प्रहरी प्रतिष्ठानमा भारतीय चासो- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रहरी प्रतिष्ठानमा भारतीय चासो

अमेरिकाले सन् १९७९ मा मस्कोमा स्थानीय श्रम र साधन प्रयोग गरी बनाएको दूतावास भवनका विभिन्न कोठामा हुने वार्तालापको रेकर्ड सीधा केजीबीमा पुग्ने पाएपछि त्यसलाई पूरै भत्काई नयाँ बनाएको थियो ।
ओमचरण अमात्य

नेपालमा एउटा समयानुकूल ‘राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान’ को परिकल्पना पञ्चायतको पालादेखिकै हो, तर यसले २०५२ साल (सन् १९९५) मा तत्कालीन नेकपा (एमाले) को नौमहिने अल्पमतको सरकार हुँदा आकार लिन खोज्यो । पूर्ण बहुमतको ठाउँमा भर्खरै बनेको अल्पमतको सरकार र त्यससँगै देखिएको अस्थिरता धमिलो पानीमा माछा मार्नेहरूका लागि सुनौलो अवसर थियो ।

नेपाललाई जहिल्यै ‘नियन्त्रित अस्थिरता’ को भुमरीमा फसाइराख्ने र अस्थिरताले आकाश छुन खोज्नेबित्तिकै आफूअनुकूलको एउटा ‘मस्यौदा’ फालिहाल्ने, ४८ वर्षदेखि दोहोरिँदै आएको, परिघटना त्यो वर्ष पनि पुनरावृत्त भयो । प्रहरी प्रतिष्ठानको भौतिक संरचना निर्माण गर्न लाग्ने सम्पूर्ण आर्थिक व्ययभार आफूले बेहोर्ने, तर त्यससँगै कार्यकारी भूमिका आफूलाई चाहिने भारतीय प्रस्ताव सिंहदरबारमा पुग्यो । सुरक्षा संवेदनशीलतासित जोडिएको दूरगामी प्रभाव राख्ने त्यो प्रस्ताव स्वाभाविक रूपले अस्वीकृत भयो ।

२०६६ असारमा प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा दिएपछि संसद्मा लगातार १७ पटकसम्म नयाँ प्रधानमन्त्री चयनका लागि मतदान हुँदै थियो । त्यस्तो खालको अस्थिरता नेपालले पहिलोपटक भोग्दै थियो । त्यो ‘स्वर्ण अवसर’ लाई ‘क्यास’ गर्न तत्कालीन भारतीय राजदूत राकेश सूद त्यही मस्यौदासहित सिंहदरबार पसे । प्रतिष्ठान पूरै बनाइदिने, तर त्यसको कार्यकारी निर्देशक पाँच वर्षसम्म भारतले तोकेको भारतीय सुरक्षा अधिकारी नै हुनुपर्ने प्रावधान त्यसमा थियो ।

