अनिश्चिततातर्फको भयग्रस्त यात्रा- विचार - कान्तिपुर समाचार

अनिश्चिततातर्फको भयग्रस्त यात्रा

भारतमा ५ अगस्त २०२० देखि सुरु भएको ‘अगस्त प्रतिक्रान्ति’ प्रक्रियाले गति पाएपछि छरछिमेकमा मात्र नभएर तेस्रो विश्वका कतिपय देशमा प्रजातान्त्रिक परिष्करणको निरन्तर आन्दोलनले धक्का बेहोर्नुपर्ने निश्चित छ ।
सीके लाल

काठमाडौँ — राजनीतिक वृत्तमा भगवान् राम अहिले चर्चामा छन् । उत्तरप्रदेशको अयोध्यामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बडो तामझामका साथ बाबरी मस्जिद भत्काएर सम्याइएको भूखण्डमा प्रस्तावित राम मन्दिरको भूमिपूजन सम्पन्न गरे ।

लगत्तै नेपालका प्रधानमन्त्री एवं नृजातीय मुख्तियार खड्गप्रसाद शर्मा ओलीले पर्सा जिल्लाको अयोध्यापुरीमा भव्य राम मन्दिर बनाउन त्यहाँको स्थानीय सरकारका नाउँमा उर्दी जारी गरेका छन् । रामायणको ऐतिहासिकता भने तथ्य र प्रमाणमा आधारित नभएर एक थरी हिन्दुहरूको आस्थामा अडेको छ । भौतिक अस्तित्वको साक्ष हुन्छ । त्यसलाई हातले छुन सकिन्छ । आँखाले देख्न सकिन्छ । नाकले गन्ध चाल पाउँछ । जिब्रोले स्वाद ठम्याउँछ । वैचारिक अवधारणा मस्तिष्कबाट उब्जिन्छ । गुणी र ज्ञानीको उद्धरण तथा तर्कबाट तिनको परीक्षण हुन्छ । मन भने भावभूमि हो । त्यहाँ तथ्य र तर्क काम लाग्दैन । जे कुरामा आस्था छ, त्यो स्वतःसिद्ध सत्य हो । अनौठोजस्तो लागे पनि भावनात्मक आवेगको शक्तिका सामुन्ने भौतिक एवं तार्किक तथ्य टिक्न नसक्ने रहेछ ।

सबैका सृष्टिकर्ता एउटै हुन् । तर, धर्मयुद्ध मानव इतिहासको क्रूर यथार्थ हो । अन्तरिक्षबाट हेर्दा पृथ्वी एउटै देखिन्छ । राज्य एवं राष्ट्रका नाउँमा मर्न र मार्न तयार रहेको जमातको संख्या एवं प्रभावमा दिनानुदिन वृद्धि भइरहेको हुन्छ । प्रथम विश्वयुद्धको विभीषिकाबाट उत्साहित विजेताहरूले पराजित पक्षलाई नियन्त्रणमा राख्न सन् १९१९–२० तिर पेरिस शान्ति सम्मेलन गरेका थिए । त्यहाँ सहभागी ३२ देशमा बेलायतको अधीनस्थ एकाइका रूपमा भारतीय प्रतिनिधिको पनि उपस्थिति थियो । महायुद्धको समाप्तिले अमेरिकी प्रभुत्वको सुरुआत गरेकाले भारतीयहरूमा सीमित भए पनि स्वतन्त्रता प्राप्त हुने आश पलाएको थियो । केही दिनभित्रै असर भने उल्टो देखिन थाल्यो ।

