महाधिवेशनको महामारी- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महाधिवेशनको महामारी

विचारशून्यता नै कांग्रेसको अहिलेको ठूलो समस्या हो ।
किशोर नेपाल

कोरोना महामारी मत्थर भएको खण्डमा संघीय संसद्मा प्रमुख प्रतिपक्षी दल तथा नेपालको सबैभन्दा पुरानो राजनीतिक संस्था नेपाली कांग्रेसको चौधौं महाधिवेशन आउँदो फागुनमा हुने तय भएको जानकारी दिइएको छ । तोकिएको मितिमा सम्पन्न हुने परिस्थिति बन्न सकेन भने पनि महाधिवेशन जेठभन्दा पर नसर्नेमा नेताहरू विश्वस्त देखिन्छन् ।

प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार, केन्द्रले आफ्नो गृहकार्य आगामी महिनासम्म पूरा गर्नेछ । महाधिवेशनका सन्दर्भमा कांग्रेसभित्रका दर्जनौं गुट र उपगुटहरू सलबलाउन थालिसकेका छन् । स्थानीय, प्रादेशिक र संघीय चुनावमा नेकपाको दिग्विजयपछि किंकर्तव्यविमूढ भएका कांग्रेसका कार्यकर्तामा बिस्तारै चेतनाको सञ्चार हुन थालेको छ । तैपनि, चुनावमा चुकेको साहस फर्किन सकेको छैन । पराजयपछि कार्यकर्ताको मनोबल उच्च राख्न पार्टी हाइकमान्डले कुनै प्रयास गरेको देखिएन । नेकपा सरकारका यी दुई वर्षमा कांग्रेस कार्यकर्ताको राजनीतिक विस्थापन तीव्र भयो । सामान्य कांग्रेसजनका लागि समय निराशाजनक रह्यो ।

वृद्धावस्थाका कारण शारीरिक रूपले समेत अक्षम हुँदै गएका कांग्रेस सभापति शेरबहादुर देउवा अहिले राजनीतिको मुख्य विन्दुबाट पर हट्ने क्रममा छन् । तर पनि, उनको सत्तामोह कम भएको छैन । उनको पदलोलुप प्रवृत्तिको फाइदा उठाएर स्वार्थी तत्त्वले प्रोक्सीमा उनको राजनीति हाँकिरहेको छ । उनले गठन गरेको अनुशासन समितिले अनुशासनको नाममा आतंक फैलाएको छ । कांग्रेसका नेता तथा सभापति देउवाका समकालीन मित्र गोविन्दराज जोशी, कैलालीका प्रभावशाली नेता पुष्कर ओझा र डडेलधुरा जिल्ला कांग्रेसका कार्यालय सचिव रामबहादुर विष्ट पार्टीबाट निष्कासित भएका छन् । यी तीनै जनाविरुद्धको कारबाही सभापति देउवाको निजी निर्णय हो भन्न अलिकति पनि हिचकिचाउनुपर्दैन । आफूलाई बीपी कोइरालाको आदर्शका ‘अनुयायी’ भन्न रुचाउने सभापति देउवाले यो कसरी बिर्सिए, राणा–कांग्रेस सरकारको गृहमन्त्री पदबाट राजीनामा दिनुभन्दा पहिले बीपी कोइरालाले कार्यकर्ताको जत्था लिएर आफैंलाई मार्न आउने भरतशमशेर र उनका सहयोगीलाई माफी दिनुभएको थियो । भरतशमशेर बीपीको यो व्यवहारबाट आजीवन कृतकृत्य रहे ।

सभापति देउवाले यो पनि सम्झिनुपर्थ्यो, स्वयं उनी गृहमन्त्री रहेका बेला पार्टी सभापति तथा सन्तनेता कृष्णप्रसाद भट्टराईले आफूलाई उपचुनावमा हराउन अन्तर्घात गर्ने कार्यकर्ताहरूको अपराधलाई ‘विस्मृति’ मा राखेर सबैलाई माफी दिनुभएको थियो । निश्चय पनि, सभापति देउवाबाट त्यो उदात्त व्यवहारको आशा गर्न सकिँदैन । योचाहिँ सत्य हो, सभापति देउवाको कारबाहीबाट गोविन्दराज जोशी अझ बलियो भएका छन् । यस घटनाका कारण आफूलाई राष्ट्रिय तहको नेता मान्ने, तर आफ्नै जिल्लाका सहयात्रीलाई सहमतिमा ल्याउन नसक्ने अर्का पदलोलुप व्यक्ति रामचन्द्र पौडेलको कद अझै होचिएको छ । सभापति देउवाले गुटगत राजनीतिक स्वार्थका कारण एक पुराना मित्रलाई राजनीतिक संरक्षण दिन अर्का पुराना मित्रको राजनीतिक हत्याको प्रयास गरेका छन् । आफ्नी पत्नी आरजु देउवाको चुनाव प्रचार नगरेको आरोप लगाएर पुष्कर ओझाजस्तो जनाधार भएका सज्जन नेतालाई पार्टीबाट निकालेका छन् । यो देउवाको विवेकहीनताको पराकाष्ठा हो । कुनै पनि मानिस लोकतन्त्रको कठिन मार्गमा आफ्नो अधिकारको रक्षाका लागि हिँड्छ । पुष्कर ओझा राजनीतिक नेता हुन्, कसैका कर्मचारी होइनन् ।