मोलमोलाइ हुँदै जाँदा पाँच वर्षको सट्टा ‘कम्तीमा एक वर्ष’ को बार्गेनिङ पनि भयो । तर पनि सुटकेस देखेर र्‍याल चुहाउँदै दौडिरहेका केही राजनीतिक व्यापारी तथा ब्युरोक्रेटहरू कुर्सी दौडमा व्यस्त नेताहरूको समय मिलाउन असमर्थ रहे । अन्तमा तिनीहरू सुशील कोइराला प्रधानमन्त्री छँदा धेरै हदसम्म सफल भइछाडे । सार्क शिखर सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आएका बेला ‘प्रहरी प्रतिष्ठानका लागि भारतले अनुदान उपलब्ध गराउने र भारतसँग परामर्श लिएर नेपालले आयोजना अघि बढाउने’ समझदारीसहित २५ नोभेम्बर २०१४ (२०७१ मंसिर ९) मा द्विपक्षीय सम्झौता भयो । दुई प्रधानमन्त्रीको उपस्थितिमा तत्कालीन अर्थसचिव सुमनप्रसाद शर्मा र भारतीय गृह (सीमा सुरक्षा हेर्ने) सचिव स्नेहलता कुमारले सम्झौतामा हस्ताक्षर त गरे, तर त्यो भारतले चाहेअनुसारको भने अझै भइसकेको थिएन । यसर्थ उपयुक्त समय र अवसरको प्रतीक्षा हुँदै थियो र सम्भवतः केही राजनीतिक दलाल र ब्युरोक्रेटहरूसितको साँठगाँठमा गत २०७६ मंसिरमा चुपचाप, भित्रभित्रै त्यो सम्झौतामा संशोधन भयो । त्यसअनुसार ‘कार्यप्रगतिका आधारमा रकम भुक्तानी गर्ने र टेन्डर सूचना मात्र नेपालले निकाल्ने, आयोजनाको सम्पूर्ण जिम्मा भारतले लिने’ तय भयो । अर्थात्, प्रतिष्ठानको भौतिक संरचना पूर्ण रूपमा भारतले बनाएर नेपाललाई हस्तान्तरण गरिने आधिकारिक निर्णय भयो । सो निर्णय ६ महिनासम्म भूमिगत नै थियो, तर गएको जेठमा आयोजना अघि बढाउन भारतमा बनेको टेन्डर सूचनाको मस्यौदा अनुमोदनका लागि नेपाललाई कूटनीतिक पत्राचार गरिएपछि संशोधित बुँदाहरू एकाएक सतहमा आए । टेन्डरको मस्यौदा तथा प्रतिष्ठानको डीपीआर भारतको सेन्ट्रल पब्लिक वर्क्स डिपार्टमेन्ट (सीपीडब्लुडी) ले बनाएको पनि खुल्यो (कान्तिपुर, २०७७ असार २१) । हाल त्यो मस्यौदा गृह मन्त्रालय हुँदै ‘थप अध्ययनका लागि’ प्रहरी प्रधान कार्यालयको कुनै एउटा कक्षमा विचाराधीन छ ।

झट्ट हेर्दा सामान्यझैं लाग्ने, ८ अर्ब ७९ करोड १३ लाख ७६ हजार रुपैयाँ लागतको यो परियोजना देशकै सुरक्षा संवेदनशीलताका दृष्टिले दूरगामी महत्त्वको छ भनी बुझ्नु जरुरी छ । ईपीसी (इन्जिनियरिङ, प्रोक्युर्मेन्ट एन्ड कन्स्ट्रक्सन) मोडलमा निर्माण हुने भनिएको प्रहरी प्रतिष्ठानको भौतिक संरचनासित गाँसिएको बजेटकै कारणले पनि होला, केही उपल्ला राजनीतिक बिचौलिया, ब्युरोक्रेट तथा प्रहरी अधिकारीहरूसमेत निर्माण परियोजनामा प्रत्यक्ष भारतीय संलग्नतालाई सामान्य रूपमा लिइनुपर्ने पक्षमा देखिन्छन् । तर हाम्रै परिवेशले हामीलाई झकझक्याएर भन्दै छ— हाम्रो राष्ट्रिय सुरक्षालाई यसले पार्न सक्ने दूरगामी प्रभावका कारण सकभर सहयोगै नलिने, कथंकदाचित् लिनैपर्ने भएमा अनुदानचाहिँ लिने तर निर्माण कार्यमा दिमाग र हात भने हाम्रै हुनुपर्छ ।

ईपीसी मोडलको खारेजी किन ?

