहीँ भेटिन्छन् लोकराज बराल, अभि सुवेदी, विश्वम्भर प्याकुर्‍यालसहित पछिल्लो पुस्ताका विनय कुसियत, उद्धव प्याकुरेलहरू पनि । कहिलेकाहीँ म पनि सामेल हुन्छु, प्राज्ञिक न्यास्रो मेट्न ।

पुस्तकपसल पहिले त्रिभुवन विश्वविद्यायल (त्रिवि) को परीक्षा नियन्त्रण कार्यालय, जनप्रशासन क्याम्पस रहेको हाता (कम्पाउन्ड) सँगै जोडिएको छ । खण्डहरजस्तो देखिने अत्यन्त जीर्ण भवनमा बडो जोखिम मोलेर लामो समयसम्म ती कार्यालय/क्याम्पस चलेका थिए । ती दुवै आआफ्नो नयाँ भवनमा सरेको पनि दशकौं भइसक्यो । कुनै बेला त्रिविले त्यो ठाउँलाई सपिङ कम्प्लेक्स बनाएर भाडा खाने योजना पनि बनाएको थियो । तर, सरकारले जग्गाको स्वामित्व हस्तान्तरण नगरेको हुँदा रोकियो । जानेर वा नजानेर सरकारको त्यो काम उचित ठहरिन पुगेको थियो । शैक्षिक धरोहरका रूपमा चिनिने ठाउँलाई बजारको उपभोग्य एवं विनिमेय वस्तु बनाउने विश्वविद्यालयको त्यो सोच भवितव्यले रोकिएको थियो । त्यसपछि त्रिविले पनि त्यसको न कहिल्यै दाबी गर्‍यो, न शैक्षिक उपयोगको कुनै निश्चित योजना बनाउन ध्यान नै दियो ।

जमलको त्यो कम्पाउन्डमा राष्ट्रिय पुस्तकालय निर्माणस्थल भनेर लेखेको बोर्ड देखेपछि मन निकै प्रफुल्लित भएको थियो, उपयुक्त ठाउँमा एउटा राम्रो काम हुन लागेछ भनेर । लकडाउनले जमलमा हाम्रो भेटघाट बिथोलिएको छ । यसैबीच कान्तिपुर दैनिकको एउटा समाचार देखेर मन दुःखित भयो । त्यहाँ पुस्तकालय नबन्ने भएछ, पुस्तकका द्रोहीहरूको आँखा परेछ । सरकारका प्रियपात्र कारोबारीहरूको दाँत गडेछ । द्रव्यपिशाचहरूका लागि काठमाडौंको मुटुमा भेटिएको आठ रोपनी जग्गामा किन चाहियो पुस्तकालय ? सरकारले उनीहरूकै पछि लागेर त्यहाँ पुस्तकालय बनाउने काममा रोक लगाएछ ।

यो समाचारले मजस्ता धेरैलाई दुःखी बनायो । अघिल्लो शनिबार कान्तिपुरमा अभि सुवेदीले त्रिचन्द्र विनिर्माणको हल्लासँगै जमलको त्यो जग्गामा राष्ट्रिय पुस्तकालय नबन्ने पीडा व्यक्त गरे । त्यस्तै शरच्चन्द्र वस्तीले भ्यु टावरको ठेकेदारीबाट टन्न कमाउन पल्केकाहरूका लागि किन चाहिन्छ पुस्तकालय भनेर चोटिलो व्यंग्य हाने । पुस्तकालय अभियन्ता मित्र मुरारीविनोद पोखरेलले त्यसको भित्री कथा सुनाएपछि मन झन् उद्वेलित भयो । प्रायः सञ्चारमाध्यमले यो कुरामा चासो व्यक्त गरेका छन्, नागरिकका अभिमत व्यक्त भएका छन् । तर कसलाई के मतलब, जहाँ पुस्तकालयको न चेतना छ, न त संस्कृति नै !