भारतमा रौलेट कानुन एवं त्यसपछिको दमनचक्रले उत्पन्न अमृतसरको जालियानवाला बाग हत्याकाण्डका कारण भारतीय स्वतन्त्रता आन्दोलनका प्रणेताहरूलाई हिन्दु एवं मुसलमानले सँगै काम गर्नुपर्ने बाध्यता महसुस भयो । भारतसँग प्रत्यक्ष सम्बन्ध नभए पनि मुसलमानहरूको भावनात्मक लगावलाई सम्मान गर्दै असहयोग आन्दोलनका तत्कालीन नेतृत्वकर्ता महात्मा गान्धीले टर्कीमा इस्लामका खलिफा मानिने शासकको पुनःस्थापनका लागि भइरहेको खिलाफत आन्दोलनको समर्थन गरे । एकथरी हिन्दु अस्मिताका अभियन्ताहरूका लागि भने त्यो गलत कदम थियो । राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) संस्थाको औपचारिक गठन ‘आद्य सरसंघचालक’ भनिने केशव बलिराम हेडगेवारले सन् १९२५ तिर गरे पनि हिन्दुत्ववादी विचारधाराका प्रवर्तक मानिने विनायक दामोदर सावरकरको प्रभाव त्यसभन्दा अघिदेखि नै देखिन थालिसकेको थियो । वैचारिक द्वन्द्व सुरु भएको झन्डै चार दशकसम्म सत्य, अहिंसा एवं सद्भावको राजनीतिका प्रतीक रहेका महात्मा गान्धी आफ्ना प्रतिद्वन्द्वीसँग भौतिक रूपमा त्यस दिन हारे जब सावरकरका अनुयायीले ३० जनवरी १९४८ मा कायरतापूर्वक उनको हत्या गरे । असहयोग आन्दोलनको एक शताब्दीपछि गान्धी ५ अगस्त २०२० का दिन वैचारिक रूपमा पनि पराजित भएका छन् । गान्धीका राम अब सामान्यजनको मनमा नभएर झन्डै ५०० वर्ष पुरानो मस्जिद भत्काएर बनाइने भव्य मन्दिरमा बास गर्नेछन् ।

सार्वभौमिकताको प्रश्न

अविभाजित भारतको औरंगाबादमा जन्मिएका मौलाना सैयद अबुल आला मौदुदी (सन् १९०३–१९७९) आफ्नो कालखण्डका विख्यात विचारक एवं तत्कालीन एसियाको सबभन्दा ठूलो गैरसरकारी संस्था जमात–ए–इस्लामीका संस्थापक एवं संगठक थिए । उनी पवित्र कुरानका प्रतिष्ठित अनुवादक एवं इस्लामका व्याख्याता पनि हुन् । भारतीय स्वतन्त्रता आन्दोलनताका उनी धर्मका आधारमा राज्यको विभाजनका विरोधी थिए । मौलाना मौदुदीको परिकल्पनामा जनतन्त्र, धर्मनिरपेक्षता, राष्ट्रवाद एवं समाजवादजस्ता पश्चिमा अवधारणाले नैतिक राज्य सञ्चालन गर्न बाधा पुर्‍याउँछ । उनको वैचारिक प्रभावले गर्दा ‘सार्वभौमिकता अल्लाहको हो एवं इस्लामका मूल्य एवं मान्यता लोकतन्त्रभन्दा माथि हुन्छन्’ भन्ने सिद्धान्तले पाकिस्तानलगायत पश्चिम एसियाका कतिपय देशमा वैधानिक स्वीकार्यता पाएको छ । इस्लामिक स्टेट (आईएस) जस्ता गैरभौगोलिक राज्यसत्ताहरूले उनलाई वैचारिक द्रष्टा मान्छन् । सन् १९२० पछि लगभग दुई दशकसम्म अविभाजित भारतमा उनको व्यापक प्रभाव थियो ।

