कहिले रोकिएला एसिड आक्रमण !

सन्ध्या सिटौला

एसिड अर्थात् तेजाब नेपालमा जोसुकैले जहिलेसुकै किन्न र बेच्न सक्छन् । विभिन्न प्रयोजनका लागि खरिद गरिने भए पनि यसको प्रयोग केही वर्षयता महिला हिंसामा हुने गरेको छ । एसिड आक्रमण महिला तथा पुरुष दुवैमा हुन सक्छ, तर नेपालमा महिलामाथि बढी हुने गरेको छ, जुन निकृष्ट हिंसा हो । एसिडको शारीरिक, मनोसामाजिक र मानसिक असर महिलाले जीवनभरि भोगिरहनुपर्छ ।

कहिले रोकिएला एसिड आक्रमण !

एसिड आक्रमणको कारण

एसिड आक्रमण सामान्य मनमुटाव, रिसको आवेग र विशेष गरी महिलालाई वस्तु वा हक जमाउन सकिने पात्रका रूपमा ग्रहण गरिने अवधारणाका कारण हुने गरेको छ । कारण खोतल्दै गए निकै उदेकलाग्दो स्थिति छ— ‘मैले धेरै मन पराउँथें, उसले मेरो माया बुझिन, मलाई गलहत्याई, मेरो यौन चाहनालाई स्विकारिन, त्यसैले एसिड प्रहार गरिदिएँ’ ! यस्ता अभिव्यक्तिले हाम्रो समाज कतातिर जाँदै छ भनी देखाउँछन् । मायाका नाममा गरिएका यस्ता व्यवहारलाई अहंकार मान्ने कि आफूलाई सर्वश्रेष्ठ ठान्ने एक तुच्छ अभिव्यक्ति ?

दाइजोका निहुँमा पनि यस्ता घटना भइरहेको तीतो सत्य हामीले देख्दै–सुन्दै आइरहेका छौं । घरेलु हिंसाको एउटा डरलाग्दो पाटोका रूपमा यस्ता घटनाहरूले जरो गाडेका छन् । कति महिला आफूलाई जलाउने, नोक्सान पुर्‍याउने मानिस र परिवारकै सहारामा बस्न बाध्य छन् । एसिड आक्रमणकी एक पीडितले अन्तरक्रियाका क्रममा भनेकी थिइन्, ‘मलाई जलाएर यस्तो अवस्थाको बनाइदिए । न माइतीमा जाने ठाउँ छ, न आफैं कमाउन सक्ने सामर्थ्य छ । उपचारको खर्च कसले बेहोरिदिने भन्ने चिन्ता रहेको र पूर्ण रूपले निको भएर पहिलेकै अवस्थामा आउन सक्ने स्थिति नहुँदा पीडकलाई माफी दिएर उहाँकै रेखदेखमा बसेकी छु । ... पछि अदालतमा गएर मैले नै ममाथि आक्रमण भएको हैन, दुर्घटना भएर मेरो यस्तो अवस्था भयो, यसमा कसैको दोष छैन भनिदिएँ ।’ यस्ता पीडा सहेर र पीडकसँग सम्झौता गरेर बस्न धेरै महिला बाध्य छन् । राज्यको दृष्टि त्यता नपर्नु एकदमै टीठलाग्दो छ ।

किन महिला सशक्तीकरणको कुरा गर्ने, किन चाहिन्छ लैंगिक समानता भन्ने प्रश्नको उत्तर हुन् यस्ता घटनाहरू । महिला आफैं सक्षम भएका भए, आर्थिक, सामाजिक, राजनीतिक हिसाबले अब्बल हुन सकेका भए यसरी पीडकसँग सम्झौता गरेर हरेक दिन भित्रभित्रै पिल्सिँदै जीवनयापन गर्नुपर्ने स्थिति सायदै आउँथ्यो । महिलाहरू पनि यो देशका कर्मठ र सबल नागरिक हुन् अनि उनीहरूलाई पनि ‘नाइँ, हुँदैन, म यस्तो गर्दिनँ, मलाई चाहिँदैन, मलाई मन पर्दैन, मेरो छनोट यो हो’ भन्ने हक छ भनी आत्मसात् गर्न सकिएको भए यस्ता अभिव्यक्ति दिएकै कारण उनीहरूले जलिनु, पिटिनु, बलात्कृत हुनु वा अन्य हिंसाको सिकार हुनु पर्दैनथ्यो ।