प्रारम्भमै प्रतिष्ठान निर्माणका लागि २५.४५ हेक्टर जमिन नेपालले उपलब्ध गराउनुपर्ने भनिएको थियो । त्यसका लागि काभ्रेपलान्चोक जिल्लाको पनौती नगरपालिका–६ सुन्थान–दलिन्चोकमा ४२.४ हेक्टर जग्गा अधिग्रहण भइसकेको छ । २०५२ मा जग्गा अधिग्रहण प्रक्रिया सुरु भइसके पनि भारतले कार्यकारी अधिकार खोजेपछि रोकिएको परियोजनाबारे मोदीको भ्रमणताका सम्झौता हुनु, गत मंसिरमा यसको स्थापित मोडल गुपचुप तरिकाले पूरै फेरबदल गर्नु र ६ महिनासम्म गोप्य राखिसकेपछि नक्सा प्रकरणको सेरोफेरोमा गत जेठमा एक्कासि सार्वजनिक गरिनु काकताली मात्र हुन सक्तैन । त्यसै पनि सुरक्षा निकायसित प्रत्यक्ष रूपले जोडिएको परियोजना, त्यसमाथि अस्थिरताको आगोमा त्यसलाई संरचना नबन्दैको अवस्थामा समेत घिउ बनाएर खन्याउने प्रयत्न गरिन्छ भने नेपाल र नेपालीको भाग्य र भविष्यमा त्यसले तात्कालिक र दूरगामी रूपमा के–कस्तो असर छोड्ला, अहिले नै निरूपण र निर्णय हुनु जरुरी छ । काम सुरु भएपछि तीन चरणमा ३६ महिना लगाएर सक्ने लक्ष्य लिइएको परियोजना अहिले विचाराधीन अवस्थामा छ । चिल्ला ब्रिफकेसहरूले आफ्नो प्रभाव देखाउनुअघि नै निर्णय देशको पक्षमा होस् भन्नेतिर सरकारको ध्यान जानुपर्छ ।

के बिर्सनु हुन्न भने, अमेरिकी राष्ट्रपति निक्सनले विपक्षी डेमोक्रेटिक पार्टीको मुख्यालय वाटरगेट भवनमा विपक्षी नेताहरूको वार्तालापलाई सुन्न सक्ने गरी गोप्य ‘इलेक्ट्रोनिक श्रवणयन्त्रहरू’ जडान गर्न लगाएका थिए र त्यसैको पोल खुलेपछि उनले पदबाट हात धुनुपरेको थियो । सन् २००१ मा बेलायती प्रधानमन्त्री टोनी ब्लेयर भारत भ्रमणमा रहँदा उनलाई राखिएको नयाँ दिल्लीस्थित आलिसान होटलको कोठामा त्यहाँ भएको वार्तालापलाई ‘सुदूर स्थान’ मा सुन्न सकिने गरी गोप्य तर अति सूक्ष्म यन्त्रहरू जडान गरिएको भेट्टिएको थियो ।

ब्लेयरका सुरक्षा अधिकारीहरूले त्यो पत्ता लगाएपछि उनको कोठा परिवर्तन गरिएको उनका सुरक्षा एवं रणनीतिक सल्लाहकार एलेस्टर क्याम्पबेलले आफ्नो संस्मरणमा लेखेका छन् । त्यसै गरी अमेरिकाले सन् १९७९ मा मस्कोमा स्थानीय श्रमिक तथा स्रोतसाधन प्रयोग गरी बनाएको दूतावास भवनमा जाँच गरिँदा पत्ता लाग्यो, त्यहाँका विभिन्न कोठामा हुने गरेका वार्तालापको रेकर्ड सीधा केजीबी (सोभियत गुप्तचर संस्था) मा पुग्ने रहेछ । पछि अमेरिकाले त्यो पूरै भवनलाई भत्काई आफ्नै श्रम र साधन प्रयोग गरी नयाँ बनायो । स्पष्टतः त्यस्तै कारणले काठमाडौंमा अमेरिकाले आफ्नो दूतावास भवन बनाउँदा होस् वा चीन र तत्कालीन सोभियत संघले आ–आफ्ना नियोग भवनहरू बनाउँदा, सावधानीमा कुनै मोलमोलाइ गरेनन् । कतिलाई अझै सम्झना होला, झन्डै चार दशकअघि बालुवाटारमा सोभियत दूतावास भवन बन्दै गर्दा ल्याइएका ८४ बाकसको प्रकरणले तत्कालीन राष्ट्रिय पञ्चायतसमेत नराम्रोसँग हल्लिएको थियो ।

