नेपाली सेना र लगानी प्रवर्द्धन

नेपाली सेनाको हालको संगठन र यसको विकास–निर्माणमा बढ्दो संलग्नतालाई स्पष्ट रूपले पुनः परिभाषित र पुनर्विचार गर्ने बेला भइसकेको छ ।
इन्द्र अधिकारी

अघिल्लो साता सैनिक कल्याणकारी कोषमा जम्मा भएको रकम लगानी गर्न पाउने गरी सैनिक ऐन, २०६३ संशोधनको प्रस्ताव सार्वजनिक भएपछि नेपाली सेनाको व्यापार र व्यवसायमा सहभागिताको विषयलाई लिएर बेलाबेलामा हुने बहसले फेरि चर्चा पायो ।

नेपाली सेना र लगानी प्रवर्द्धन

सेनामा रहेको कल्याणकारी कोष बहालवाला, अवकाशप्राप्त र तिनका आश्रित परिवारलाई सेवा दिन स्थापना भएको ‘गैरनाफामूलक संस्था’ हो । यो कोषको प्रयोग कल्याणकारी कार्यमा सहयोग पुर्‍याउन तोकिएबमोजिम ‘ऋण वा सेयर लगानी गर्ने’ र ‘आयमूलक कार्य’ समेत गर्ने भए पनि यसरी गरिएको ‘लगानी प्रवर्द्धनका लागि होइन’ भन्ने कुरा सैनिक ऐनमा स्पष्ट उल्लेख छ । तर यस आर्थिक वर्षसम्ममा ४६ अर्ब नगदसहित कोषको नाममा ५२ अर्ब ६१ करोड सम्पत्ति रहेको बताउँदै नेपाली सेना उक्त रकम बैंकमा राख्दा आम्दानी नगण्य हुने भएकाले व्यावसायिक लगानीमै कोषको प्रयोग गर्ने गरी सरकारले बाटो खोलिदिनुपर्‍यो भन्ने नौलो प्रस्तावसहित आएको छ । यो विषयमा सेनाको संगठनभित्र बाहेक नागरिकको तहमा कुनै छलफल भएको छैन ।

दोस्रो विश्वयुद्धपछि विकास भएको लगानी प्रवर्द्धनमा सेनाको सहभागिताका सन्दर्भमा विश्वका विभिन्न अनुभव पाइन्छन् । औपनिवेशिक हैसियतबाट स्वतन्त्र हुने प्रक्रियामा लोकतान्त्रिक संस्कार र राजनीतिक सोच बलियो भएका दरिलो नागरिक नेतृत्वको अभाव भएका पाकिस्तानजस्ता देशको अनुभव एक प्रकारको छ । बलियो सेना भएको देश जहाँ नागरिक संस्थाहरू र राजनीति संस्थागत भइनसक्दै स्वतन्त्रता संग्रामका नायकले मृत्युवरण गर्छन् र सेना देशभित्र मुख्य शक्तिका रूपमा स्थापित भएर आउँछ, त्यस्तो सेनाले आर्थिक गतिविधिमा सहभागिता मात्र होइन, नियन्त्रणसमेत गरेको देखिन्छ । भारतबाट छुट्टिएको एक वर्षभित्र पाकिस्तानमा मोहम्मद अली जिन्नाको निधन भएको र त्यहाँ राजनीतिक संक्रमणलाई व्यवस्थापन गर्न सक्ने अर्को नेता नभएकाले सेना हावी भयो । परिणामतः ‘अरू देशसँग एउटा सेना हुन्छ, तर पाकिस्तान सेनाको देश’ भएको भनिन्छ । इन्डोनेसिया र म्यान्मारसमेत सैन्य लगानीका सन्दर्भमा झन्डै पाकिस्तानको अवस्थाबाट गुज्रिएको पाइन्छ ।