एसिड आक्रमणका कारणहरू खोतल्दै जाँदा समाजमा लैंगिक असमानता र विभेद गहिरिएर रहेको छर्लंग हुन्छ । अभिव्यक्तिको स्वतन्त्रता नेपालका सम्पूर्ण नागरिकका लागि समान छ । यसो भन्दै गर्दा पुरुषले यही स्वतन्त्रतालाई उपभोग गरेर आफ्ना मनमा लागेका कुरा र आफ्नो प्रेमको प्रस्ताव राख्दासम्म यो अधिकारको प्रयोजनमा कुनै प्रश्नचिह्न खडा नहुने, तर महिलाले त्यही अधिकार प्रयोग गरेर निर्धक्क इन्कार गरे भने जिन्दगीभर नभरिने पीडाको सिकार हुनुपर्ने कस्तो समानता हो ? इन्कारलाई कसैमाथि आक्रमण गर्न पाउने छुटका रूपमा बुझिनु कदापि न्यायसम्मत हुँदैन । महिलाले आफ्नो निर्णय गर्न पाउने अधिकार उपभोग गर्दा हिंसा गरिनु उचित हुनै सक्दैन । यस्ता घटनालाई प्रश्रय दिइरहँदा हाम्रो समाज झन् हिंसा–उन्मुख हुँदै जान्छ ।

एसिड आक्रमणमा प्रायः महिलाको अनुहार र बाहिरी आवरणलाई निसाना बनाइन्छ, स्वरूप बिगार्ने हेतुले । यसपछाडिको कारण पनि लैंगिक संरचनामै जोडिन्छ । किनकि महिलाहरू सुन्दर देखिनुपर्छ, राम्री हुनुपर्छ, चिटिक्क हुनुपर्छ भन्ने कुराले उनीहरूले कस्तो जीवनसाथी पाउने हो, कस्तो घरमा विवाह हुने र कस्तो जीवन निर्वाह गर्ने हो भन्ने निर्धारण गर्छ । महिलाको बाहिरी आवरण उनीहरूको आत्मविश्वास र आत्मबलसँग जोडिने हुँदा यस्ता आक्रमणका माध्यमबाट त्यसैलाई डगमगाइदिने गरिन्छ ।

के गर्ने ?

एसिड सस्तोमा सहजै उपलब्ध हुने र बढी क्षति पुर्‍याउने वस्तु हो । यसको प्रहारले महिलाको जीवनशैलीमै दीर्घकालीन असर पुर्‍याउँछ । शारीरिक पीडा त असह्य हुन्छ नै, मानसिक पीडा पनि कम हुन्न । यस्तो आक्रमणपछि पीडितको उपचारको पाटो पनि एकदमै जटिल, महँगो र धेरै समय लाग्ने हुन्छ । त्यसैले एसिडको बिक्री–वितरणमा कडाइ गरिनु एकदमै जरुरी छ । कति मात्रामा, कहाँ र कसलाई मात्र उपलब्ध गराइने भन्नेबारे स्पष्ट नीति ल्याउनु आवश्यक छ । जहाँ जसलाई मन लाग्यो, बेच्न र किन्न पाइने भएकाले पनि एसिड आक्रमण बढ्दै गएको हो । त्यसैले कसले, कहाँ, के प्रयोजनका लागि कति मात्रामा किनबेच गरेको हो, त्यसको अभिलेख राख्नु अत्यावश्यक छ ।

एसिड आक्रमणमा एकै किसिमको क्षतिपूर्तिको व्यवस्था पनि न्यायसम्मत हुँदैन । मेडिकल शब्दावलीमा फस्ट डिग्री, सेकेन्ड डिग्री र थर्ड डिग्री भन्ने गरिन्छ, जुन घटनाको जटिलता हेरी हुन्छ । कुनै पीडितको उपचार केही दिन त कसैको जीवनभर गर्नुपर्ने हुन सक्छ । क्षतिपूर्ति भराइँदा यसतर्फ ध्यान दिनुपर्छ । त्यस्तै, मुद्दाको अन्तिम निर्णय भएपछि मात्र क्षतिपूर्ति पाउने व्यवस्थाले तात्कालिक उपचारलाई सम्बोधन गर्न सकेको छैन । यस्तो घटनामा उपचार तत्कालै गरिनुपर्ने हुँदा कानुनी प्रक्रियालाई पर्खने हो भने मानिसको ज्यानै नरहन सक्ने स्थिति आउन सक्छ । कानुनी प्रक्रिया लामो हुने हुँदा तत्काल उपचार खर्चको व्यवस्था राज्यबाट हुनुपर्ने र मुद्दा किनारा लागेपछि असुलउपर गर्दा अलि बढी सजिलो हुने देखिन्छ । पीडक आर्थिक रूपले सक्षम नभएको खण्डमा राज्यले उपचार व्यवस्था मिलाउनुपर्ने र उचित क्षतिपूर्तिबापत पीडकलाई दण्ड–सजायको व्यवस्था गर्ने प्रावधान हुन सके पीडितलाई प्रोत्साहन र आत्मबल मिल्छ, यस्ता घटनाहरूलाई नियन्त्रण र निवारण गर्नसमेत सहयोग पुग्छ ।

(सिटौला अन्तर्राष्ट्रिय श्रम संगठन नेपालमा कार्यरत छिन् ।)

प्रकाशित : श्रावण २८, २०७७ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?