हिन्दु धर्मस्थलहरूका सन्त–महन्त एवं इस्लाममा सूफी परम्पराका पीर–मुर्शिदको उत्तराधिकारी चयन गर्ने विधि पछ्याउँदै आरएसएसका आद्य सरसंघचालक हेडगेवारले माधवराव सदाशिवराव गोलवलकर (१९०६–१९७३) लाई आफ्नो देहावसानपश्चात् दोस्रो सरसंघचालक मनोनयन गरेका थिए । आरएसएस एवं भारतीय जनता पार्टीलगायत त्यस संस्थाका तीन दर्जनभन्दा बढी धार्मिक, राजनीतिक, सामाजिक, सांस्कृतिक एवं आर्थिक मोर्चा एवं मञ्चका सदस्यहरूले गोलवलकरलाई ‘गुरुजी’ भनेर सम्बोधन गर्ने गर्छन् । सन् १९४० देखि १९७३ सम्म मृत्युपर्यन्त आरएसएसको अगुवाइ गरेर त्यस छाता संगठनलाई संसारको सबभन्दा ठूलो एवं प्रभावशाली गैरसरकारी संस्थामा रूपान्तरित गर्नुमा गुरु गोलवलकरको सम्भवतः सबभन्दा बढी योगदान छ । उनी मौलाना मौदुदीको वैचारिक अवधारणाका हिन्दुत्ववादी संस्करण थिए भन्दा हुन्छ ।

महात्मा गान्धीको सन् १९३०–३१ को दाण्डी यात्रा एवं असहयोग आन्दोलनबाट हेडगेवारले आरएसएसलाई अलग राखेका थिए । गोलवलकरले आफ्ना सदस्यलाई सन् १९४२ को ‘भारत छोडो’ एवं ‘अगस्त क्रान्ति’ आन्दोलनमा सहभागी हुने अनुमति दिएनन् । सायद त्यसैले ९ अगस्तको क्रान्ति दिवसलाई आरएसएसका कर्ताधर्ताहरू ५ अगस्तको मुक्ति दिवसद्वारा विस्थापित गर्न उद्यत छन् । मौलाना मौदुदीका अवधारणा अध्ययन नगरेसम्म समसामयिक पाकिस्तानका बाध्यताहरू ठम्याउन कठिन भएजस्तै गोलवलकरका विचारहरूको विश्लेषणबेगर हिन्दुत्व राजनीतिको मर्म ठम्याउन कठिन छ । आफ्नो कार्यकालमा भारतको स्वतन्त्रता, देशको विभाजन, इतिहासको सबभन्दा ठूलो एवं त्रासद जनसंख्या स्थानान्तरण, महात्मा गान्धीको हत्या, भारत–चीन युद्ध, भारत–पाकिस्तान संघर्ष एवं बंगलादेशको स्थापनाका साक्षी र सहभागी रहेका गोलवलकरको ‘बन्च अफ थट्स’ पुस्तिका, इतिहासकार रामचन्द्र गुहाको विचारमा, हिन्दुत्व राजनीतिकर्मीहरूका लागि बाइबल वा कुरानजत्तिकै महत्त्वपूर्ण कृति हो ।

