कांग्रेस नवजीवनका लागि प्रस्ताव- विचार - कान्तिपुर समाचार

कांग्रेस नवजीवनका लागि प्रस्ताव

मुलुकलाई राजनीतिक दिशा प्रदान गर्ने क्रममा कांग्रेसको दिशा भने अन्योलपूर्ण र अस्थिर भयो ।
नवौं महाधिवेशनदेखि तेह्रौं महाधिवेशनसम्म आइपुग्दा कांग्रेस पार्टीभित्र कांग्रेस नै अल्पमतमा पुग्ला भन्ने डर पलाउँदै छ ।
रामचन्द्र पौडेल

काठमाडौँ — म नेपाली कांग्रेसको राजनीतिक आन्दोलनमा लागेको झन्डै छ दशक भयो । यहाँसम्म आउँदा कांग्रेसको विगत, वर्तमान र भविष्यबारे मेरा आफ्ना दृष्टिकोणहरू निर्माण भएका छन् । यी दृष्टिकोणहरू अनुभवका आधारमा छन्, संघर्षबाट निर्माण भएका छन् । कांग्रेस सत्तामा हुँदा वा प्रतिपक्षमा, देशमा पार्टीहरू प्रतिबन्धित हुँदा वा खुला रहँदा- सबै राजनीतिक प्रक्रियामा म लोकतान्त्रिक योद्धा भएर अग्रणी मोर्चामा छु । 

लोकतान्त्रिक आन्दोलनका क्रममा होस् वा माओवादी आन्दोलनलाई शान्तिपूर्ण निकास दिने सन्दर्भमा, मैले कांग्रेस पार्टीको सिपाहीको हैसियतले पाएको जिम्मेवारी पूरा गरेको छु । यसै क्रममा देशमा भएका निर्वाचनमा पार्टीको सफलता र असफलताको साक्षी म छु । यिनै अनुभव, संघर्ष र संलग्नताका आधारमा भविष्यको कांग्रेसप्रति मेरो एउटा दृष्टिकोण निर्माण भएको छ । एक्काइसौं शताब्दीमा कांग्रेस कस्तो हुनुपर्छ ? कांग्रेसको आजको समस्या के हो ? र, कांग्रेसले आफ्नो पुरानो गौरवशाली इतिहासको पुनर्निर्माण कसरी गर्न सक्छ ?

मेरो मान्यता छ, कांग्रेसलाई पुरानो अवस्थामा पुर्‍याउन पार्टीको चौधौं महाधिवेशन एउटा अवसर भएर हाम्रा अगाडि आएको छ । कांग्रेसको चौधौं महाधिवेशन देशको यस्तो राजनीतिक परिवेशमा हुन गइरहेको छ, जतिखेर देशमा कम्युनिस्ट सरकार छ । केन्द्रमा मात्र होइन, प्रदेश र स्थानीय निकायमा पनि कम्युनिस्टहरूको बाहुल्य छ । कम्युनिस्टहरूको बाहुल्यबाट लोकतन्त्रलाई बचाउँदै कांग्रेसलाई पुनः पुरानो गौरवशाली इतिहाससँग जोड्ने सूत्रबद्ध सुझावहरू म तल राख्न चाहन्छु ।

पार्टीमा सम्पूर्ण एकता

नेपाली कांग्रेस एकताबद्ध भएर अगाडि बढ्दा यसका विरोधीहरू सधैं पराजित भएका छन् । तर जबजब पार्टी एकतामा विभाजन, विघटन र अन्तर्घातले प्रश्रय पायो, कांग्रेस हार्‍यो । पार्टीमा अन्तर्घात भयो भनेर मात्र हुँदैन, अन्तर्घाती निर्माण हुने प्रवृत्ति, संस्कार र संस्कृतिको अन्त नभई कांग्रेसको पुनर्जीवन सम्भव छैन ।