उनलाई आरजु देउवाको प्रचार गर्न मन लागेन, गरेनन् । सभापति देउवाको कोपमा त डडेलधुरा कांग्रेसका कार्यालय सचिव रामबहादुर विष्ट पनि परे । यसरी पनि असल व्यवहारको प्रारम्भ हुन सक्छ र ? सभापति देउवाले, अहिलेको प्रतिकूल अवस्थामा पनि, पार्टीलाई सरकारमा पठाउने आकांक्षा राखेको सन्दर्भ कसैबाट छिपेको छैन । प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली र सभापति शेरबहादुर देउवाको नियमित भेटघाटले यही कुराको संकेत गर्छ । राजनीतिलाई खुला समाजमा ल्याउन गणतन्त्रको स्थापना भएको थियो । दुर्भाग्यवश, राजधानीका विभिन्न शक्तिकेन्द्रमा हरेक दिन ओली–देउवा गठबन्धन निर्माणको सम्भावना खोजिँदै छ । अहिलेको राजनीतिको सबैभन्दा विद्र्रूप अवस्था हो यो । संसद्बाट एमसीसी पास गराउने नाममा सभापति देउवाले ओली नेतृत्वको नेकपासँग हात मिलाउने हो भने त्यसका परिणामहरू घातक हुनेछन् । कांग्रेसका नेताहरूले यो कुरा राम्ररी बुझ्नु आवश्यक छ । किनभने, कांग्रेसभित्र अहिले वैचारिक अराजकता छ । एक थरीले हिन्दुत्वको नारा लगाइरहेका छन् भने, अर्का थरी संघीय समाजविरुद्ध लागेका छन् । यथास्थितिवादको थुप्रो बनेको छ कांग्रेस । देशमा पहिचानको प्रश्न विकराल रूपले उठिरहेको छ । परराष्ट्र नीतिमा न त कुनै स्पष्टता छ, न यो आन्तरिक नीतिसँग जोडिएकै छ । यस्तो अवस्थामा पार्टी बनाउने काममा एकाग्र हुन नसकेका सभापति देउवा आफैं सरकारमा जानु वा आफ्ना गुटका मानिसलाई मन्त्री बनाउनुको अर्थ के नै रहन्छ ?

संसद्मा प्रमुख प्रतिपक्षी दलका नेताका हैसियतले सभापति देउवाले प्रधानमन्त्री ओलीसँग कहिल्यै नेपालको परराष्ट्र नीतिबारे प्रश्न गरेको सुनिएन । राष्ट्रवादको नाममा लिम्पियाधुरा, लिपुलेक र कालापानीको भूभाग नेपालको नक्सामा गाभेर संविधानमा समावेश गरियो । ओली सरकारले भारतसँगको असन्तुष्टिको कारणबारे कुनै स्पष्टीकरण दिनुपरेन । नेपाली कांग्रेसको स्वत्वलाई नेकपाका नेताहरूले बढारे ।

अब प्रश्न छ, संसद्ले संविधानमा अंकित गरेको नक्साको टुंगो कसरी लगाउँछ यो सरकारले ? प्रतिपक्षी कांग्रेसले सरकारलाई कसरी सघाउँछ ? भारतसँग वार्ता हुन्छ कि युद्ध ? प्रधानमन्त्री ओलीले आफ्नै सत्तास्वार्थको रक्षाका लागि र आफ्ना कमजोरी लुकाउने नियतले चढेको राष्ट्रवादको उन्मत्त घोडाको लगाम प्रमुख प्रतिपक्षी दलले समात्नुको कुनै अर्थ छैन । यो कार्यले कांग्रेसभित्रको विचारशून्य अवस्था छर्लंग पारेको छ । यसै पनि, कांग्रेसले नेपालका अनुदारवादी शक्तिलाई कहिल्यै रिझाएर राख्न सकेन । भारतबाट प्रशस्त फाइदा लिने अभिजात वर्गको सूचीमा कांग्रेस कहिल्यै चढ्न सकेन । गएको चुनावमा सभापति देउवाले निहित स्वार्थी तत्त्वको दौराको फेर नसमातेका भए नेपाल कम्युनिस्ट पार्टीले दुईतिहाइ मतमा कब्जा गर्न सक्ने थिएन ।

