कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

कोरोनाकालमा खान्की

धनञ्जय पौड्याल

हाल हामी भाइरसजन्य महामारीसँग लडिरहेका छौं । स्वास्थ्य क्षेत्रमा विश्वमै एकैपटक यति ठूलो त्रासदी कल्पनाबाहिरको विषय हो । रोकथामका लागि गरिएका प्रयास र मानिसहरूमा बढ्दो चेतनाका कारण ढिलै भए पनि यसको प्रकोप कम हुँदै त जाला, तर निर्मूलै हुन भने लामै समय लाग्ने देखिन्छ ।

कोरोनाकालमा खान्की

निर्मूलै भए पनि यस्ता भाइरसहरू आफ्नो प्रोटिन (स्वरूप) परिवर्तन गर्दै बेलाबेला कहीँ न कहीँ देखा परिरहन सक्छन् । तसर्थ यस्ता रोग लागेपछि निको पार्न लाग्नुभन्दा रोग लाग्नै नदिनु उचित हुन्छ । उपचार विधि निर्क्योल भइनसकेको यस्तो रोगका लागि अझ हाम्रो शरीरको प्रतिरोधी क्षमता बढाउनुपर्छ । यसका लागि उचित पोषक तत्त्व चाहिन्छ, जुन सन्तुलित खानाबाट प्राप्त हुन्छ । केवल हामीले उचित तरिकाले खान जान्नुपर्छ ।

खानुपर्ने वस्तुहरू

शरीरको प्रतिरोधी क्षमता वृद्धि गर्न भिटामिन डी आवश्यक हुन्छ । चिल्लो पदार्थमा घुलनशील भिटामिन डीले अन्य कार्य गर्नुका अतिरिक्त हाम्रो श्वास–प्रश्वास प्रणालीलाई सहज तुल्याउँछ । कोरोना भाइरसले श्वासनलीमै आक्रमण गर्ने भएकाले शरीरमा भिटामिन डीको आपूर्ति भइरहनुपर्छ । भिटामिन डीको प्राप्तिबाट हाम्रो रगतमा पाइने टी सेल्सले प्रतिरोधी क्षमतालाई वृद्धि गरी बाहिरबाट प्रवेश गर्ने भाइरसहरूसँग लड्न मद्दत गर्छ र रोग लाग्नबाट बचाउँछ । भिटामिन डीका लागि खानाभन्दा बिनामूल्य पाउन सकिने सूर्यकिरण बढी महत्त्वपूर्ण छ । खास गरी बिहानको घाम बढी उपयुक्त हुन्छ । तर समय र स्थानका कारण सबैलाई यो अवसर उपलब्ध हुन नसक्ने भएमा भटमास, अण्डा, माछा, दूध, दही, ज्वानो, आलस, तिल र फर्सीको बियाँ लगायत खानुपर्छ ।

भिटामिन सीले हाम्रो रगतमा सेतो रक्तकोषिका बढाउनुका साथै तिनको सक्रियतामा सहयोग पुर्‍याउँछ । यसले रोगप्रतिरोधी क्षमता अझ मजबुत तुल्याई शरीरलाई संरक्षण गर्छ । पानीमा घुलनशील अम्लीय जातको भिटामिन सी मुख्य रूपले हामीले दैनिक खाने फलफूल तथा तरकारीहरूमै पाइन्छ । भिटामिन सी प्राप्तिका लागि महँगा र दुर्लभ वस्तुको खोजी गर्नुपर्दैन । अमला भिटामिन सीको ठूलो स्रोत हो । कागती, अम्बा, सुन्तला, काउली, ब्रोकाउली, तितेकरेला, रामतोरिया, धनियाँ, गाजरको पात आदिको सेवनबाट पनि भिटामिन सी पाउन सकिन्छ ।