औपनिवेशिक कालमा आरएसएसले भारतीय मुसलमानलाई विदेशी शासक बेलायतभन्दा बढी खतरनाक ‘दुस्मन’ ठहर्‍याएजस्तै पाकिस्तानको गठनपछि पनि गोलवलकरले घृणाको राजनीतिलाई परित्याग गरेनन् । लेखक खुशवन्त सिंहसँगको साक्षात्कारमा गोलवलकरले ठाडै भनेका छन्, ‘मुसलमानहरूले सबभन्दा पहिले के बिर्सिनुपर्छ भने, तिनले कुनै बेला भारतमा राज गरेका थिए । त्यसपछि तिनले अरू मुसलमान देशलाई आफ्नो उद्भवभूमि मान्न बन्द गर्नुपर्छ । तेस्रो कुरा, तिनीहरू भारतको मुख्य धारामा समाहित हुनुपर्छ ।’ अविभाजित भारत हिन्दुबहुल भए पनि संसारमा सबभन्दा धेरै मुसलमान बसोबास गर्ने देश थियो । महात्मा गान्धीले ‘अल्लाह ईश्वर तेरे नाम, सबको सन्मति दे भगवान्’ भजन गाएर आश्वस्त तुल्याउन खोजे पनि मुहम्मद अली जिन्नाले १६ अगस्त १९४६ लाई प्रत्यक्ष कारबाहीको ‘डाइरेक्ट एक्सन डे’ बनाउन आह्वान गरे र त्यसपछि भारतीय उपमहाद्वीपको भूगोल त बदलियो नै, इतिहासको पुनर्लेखनसमेत सुरु भयो । कालान्तरमा पाकिस्तानले अल्लाहको सार्वभौमिकता स्वीकार गर्‍यो तर भारतमा लगभग सात दशकसम्म जनताको सम्प्रभुतालाई नै अँगालेर शासन व्यवस्था चल्दै थियो । परिस्थिति भने भारतीय उपमहाद्वीपमा पनि धर्मतन्त्र (थिआक्रसी) अनुकूल बन्दै गइरहेको छ ।

दक्षिण एसियामा अफगानिस्तान, पाकिस्तान एवं माल्दिभ्स घोषित रूपमै इस्लामिक राज्य हुन् । बंगलादेशमा धर्मनिरपेक्षताको प्रयोग टिक्न सकेन । भुटान, बर्मा एवं श्रीलंकामा असहिष्णु प्रकृतिको बौद्ध राज्य व्यवस्था सञ्चालनमा छ । औपचारिक तवरले नेपाललाई धर्मनिरपेक्ष राज्य घोषणा गरिसकिएको भए पनि गाई मार्नेलाई ‘हत्या’ मानिन्छ एवं त्यस्तो कामलाई पाप नभएर दण्डनीय अपराध ठहर्‍याइन्छ । भारतमा ५ अगस्त २०२० देखि सुरु भएको ‘अगस्त प्रतिक्रान्ति’ प्रक्रियाले गति पाएपछि छरछिमेकमा मात्र नभएर तेस्रो विश्वका कतिपय देशमा प्रजातान्त्रिक परिष्करणको निरन्तर आन्दोलनले धक्का बेहोर्नुपर्ने निश्चित छ ।

कार्यनीतिक विचलन

पाकिस्तान गठनका लागि क्रियाशील संविधानसभालाई सम्बोधन गर्दै ११ अगस्त १९४७ का दिन कराँचीमा जिन्नाले प्रतिबद्धता जनाएका थिए, ‘तपाईं स्वतन्त्र हुनुहुन्छ । तपाईं आफ्नो मन्दिरमा जान स्वतन्त्र हुनुहुन्छ । तपाईं पाकिस्तान राज्यको मस्जिद वा अन्य कुनै पनि पूजास्थलमा जान स्वतन्त्र हुनुहुन्छ । तपाईं कुनै पनि धर्म वा जाति वा धर्मको हुन सक्नुहुन्छ । राज्य सञ्चालनसँग त्यसको कुनै सरोकार छैन ।’ जिन्नाको मृत्युसँगै उनको प्रतिबद्धताको पनि अवसान भयो । त्यस अभिभाषणको केही दिनभित्र पण्डित जवाहरलाल नेहरूले १५ अगस्त १९४७ को आफ्नो ‘नियतिसँग साक्षात्कार’ सम्बोधनमा मुखर चिन्तन गरे, ‘यो हाम्रा लागि भारतमा, सम्पूर्ण एसियाका लागि एवं विश्वका लागि दूरगामी महत्त्वको घडी हो । पूर्वमा एउटा नयाँ तारा उदाइरहेको छ । एउटा नयाँ आशा पलाएको छ । एउटा चिरप्रतीक्षित भविष्यदृष्टि कार्यान्वित हुन लागेको छ । यो तारा कहिल्यै नडुबोस्, यो आशमाथि कहिल्यै विश्वासघात नहोस् ।’ त्यस्तो भविष्यदृष्टिका लागि विगतभन्दा आगत महत्त्वपूर्ण थियो एवं अतीतमोहबाट मुक्त भएर वर्तमानको व्यवस्थापन गर्नुपर्ने थियो । गान्धीको सत्य, अहिंसा, अपरिग्रह एवं ग्राम स्वराजबाट प्रेरणा लिएका भए पनि राजनीतिक आधुनिकतालाई अंगीकार गरेका पण्डित नेहरू बहुलतामा आधारित राष्ट्रियता, अल्पसंख्यकले सम्मान पाउने प्रजातन्त्र, सम्पत्तिको अधिकार सुनिश्चित भएको समाजवाद, संघीय शासन प्रणाली एवं गुटनिरपेक्ष स्वतन्त्र कूटनीतिलाई प्रवर्द्धन गर्न प्रतिबद्ध थिए ।

