कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

विस्मृत योद्धा

समिता कोइराला बराल

पञ्चायतको निर्दलीय निरङ्कुशताविरुद्ध सशक्त र सशस्त्र नायकत्व गर्नुभएका केशव कोइरालाको हत्या भएको दिन हो, साउन ३१ । चार दशकअघि २०३१ सालमा उहाँलाई महोत्तरीको मटिहानीमा गोली हानिएको थियो ।

विस्मृत योद्धा

उहाँले त्यस अवस्थामा पानी माग्दा उल्टै बन्दुकको नाल मुखमा कोची छातीमा बुट बजार्दै, शरीरमा चक्कुले चिरी नुन–चुक लगाई ‘प्रजातन्त्रको बिगुल फुक्ने तैं होस्’ भन्दै गोली प्रहार गरिएको थियो । त्यति बेला उहाँ, मेरा पिता, २४ वर्षको हुनुहुन्थ्यो भने मेरी आमा गुणकुमारी १७ वर्षकी ।

पूर्वी पहाडी जिल्ला ओखलढुंगाको रातमाटे–१, छहरे कोइराला गाउँमा पिता पं. भवनाथ कोइराला र माता लालकुमारीको कोखबाट २००७ साल असार ३१ मा उहाँको जन्म भएको थियो । घरमै पिता र दाजुहरूबाट प्रारम्भिक शिक्षा लिएपछि माथिल्लो शिक्षा आर्जनका लागि उहाँ जनकपुरको संस्कृत विद्यालय ज्ञानकूपमा प्रवेश गर्नुभयो । त्यहीँ बस्दा उहाँको सम्पर्क नेपाली कांग्रेसका नेता बोधप्रसाद उपाध्याय, सरोज कोइराला, महेन्द्रनारायण निधिसँग भयो । तत्पश्चात् उहाँले आफ्नो राजनीतिक यात्राको प्रारम्भ गर्नुभयो ।

राजा महेन्द्रले २०१७ साल पुस १ गते शिशु प्रजातन्त्रको हत्या गरी निरङ्कुश निर्दलीय पञ्चायती व्यवस्था लागू गरेपश्चात् नेपाली कांग्रेसले प्रजातन्त्र र बहुदलीय व्यवस्थाको पुनःस्थापनाका लागि हजारौं युवा विद्यार्थीलाई आन्दोलनमा समाहित हुन आह्वान गरेको थियो । जनकपुरमा बस्दै गएपछि निर्भीक केशव कोइरालाले २०२१ सालमा छात्र संघको सदस्य भई प्रजातन्त्रको पक्षमा काम गर्न थाल्नुभयो । संगठन निर्माणमा कुशल उहाँले छोटो समयमै पूर्वी पहाडका सोलु, ओखलढुंगा, खोटाङ, रामेछाप, सिन्धुली र तराईका जनकपुर, महोत्तरीलगायतमा आफ्नो प्रभाव जमाउन थाल्नुभयो । संगठनप्रति उहाँको वफादारी र लगनशीलता कांग्रेसजनमा पनि सदैव चर्चाको विषय बन्ने गर्थ्यो । अध्ययन र राजनीतिलाई सँगसँगै अघि बढाउँदै उहाँले तरुण दलमा सक्रिय भई कार्य गर्नुभयो ।