कांग्रेसमा अहिले जो पनि धाइरहेका देखिन्छन्, तिनीहरू मूल्य र मान्यताको खोजमा आएका होइनन् । बेरोजगारी समस्याको बोझ उठाएर फाइदाका लागि नेता रिझाउन आएका कार्यकर्ताबाट पार्टी चल्दैन । कांग्रेस पार्टी पक्कै पनि मास पार्टी हो । मास पार्टी भन्दैमा यो जात्रा र मेलामा लाग्ने भीड होइन । यसका कार्यकर्ता प्रशिक्षित हुनुपर्छ । पार्टीको नीतिको व्याख्या र प्रतिरक्षा गर्न सक्ने हुनुपर्छ । उच्च तहको राजनीतिक नेतृत्वमा बसेका व्यक्तिहरूलाई कसैले बताउनुपर्ने कुरा होइन यो ।

विचारशून्यता नै कांग्रेसको अहिलेको ठूलो समस्या हो । २०३९ सालमा बीपी कोइरालाको अवसानसँगै कांग्रेसमा विचारको संकट झाँगियो । गणेशमान सिंहको शौर्य र दूरदर्शिता तथा कृष्णप्रसाद भट्टराईको निष्ठा र इमानले कांग्रेसलाई दिव्य तीस वर्षको वनबासपछि राजनीतिको केन्द्रविन्दुमा स्थापित गर्‍यो । तर, त्यो विजय लामो समय टिकेन । कांग्रेसमा अहिले जुन रोदन र क्रन्दन सुनिएको छ, त्यसमा गिरिजाप्रसाद कोइरालासँगै सभापति देउवा र उनका समकालीन नेताहरूको सामूहिक जिम्मेवारी छ ।

कांग्रेसका नेताहरूले कार्यकर्तासँग सधैं लाटा–लठेब्राको जस्तो व्यवहार गरेका छन् । कार्यकर्तामा आत्मबल र साहस बढाउनेभन्दा पनि दास बनाउने प्रवृत्ति देखिएको छ नेताहरूमा । कांग्रेसका सबै भ्रातृ संगठन लथालिंग छन् । कति उमेरकालाई युवा भन्ने ? कतिसम्म पढेकालाई विद्यार्थी भन्ने ? कुनै पद्धति छैन । कांग्रेसमा महिला प्रतिनिधित्व हेपिएको छ । पञ्चायतकालमा देखिनेजस्ता महिला नेत्रीहरूको बढ्दो ठस्साले समाजवादी कांग्रेसको प्रतिष्ठा धरापमा पारेको छ । कांग्रेसका सन्दर्भमा धेरै कुरा यस्ता छन् जसमाथि कांग्रेसको कार्यभार लिन चाहने नेताहरूले गम्भीरतापूर्वक सोच्नुपर्छ । जहाँसम्म सभापति देउवाको प्रश्न छ, उनले अब शालीनतापूर्वक अवकाश लिनुपर्छ । सांसद प्रदीप गिरिको उनलाई सुझाव छ— पार्टी तोड्नु हुँदैन । सभापतिका रूपमा गिरिजाप्रसाद कोइरालाले कांग्रेसका लागि उपयुक्त उत्तराधिकारी छान्न सकेनन् । शेरबहादुरजीले त्यो गल्ती गर्नु हुँदैन । पार्टी चलाउने मानिस शारीरिक रूपमा पनि तन्दुरुस्त हुनुपर्छ । अब हामी त्यो अवस्थामा छैनौं ।

प्रकाशित : श्रावण २२, २०७७ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्

विगान लिग वानमा झर्‍यो

एजेन्सी

लन्डन — १२ अंक कटौती गर्ने आफ्नो जरिवानाको अपिल विफल भएपछि विगान इंग्लिस च्याम्पियनसिपबाट रेलिगेसनमा परेको इंग्ल्यान्ड फुटबल लिगले मंगलबार पुष्टि गरेको छ  ।

सन् २०१३ मा एफ एक जितेको विगान यसपालि च्याम्पियनसिपमा १३ औं स्थानमा रहेको थियो तर जरिवाना गरिएको अंक काटिएपछि टोली पुछारबाट दोस्रो स्थानमा झर्न पुगेको थियो ।

विगानले अब लिग वान खेल्नेछ । ‘एक स्वतन्त्र प्यानलले गत महिना विगान एथलेटिक्सले १२ अंक जरिवाना गर्न नपाउनेविरुद्ध गरेको अपिल खारेज गरेको फैसला सुनाएको छ । मध्यस्त प्यानलको निर्णय अन्तिम र कानुनी रूपमा बाध्यकारी हुनेछ ।’ अपिल शुक्रबार गरिएको थियो र त्यसपछि क्लबको बिक्री प्रक्रिया चलिरहेको खुल्न आएको थियो, जुन यस सातासम्म जारी छ ।

प्रिमियर लिगका पूर्व टोलीका व्यवस्थापक पाउल कुकले गत साता नै राजीनामा दिइसकेका छन् । विगानले आफ्नो विज्ञप्तिमा भनेको छ, ‘क्लबले अपिलका लागि बलियो आधार तयार पारेको थियो, त्यसैले यस्तो निर्णय आउँदा निश्चय पनि दुःख लाग्छ ।’

प्रकाशित : श्रावण २२, २०७७ ०८:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×