यस्ता उदाहरण असंख्य छन् । अस्ट्रेलियाको क्यानबेरास्थित चिनियाँ दूतावास भवनमा अस्ट्रेलिया सरकारले त्यसरी नै गोप्य सुराकी यन्त्रहरू जडान गरेको विषयले दुई देशबीच तनाव यति चर्किएको थियो, झन्डै सम्बन्धविच्छेद भयो । लन्डनस्थित पाकिस्तानी दूतावास भवन र क्यानाडाको ओटावामा रहेको सोभियत दूतावास भवनमा भेट्टिएका त्यस्तै इलेक्ट्रोनिक गुप्तचरहरूले गर्दा दुई पक्षबीच अन्तर्राष्ट्रिय स्तरमै चर्काचर्की परेको थियो । सन् २००१ मा चिनियाँ राष्ट्रपतिको प्रयोगका लागि अमेरिकाको बोइङ कम्पनीबाट मगाइएको विशेष विमानमा सुरक्षा जाँच गरिँदा ठाउँठाउँमा २७ वटा अत्यन्त शक्तिशाली इलेक्ट्रोनिक डिभाइसहरू राखिएको भेट्टिएको थियो ।

साना छिमेकीको चुलोसम्मै ‘माइक्रोम्यानेजमेन्ट’ गर्न पल्किसकेको भारत अहिले राजनीतिक र कूटनीतिक हिसाबले अत्यन्त प्रतिरक्षात्मक अवस्थामा रहेको भए पनि आफूलाई सुधार्ने मनस्थितिमा पटक्कै देखिन्न । उसले काठमाडौंस्थित आफ्नो दूतावासबाट शिक्षा र स्वास्थ्य क्षेत्रमा सीधा दिँदै आएको ‘सामाजिक सहयोग’ लाई समेत रणनीतिक हिसाबले उपयोग गर्न नछोडेको र त्यसैको कारण त्यस्तो ‘सहयोग’ लाई नेपाल सरकारमार्फत प्रदान गर्ने गरी नियमन गरिनुपर्ने आवाज उठिरहेको परिप्रेक्ष्यमा झन् प्रहरी प्रतिष्ठानकै भौतिक संरचना निर्माणमा हालीमुहाली गर्न दिँदा परिणाम के होला, गम्भीरतापूर्वक सोच्नु आवश्यक छ । सुरक्षाजस्तो संवेदनशील क्षेत्रमा गल्ती गर्ने छुट कसैलाई हुँदैन, नियतवश अपराध गर्नेलाई चीन र भारतमा त अझ फाँसी नै दिइन्छ । चीनसित जोड्ने अरनिको राजमार्गको छेवैमा, अनि केवल १०–१२ नटिकल माइल टाढाको पाँचखालस्थित अति संवेदनशील सैन्य क्षेत्रलगायत असंख्य रणनीतिक महत्त्वका स्थानहरूलाई ‘रणनीतिक राडार’ भित्र पार्न सक्ने सुन्थान–दलिन्चोकमा भारतको अघोषित सैन्य उपस्थितिलाई आँखा चिम्लिदिँदा परिणाम के हुन्छ, सोचनीय विषय हो । सरकारले प्रहरी प्रतिष्ठानको विषयमा ‘बोल्ड’ अडान लेओस्, प्रभुत्ववाद नराम्रोसित पछारिनेछ ।

प्रकाशित : श्रावण ३०, २०७७ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्

सूत्रवचनको नीरस रीत

ओली र उनको अध्यक्षतामा रहेको पार्टी नेकपाका समस्याबारे सो पार्टीका बौद्धिक नेताले गरेका टिप्पणीबारे पनि सोच्नुपर्ने भएको छ ।
उज्ज्वल प्रसाईं

धेरै पुरानो घटना होइन । निजी विद्यालयमा बिहान नियमित हुने ‘एसेम्बली’ नामको कर्मकाण्ड सकेर सबै शिक्षक एउटै कोठामा भेला भए । तोकिएको कक्षामा जानुअघि चक, डस्टर र हाजिरपुस्तिका लिए । आफ्नो पनि हाजिर जनाउनलाई टेबलमा राखिएको ठूलो खातामा हस्ताक्षर गरे । केही शिक्षक कक्षातिर हिँड्न थाले, अरू कुशलक्षेम गर्न थाले ।