जतिपटक आन्दोलन गरे पनि, जतिवटा सरकार र व्यवस्था पल्टाए पनि नेपालको राजनीतिक चेतना र संस्कृति शून्य लाग्छ मलाई । जमलमा पुस्तकालय बन्न नदिनु, नचाहनु यसको दृष्टान्त हो, प्रतिनिधि घटना हो । तर हाम्रो चेतनाको पृष्ठभूमि यति शून्य त छैन नि ! शिक्षित र ज्ञानी व्यक्तिहरूले घरमै पुस्तकहरूको संग्रह गर्ने गर्थे । त्यो परम्परा अहिले पनि छ । कतिपय तिनै निजी संग्रहालयले पछि पुस्तकालयको रूप लिएका छन् । सरकारले आफ्नो नियन्त्रणमा राखेको राष्ट्रिय पुस्तकालय निजी संग्रहको जगमै खडा भएको हो । राणाशासनका विरुद्ध चेतनाको पहिलो हाँक पुस्तक र पुस्तकालयले नै दिएका हुन् । मकै पर्व, लाइब्रेरी पर्व नेपाली चेतनाको प्रारम्भिक सन्देश प्रवाह थिए । यिनलाई झिकिदिने हो भने नेपालको जनआन्दोलनको इतिहास, खास गरी २००७ सालको क्रान्ति खण्डित हुन्छ । काठमाडौंबाहिर तानसेनको धवल पुस्तकालय पनि त्यत्तिकै पुरानो हो । क्रान्ति चेतना बोकेका पुस्तकालय कुनै बेला सामाजिक–शैक्षिक जागरणको सूत्रधारसमेत थिए ।

पुस्तकालय, वाचनालयहरू आधुनिक समयका शैक्षिक प्रतिष्ठान, टोल/छिमेक, बस्ती, समुदायका अभिन्न अंग हुन् । पठन संस्कृतिका आधारस्तम्भ हुन् । नेपालमा पुस्तकालय हुँदै नभएका होइनन् । पन्ध्र–बीस हजारभन्दा बढी छन् भन्छन् जानकारहरू । ठाउँअनुसार तिनको उपयोग पनि भइरहेको छ । केही सार्वजनिक पुस्तकालय पनि छन् । विश्वविद्यालय, कलेज/स्कुलका लागि यी अनिवार्य संरचना हुन् । पुस्तकका केही र्‍याक राजनीतिक पार्टीका पनि होलान् । शोभाका लागि पुस्तक देखाउने रहर र चलन व्यक्ति, संस्था सबैको देखिन्छ । नेपालमा पुस्तक प्रकाशनको क्रम हेर्दा पठन संस्कृति बढेको छ भन्न सकिन्छ । तर भनेजस्तो सार्वजनिक पुस्तकालय पाइँदैन ।

आजको समयानुकूल पुस्तकालय भन्न सुहाउने कुनै पुस्तकालय नेपालमा छ जस्तो मलाई लाग्दैन । मेरा लागि त्रिविको केन्द्रीय पुस्तकालय सबैभन्दा ठूलो थियो जहाँ मैले विश्वविद्यालयमा छँदा सबैभन्दा बढी समय बिताएको छु । तर खोजेको पुस्तक, सामग्री पाउनै मुस्किल । पढ्नभन्दा पनि आफूले चाहेको सामग्री खोज्न बढी समय बित्यो होला । बाहिरका नयाँ प्रकाशनहरू त देख्नसम्म पाइन्नथ्यो । कहिलेकाहीँ लाग्थ्यो, व्यर्थमा मेरो समय बितिरहेछ । तैपनि त्यो हाम्रा लागि ठूलो पुस्तकालय थियो । मेरो विषयगत ज्ञानलाई त्यसैले अलि फराकिलो बनाएको हो ।

म विद्यार्थी छँदा र पढाउन थाल्दा अमेरिकन लाइब्रेरी, ब्रिटिस लाइब्रेरी र इन्डियन लाइब्रेरी पनि चर्चित थिए् । अमेरिकन लाइब्रेरी नयाँसडकमा छँदा चहलपहलको केन्द्र थियो । धेरै मानिसको घुइँचो हुन्थ्यो । कतिपय मानिस एयरकन्डिसनको मजा लिएर घण्टौं बसिदिन्थे । अमेरिकी राष्ट्रपतिको चुनावका बेला त्यहाँको रौनक अरू बढ्थ्यो । उम्मेदवारहरूको चुनावी बहस हेर्नेहरूको भीड लाग्थ्यो । ज्ञानेश्वरमा सरेर सुरक्षा व्यवस्था कडिकडाउ भएपछि त्यसलाई सार्वजनिक पुस्तकालय भन्न मिलेन । नेपाल–भारत सांस्कृतिक केन्द्रको पुस्तकालयमा भारतीय अखबार पढ्नेहरूको भीड लाग्थ्यो । केही इतिहास र साहित्यका पाठक पनि झुमिन्थे । अहिले त नगएको धेरै भएकाले त्यहाँको अवस्था के छ भन्न सक्तिनँ । ब्रिटिस लाइब्रेरी पनि बन्द भएको दशकौं भइसक्यो । दूतावासको हातामा त्यो कतै छ भने पहुँच र सुरक्षाघेराकै समस्या भयो । आम उपयोगिता बाँकी रहेन ।

