कोरोनाले ल्याएको अवसर

बिन्दु अधिकारी ढकाल

कोरोना महामारीले विश्वका ७ लाखभन्दा बढी मानिसको ज्यान लिइसकेको छ । विश्वका समृद्ध र शक्तिशाली मुलुकहरूलाई समेत कोरोनाले थला पारेको छ । कोरोना भाइरसविरुद्धको खोप अहिलेसम्म पत्ता लागेको छैन ।

कोरोनाले ल्याएको अवसर

नागरिकलाई संक्रमणबाट जोगाउन लकडाउन गरिए पनि भोलिको दिन कस्तो होला भन्ने कसैलाई थाहा छैन । कसैको भविष्यको पनि कुनै ग्यारेन्टी छैन । सर्वत्र कोरोना महामारीको चर्चा छ । मानिससँगै डराउनुपर्ने र छेउमा जानै नहुने स्थिति छ । यसैकारण पर्यटन व्यवसाय अनिश्चितकालीन बन्दमा छ । त्यस्तै सभाहल, सिनेमाहल, मठ–मन्दिर र मस्जिद सुनसान छन् ।

‘बार बारे तुलफूल जोगिन्छ’ भनेझैं महामारीबाट नागरिकलाई लकडाउनले केही हदसम्म जोगाए पनि दैनिक ज्यालादारी गर्नेहरूले हातमुख जोर्ने कसरी ? गरिबीको रेखामुनि रहेका झन्डै २५ प्रतिशत जनसंख्यालाई रोगले भन्दा भोकले सताइरहेको छ । यो नेपालीको मात्र होइन विश्वभरिका लाखौं–करोडौं श्रमिकको समस्या हो । बदलिँदो दिनचर्याले निराशा पैदा गरेको छ । सकारात्मक हुने आधार देखिँदैन । थिति बस्न खोज्दै गरेको हाम्रो अर्थ–परिवेशलाई कोरोनाले ‘तावाको माछा भुङ्ग्रोमा’ भनेझैं अर्को कठिन स्थितिमा पुर्‍यायो । समग्र अर्थतन्त्र सोच्दै नसोचेको कठिन स्थितिमा छ । तैपनि ‘कालो बादलभित्र चाँदीको घेरा’ हुन्छ भनेझैं हरेक संकटभित्र अवसर पनि हुन्छ । कोरोनाकाल अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने मौका हुन सक्छ ।

हिजोको प्रदूषणयुक्त प्रकृति लकडाउनका कारण केही हदसम्म धूलोधूवाँमुक्त छ । यति बेला वातावरण सफा, स्वच्छ र हराभरा छ । वसन्तको आगमनले झन् सुन्दरता थपेको छ । लाहुर जाने हाम्रो चलन उही छ, समय मात्रै बदलियो । उति बेला भोट जाने मदनहरू अहिले भारत, खाडी, युरोप र अमेरिका पुग्छन् । महिलाहरू पनि बिदेसिएका छन् । पछिल्लो शताब्दीमा भएका विकासका कारण संसारै एउटा गाउँजस्तो भएको छ । अपरिचितसँग भय लाग्न छोड्यो र एकअर्काका रहनसहन र संस्कृति जान्ने उत्सुकता बढ्दै गयो । एउटा देशबाट अर्को देशमा जानेहरूको संख्या पनि बढ्यो । पठनपाठनदेखि रोजगारीको सिलसिलामा मानिसहरू संसारभर फिँजिए । तर अचानक आइपरेको कोरोना महामारीले देशदेशान्तरको अन्तरघुलनलाई ठप्प मात्रै पारेन, ‘युवाहरू विदेश पनि जान्थे रे’ भन्ने दिन ल्याइदियो ।

बाध्यतावश विदेश उछिट्टिएकाहरू भटाभट फर्किरहेका छन् । आउन बाँकीहरू पनि उद्धारको पर्खाइमा छन् । लाखौं खर्चेर सपनासहित उडेकाहरूले अब आफ्नो कला, कौशल, सीप र दक्षतालाई यही माटोमा प्रयोग गर्छन् कि भन्ने आशा गर्न सकिन्छ । यतै पसिना बगाए आफ्नै पाखोमा हीरामोती फल्ने थियो । सहरमा सङ्क्रमण फैलिन थालेपछि धमाधम गाउँ फर्किनेहरूको भीड बढिरहेको छ । यस महामारीबाट बच्न सहरभन्दा गाउँ बढी सुरक्षित हुन्छ भन्ने भावनाले गर्दा गाउँ फर्कनेहरू बढिरहेका छन् । काठमाडौंबाट मात्रै ८ लाख हाराहारीमा मानिस गाउँ फर्किए भन्ने प्रहरीको भनाइ छ ।

देशको मेरुदण्ड मानिने युवालाई आधुनिक ढाँचाको कृषिकर्ममा लगाउन सरकार लागिपर्ने हो भने यो संकट अवसरमा बदलिनेछ । कोरोना महामारीले मानिसलाई झुपडी नै भए पनि आफ्नै घर राम्रो, आफ्नै परिवार प्यारो भन्ने चेत खुलाइदियो र गाउँ फर्काइदियो । लकडाउनमा पारिवारिक सम्बन्ध र एकआपसको माया अझ मजबुत बन्यो । कोरोनालाई जित्न रोग प्रतिरोध क्षमता आवश्यक छ अनि योगले दिनचर्यालाई सकारात्मक बनाउँछ । योसम्बन्धी पूर्वजले छोडेका ज्ञानले हामीलाई लड्न मद्दत गर्छ । प्रकृतिलाई जति मात्रमा भत्काउने बिगार्ने काम गरिन्छ, परिणाम पनि उति नै निराशाजनक आउँछ । हामीले पहिले प्रकृति बिगारेका कारण यो महामारी आएको त होइन ?

अर्थतन्त्र तहसनहस भएको अहिलेको अवस्था लम्बिए ठूलै विपत् निम्तिनेछ । विभिन्न अनुसन्धानले पनि यही भन्छ । हामी संकटको मैदानमा छौं तर हिम्मत हार्नु हुन्न । रोजगारी सृजना गर्ने हाम्रो प्रमुख विकल्प कृषि क्षेत्र हो । योजना र ठोस विचारसहित कृषि प्रणालीलाई प्रविधि–उन्मुख गर्नुपर्छ । कृषिलाई आधुनिक र व्यावसायिक बनाउन समयमै बीउ र मल सहजै उपलब्ध हुनुपर्छ । त्यस्तै सिँचाइको उचित व्यवस्था जरुरी छ । युवालक्षित कृषि कार्यक्रम आजको आवश्यकता हो । त्यसका लागि ठोस योजना ल्याएर युवालाई कृषिमा लाग्न प्रेरित गर्नुपर्छ । कृषिमा अनुदान सुनिश्चित गर्न सकियो भने जीवन निर्वाहसँगै राष्ट्रिय आम्दानीको प्रमुख आधार कृषिलाई बनाउन सकिन्छ ।

प्रकाशित : श्रावण २२, २०७७ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?