दोस्रो, आन्तरिक युद्धमा लागेर जितेको राजनीतिक सेनाले पनि राजनीतिले आफ्नो बाटो समाइसक्दासमेत ब्यारेकमा सीमित नभई बारम्बार नयाँ भूमिका खोज्ने गरेको दृष्टान्त बंगलादेशमा देखिन्छ । बंगलादेशको निर्माणमा निर्णायक भूमिका खेलेको मुक्ति वाहिनीबाट राष्ट्रिय सेनामा रूपान्तरित त्यहाँको सेना ‘कू’ गरेर देशका संस्थापक राष्ट्रपति तथा प्रथम निर्वाचित प्रधानमन्त्री शेख मुजिबुर रहमानका देशबाहिर रहेका छोरीहरू शेख हसिना र शेख रेहनाबाहेक सपरिवारको हत्या गरी सेनाप्रमुख जनरल जियाउर रहमानमार्फत शासन सुरु गरेदेखि नै बंगलादेशको राजनीति र अर्थतन्त्र दुवैमा हावी देखिन्छ ।

तेस्रो, आन्तरिक द्वन्द्व व्यवस्थापनको चुनौती सामना गर्न ठूलो र बलियो बनाएको सेनाको शान्ति स्थापनापश्चात् कमजोर वा सेनाप्रति नतमस्तक नागरिक नेतृत्व भएको वा ध्वंसपश्चात्को पुनर्निर्माणमा नागरिक नेतृत्वको सरकार असफल रहेको अवस्थामा सेनाले आर्थिक तथा राजनीतिक स्थान खोज्ने अवस्था अफ्रिकाका कतिपय मुलुकको अनुभवले बताउँछ । तमिल विद्रोहीमाथि दमनपछि व्यापार प्रवर्द्धनमा सेनाको व्यापक सहभागिताले श्रीलंकामा पनि यो कुरा प्रमाणित गर्छ ।

त्यसो त राज्यको स्रोत र सम्पत्तिमा हिस्सा खोज्नु र बढाउँदै जानु सेनाको चरित्र पनि हो । व्यावसायिक र नागरिक सर्वोच्चता मान्दै आएको, युद्ध हार्दा होस् वा ‘कू’ को हल्ला चल्दा होस्, नैतिक जिम्मेवारी लिई सेनापतिले राजीनामा दिएर संगठनको छवि धमिलिने मौका नदिएको भारतीय सेनाले पनि आर्थिक क्षेत्रमा आफ्नो भूमिका खोज्ने र बढाउने ठाउँ खोजिरहेको कुरा बुझ्न सकिन्छ । व्यापार र लगानीबाट पूर्णतः वञ्चित गरिएको भारतीय सेनाले ९७ ठाउँमा अनधिकृत जमिन हडपेर गल्फ कोर्स सञ्चालन गरेको, आयस्रोत राष्ट्रिय कोषमा नभई सम्बन्धित रेजिमेन्टको खातामा जम्मा गरेको र कर नतिरेर राज्यलाई शोषण गरेको भनी महालेखा नियन्त्रकको कार्यालयले प्रश्न गरेको भनेर सन् २०१४ मा यो विवादमा आएको थियो ।

अन्यत्रको अनुभव हेर्दा पनि सैनिक कल्याणकारी परियोजनाका नामबाट सेनाले व्यापार र लगानी विस्तार गरेको पाइन्छ । स्यामुएल हन्टिङ्टनका भनाइमा, सेनाको गैरसैन्य क्षेत्रमा सहभागिताको परिणाम अर्थभन्दा बढी राजनीतिबाट अभिप्रेरित हुन जान्छ । गहिरिएर हेर्दा सैन्य लगानीका लागि सेनाको नीतिनिर्माणमा सहभागिता हुने ठाउँ सिर्जना गर्ने, नाफाको सुनिश्चितता गर्न राजनीतिज्ञसँग अवाञ्छित सम्पर्क बढाउने, उच्चपदस्थ प्रशासनिक अधिकारीसँग सहकार्य सिर्जना गर्ने र यो दुश्चक्रले कालान्तरमा सेना–कार्मचारीतन्त्र–राजनीतिज्ञ–बिचौलियाबीच गठजोड बनाउने हुन्छ । जब नागरिक सरकारको मातहत रहने संगठन सरकारको साझेदारका रूपमा विकसित हुन्छ, तब नागरिक सर्वोच्चता, राज्यको बजेट र नीतिमा समेत सेनाको छाया पर्छ ।