एक वर्षजति पहिले भृकुटीमण्डपस्थित काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयमा पुगेको थिएँ, जहाँ एउटा नयाँ पुस्तकमाथि विमर्श हुँदै थियो । हरेक महिना त्यहाँ नयाँ कृतिमाथि गम्भीर बहस हुँदो रहेछ । पुस्तकालयप्रेमी केही व्यक्तिको सत्प्रयासका कारण एउटा उदाहरणीय काम भएको देखिन्छ । स्वयंसेवी भावनाबाट पुस्तकालयका लागि गर्न सकिने त्यो अधिकतम काम हो । पुस्तकालय भनेको केवल पुस्तकहरूको संग्रह मात्र होइन । काठमाडौंलगायत मुलुकका प्रमुख सहरबजारमा पुस्तकालयकेन्द्रित प्राज्ञिक बहसका केन्द्रहरूको नेपालमा ठूलो अभाव छ, छँदै छैन भने हुन्छ । अहिले कतिपय प्रतिष्ठानको संघीय संरचनामा आधारित शाखा खोल्ने लहर देखिन्छ । मैले यहाँ त्यस्तै पुनरावृत्ति खोजेको होइन । प्रत्येक पुस्तकालय आआफ्ना विशेषतायुक्त र मौलिक होऊन् भन्ने मेरो चाहना हो ।

राम्रो पुस्तकालयको अभावमा खण्डित ज्ञानको एउटा नमुना हुँ जस्तो लाग्छ म आफू पनि । मैले पढ्दा केही सस्ता भारतीय मुद्रण र प्रकाशनबाहेक बाहिरका राम्रा पुस्तक काठमाडौंको बजारमा पाइन्नथे । विदेशबाट मगाउने न क्षमता थियो, न सम्पर्कसूत्र । त्यसैले एउटा राम्रो पुस्तकालयको भोक अझै मेटिएको छैन । विदेशका केही छोटा बसाइमा त्यहाँका पुस्तकालय देखेको छु, एकाधपटक गएको छु, तिनको उपयोग पनि गरेको छु । चौबीसै घण्टा खुला रहने, आफूले चाहेको पुस्तक जतिखेर पनि ल्याउन सकिने, फिर्ता गर्न सकिने सुविधा छ । त्यहाँ नभएका पुस्तक अर्को पुस्तकालयबाट झिकाएर पनि लिन पाइन्छ । पुस्तकको सूची दिएपछि नपाइने भन्ने छैन । त्यसैले त्यहाँ नाम चलेका प्राध्यापकहरूले पनि पुस्तकको निजी संग्रह गर्दैनन्, उनीहरूलाई त्यसको आवश्यकता छैन । अहिले त झन् अनलाइन पुस्तकालयको युग छ, इ–लाइब्रेरी छन्, घरमै बसेर सबैतिर पहुँच पुग्छ ।

पुस्तकालयमा पुस्तक लेनदेन गर्न कुनै कर्मचारी पनि नचाहिने । फिर्ता पुस्तक राख्ने छुट्टै ठाउँ छ, आफूले चाहेको पुस्तक दराजबाट सोझै झिकेर लान सकिन्छ । एउटा पुर्जामा नाम लेखेर छाडे पुग्छ । अनुमतिप्राप्त उपयोगकर्ताको नैतिक आचरण (इथिक्स) मा त्यहाँका सबै पुस्तक र सामग्री सुरक्षित देख्दा अचम्म लागेको थियो । जबकि हाम्रो केन्द्रीय पुस्तकालय (त्रिवि) मा चोरीबाट पुस्तक जोगाउन पुस्तकको भित्री कुनै पातोमा नदेखिने यन्त्र (मेटल डिटेक्टर) जडान गर्नुपरेको छ । हामीकहाँ कहिले आउने होला त्यस्तो नैतिक आचरणको समय ? कल्पना पनि गर्न सकिन्न ।