अंग्रेजी अध्यापन गर्ने अलि पाको उमेरका शिक्षक हातमा हाजिरपुस्तिका बोकेर पर्खालमा झुन्ड्याइएको पात्रोमा टोलाउन थाले । यत्तिकैमा नेपाली शिक्षक कोठामा प्रवेश गरे । उनको अनुहारमा थकान र अनिद्रा देखिन्थ्यो । हिँडाइको चालमा पनि उस्तै दिक्दारी । बिहानी ‘एसेम्बली’ छुटाएका उनी ढिलो आइपुगे ।

कक्षामा नगइसकेका कुनै एक सहकर्मीले सोधे, ‘सर, आज ढिलो आउनुभो । थाकेको जस्तो पनि देखिनुहुन्छ नि । के भयो ?’ नेपाली सरले यसो चस्मा उठाउँदै भने, ‘आज रातभरि सुत्न पाइएको छैन । बिदा लिऊँ भन्ने लागेको थियो तर के दिक्दार भएर घरै बसिरहनु भनेर हिँडें । निस्किन ढिलो भएको थियो ।’ उनले त्यसो भनेपछि सबैको ध्यान उनीतर्फ मोडिनु स्वाभाविक थियो । अंग्रेजी सरले एकनिमेष नेपाली सरतर्फ पुलुक्क हेरे अनि पूर्ववत् पात्रोमा टोलाइरहे । अरू सहकर्मीबाट राति सुत्न नपाउनुको कारण सोधनी भयो ।

नेपाली सरले भने, ‘घरमा डाका लाग्यो ।’ डकैतीको खबर खासै नसुनिने ठाउँमा यो सुनेर सहकर्मीहरू अचम्मित भए र अंग्रेजी सरबाहेक सबै उनीनजिक गएर घटनाबारे थप प्रश्न गर्न थाले । उनले भने, ‘हातहतियार बोकेका आठ–दस जना लठैत पसेर घरमा भएका जिन्सी र पैसा लैजान खोजे । पैसा, सुनचाँदी धेरै थिएन, हुने कुरै भएन । अरू निकाल् भनेर जबर्जस्ती गर्न खोज्दा प्रतिवाद गरें, घम्साघम्सी भयो । मलाई मुड्क्याए । शरीर दुखेको छ, मन बेचैन छ ।’ सबै सहकर्मी दुःखी हुँदै उनीसँग थप संवाद गर्न थाले । कतिपयले सान्त्वना दिए । प्रहरीलाई खबर गरे–नगरेकोबारे सोधे । कतिलाई नेपाली सरको टोलमा डकैती पहिले कहिले भएको थियो भनेर जान्ने मन भयो । अलि बोलक्कडले आफूले सुनेका पुराना घटना दोहोर्‍याए । पात्रोमा टोलाइरहेका अंग्रेजी सरले पनि घटना वृत्तान्त पूरै सुने, अरू शिक्षकका राय पनि सुने अनि दुई टुक्रा चक टिपेर खासै वास्ता नगरेको स्वरमा केवल एक वाक्य बोले, ‘डाकाहरूको बानी यस्तै हो ।’ त्यति भनेर उनी लुरुलुरु कक्षातर्फ हिँडे ।

पाका सहकर्मीको उद्गार सुनेपछि सबै तन्नेरी शिक्षकहरू एक छिन चुप रहे । धेरै बेर चुप बस्न नसकेका सबैभन्दा तन्नेरी शिक्षक अंग्रेजी सरको ‘फाइनल स्टेटमेन्ट’ दोहोर्‍याउँदै गलल हाँसे । यसअघिका अन्य धेरै अनौपचारिक गफ पनि यस्तै खाले ‘वान लाइनर’ ले टुङ्ग्याउने गरेकाले त्यही दोहोरिएकामा हाँसेका थिए तन्नेरी शिक्षक । अरू पनि बिस्तारै हाँसोमा सरिक भए । डकैतीको कहर भोगेका नेपाली सर भने हाँस्नु कि नहाँस्नुको दोमनमै रहे । अंग्रेजी सरको भनाइबाट लगभग त्यो गफ टुंगियो, सबै आफ्ना रीतमा लागे ।