खनिज तत्त्व जिंकको उपभोगबाट पनि भाइरससँग लड्ने क्षमता बढाउन मद्दत पुग्छ । प्रतिरोधी क्षमताका लागि आवश्यक पर्ने सेतो रक्तकोषिकालाई सक्रिय तुल्याई यसले रुघाखोकी, फ्लु र अन्य भाइरसबाट पनि बचाउँछ । माछा, मासु र अण्डा, चामल, गहुँ, फापर, दलहन, दुग्ध पदार्थहरू, फर्सी, काँक्रो, सूर्यमुखी लगायतका बियाँ, काजु, पेस्ता, बदाम र छोकडामा जिंक पाइन्छ । भिटामिन ए र ई पनि प्रतिरोधी क्षमता बढाउन सहायक हुन्छन् ।

चिल्लो पदार्थमा घुलनशील यी दुवै भिटामिन विभिन्न खाद्य पदार्थमा पाइन्छन् । भिटामिन एका लागि माछा, मासु, अण्डा, पाकेको फर्सी, पालुंगो, मेथी, धनियाँ, मुलाको साग, गाजर, सिस्नो, मेवा, आँप, गाजर खानुपर्छ । भिटामिन ई चाहिँ चिल्लो पदार्थ र तेलहनका अतिरिक्त फर्सी, काँक्रो र सूर्यमुखी लगायतका बियाँ, काजु, पेस्ता र बदाम आदिमा पनि पाइन्छ । हाम्रो भान्सामा विभिन्न मसला पनि प्रयोग हुन्छन्, जुन हाम्रो स्वास्थ्यका लागि लाभदायक छन् । बेसार, लसुन, ज्वानो, जिरा, टिमुर, अदुवा त्यस्ता केही मसला हुन् ।

माथि उल्लेख गरिएका खाद्यवस्तुहरूका अतिरिक्त हाम्रै देशका विभिन्न भागमा मौसमअनुसार पाइने जडीबुटीहरू पनि शरीरको प्रतिरोधी क्षमता सुदृढ गर्न महत्त्वपूर्ण हुन्छन् ।

खान नहुने वस्तुहरू

शरीरको प्रतिरोधी शक्तिका लागि पहिलो अखाद्य वस्तु हो— मदिराजन्य पदार्थ । मद्यपानबाट तत्काल केही शक्ति (क्यालोरी) त पाउन सकिन्छ, तर अन्ततः यसले शरीरका अंगहरूलाई हानि पुर्‍याउँछ । तसर्थ यस्तो महामारीमा मद्यपान नगर्नु उचित हुन्छ । गर्नै छ भने पनि एकदम थोरै मात्रामा कहिलेकाहीँ मात्र गर्नुपर्छ । धूमपान पनि यस्ता भाइरसहरूको समयमा एकदमै हानिकारक हुन्छ ।

कोरोना भाइरसले श्वासनली हुँदै फोक्सोमा आक्रमण गर्ने र धूमपानका रूपमा चुरोटले पनि फोक्सोमै असर गर्ने भएकाले यसबाट भाइरस फैलावटमा झन् बल मिल्ने हुन्छ । त्यसरी नै विभिन्न किसिमका ड्रग्स, गाँजा, सुर्तीले पनि फोक्सोसहित शरीरका अन्य अंगमा असर गर्छन् ।

पत्रु खाना (जंक फुड) यस्तो आपत्कालीन समयमा सकभर उपभोग नगर्नु र गर्नुपरे पनि नगण्य मात्र उपभोग गर्नु हितकर हुन्छ । चिसो पेयपदार्थ, आइसक्रिम खाँदा भाइरसलाई उल्टै बल पुग्छ । लकडाउनको समयमा केही ठाउँमा राहतका नाममा चाउचाउ वितरण गरिनु त्यसैले नराम्रो काम हो । खानाको अभावमा यसै त कमजोर भएको शरीरमा चाउचाउले झन् कमजोरी ल्याइदिन्छ ।

प्रकाशित : श्रावण २५, २०७७ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?