जमलमा राष्ट्रिय पुस्तकालय बन्ने बोर्ड देखेपछि, त्यसका व्यवस्थापकहरूको के योजना थियो कुन्नि, मेरो मनमा भने अनेक रहरका कुरा खेल्दै थिए । त्यो पुस्तकालय मात्र नभएर ज्ञानको संवाद एवं साक्षात्कार गर्ने एउटा राम्रो थलो बन्न सक्छ होला । पुस्तकालयका अतिरिक्त त्यहाँ सभा र संवाद कक्षहरू हुनेछन् । अनुसन्धानमुखी प्राज्ञिक प्रतिष्ठानका सभा–गोष्ठीहरू सञ्चालन हुनेछन् । साप्ताहिक, मासिक प्राज्ञिक प्रवचनका शृङ्खलाहरू चल्नेछन् । ज्ञानका अन्वेषकहरू, संवाद र विमर्शका आकांक्षीहरू र हामीजस्ता रिटायर्ड प्राध्यापकहरू सबैको अन्तरक्रियाको केन्द्र हुनेछ त्यो । त्यहीँ केही पुस्तकपसल, प्रकाशन गृहका स्टलहरू हुनेछन् । पुस्तक मेला लागिरहनेछन् । अन्डरग्राउन्ड पार्किङ हुनेछ । पुस्तकालयका अतिरिक्त खर्चहरू त्यसबाट उठ्नेछन्... ।

यो लेख्न बस्ता राष्ट्रिय पुस्तकालयको वेबसाइट खोलें, प्रस्तावित पुस्तकालयको भित्री र बाहिरी संरचनाको आकर्षक भिडियो पनि राखिएको रहेछ । मैले परिकल्पना गरेको पुस्तकालयको एउटा खाका त्यहाँ पाइन्छ । सभा–सम्मेलन कक्ष, रेस्टुराँको सोच पनि रहेछ । कम्प्युटरको एनिमेसन देखेर रमाइलो मानें । त्यसले दिने सेवाको गुणस्तर वृद्धि, यसको व्यवस्थापन र सेवाको अवस्थालाई लिएर आश्वस्त हुने आधार छैन । शिक्षा मन्त्रालयको खटनमा त्यसले सार्वजनिक पुस्तकालयको अपेक्षित स्वरूप लिन सक्छ भनेर पत्याउन सकिन्न । के त्यसलाई सरकारबाट अलग गरी सार्वजनिक व्यवस्थापन गर्न सकिन्न ? आर्थिक स्रोत सबैभन्दा ठूलो चुनौती हुन सक्छ । नेपालमा पुस्तकालयसम्बन्धी कानुनसमेत रहेनछ । कानुनतः भीमशमशेरको समयभन्दा माथि उठ्नै सकेको रहेनछ हाम्रो पुस्तकालय संस्कृति र वैधानिक हैसियत । न सरकारको कुनै अनुदान छ, न स्पष्ट कानुनी व्यवस्था, सीडीओ कार्यालयको स्वविवेकीय अनुमतिमा अडेको रहेछ नेपालमा सार्वजनिक पुस्तकालयको अवस्था । के सार्वजनिक पुस्तकालयका लागि सरकारले केही बजेट विनियोजन गर्न हुँदैन ? के हेरेर बसेको छ विश्वविद्यालय अनुदान आयोग ? के यसको कार्यक्षेत्रभित्र सार्वजनिक पुस्तकालय राख्न सकिन्न ?

