कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

सूत्रवचनको नीरस रीत

ओली र उनको अध्यक्षतामा रहेको पार्टी नेकपाका समस्याबारे सो पार्टीका बौद्धिक नेताले गरेका टिप्पणीबारे पनि सोच्नुपर्ने भएको छ ।
उज्ज्वल प्रसाई

धेरै पुरानो घटना होइन । निजी विद्यालयमा बिहान नियमित हुने ‘एसेम्बली’ नामको कर्मकाण्ड सकेर सबै शिक्षक एउटै कोठामा भेला भए । तोकिएको कक्षामा जानुअघि चक, डस्टर र हाजिरपुस्तिका लिए । आफ्नो पनि हाजिर जनाउनलाई टेबलमा राखिएको ठूलो खातामा हस्ताक्षर गरे । केही शिक्षक कक्षातिर हिँड्न थाले, अरू कुशलक्षेम गर्न थाले ।

सूत्रवचनको नीरस रीत

अंग्रेजी अध्यापन गर्ने अलि पाको उमेरका शिक्षक हातमा हाजिरपुस्तिका बोकेर पर्खालमा झुन्ड्याइएको पात्रोमा टोलाउन थाले । यत्तिकैमा नेपाली शिक्षक कोठामा प्रवेश गरे । उनको अनुहारमा थकान र अनिद्रा देखिन्थ्यो । हिँडाइको चालमा पनि उस्तै दिक्दारी । बिहानी ‘एसेम्बली’ छुटाएका उनी ढिलो आइपुगे ।

कक्षामा नगइसकेका कुनै एक सहकर्मीले सोधे, ‘सर, आज ढिलो आउनुभो । थाकेको जस्तो पनि देखिनुहुन्छ नि । के भयो ?’ नेपाली सरले यसो चस्मा उठाउँदै भने, ‘आज रातभरि सुत्न पाइएको छैन । बिदा लिऊँ भन्ने लागेको थियो तर के दिक्दार भएर घरै बसिरहनु भनेर हिँडें । निस्किन ढिलो भएको थियो ।’ उनले त्यसो भनेपछि सबैको ध्यान उनीतर्फ मोडिनु स्वाभाविक थियो । अंग्रेजी सरले एकनिमेष नेपाली सरतर्फ पुलुक्क हेरे अनि पूर्ववत् पात्रोमा टोलाइरहे । अरू सहकर्मीबाट राति सुत्न नपाउनुको कारण सोधनी भयो ।

नेपाली सरले भने, ‘घरमा डाका लाग्यो ।’ डकैतीको खबर खासै नसुनिने ठाउँमा यो सुनेर सहकर्मीहरू अचम्मित भए र अंग्रेजी सरबाहेक सबै उनीनजिक गएर घटनाबारे थप प्रश्न गर्न थाले । उनले भने, ‘हातहतियार बोकेका आठ–दस जना लठैत पसेर घरमा भएका जिन्सी र पैसा लैजान खोजे । पैसा, सुनचाँदी धेरै थिएन, हुने कुरै भएन । अरू निकाल् भनेर जबर्जस्ती गर्न खोज्दा प्रतिवाद गरें, घम्साघम्सी भयो । मलाई मुड्क्याए । शरीर दुखेको छ, मन बेचैन छ ।’ सबै सहकर्मी दुःखी हुँदै उनीसँग थप संवाद गर्न थाले । कतिपयले सान्त्वना दिए । प्रहरीलाई खबर गरे–नगरेकोबारे सोधे । कतिलाई नेपाली सरको टोलमा डकैती पहिले कहिले भएको थियो भनेर जान्ने मन भयो । अलि बोलक्कडले आफूले सुनेका पुराना घटना दोहोर्‍याए । पात्रोमा टोलाइरहेका अंग्रेजी सरले पनि घटना वृत्तान्त पूरै सुने, अरू शिक्षकका राय पनि सुने अनि दुई टुक्रा चक टिपेर खासै वास्ता नगरेको स्वरमा केवल एक वाक्य बोले, ‘डाकाहरूको बानी यस्तै हो ।’ त्यति भनेर उनी लुरुलुरु कक्षातर्फ हिँडे ।

