कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११७

जिउँदाको छटपटी नदेख्ने राज्य

ज्युँदा मान्छेको छटपटीमा दुख्नुभन्दा अतीत र मिथकहरूको संकीर्तनमा आनन्द खोज्नु लुइस चौधौं प्रवृत्ति हो ।
चन्द्रकिशोर

प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले १४ वर्ष जेलमा बिताए । यातनाका कारण क्षयरोग र अल्सरबाट पीडित भए ।

जिउँदाको छटपटी नदेख्ने राज्य

बीस वर्षपहिलाको सहयोगी नेपालमा जेल अनुभवबारे उनले भनेका छन्— “एक दिन गोलघरमै बन्दी भएका बेला क्याप्टेन यज्ञबहादुर थापा, भीमनारायण श्रेष्ठ र राधाकृष्ण मैनाली मेरो कोठामा आउनुभयो । त्यति बेला मेरो स्वास्थ्यस्थिति अत्यन्तै चिन्ताजनक थियो । मलाई पाँच दिनदेखि लगातार बाडुली लागिरहेको थियो । क्षयरोगका कारण मलाई चुरोट खानु हुँदैनथ्यो । उहाँहरूले मलाई सोध्नुभयो, ‘के खाने ?’ मैले उत्तर दिएँ, ‘चुरोट ।’ त्यस बखत मलाई ‘चुरोट खान दिनु भनेको मेरो अवस्था अन्तिममा छ’ भनेझैं थियो । कैदीको मृत्यु हुँदा गोलघर सामुन्नेको खाली भागमा एक छिन राखेर मात्र लास उठाइन्थ्यो । लास उठाएपछि सनियाँ नामको डोले लास उठाएको ठाउँबाट फिनेल छर्किंदै लासको पछिपछि दौडिन्थ्यो ।” स्वास्थ्यस्थिति चिन्ताजनक हुँदा खड्गप्रसादले त्यो लासको ठाउँमा आफ्नो अनुहार देख्थे रे । उनी भन्छन्, ‘सनियाँ फिनेल छर्किंदै मेरो लासको पछिपछि दौडिरहे जस्तो लाग्थ्यो ।’

यतिखेर कोरोना संक्रमण बढेसँगै नयाँनयाँ ‘हटस्पट’ देखा पर्न थालेका छन् । अस्पतालले भर्ना नलिँदा उपचार नपाएरै बिरामीको ज्यान जाने क्रम पनि बढ्दै छ । बिरामीलाई अस्पतालहरूले पन्छाइरहेछन् । शय्या, भेन्टिलेटर र अक्सिजनको अभाव हुन थालेको छ । सुरुको चरणमा संक्रमितको संख्या कम थियो; त्यसमा पनि लक्षण नदेखिने धेरै थिए ।

मर्नेहरूको संख्या थोरै भएरै खड्गप्रसादले ‘बेसारवाद’ को भाष्य रच्दै आफ्नो सरकारले उत्कृष्ट व्यवस्थापन गरेको दाबी गरे । यस्तो दाबीको महिनादिन नबित्दै सरकारी तन्त्रको लापरबाही र लाचारी प्रस्ट देखिन थालेको छ । विराटनगरको ‘उद्घोष’ दैनिकका सम्पादक मोहन भण्डारी संक्रमित भएपछि हालै फेसबुकमा लेखे— ‘सरकारको भर पर्नु, मरण स्विकार्नु हो ।’ उनको गुनासो र पीडा हेर्दा सरकारप्रति आममान्छेको भरोसा टुट्दै गएको देखिन्छ । नेपाली मनोविज्ञानमा निरूपित हुँदै गरेको यस प्रकारको असुरक्षा भावले सरकारी व्यवस्थापनको धज्जी उडाउँदै छ । यस्तोमा उपचारबिना मरेका मान्छेका लासहरूमा राज्यको अनुहार देख्नेहरू कम छैनन् ।