नेहरूको प्रजातान्त्रिक समाजवादको प्रतिवाद (एन्टिथिसिस) मान्न सकिने हिन्दुत्व राजनीतिमा प्रजातन्त्रको अर्थ बहुलताको प्रवर्द्धन नभएर बहुसंख्यकवादको अभ्यास थियो । त्यस अवधारणाको स्वाभाविक परिणतिका रूपमा हिन्दुत्वको प्रजातन्त्रमा अन्य धर्मावलम्बी दोयम दर्जाका नागरिक ठहरिन्छन् । हिन्दुत्वलाई जीवनशैली एवं राष्ट्रियता भनेर व्याख्या गरेपछि बहुल शासन व्यवस्थाका लागि त्यहाँ ठाउँ रहँदैन । जाति व्यवस्थाबेगरको हिन्दु राष्ट्र सम्भव छैन । त्यसैले हिन्दुत्वको अर्थराजनीतिले समाजवाद स्वीकार गर्न सक्दैन । हिन्दुत्वका प्रवर्द्धकहरूले औंल्याउने गरेको ‘आत्मनिर्भर अर्थतन्त्र’ प्रकारान्तरले राज्यसंरक्षित चाकर पुँजीवाद नै हो । कूटनीतिक मोर्चामा भारतीय दक्षिणपन्थीहरूको स्पष्ट नीति छैन भन्दा हुन्छ, फगत पाकिस्तानको विरोध गरे पुग्छ । गौहत्या बन्द गर्ने नाउँमा ‘गौ गुण्डा’ परिचालन गरेर मुसलमानको उत्पीडन, मुस्लिम तुष्टीकरणको अन्त्य गर्ने बहानामा भारतको सबभन्दा पिछडिएको समुदायको थप बहिष्करण, मन्दिर बनाउने निहुँ झिकेर मस्जिद भत्काउने उपक्रम एवं संघीयता तथा बहुविधता कमजोर गर्न विशेष व्यवस्थाहरूको क्रमिक खारेजी गर्ने घोषित एवं अन्तर्निहित नीतिका साथ आरएसएसको राजनीतिक मोर्चाका रूपमा सन् १९५० को दशकमा भारतीय जनसंघ पार्टीको गठन भएको थियो । ‘एउटै देशमा दुई थरी निसान, दुइटा विधान, दुई व्यक्ति प्रधान’ हुन सक्दैन भन्ने जनसंघका संस्थापक श्यामाप्रसाद मुखर्जीको उद्घोष प्रत्यक्ष तवरले कश्मीरको विशेष दर्जाको विरोधजस्तो मात्रै देखिए पनि त्यो समरूप नागरिक संहिताको पक्षमा पनि थियो । त्यसलाई अयोध्यासँग जोडेर उत्तेजक बनाउने श्रेय भने जनसंघको सन् १९८० पछिको राजनीतिक उत्तराधिकारी भारतीय जनता पार्टीलाई जान्छ ।