कांग्रेस पार्टीलाई सम्पूर्ण रूपमा एकताबद्ध पार्न चुनौती नेतृत्वबाटै भयो । नेतृत्व आफ्ना कमजोरीले असुरक्षित भएको मानसिकतामा पुग्यो । गुट र गिरोह निर्माण गरेर नेताले आफ्नो सुरक्षाकवच तयार गरे । गुट, विभाजन र गिरोहलाई प्रश्रय नदिने नेता र कार्यकर्ता पार्टीमा लाखापाखा लागे । यहीँबाट पार्टीमा कार्यकर्तालाई न्यायपूर्ण सम्बोधन भएन भन्ने गहिरो चिन्ता विकसित भएको छ ।

कांग्रेस कार्यकर्ता पार्टीका ऊर्जा हुन्, निराशा र खिन्नता प्रकट गर्ने पार्टी कार्यकर्ताले पार्टी मिसनमाथि न्याय गर्न सक्तैनन् । त्यस्तै, नेतृत्व जतिसुकै ऊर्जावान् भए पनि कार्यकर्ता ऊर्जावान् भएनन् भने पार्टी र जनताबीचको सम्बन्ध चुँडिन्छ । एकातिर पार्टी नेतृत्वले नैतिक मान्यताहरू स्थापित गर्न नसकेर जनताको नजरमा पार्टी स्खलित भएको अवस्था छ, अर्कातिर कांग्रेस पार्टीको मिसनका निम्ति पनि पार्टी नेतृत्वले कार्यकर्ता र जनताबीच संवाद स्थापित गराउन नसक्ने अवस्था देखा परेको छ । कांग्रेसको चौधौं महाधिवेशनले अवसर दिएको छ, नैतिकतावान् पार्टी कार्यकर्ता र जनताबीच संवाद स्थापित गर्न सक्ने नेता चयन गर्ने ।

पार्टी कार्यकर्तालाई न्याय हुन्छ, पारदर्शी रूपमा कार्यकर्ताको मूल्यांकन गरिन्छ भनी विगतमा पनि नेताहरू अगाडि आए । तर पार्टीभित्र आफन्त, पैसाको चलखेल र भ्रष्ट चरित्रलाई प्रोत्साहन दिने काम पनि भएको गुनासा आए । पार्टीले अवसर दिँदा एक थरीलाई सधैं झोले कार्यकर्ता बनाउने र अर्का थरीलाई सधैं राज्यको सुविधाको स्थानमा पुर्‍याउनाले कार्यकर्तामा ऊर्जा नै मलिन भयो ।

नवौं महाधिवेशनदेखि तेह्रौं महाधिवेशनसम्म आइपुग्दा कांग्रेस पार्टीभित्र कांग्रेस नै अल्पमतमा पुग्ला भन्ने डर पलाउँदै छ । त्यसैले म तपाईंहरूसमक्ष प्रण गर्दछु, पार्टीमा न्यायपूर्ण र निष्पक्षतापूर्वक कार्यकर्ताको मूल्यांकनमा मेरो बाँकी जीवन समर्पण हुनेछ । मैले यसो भनिरहँदा पार्टीको आगामी महाधिवेशनमा मेरो उम्मेदवारी र जित–हारसँग मेरो यो अभियानको कुनै सरोकार हुनेछैन ।