सरकारले कोरोनाको घण्टी समयमै सुनेको भए यस्तो अव्यवस्था देख्नुपर्दैनथ्यो । सरकारले कोरोना व्यवस्थापनका लागि थिति बसाउन सकेको भए आज यस्तो सन्त्रास भोग्नुपर्ने स्थिति आउँदैनथ्यो । सरकारले समय पाएर पनि आवश्यक प्रबन्ध गर्न सकेन । तीनै तहका सरकारमाझ आपसी तालमेल छैन । संघीय सरकारको प्रतिनिधिका रूपमा रहेका प्रजिअ र नगरप्रमुखहरूको तालमेल कतिपय ठाउँमा देखिँदैन । त्यसै गरी स्थानीय सरकार र प्रदेश सरकारमा एकअर्काप्रति औंलो तेर्स्याउने खेल सुरु भएको छ । डाडुपन्यु हातमा लिएर बसेको संघीय सरकारले तलको आवाजलाई सुन्न अटेर गरिरहेछ । यस्तोमा हटस्पट बन्दै गएका सहरहरूमा संघले विभेद गरेको मनोविज्ञान बाक्लिँदै छ । आममान्छेले सरकारलाई खोज्ने र बुझ्ने भनेको संकटका बेला हो तर अहिले सरकार हराएको छ । राज्यले नागरिकलाई बिचल्लीमा पार्नेछैन र बिचल्लीमा एक्लै छाड्ने पनि छैन, सुख–दुःखमा राज्य उसका पछाडि उभिएको छ, संकटमा नागरिक एक्लो छैन, सिंगो राज्य साथमा छ भन्नेजस्ता भाव जनगणको मनबाट बाफ बनेर उड्दै छ । अस्पताल चहार्दाचहार्दै जसले आफन्त गुमाए, जो यो शोकको साक्षी बने, तिनका लागि लासहरूमा राज्य गन्हाइरहेछ ।

सरकारले कृत्रिम राष्ट्रवादको अचानोमा जनविश्वासलाई मासिरहेको छ । राष्ट्रिय ऐक्यबद्धताका लागि इमानदार प्रयत्न गर्नुभन्दा विभिन्न राजनीतिक शक्तिसँगको विवादमा समय र ऊर्जा लगाउने रोगले ग्रस्त भइरहेको छ । केही समयका लागि यस्तो अपाच्य गतिविधि थेग्न सकिँदो रहेछ तर अन्ततोगत्वा यसको परिणाम त्रासदीपूर्ण हुन्छ नै । यहीँनिर लेखक थोमस फ्रिडम्यानको भनाइ सान्दर्भिक हुन्छ, ‘हामी इतिहासको नयाँ विभाजन रेखामा उभिएका छौं । दुनियाँको इतिहास अब इसाभन्दा अघि वा पछिको आधारमा होइन, कोरोनाभन्दा पहिला र पछिको कालखण्डमा विभाजित हुनेछ ।’ गणतान्त्रिक नेपालको कालखण्ड पनि खड्गप्रसादपूर्व र पछिका रूपमा चित्रित गरिनेछ । पञ्चायतकालमा समेत यो हदसम्मको लापरबाही देखिएको थिएन । खड्गप्रसाद आम नेपालीलाई झिनामसिना, सस्ता र उपेक्षायोग्य प्राणी ठान्छन् र आफ्नो अह्रनखटनमा चल्नका लागि मात्र जन्मेका हुन् जस्तो गर्छन् । वीरगन्जमा छोटो अवधिमा उपचार नपाएर मान्छे मर्न लाग्दा छटपटिएर नगरवासी भन्थे, ‘खड्ग सरकारले वीरगन्जमाथि प्रतिशोध राखेको छ ।’ तर अहिले अरू सहरलाई समेत उपेक्षा गरिएको छ । यसको अर्थ सरकारले आफ्ना नागरिकको जीवन–मृत्युसँग जोडिएको सवाललाई ‘इग्नोर’ गर्नु हो ।

