कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

काठमाडौं मात्रै देश होइन

लीला लुइँटेल

काठमाडौं उपत्यकाभित्र चारवटा नयाँ सहर निर्माण गर्न लागिएको समाचार अलि अगाडिदेखि नै सुनिँदै आएको हो । यस परियोजनाको विस्तृत अध्ययन प्रतिवेदन पनि तयार भइसकेको छ । सम्पूर्ण देशभरिकै साना जिल्लामा गणना हुने उपत्यकाका तीन जिल्लामै सम्पूर्ण देशलाई सङ्कुचित पार्नुपर्ने कारण के रहेछ ?

काठमाडौं मात्रै देश होइन

सङ्घीयताका पक्षमा वकालत गर्नेहरूले देशको भौतिक विकास एवं प्रशासन राजधानीमा मात्र केन्द्रीकृत भयो भनेर उहिलेदेखि नै सर्वसाधारणको दिमाग भुटेका हुन् । तदनुरूप सङ्घीयताको स्थापना पनि भएकै हो । देशमा सङ्घीयताको व्यवस्था लागू भएपछि गाउँगाउँमै सिंहदरबार पुग्ने र गाउँको भौतिक विकास हुने भयो भनेर ग्रामीण क्षेत्रका अधिकांश बासिन्दा खुसी पनि भएका थिए । तर, सत्तामा पुगेपछि तिनै सङ्घीयताका पक्षधरहरूले कथनी र करनीमा यति छिट्टै विद्रूप विपर्यास देखाउन थाले । देशका सम्पूर्ण भागको समानुपातिक विकासका लागि ल्याइएको अवधारणालाई लत्त्याएर सम्पूर्ण देशलाई काठमाडौंमा सङ्कुचित गराउने यस्ता परियोजना निर्माणमा कसको सङ्कीर्ण स्वार्थ लुकेको छ ?

विद्यमान राजधानी साँघुरो भएर वा अनेक कारण देखाउँदै राजधानी अर्को ठाउँमा सारिएका उदाहरण विश्वमा एक होइन अनेक छन् । अझ कतिपय देशमा प्रयोजनअनुरूप भिन्नभिन्नै क्षेत्रलाई राजधानी बनाएको पनि हामीले देखिरहेका छौं । अहिले काठमाडौं नै साँघुरो भएर देशको राजधानी कुनै खुला ठाउँमा सार्नुपर्ने आवश्यकता बोध भइरहेका बेला पुनः यही क्षेत्रमा बस्ती बढाएर उपत्यकालाई थप भार दिनुका पछाडि भूमिका खेल्ने तत्त्व के होला ? टाठाबाठा र आसेपासेलाई काठमाडौंमा थुपारी बाँकी बचेकालाई स्थानीय स्तरमै कुर्सीमा बसाएर गाडी चढाउन र भत्ता ख्वाउनकै लागि ल्याइएको अवधारणा हो त सङ्घीयता ?

क्षेत्रफलले अत्यन्त ठूला विकसित देशहरूको चिप्लिने सडकमा द्रुत गतिमा गाडी हाँकेर दुई–तीन घण्टा कामका लागि दैनिक घरैबाट ओहोरदोहोर गर्ने स्थितिबाट अहिले कोही नेपाली पनि अनभिज्ञ छैनन् । क्षेत्रफलका दृष्टिले नेपाल त्यति ठूलो छैन । यातायात सुविधा हुने हो भने विकसित देशमा जस्तै जुन कुनामा बसेर जहाँसुकै दैनिक काम गर्न जान सक्ने स्थिति छ हाम्रो । तर यस्ता कुरामा दृष्टि जान नसकेर काठमाडौं उपत्यकालाई साँघुरो बनाउने सङ्कीर्ण भूतले पछ्याउन किन छोडिरहेको छैन ?

विकसित मुलुकहरूमा राजधानीभन्दा निकै दूर रहेको ठाउँलाई व्यवस्थित गर्ने हिसाबले युवाहरूलाई गाउँमा जान प्रेरित गरिन्छ । ती देशका नीतिनियमलाई परै राखेर हेर्ने हो भने पनि अहिले हामीले व्यावहारिक रूपमा देखिरहेको अवस्था नै प्रशस्त हुन्छ । अहिले देशका अधिकांश युवा अध्ययन वा कामका सिलसिलामा विदेशमा छन् । ती देशमा स्थायी बसोबास गर्ने अनुमति पाउनाका लागि कलेजको पढाइ सकेर युवाहरू सुविधासम्पन्न सहरबाट निकै टाढा गएर बसेको प्रत्यक्ष रूपमा सबैजसो नेपालीले देखेभोगेकै छौं । अन्यत्र यस्तो व्यावहारिक अभ्यास देख्दादेख्दै हाम्रा योजनाकार र नेता भनाउँदाहरूले सिङ्गो देशलाई किन काठमाडौं उपत्यकामै खुम्च्याउन खोजिरहेका हुन्, बुझिनसक्नु छ ।