जमलको त्यो ठाउँमा मेरो परिकल्पनाको राष्ट्रिय पुस्तकालय कति बन्न सक्थ्यो वा बन्छ, म भन्न सक्तिनँ । २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भएपछि पुस्तकालयका पदाधिकारी, शिक्षा मन्त्रालय सबैले पुस्तक राख्ने ठाउँको खोजी गर्नु स्वाभाविक हो । पुनर्निर्माण कोषको पैसाले एउटा भवन ठडिँदैमा पुस्तकालय बन्दैन । केही पुस्तकको संग्रह र केही कर्मचारीका लागि जागिर खाने एउटा थलोभन्दा कति माथि उठ्न सकेको छ राष्ट्रिय पुस्तकालय, मलाई थाहा छैन । म एक–दुईपटक, बीस–पच्चीस वर्षपहिले, हरिहर भवनस्थित त्यस पुस्तकालयमा पुगेको पनि छु । त्यसबाट म पटक्कै प्रभावित हुन सकिनँ । मैले चाहेका पुराना ग्रन्थहरू त्यहाँ उपलब्ध थिएनन् । त्यो पुस्तकालय हुनु–नहुनुको औचित्यमा म अझै विश्वस्त छैन । तथापि एउटा पुस्तकालय त्यसै विलोप भएर गएको हेर्न सकिन्न, त्यो स्वीकार्य हुँदैन ।

तर, जमलको त्यो जग्गा बजार र व्यापारिक प्रयोजनका लागि होइन, ज्ञान र सिर्जनाका उद्देश्यका लागि उपयोग हुनुपर्छ भन्ने मेरो दृढ मत छ । झन्डै एक सय वर्षदेखि त्यो जग्गाको प्रयोग शैक्षिक प्रयोजनकै लागि हुँदै आएको देखिन्छ । त्रिचन्द्र कलेजको स्थापनासँगै त्यो ठाउँ प्राध्यापकहरूको आवासगृहका रूपमा प्रयोग भयो । जमलदेखि दरबार स्कुल, त्रिचन्द्र, संस्कृत छात्रावास, पद्मकन्या क्याम्पस हुँदै प्रदर्शनीमार्गसम्म स्कुल/कलेजको एउटा सघन शैक्षिक क्षेत्र हो । त्यहीँ रानीपोखरीको छेउमा कानुन पुस्तकालय पनि छ । त्यो कहिले स्थापना भयो, मलाई जानकारी छैन, तर विगत ५०–६० वर्षदेखि त्यही ठाउँमा देखिरहेको छु । त्यो ठाउँलाई काठमाडौंको शैक्षिक धरोहर (एजुकेसन हेरिटेज) पनि भन्न सकिन्छ । सरकारले त्रिचन्द्र क्याम्पसलगायत त्यो क्षेत्रलाई विनिर्माण गर्दै छ भन्ने हावादारी कुरा हुन् वा साँच्चै आसुरीवृत्ति सवार भएको छ उसको दिमागमा । त्यहाँ यदि कुनै आधारभूत परिवर्तन गरिन्छ भने त्यसको अधिकार सरकार र यसका संयन्त्रलाई एकलौटी रूपमा प्राप्त छैन । त्यसको सार्वजनिक सुनुवाइ हुनुपर्दछ । नागरिकका भावना र अभिमतको कदर हुनुपर्छ । आफ्नो नियन्त्रणमा छ भन्दैमा जथाभावी उपयोग गर्ने छुट सरकारलाई पनि छैन ।

(आइतबार प्रकाशित हुने कान्तिपुरको प्रिन्ट संस्करणबाट ।)

प्रकाशित : श्रावण ३१, २०७७ १८:४८
प्रतिक्रिया
पठाउनुहोस्

शनिबार बिहान वीरगन्जमा मृत्यु भएका व्यक्तिमा कोरोना पुष्टि

भूषण यादव

वीरगन्ज — नारायणी अस्पतलमा बिहान मृत्यु भएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

वीरगन्ज महानगरपालिका–२० अठराहा सुगौलीका ४७ वर्षीय पुरुषको मृत्यु भएपछि स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदन कुमार उपाध्यायले जानकारी दिए ।

शनिबार बिहान स्वास्थ्य बिग्रिएपछि परिवारले उनलाई नारायणी अस्पताल ल्याएका थिए । उनमा स्वासप्रश्वासको समस्या देखिएको थियो । नाक र मुखबाट रगतसमेत निस्केको थियो ।

अस्पतालको आकस्मिक कक्षमा ल्याएको केही समयमै ती पुरुषको मृत्यु भएको चिकित्सकले जनाएका छन् ।

प्रकाशित : श्रावण ३१, २०७७ १८:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×