कसैले पनि आफूलाई राज्य ठान्नु हुँदैन । यदि सरकार प्रमुखले आफूभित्र त्यो मनोभाव राखेका छन् भने त्यो निर्वाचित अधिनायक हुन तम्सिनु हो । सत्ताको दलीयकरणभन्दा पनि ‘ओलीकरण’ हुँदै आएको छ । राज्यको प्रत्येक ठाउँमा प्रधानमन्त्रीको आँखीभौंको इसारा बुझ्नेहरूलाई तैनाथ गरिएको छ । यस्तो अवस्थाले शक्तिको अतिशय केन्द्रीकरण भइरहेछ । वीरगन्जको वेदनाबारे कहीँकतै खड्गप्रसादको सुसाइ सुनिँदैन तर छेवैमा ‘राम’ मन्दिर बनाएर कीर्तिमानी बन्ने चाहना लुकाउन सकेका छैनन् । राष्ट्रवादको कीर्तन गाएर खड्गप्रसादले सत्ताकब्जा गर्न लागेका छन् र ‘राम’ लाई आफ्नो संकथनको प्रतीकका रूपमा उभ्याउन खोजिरहेका छन् । ज्युँदा मान्छेको छटपटीमा दुख्नुभन्दा अतीत र मिथकहरूको संकीर्तनमा आनन्द खोज्नु लुइस चौधौं प्रवृत्ति हो ।

एक जना वामपन्थी मित्रले हालै मलाई सोधे, ‘खड्गप्रसादको लोकप्रियता बढ्दै गएको हो ?’ मैले प्रतिप्रश्न गरें, ‘आज चुनाव भयो भने उहाँले जित्नुहुन्छ त ?’ उनले भने, ‘पक्का जित्नुहुन्छ !’ कोरोना व्यवस्थापनमा भइरहेका चूकका बावजुद उनको लोकप्रियता बढ्दै गएको यो संवादले देखाउँछ । तर यो नक्सा राष्ट्रवाद र वामको रामले सम्भव भएको नभई विपक्षको अकर्मण्यताका कारण सिर्जना भएको हो । स्वयं सत्तारूढ नेकपाभित्र विपक्षी स्वरका सम्भावनाहरू सेलाउँदै छन् र यस्तो आकस्मिक रूपमा भएको होइन । जहाँ विकल्प हुँदैन त्यहाँ सम्भावना रित्तिन्छ । हामी नेकपाको फुच्चे कल्पना, टुच्चे इच्छा र बुच्चे व्यवहार भोग्न अभिशप्त भयौं । यसका बावजुद खड्गप्रसादलाई राष्ट्रनायक मान्ने र जयजयकार गर्नेहरू कम छैनन् ।

राष्ट्रवादको नशामा लट्ठिएका भक्तहरू कोरोनालाई कृत्रिम शत्रु मान्दै सय–पचास मर्नुलाई स्वाभाविक भन्दै छन् । भारतका प्रसिद्ध व्यंग्यकार हरिशंकर परसाईले भनेका छन्, ‘जयजयकारले असल कार्यहरूलाई प्रोत्साहन दिन्छ, धिक्कारले व्यक्ति र समूहको दुराचारलाई रोक्छ । तर जब जयजयकार गलत मान्छेले गराउँछ, त्यतिखेर धिक्कारको शक्ति समाजले गुमाउँछ ।’ राष्ट्रवादले अझै फड्को मार्नु छ । हामीले अझै भयानक नियति भोग्नै छ र त्यो सब कम्युनिस्ट नामधारीको सत्ताकालमै बेहोर्नु छ । राष्ट्रवादका नाममा नेताविशेषले उन्मुक्ति पाएका छन् भने, संविधानमा जे लेखिए पनि, त्यो अधिनायकवादको प्रस्ट लक्षण हो ।

प्रकाशित : श्रावण २९, २०७७ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?