यो कुनै लेखिनुपर्ने कथा होइन । देशका हजारौंमध्ये एउटा सानो विद्यालयको कोठामा भेला भएका शिक्षकहरूमाझ घटित अति सामान्य घटना हो । केही साना प्रश्न भने सोचनीय छन् । अक्सर सामान्य नमानिने डकैतीजस्ता घटनाबाट कतै प्रभावित नभई र घटनालाई अति सामान्यीकृत गरेर बुझ्ने र लगभग भावशून्य भएर विमर्श टुंग्याइदिने गरी त्यस्तो वाक्य बोल्ने अवस्थामा मान्छे कसरी पुग्छ ? दर्जनौं पेचिला प्रश्न उठ्ने र घनीभूत विमर्श गर्ने सबै द्वार बन्द गरिदिन सक्ने त्यस्ता वाक्य जन्मने मानसिक अवस्थाको निर्माण कसरी हुन्छ ?

निम्न मध्यमवर्गीय जीवन जिउन हम्मे परिरहेका शिक्षकको ओत लाग्न मात्र बनाइएको घरमा डाका लाग्ने घटना आफैंमा अनौठो थियो । डाकासँग लडेर कुटाइ खाएका सहकर्मीका दुःख आफैंमा सोचमग्न विषय हुने नै भए । अघिअघि भए पनि डकैती हुन छोडेको समयमा यस्तो घटना किन भयो भनेर जिज्ञासा उत्पन्न हुनुपर्ने हो । आफ्नो भेगको सुरक्षा अवस्थाबारे पनि संशय र प्रश्नहरू उठ्नैपर्ने हो । गरिबी र बेरोजगारी बढिरहेको भए, ती विषयमाथि पनि सामान्य छलफल गर्न सकिँदो हो । अरू केही नभए, आइन्दा यस्ता घटनाबाट आफ्नो ज्यान र थोरैतिनो सम्पत्ति जोगाउन अपनाउनुपर्ने उपायबारे कुराकानी हुन्थ्यो होला । तर, ती सबै प्रश्नलाई ‘डाकाको बानी यस्तै हो’ ले छोप्न खोज्यो ।

निजी विद्यालयमा एकै थरी काम उही रीतमा सधैं गरेकाले अंग्रेजी सरमा उमेरसँगै दिक्दारी भाव बढ्दै गएको हुन सक्छ । स्वयं अध्यापन गर्ने कामलाई पनि उनले जागिरको अति सामान्य औपचारिकता मात्र बुझेका हुन सक्छन् । अंग्रेजी भाषाका गोटा माने सिकाउने र व्याकरणका सूत्र घोकाउने कामको नीरसताले जीवनका सारा जटिलतालाई त्यस्तै एकरेखीय र सूत्रबद्ध मन्तव्यमा कैद गर्ने मनस्थितिमा पुर्‍याएको हुन सक्छ । जागिरे जीवनको लोसेपनमा लैश उनलाई पात्रोमा टोलाउनु र कक्षामा एकै थरी काम गरिरहनुमा खासै फरक अनुभूति नभइरहेको हुन सक्छ । चाहे त्यो अति गम्भीर नै किन नहोस्, प्रत्येक विमर्शले कुनै लम्बाइ, चौडाइ वा गहिराइजस्ता कुनै आकार लिन नपाई तत्क्षण टुंग्याइदिने ‘बानी’ विकसित भएको हुन सक्छ ।