पार्टीमा नवजीवन

नेपाली कांग्रेसले आफ्नो सात दशक लामो राजनीतिक यात्रामा थुप्रै राजनीतिक आन्दोलनहरूको नेतृत्व गर्‍यो । यो आरोह–अवरोहमा कहिले कांग्रेस एक्लै थियो भने कहिले अन्य राजनीतिक पार्टीहरूसँग मिलेर मुलुकलाई नयाँ राजनीतिक दिशा दिने काम भयो । मैले पनि कहिलेकाहीँ त मेरो पुस्तामा एक्लोजस्तो अनुभव गर्नुपर्‍यो । मुलुकलाई राजनीतिक दिशा प्रदान गर्ने क्रममा कांग्रेसको दिशा भने अन्योलपूर्ण र अस्थिर भयो । कुनै पनि पार्टी नवजीवनका लागि त्यो पार्टीको वैचारिक धरातल के हो भन्ने प्रश्न उठ्छ । कांग्रेस पार्टीको नवजीवनका लागि यतिखेर उठेका केही मूलभूत प्रश्न छन्, जसको छिनोफानो नगरी कांग्रेस एकताबद्ध हुन सम्भव छैन, अनि त्यो नभई यसले नवजीवन पनि पाउँदैन ।

नवजीवनको पहिलो सर्त हो, वर्तमान संविधानलाई कांग्रेसले हेर्ने दृष्टिकोण । वर्तमान संविधान कांग्रेस नेता गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा भएको जनआन्दोलनको कारण सम्भव भएको हो । दोस्रो, यो संविधान कांग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्री भएको समयमा जारी भयो । अर्थात्, आन्दोलन र त्यसको संवैधानिक वैधानिकता दुवै कांग्रेसको नेतृत्वमा भएकाले सम्पूर्ण कांग्रेसजनलाई यो प्राप्तिमा गौरव हुनुपर्ने हो ।

अहिले कांग्रेस कम्युनिस्टको पछाडि लाग्यो भन्ने आरोप पार्टीभित्र भुसको आगोजस्तो छ । यो आगो निभाउन भावी दिनमा कांग्रेसको कम्युनिस्टसँगको सम्बन्ध कहाँसम्म र कस्तो हुनेछ भनी लक्ष्मणरेखा कोर्नुपर्ने र स्पष्ट गर्नुपर्ने समय आएको छ ।

मेरो दृष्टिमा कांग्रेसमा सैद्धान्तिक विचलन आउनुको कारण कतिपय साथीहरूमा रहेको सैद्धान्तिक स्पष्टताको अभाव पनि हो । माथिका विषयहरू जस्तो संघीयता, समावेशिता, लोकतान्त्रिक समाजवाद र गणतन्त्रको विषयमा सैद्धान्तिक निष्ठा प्रदर्शन गर्ने र वर्तमान संविधानलाई अंगीकार गर्ने हो भने कांग्रेसको चौधौं महाधिवेशनले अपार अवसर प्रदान गरेको छ । पार्टीका राजनीतिक सिद्धान्तहरूलाई सूत्रबद्ध गरेपछि कस्तो आर्थिक मोडल र कांग्रेसको समृद्धिको लक्ष्य कहाँ र कसलाई भन्ने प्रश्न उठ्छ । बीपीलाई अनुसरण गर्दै मैले भन्नुपर्दा, ‘कांग्रेस किसानको पार्टी, मजदुरको साथी हो ।’ कांग्रेस गाउँको विकास गर्ने पार्टी हो । यही विकासको मूलमन्त्र कांग्रेसको रहनेछ । र, यसमा राज्य र निजी क्षेत्रको भूमिकालाई स्थानीय निकायहरूसँग समन्वय गरी समृद्धिको यात्रा अगाडि बढाइनेछ ।

‘कांग्रेस आवाजविहीनको आवाज हो’ र ‘कांग्रेस राज्यमा पहुँच नभएकाहरूको आशा र भरोसाको केन्द्र हो ।’ यही नारा कांग्रेसको सपना हो । यही मिसन कांग्रेसको नेपाल नवनिर्माणको मिसन हो ।