पाका सहकर्मीको उद्गार सुनेपछि सबै तन्नेरी शिक्षकहरू एक छिन चुप रहे । धेरै बेर चुप बस्न नसकेका सबैभन्दा तन्नेरी शिक्षक अंग्रेजी सरको ‘फाइनल स्टेटमेन्ट’ दोहोर्‍याउँदै गलल हाँसे । यसअघिका अन्य धेरै अनौपचारिक गफ पनि यस्तै खाले ‘वान लाइनर’ ले टुङ्ग्याउने गरेकाले त्यही दोहोरिएकामा हाँसेका थिए तन्नेरी शिक्षक । अरू पनि बिस्तारै हाँसोमा सरिक भए । डकैतीको कहर भोगेका नेपाली सर भने हाँस्नु कि नहाँस्नुको दोमनमै रहे । अंग्रेजी सरको भनाइबाट लगभग त्यो गफ टुंगियो, सबै आफ्ना रीतमा लागे ।

यो कुनै लेखिनुपर्ने कथा होइन । देशका हजारौंमध्ये एउटा सानो विद्यालयको कोठामा भेला भएका शिक्षकहरूमाझ घटित अति सामान्य घटना हो । केही साना प्रश्न भने सोचनीय छन् । अक्सर सामान्य नमानिने डकैतीजस्ता घटनाबाट कतै प्रभावित नभई र घटनालाई अति सामान्यीकृत गरेर बुझ्ने र लगभग भावशून्य भएर विमर्श टुंग्याइदिने गरी त्यस्तो वाक्य बोल्ने अवस्थामा मान्छे कसरी पुग्छ ? दर्जनौं पेचिला प्रश्न उठ्ने र घनीभूत विमर्श गर्ने सबै द्वार बन्द गरिदिन सक्ने त्यस्ता वाक्य जन्मने मानसिक अवस्थाको निर्माण कसरी हुन्छ ?

निम्न मध्यमवर्गीय जीवन जिउन हम्मे परिरहेका शिक्षकको ओत लाग्न मात्र बनाइएको घरमा डाका लाग्ने घटना आफैंमा अनौठो थियो । डाकासँग लडेर कुटाइ खाएका सहकर्मीका दुःख आफैंमा सोचमग्न विषय हुने नै भए । अघिअघि भए पनि डकैती हुन छोडेको समयमा यस्तो घटना किन भयो भनेर जिज्ञासा उत्पन्न हुनुपर्ने हो । आफ्नो भेगको सुरक्षा अवस्थाबारे पनि संशय र प्रश्नहरू उठ्नैपर्ने हो । गरिबी र बेरोजगारी बढिरहेको भए, ती विषयमाथि पनि सामान्य छलफल गर्न सकिँदो हो । अरू केही नभए, आइन्दा यस्ता घटनाबाट आफ्नो ज्यान र थोरैतिनो सम्पत्ति जोगाउन अपनाउनुपर्ने उपायबारे कुराकानी हुन्थ्यो होला । तर, ती सबै प्रश्नलाई ‘डाकाको बानी यस्तै हो’ ले छोप्न खोज्यो ।

निजी विद्यालयमा एकै थरी काम उही रीतमा सधैं गरेकाले अंग्रेजी सरमा उमेरसँगै दिक्दारी भाव बढ्दै गएको हुन सक्छ । स्वयं अध्यापन गर्ने कामलाई पनि उनले जागिरको अति सामान्य औपचारिकता मात्र बुझेका हुन सक्छन् । अंग्रेजी भाषाका गोटा माने सिकाउने र व्याकरणका सूत्र घोकाउने कामको नीरसताले जीवनका सारा जटिलतालाई त्यस्तै एकरेखीय र सूत्रबद्ध मन्तव्यमा कैद गर्ने मनस्थितिमा पुर्‍याएको हुन सक्छ । जागिरे जीवनको लोसेपनमा लैश उनलाई पात्रोमा टोलाउनु र कक्षामा एकै थरी काम गरिरहनुमा खासै फरक अनुभूति नभइरहेको हुन सक्छ । चाहे त्यो अति गम्भीर नै किन नहोस्, प्रत्येक विमर्शले कुनै लम्बाइ, चौडाइ वा गहिराइजस्ता कुनै आकार लिन नपाई तत्क्षण टुंग्याइदिने ‘बानी’ विकसित भएको हुन सक्छ ।