सेनाको गैरसैन्य क्षेत्रमा सहभागिता बढ्न थालेपछि त्यहाँको राजनीति पनि स्थिरताका नाममा शक्तिको केन्द्रीयता, एकल नियन्त्रणतिर संस्थागत हुन्छ भन्ने कुरा म्यान्मार, पाकिस्तान र बंगलादेशमा पटकपटक भएका सैन्य ‘कू’ ले देखाएका छन् । बंगलादेशमा मात्र सन् १९७१ यता १९ पटक नागरिक सरकारलाई अपदस्थ गर्ने प्रयास भइसकेको छ । सेना राजनीति र अर्थतन्त्रमा हावी हुँदा आफ्नो आवश्यकता, महत्त्व र औचित्य पुष्टि गर्न कसरी सुरक्षा चुनौती आमन्त्रण गरिन्छन् भन्ने थुप्रै उदाहरण पाउन सकिन्छ । तीमध्ये प्रधानमन्त्री नवाज सरिफको जानकारीबिनै पाकिस्तानका तत्कालीन सेनापति परवेज मुसर्रफले सन् १९९९ मा सिर्जना गरेको कारगिल युद्धको पृष्ठभूमि पनि एक उदाहरण हो ।

व्यापार आफैंमा नाफामुखी कार्य हो भने प्रतिरक्षाचाहिँ विशुद्ध राष्ट्रसेवा हो । यसरी विशुद्ध सेवाका लागि तयार सेना व्यापार र लगानीमा संलग्न हुनु पेसागत हिसाबले पनि विरोधाभासपूर्ण हुन्छ । विकासशील र पुँजीवादी देशमा सेनाले गरेको आयआर्जन राष्ट्रिय बजेटको हिस्सा भयो भने सेनालाई आफ्नो पक्षमा ‘लबिइङ’ गर्न थप स्वायत्त बनाइन्छ । सरकारप्रति सेना कि सेनाप्रति नागरिक सरकार वफादार हुने भन्ने मनोवैज्ञानिक द्वन्द्वसमेत सिर्जना हुने खतरा हुन्छ । सेनाभित्रै पनि यसले सापेक्षतामा धेरै वा कम वा शून्य लाभान्वित हुनेबीच ठाडो र तेर्सो विभाजन ल्याउँछ । सन् २००९ मा उपभोग्य वस्तुको खुद्रा बिक्रीमा फाइदा लिएका अधिकृतहरू र दोष मात्र पाएका तल्लो दर्जाका अधिकारीको विवादले बंगलादेशको अर्धसैन्य बल बंगलादेश राइफल्सभित्र विद्रोह भएर ६९ अधिकृत मारिएको यस्तै कारणले हो ।

एसियाली अनुभव हेर्दा सेनाको गैरसैन्य व्यवसायमा संलग्नता विकास प्रवर्द्धकभन्दा बाधकका रूपमा बढी देखिएको छ । प्रभाव र दबाबका आधारमा सजिला र गतिला परियोजनाहरू सेनाले नै लिने, सजिलै प्राकृतिक स्रोत र राज्यको सम्पत्ति हडप्ने वा सस्तोमा मिलाउने, साथै संगठनको साधनस्रोतसमेत परिचालन गर्ने हुनाले अन्य नागरिक संस्थाहरू र निजी संस्था पनि प्रतिस्पर्धा गर्न नसकी हतोत्साहित हुने अवस्था आउँछ । र, अन्त्यमा उनीहरू सेनाकै सेवामा आश्रित हुनुपर्ने परिस्थिति सिर्जना हुन्छ । सुशासनका सन्दर्भमा पनि आर्थिक क्रियाकलापमा सेनाको संलग्नता जति बढ्छ, त्यति नै अपारदर्शिता, अनियमितता र भ्रष्टाचारमा वृद्धि हुन्छ ।