अहिले जानकारी भएअनुसार काठमाडौं ईशानको क्षेत्रफल १ लाख रोपनी छ भने अन्यको १० हजार रोपनी । सुन्दा १० हजार रोपनी सुनिए पनि यो क्षेत्रफल त्यति ठूलो होइन । त्रिभुवन विश्वविद्यालयकै क्षेत्रफल लगभग ३,०४२ रोपनी छ । यस दृष्टिले ईशानबाहेक अन्य सहरको क्षेत्रफल त्रिभुवन विश्वविद्यालयको हाताभन्दा लगभग तीन गुणा मात्र ठूलो हुने हो । नवीन अवधारणाअनुरूप व्यवस्थित रूपमा बनाउने हो भने यी क्षेत्रमा पार्क, खेल मैदान, मन्दिर, विद्यालय क्षेत्र, बजार क्षेत्र, अस्पताल क्षेत्र एवं हरित क्षेत्र पनि चाहिएलान् । यति ठाउँमा अरू त अरू हरित क्षेत्रको स्वरूप कत्रो र कस्तो हुन्छ ? यति सानो ठाउँमा बसाउने आधुनिक सहरको स्वरूप कस्तो होला ? यति पनि विचार गर्न नसकेर काठमाडौंलाई अझै साँघुरो बनाउने सोच हामीमा किन पलाइरहेछ ? एक्काइसौं शताब्दीको विद्युतीय सञ्चारको युगमा आइसक्दा पनि यति साँघुरो काठमाडौंको अस्तित्व नै समाप्त गर्न केले प्रेरित गरिरहेछ ? काठमाडौं उपत्यकामा आउने पुस्ताले माटोसम्म देख्न नपाउने यस्ता योजनाका पछाडि कसको सङ्कीर्ण स्वार्थ गाँसिएको छ ? अहिले भइरहेको यति सीमित क्षेत्रफलमा त पानीलगायत न्यूनतम आधारभूत आवश्यकता पूर्ति गर्न नसकिरहेको स्थितिमा निर्माणाधीन भनिएका यी सहरमा पानीको स्रोत के हो र न्यूनतम आवश्यकताको परिपूर्ति कसरी हुन्छ ?

काठमाडौं उपत्यका अत्यन्त उर्वरा भूमि हो । यहाँका काँक्रा, काउली र चम्सुर–पालुङ्गोको स्वाद मेरो पुस्तासम्मले सायदै बिर्सेका छन् । स्वाद र स्वास्थ्य दुवैका दृष्टिले अत्यन्त उच्चस्तरीय पाटने पालुङ्गो, भक्तपुरे काउली तथा काँक्रोका त अहिले बीउसमेत लोप नै भइसकेका छन् । यहाँको उर्वरा भूमिलाई नष्ट गरी अत्यन्त अव्यवस्थित बस्ती विस्तार गरेर विगतमा ठूलै गल्ती गरिसकेको बुझ्दाबुझ्दै हामी पुनः त्यसैको पुनरावृत्ति किन गरिरहेका छौं ? हाम्रो यो सङ्कीर्णताले काठमाडौं उपत्यका मात्र मारमा पर्ने होइन, देशका अन्य भाग सदैव अन्यायमा पिल्सिरहनेछन् भनेर हाम्रो चेतनामा किन नघुसेको ? अर्कातर्फ, देशभरिका सबै बस्ती काठमाडौंमै थुप्य्राउने हो भने अन्य भागमा किन चाहियो सडक सञ्जाल र अन्तर्राष्ट्रिय विमानस्थल ?

अनि किन चाहियो समानुपातिक विकासको नारा भट्याउने सङ्घीयता ? सिङ्गो देशलाई काठमाडौंमा मात्र सीमित गरेर हामीले गर्न र देखाउन खोजेको के हो ? अहिले निर्माण गर्ने भनिएका यी आधुनिक नयाँ सहरको अवधारणा र परियोजनालाई प्राथमिकताका क्रममा राखेर देशका अन्य प्रदेशमा वितरण गर्दै क्रमैसँग विस्तार गर्नेतर्फ किन कसैको पनि आँखा नखुलेको ? अझै पनि हामी आउने पुस्तालाई उच्चशिक्षा प्राप्त गर्न र रोजीरोटीको खोजी गर्न काठमाडौंमै थुप्रिन किन बाध्य बनाउँदै छौं ? अझ, न्यूनतम आठ आनाको कित्ताकाट गरी खरिद–बिक्री गर्न सकिनेछ, सोभन्दा कमको कित्ताकाट गर्न पाइनेछैन भन्ने सहर परियोजनाको वाक्यले देशलाई जग्गा दलालीको हातमा सुम्पिन खोजेको त होइन भन्ने प्रश्न उब्जाएको छ ।

प्रकाशित : श्रावण २३, २०७७ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?