राज्य र नागरिक

राज्यको चरित्र लोकतान्त्रिक मात्र भएर पुग्दैन । कांग्रेसका सबै आन्दोलनहरू लोकतन्त्रलाई सुरक्षित राख्न र निर्वाचित सरकार निर्माणमा केन्द्रित भए । आगामी दिनमा कस्तो लोकतन्त्र भन्ने प्रश्न विश्वसामु छ । कांग्रेसको लोकतन्त्रको परिभाषामा कानुनी शासन र पारदर्शी सरकार छ । देशको अनेकतालाई एकतामा जोड्ने माध्यम समावेशी लोकतन्त्र हो भने समृद्धिको यात्रा पनि समावेशी विकासबाट सम्भव छ । कांग्रेसको चौधौं महाधिवेशनबाट नयाँ कांग्रेसको उद्घोष हुनेछ, जसमा देशभित्रै युवाहरूको पाखुरालाई देश विकासको पाखुरा बनाइनेछ । ‘युवाको पाखुरा देश निर्माणको सबल खम्बा’ भन्ने नारा कांग्रेसको चौधौं महाधिवेशनबाट अभियानका रूपमा अगाडि बढ्नेछ । यसबाहेक हाम्रा मान्यता र कार्यक्रमहरू यस प्रकार हुनेछन् :

  • समृद्धिको आधार : पहिले सबै बाँचौं, अनि समृद्धिका लागि प्रतिस्पर्धा गरौं । कृषि क्रान्ति, पर्यटनको विस्तार, ऊर्जाशक्तिको विकास र साना तथा मझौला उद्योगको सञ्जाल समृद्धिका मूल आधार हुन् ।
  • हाम्रो बसोबास : गाउँमै बसौं–बसौं बनाऔं । गाउँमै रोजगारी र आम्दानी, गाउँ–गाउँमै गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा पुर्‍याऔं । स्वच्छ पर्यावरण होस्, जनतालाई सुरक्षित आवासका लागि बस्ती सुधार कार्यक्रम अगाडि सारौं ।
  • व्यवस्थाको प्रश्न : सत्तरी वर्षको संघर्षका कारण बहुलवादमा आधारित संसदीय समावेशी प्रणाली, लोकतन्त्रका मूल्य–मान्यतामा आधारित समाजवाद भनेर व्यवस्थाको टुंगो लागिसकेको छ । यसको प्रभावकारी कार्यान्वयन आवश्यक छ । बारम्बारको नयाँ–नयाँ प्रयोग देशले धान्न सक्तैन ।
  • विश्व व्यवस्था : युरोप–अमेरिका नेतृत्वको पश्चिमी र रुस–चीन नेतृत्वको पूर्वीय गरी दुई ध्रुवमा विभक्त विश्व व्यवस्थामा नेपाल कतै संलग्न नहुने असंलग्न नीतिमा चल्नुपर्छ ।

(मंगलबार प्रकाशित हुने कान्तिपुरको प्रिन्ट संस्करणबाट ।)

प्रकाशित : श्रावण २६, २०७७ १८:५२
प्रतिक्रिया
पठाउनुहोस्

नेकपाका ६१ सांसदले भने- 'हाम्रो टाउका गनेर पार्टी फुटाउने सपना नपाले हुन्छ'

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्तारुढ नेकपाका सांसदहरूले आफ्ना टाउका गणना गरेर पार्टी विभाजनको सपना नदेख्न पार्टी नेतृत्वलाई चेतावनी दिएका छन् । ६१ सांसदले पार्टी विभाजन उन्मुख गतिविधिविरुद्ध हस्ताक्षर गर्दै त्यस्तो चेतावनी दिएका हुन् ।

तत्कालीन एमाले र माओवादी केन्द्र पार्टी एकताका क्रममा गरिएका सहमति कार्यान्वयन गर्दै आगामी एकताको महाधिवेशनसम्म पार्टीको विधान र एकताको भावना समेटिने गरी देश र जनताको हितलाई केन्द्रमा राखेर राजनीतिक स्थायित्वलाई अझ सुदृढ पार्न तथा एकताबद्ध बनाएर अगाडि बढ्न सांसदहरूले प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित : श्रावण २६, २०७७ १८:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×