यस्तो अवस्थाबाट आजित भई सन् २००६ मा बेनजिर भुट्टो र नवाज सरिफले मिलेर ‘लोकतन्त्रको चार्टर’ निर्माण गरी पाकिस्तानी सेनाको आर्थिक अधिकार र सहभागितामा भारी कटौती गर्ने असफल प्रयास गरेका थिए । त्यस्तै, म्यान्मारमा पनि सेनाबाट सञ्चालित कम्पनीहरूका बारेमा त्यहाँको सरकारले अनुसन्धान सुरु गरिसकेको देखिन्छ । अनि, बंगलादेशको सेनाले व्यापार र लगानीमा दत्तचित्त हुँदा छिमेकी म्यान्मारले सन् २०१८ पछि जमिन, समुद्र र आकाशमा समेत नियम उल्लंघन गरिरहेका बेला सार्वभौमसत्ताको रक्षा गर्न उदासीन देखिएको र जनविश्वास गुमाएको भन्ने नागरिक आक्रोश खेप्नुपरेको थियो ।

भनिन्छ, शक्तिशाली देशको व्यावसायिक सेनाले व्यापार सिर्जना गर्छ, तर व्यापारमा आफैं सहभागी हुन्न । उसले प्रणाली बलियो बनाउन सहयोग गर्छ, समस्या सिर्जना गर्दैन । लोकतान्त्रिक राजनीतिक पद्धति संस्थागत भएका बेलायत, अमेरिका र भारतमा सेना वा सम्बद्ध कुनै पनि संस्था आर्थिक प्रवर्द्धन गर्नमा स्वतन्त्र रूपले सहभागी हुन पाउँदैनन्, बरु रक्षा मन्त्रालय मातहतका रक्षासम्बद्ध उद्योग तथा पूर्वाधार निर्माण र विकासमा सरोकारवाला र विज्ञ संस्थाका हैसियतले सहयोगी हुन्छन् ।

व्यापार र लगानी प्रवर्द्धनमा सेनाको भूमिका देशको राजनीतिक इतिहास र संस्कारले पनि निर्धारित र निर्देशित गरेको हुन्छ । इन्डोनेसिया होस् वा म्यान्मार, पाकिस्तान होस् वा बंगलादेश, व्यापार र लगानीमा कुनै यस्तो क्षेत्र बाँकी छैन जहाँ सेना सहभागी वा हावी नभएको होस् । भनिन्छ, ती देशमा मानिसलाई जन्मदेखि मृत्युसम्म चाहिने वस्तु र सेवामा सेनाको व्यापार र लगानी छ । तर बजेटमा आत्मनिर्भर हुने नीतिअनुरूप व्यापार र लगानी प्रवर्द्धनमा सहभागी भएको चीनबाहेक व्यापार र लगानी प्रवर्द्धनमा सेनाको सहभागिता भएका देशले विकासको क्षेत्रमा आशानुरूप फड्को मारेको देखिन्न । साथै आर्थिक उन्नति भएको पनि पाइँदैन । बरु ‘धनी सेना भएको गरिब देश’ का नामले ती देश चिनिन्छन् । यी देशमा अधिकांशतः सेनाको नेतृत्वको सरकार वा सेनाको छाया सरकार वा चाहनाअनुरूपका वा अधीनस्थ सरकारहरू नै आलोपालो चलेको इतिहास छ । साथै, गैरसैन्य क्षेत्रमा हात हालिसकेपछि निर्वाचित नागरिक सरकारले चाहँदासमेत सेनालाई ब्यारेक फर्काउने काम अति कठिन र जटिल हुने कुरा थुप्रै देशको अनुभवले पुष्टि गर्छ ।