अनुच्छेद ३७० को खारेजीपछि स्वतन्त्र भारतले तत्कालीन कश्मीरसँग गरेको प्रतिबद्धता भंग भएको छ । प्रस्तावित नागरिकता ऐनले दुई किसिमका नागरिक अवधारणालाई वैधानिकता प्रदान गर्नेछ । हिन्दी, हिन्दु र हिन्दुस्तानीको नाराका कारण उल्लेख्य नागरिकहरूको अन्यीकरण हुनेछ । चाकर पुँजीवादको प्रवर्द्धनले आर्थिक असमानता बढाउँदै लग्नेछ । त्यसपछिको भारत जेजस्तो रहे पनि नेहरूले जगाएको ‘एसिया एवं विश्व’ समुदायको आश भने पक्कै रहनेछैन । पाकिस्तानलाई ७३ औं स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा नक्साको आयुधीकरण गर्न सफल भएकामा बधाई । भारतको हिन्दुकरण गर्न उद्धत भाजपाई जमातलाई भव्य राम मन्दिर निर्माण गर्ने कार्यमा सन् २०२४ अगाडि नै सफलता मिलोस् भन्ने शुभकामना । कोभिड–१९ ले राज्य पुनःसंरचनाबारे सोच्ने अवसर प्रदान गरेको थियो । स्मृतिलोपले ग्रस्त समसामयिक राजनीतिकर्मीहरू एक शताब्दी पुरानो बहसमा पुनः अल्झिएका छन् । अनिश्चितता भविष्यको चरित्र नै हो, त्यसमा सम्भाव्य अस्तव्यस्तताको भय पनि थपिएको छ ।

(बुधबार प्रकाशित हुने कान्तिपुरको प्रिन्ट संस्करणबाट ।)

प्रकाशित : श्रावण २७, २०७७ १९:२३
प्रतिक्रिया
पठाउनुहोस्

स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि गाउँपालिकाको कार्यालय र स्वास्थ्य केन्द्र सिल

राजेन्द्र मानन्धर

दोलखा — एकजना स्वास्थ्यकर्मीसहित दुई जनामा कोरोना संक्रमण देखिएपछि गौरीशंकर गाउँपालिकाको कार्यालय, प्राथमिक स्वास्थ्य केन्द्र र वडा कार्यालय सिल गरिएको छ ।

सुरी प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत एकजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्य केन्द्र सिल गरेर अन्य कार्मचारी क्वारेन्टाइनमा बसेका छन् । हलेश्वर माविको क्वारेन्टाइनमा बसका अर्का एकजनामा पनि पोजिटिभ देखिएको छ ।

गौरीशंकर गाउँपालिका अध्यक्ष स्वयमबहादुर खड्काले कर्मचारी र विदेशबाट आएका गरी दुई जनामा कोरोना देखिएपछि अत्यावश्यक कामबाहेक गाउँपालिकाको कार्यालयको काम बन्द गरी सिल गरिएको हो । सुरी प्राथमिक स्वास्थ्य केन्द्र र वडा नं. ५ को वडा कार्यालय पनि सिल गरी आवतजावत बन्द गरिएको उनले बताए ।

साउन २५ गते स्वाब संकलन गरि पठाइएका स्वास्थ्यमकर्मी साउन २३ गते भक्तपुरबाट आएका थिए । विदेशबाट आएका एक जना हलेश्वर क्वारेन्टाइनमा एक्लै बसेका थिए । दुवै जनाको मंगलबार पोजिटिभ रिर्पोट आएपछि कन्ट्याकमा रहेकाहरुको स्वाब संकलन गर्न सदरमुकामबाट टोली पठाइने जिल्ला स्वास्थ्य प्रमुख विभु कुमार झाले जानकारी दिए ।

प्रकाशित : श्रावण २७, २०७७ १९:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×