राष्ट्रिय मुक्ति आन्दोलनलाई जीवनको पर्याय ठानी काम गर्न थाल्नुभयो । आफ्ना नेता दुर्गानन्द झाको हत्यापछि उहाँ झन् संघर्षमा होमिनुभयो । भारतमा निर्वासित भई बस्नुभएका बीपी कोइरालाको सम्पर्कमा रही तरुण दलद्वारा प्रकाशित पुस्तक, लेख, रचना, पर्चा र पम्प्लेटहरू आफ्नो कार्य क्षेत्रमा पठाउने गरिरहनुभयो । उहाँले राजनीतिका साथै साहित्यिक जीवनलाई पनि अघि बढाउँदै लानुभएको थियो । प्रजातन्त्रका पक्षमा अनेकौं साहित्यिक कार्यक्रम गराउने र ‘के काइदा’ उपनामले परिचित उहाँका हस्तलिखित डायरी र कविताहरू परिवारसँग अझै सुरक्षित छन् । युवा जागरण अभियानमा सदैव अग्रणी भूमिकामा रहेकाले केशव कोइराला तत्कालीन पञ्चायत व्यवस्थाका पृष्ठपोषकहरूलाई निकै बाधक बनिरहनुभएको थियो । २०२७ सालपछि निरङ्कुश व्यवस्थाविरुद्ध आन्दोलनकारी शक्तिहरूको मोर्चाबन्दी कसिलो हुँदै गएपछि उहाँसहित थुप्रै युवालाई गिरफ्तार गरी राजकाज मुद्दा लगाएर पटक–पटक जेल चलान गरियो । जलेश्वर जेल हुँदै ओखलढुंगा र काठमाडौंको केन्द्रीय कारागारमा एक वर्षसम्म जेल जीवन बिताउन बाध्य पारियो । तर पनि उहाँले हार मान्नुभएन र छुटेपछि सशस्त्र आन्दोलनका लागि फौजी दस्ता तयार पार्न लाग्नुभयो ।

आफूले तयार पारेका फौजी साथीहरूलाई राजनीतिक रूपले पूर्ण प्रशिक्षित बनाई भारतको फारबिसगन्जमा रहनुभएका नेता गिरिजाप्रसाद कोइरालालाई भेट गराउन थाल्नुभयो । भरखरै जन्मिएकी छोरी र सुत्केरी श्रीमतीलाई समेत छाडी केशव कोइराला घरपरिवारभन्दा माथि उठी सदैव प्रजातन्त्र प्राप्तिका लागि लाग्नुभयो । त्यसै बखत भारतको मधुवनीमा निर्वासित भई काम गरिरहनुभएका आफ्ना नेता सरोज कोइरालाको २०३० कात्तिक २ गते षड्यन्त्रपूर्वक तत्कालीन शासकका नाइकेले हत्या गरेपछि उहाँ झनै आक्रोशित हुनुभयो र पञ्चायती शासकहरूको जरोकिलो मासेरै छाड्नुपर्छ भन्ने उद्घोषका साथ बीपी कोइराला र गिरिजाप्रसाद कोइरालालाई भेटी हातहतियारसहित महोत्तरीको मटिहानीतर्फ लाग्नुभयो । त्यस क्षेत्रमा नेपाली कांग्रेसको संगठन निर्माणमा सदैव बाधक रहेको मटिहानीस्थित प्रहरी चौकीलाई ध्वस्त पार्न उहाँको नेतृत्वमा प्रजातान्त्रिक योद्धाहरूले आक्रमण गरे । सोही आक्रमणमा प्रहरीको निसाना बनी केशव कोइरालाले शहादत प्राप्त गर्नुभयो ।