नेपालको कुरा गर्दा, माओवादी विद्रोहका बेला नेपाली सेनाले संख्या, शक्ति, संगठन, संरचना, साधनस्रोतका साथै सहयोग र सहभागिता बढायो, जसले सेनालाई अत्यधिक शक्तिशाली, सशक्त र सक्रिय बनायो । तर शान्ति प्रक्रिया र राज्यको पुनःसंरचनासँगै सेनाको आवश्यक पुनःसंरचनामा नागरिक सरकारको ध्यान गएन, सुधारका केही आन्तरिक प्रयासबाहेक सेनाको संगठन पुरानै अवस्थामा रह्यो । सेनाको विकास–निर्माण र अन्य गैरसैन्य काममा संलग्नता बढ्दै जाने क्रमसँगै विवाद पनि सुरु भयो । वीरता र बहादुरीमा अब्बल भनेर जनस्तरमा परिचित सेना एक्कासि ‘फास्ट ट्र्याक’ विवादमा तानियो । ओम्नीको असफलतापछि सरकारमार्फत आइलागेको कोरोना औषधि खरिदमा सेनालाई जनताले हेर्ने दृष्टिकोण झन् बिग्रियो । सर्वसाधारणलाई समेत सेनासँग आक्रोशित बनाउने यस्तो संलग्नता राष्ट्र र सेना दुवैको हितमा भएन । सेनालाई निर्देशन र सुपरिवेक्षण गर्ने नागरिक नेतृत्वले पनि सेनाका राम्रा कामलाई प्रोत्साहन र विवादित विषयमा जवाफदेही प्रदर्शन गरेको सार्वजनिक रूपमा खासै सुनिएन ।

गैरसैन्य क्षेत्रमा सेनाको बढ्दो भूमिकालाई राष्ट्र र संगठनको हितकेन्द्रित भएर र औचित्यपूर्ण तथा तर्कसंगत हिसाबले सोच्ने, निर्दिष्ट गर्ने, बुझाउने र कतिपय अवस्थामा रोक्नेजस्ता आवश्यक अभिभावकीय भूमिका खेलेको पनि देखिएन । बरु नागरिक–सेना उच्चपदस्थको आपसी फाइदाका लागि साझेदारीमा अगाडि बढ्दै गएको भन्ने गुनासा जिम्मेवार अधिकारीबाटै सुनिन थालेका छन् । यसको मुख्य कारण हालको संगठित सैन्य बललाई व्यावसायिक र परिणाम देखिने हिसाबले व्यस्त गराउने क्षेत्र र विधिबारे चिन्तन नहुनु हो, जुन राष्ट्र र सेनाको संगठनकै लागि पनि चुनौती भएर खडा छ ।

भारत, अमेरिका र बेलायतकै मोडलको नेपाली सेनाका हकमा माथि विश्लेषण गरिएका दुवै विकल्प खुला छन् : व्यावसायिक सेना बनाउने कि व्यापारिक ? नयाँ संविधानसँगै सुरक्षा नीति संशोधन गर्दैगर्दा ‘स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताको रक्षाका लागि निर्मित’ राष्ट्रिय सेनालाई ‘विकास–निर्माण... लगायतका काममा परिचालन’ गर्ने र अब ‘लगानी प्रवर्द्धन’ गर्ने भन्ने सम्बन्धमा समेत सरकार, नागरिक र सेनाबीच छलफल गर्ने समय आएको छ ।

अहिले देखिएका र सम्भावित चुनौतीको विश्लेषण गरी अनुभव र आवश्यकताका आधारमा सेनाको हालको संगठन, र यसको विकास–निर्माणमा बढ्दो संलग्नतालाई स्पष्ट रूपले पुनर्परिभाषित र पुनर्विचार गर्ने बेला भइसकेको छ । सेनाको कल्याणकारी कोष र मौजुदा रकमलाई उत्पादनमूलक काममा लगानी गर्दै देश, सेनाका अधिकारी तथा आश्रितले कसरी अधिकतम लाभ प्राप्त गर्ने भन्ने विषयमा स्पष्ट नीति बनाउन ढिला भइसकेको छ । यस कार्यमा सेनाको सोच र प्रस्तावमा नागरिक तहबाट पनि अध्ययन–चिन्तनमा आधारित बहस र सुझाव आवश्यक छ ।

प्रकाशित : श्रावण २९, २०७७ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?