खास मनस्थिति बनेका कारण विषयका अनेक हाँगाबिँगा केलाउने झन्झट गर्न उनलाई मन लाग्दैन । उनले एकसरो हेर्दा देखे— यो दुनियाँमा डाका लाग्ने घटना पहिले पनि भएका छन्, अहिले यहाँ पनि भयो । जब राति हातहतियारसहित डाका आइसके भने, उनीहरूले सामान र पैसा लुट्नु के अनौठो भयो र ? अनि लुट्न आएकालाई पैसा छैन भन्ने र प्रतिवाद गर्नेले दुई–चार मुक्का खानु कति असामान्य कुरा हो र ? राति घरमा डकैती भएका र दुई–चार मुक्का पनि खाएका मान्छे क्लान्त र बेचैन हुनु आफैंमा के विमर्शको विषय हुन्छ र ? अनि जागिर खान भेला भएका निजी विद्यालयका शिक्षकले त्यसबारे गफ गरेर के नै नापिने हो र ?

यस्तो मनस्थिति निर्माण हुने प्रक्रिया वा कारणहरू बहुल हुन सक्छन् । त्यसबारे मनोवैज्ञानिकहरू वा यस विषयमा रुचि भएका अध्येताहरूले अध्ययन गरेका होलान् । कान्तिपुर दैनिकका यिनै पृष्ठमा केही सातापहिले स्तम्भकार उत्तमबाबु श्रेष्ठले ‘डनिङ क्रुगर इफेक्ट’ जस्तो मनोवैज्ञानिक अवस्थाको संकेतका आधारमा प्रधानमन्त्री केपी ओलीका विवादित बोलीबारे आफ्ना धारणा राखेका थिए । सबै समस्याका समाधान आफूसँग छ भन्ने भ्रममा रहेका प्रधानमन्त्रीले अनेक अपुष्ट दाबी गरेर भ्रम छरेकामा सो प्रतिक्रिया लेखिएको थियो । ओली र उनको अध्यक्षतामा रहेको पार्टी नेकपाका समस्याबारे सो पार्टीका बौद्धिक नेताले गरेका टिप्पणीबारे पनि सोच्नुपर्ने भएको छ । अखबारमा आएका ती बौद्धिक टिप्पणी हेर्दा ‘डाकाको बानी यस्तै हो’ जताततै पुनरावृत्त भएको भान हुन्छ ।

दलीय बौद्धिकले गरेका टिप्पणीमा माथि भनिएको कथाका पाका अंग्रेजी शिक्षकका जस्ता केही एकरेखीय सूत्रहरू दोहोरिरहन्छन् । जस्तो, पार्टीले औपचारिक रूपमा स्वीकार गरेको विचारधाराको तत्त्वमा समस्या छैन, समस्या त्यसलाई जनवाद भन्ने कि समाजवाद भन्नेमा छ । संगठन अत्यन्तै ऊर्जावान् र बलियो छ, सानातिना पेचकिला कस्दा क्रान्तिकारी बनिहाल्छ । समाजवादी पार्टीले सबै औपचारिकता पूरा गरेर आफ्नो विचारधाराअनुरूप निर्माण गरेको संविधान उच्चतम सुन्दर दस्तावेज हो । त्यसको कार्यान्वयनमा मात्रै केही समस्या देखा परेका छन् । दल हाँकिरहेका नेतृत्व र तिनलाई भरथेग गरिरहेका दोस्रो तहको नेतृत्वमा खासै केही समस्या छैन, अलिकति पद्धति मानिदिए भइहाल्छ । अर्धसामन्तवादसँग लडेकामा धन्यवाद दिँदै लडेका मान्छेकै हातमा पार्टी जिम्मा लगाइराख्ने, उमेर भएकाले तल बसेर आफ्नै पारामा ‘पुँजीवाद’ विरोधी आन्दोलन गरिरहने ।

यस्ता एक दर्जनजति वाक्य सधैं सुनिरहँदा त्यही सत्य कथाका पाका अंग्रेजी शिक्षकको सम्झना हुन्छ । उनले भनेको अन्तिम वाक्य कानमा घरीघरी गुन्जिन्छ, ‘डाकाहरूको बानी यस्तै हो ।’

प्रकाशित : श्रावण ३०, २०७७ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?