प्रजातन्त्रको पुनःस्थापनाको महायज्ञमा थुप्रै वीर सपूतहरूले जीवन उत्सर्ग गरे । लखन थापादेखि २०४६ सालसम्ममा दुर्गानन्द झा, सरोज कोइराला, राम–लक्ष्मण, लीला ठगी, खगेन्द्र, पेशल दाहाल, गोकर्ण कार्की, महेश कोइराला, क्या. यज्ञबहादुर थापा, अगमुनि राई, भीमनारायण श्रेष्ठ, शिवचन्द्र मिश्र, मिथिलेश दुवे, अम्बरबहादुर खड्का, तेजबहादुर राई, भरत गोपाल झा, जानकी देवी, मुनेश्वरी देवी, नेत्र घिमिरे, ऋषि देवकोटा अजाद, दुर्गा सुवेदी, दलबहादुर रजन, वीरेन्द्र राजवंशी, रामनाथ दाहाल, नेत्र कुइँकेल, यादवनाथ आलोक, रामप्रसाद चौधरीलगायत सयौं सपूतको नाम यो सूचीमा छ । तर, तिनैको रगतले सिञ्चित भूमि नेपालमा जबदेखि प्रजातन्त्रको पुनर्बहाली भयो, तबदेखि सहिदहरूलाई मञ्चमा श्रद्धाञ्जली अर्पणका दुई शब्दसमेत महँगो पर्न थाल्यो । आफ्ना नेता र आफ्नै साथीहरू मन्त्री, प्रधानमन्त्री बने तर त्यत्रो बलिदान गरेका साथीहरूलाई राष्ट्रिय सहिद घोषणा गर्न सकेका छैनन् । जबकि २०५१ चैतमा राजनीतिपीडित सहायता समितिले आफ्नो पूर्ण प्रतिवेदनमा सहिदहरूको नामावली प्रकाशित गरिसकेको छ । उक्त समितिको अध्यक्षमा कृष्णप्रसाद भट्टराई, सदस्य राधाकृष्ण मैनाली र सदस्यसचिवमा ओमकारप्रसाद श्रेष्ठ हुनुहुन्थ्यो । त्यस्तै अन्य कमिटीबाट पनि प्रकाशित प्रतिवेदनको ठेली गृह मन्त्रालयमा वर्षौंदेखि थन्किरहेको छ । उक्त ठेलीलाई कार्यान्वयन गर्न कुनै राजनीतिक दलका प्रमुखले पनि उपयुक्त ठानेनन् । केही महिनाअगाडि ओली सरकारले किस्ताका रूपमा माथि उल्लिखितमध्ये केही र अन्य सहिदको नामावली राष्ट्रिय सहिदको सूचीमा दर्ज गर्‍यो । यसरी विभाजन गरी सहिद घोषणा गरिनुलाई अघोषित सहिदका परिवारजनले गम्भीरतासाथ लिएका छौं । सहिद कुनै राजनीतिक पार्टीका मात्र हुन् कि राष्ट्रका स्पन्दन ?

वर्तमान सरकारले यस विषयलाई गम्भीरतापूर्वक मनन गर्नुपर्छ । राष्ट्रका लागि प्राण उत्सर्ग गर्ने सबैलाई राष्ट्रिय सहिदको सूचीमा राख्ने निर्णय नगर्दा तीप्रति सम्मान हुन सकेको छैन । साथै, आत्मसम्मानका साथ जीवनयापन गर्ने अवसरको खोजीमा भौंतारिरहेका सहिदका परिवारहरू आफ्नो परिवार सदस्यले प्रजातन्त्रका लागि बेकारमा ज्यान गुमाएछ भन्दै चुकचुकाएर बस्नुबाहेक अर्को विकल्प देखिएको छैन । असंख्य व्यक्तिको शहादतमा टेकेर विलासितामा रमाइरहेका प्रजातन्त्रवादीका अगाडि तिनले दयाका पात्र बन्ने धृष्टता कहिल्यै गर्नेछैनन् । घरको भित्तामा झुन्ड्याएको आफ्ना वीर परिवारजनको फोटोलाई टुलुटुलु हेरी राज्यको नियतलाई मूल्याङ्कन गरेर दिन बिताउनु नै उनीहरूको दिनचर्या हुनेछ । राजमार्गमा गाडीले किचेको वा गुन्डागर्दीमा मारिएको अनाम व्यक्तिलाई सहिद घोषणा गर्ने अहिलेको बजारी भीडमा केशव कोइरालाजस्ता प्रजातान्त्रिक योद्धाहरूको नाम इतिहासबाटै मेटाउन खोजिएको त होइन ?

प्रकाशित : श्रावण ३०, २०७७ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?