खास मनस्थिति बनेका कारण विषयका अनेक हाँगाबिँगा केलाउने झन्झट गर्न उनलाई मन लाग्दैन । उनले एकसरो हेर्दा देखे— यो दुनियाँमा डाका लाग्ने घटना पहिले पनि भएका छन्, अहिले यहाँ पनि भयो । जब राति हातहतियारसहित डाका आइसके भने, उनीहरूले सामान र पैसा लुट्नु के अनौठो भयो र ? अनि लुट्न आएकालाई पैसा छैन भन्ने र प्रतिवाद गर्नेले दुई–चार मुक्का खानु कति असामान्य कुरा हो र ? राति घरमा डकैती भएका र दुई–चार मुक्का पनि खाएका मान्छे क्लान्त र बेचैन हुनु आफैंमा के विमर्शको विषय हुन्छ र ? अनि जागिर खान भेला भएका निजी विद्यालयका शिक्षकले त्यसबारे गफ गरेर के नै नापिने हो र ?

यस्तो मनस्थिति निर्माण हुने प्रक्रिया वा कारणहरू बहुल हुन सक्छन् । त्यसबारे मनोवैज्ञानिकहरू वा यस विषयमा रुचि भएका अध्येताहरूले अध्ययन गरेका होलान् । कान्तिपुर दैनिकका यिनै पृष्ठमा केही सातापहिले स्तम्भकार उत्तमबाबु श्रेष्ठले ‘डनिङ क्रुगर इफेक्ट’ जस्तो मनोवैज्ञानिक अवस्थाको संकेतका आधारमा प्रधानमन्त्री केपी ओलीका विवादित बोलीबारे आफ्ना धारणा राखेका थिए । सबै समस्याका समाधान आफूसँग छ भन्ने भ्रममा रहेका प्रधानमन्त्रीले अनेक अपुष्ट दाबी गरेर भ्रम छरेकामा सो प्रतिक्रिया लेखिएको थियो । ओली र उनको अध्यक्षतामा रहेको पार्टी नेकपाका समस्याबारे सो पार्टीका बौद्धिक नेताले गरेका टिप्पणीबारे पनि सोच्नुपर्ने भएको छ । अखबारमा आएका ती बौद्धिक टिप्पणी हेर्दा ‘डाकाको बानी यस्तै हो’ जताततै पुनरावृत्त भएको भान हुन्छ ।

दलीय बौद्धिकले गरेका टिप्पणीमा माथि भनिएको कथाका पाका अंग्रेजी शिक्षकका जस्ता केही एकरेखीय सूत्रहरू दोहोरिरहन्छन् । जस्तो, पार्टीले औपचारिक रूपमा स्वीकार गरेको विचारधाराको तत्त्वमा समस्या छैन, समस्या त्यसलाई जनवाद भन्ने कि समाजवाद भन्नेमा छ । संगठन अत्यन्तै ऊर्जावान् र बलियो छ, सानातिना पेचकिला कस्दा क्रान्तिकारी बनिहाल्छ । समाजवादी पार्टीले सबै औपचारिकता पूरा गरेर आफ्नो विचारधाराअनुरूप निर्माण गरेको संविधान उच्चतम सुन्दर दस्तावेज हो । त्यसको कार्यान्वयनमा मात्रै केही समस्या देखा परेका छन् । दल हाँकिरहेका नेतृत्व र तिनलाई भरथेग गरिरहेका दोस्रो तहको नेतृत्वमा खासै केही समस्या छैन, अलिकति पद्धति मानिदिए भइहाल्छ । अर्धसामन्तवादसँग लडेकामा धन्यवाद दिँदै लडेका मान्छेकै हातमा पार्टी जिम्मा लगाइराख्ने, उमेर भएकाले तल बसेर आफ्नै पारामा ‘पुँजीवाद’ विरोधी आन्दोलन गरिरहने ।

यस्ता एक दर्जनजति वाक्य सधैं सुनिरहँदा त्यही सत्य कथाका पाका अंग्रेजी शिक्षकको सम्झना हुन्छ । उनले भनेको अन्तिम वाक्य कानमा घरीघरी गुन्जिन्छ, ‘डाकाहरूको बानी यस्तै हो ।’

प्रकाशित : श्रावण ३०, २०७७ ०७:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×