कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५४

प्रश्नहरूबीच दृष्टिसम्बन्धी अपांगता

आँखा देख्नेको तुलनामा दृष्टिविहीनहरूलाई केही चुनौती अवश्य छन् । चुनौती हुनुको कारण दृष्टिविहीन कमजोर भएर भन्दा पनि अपांगतामैत्री संरचनाहरूको अभाव र साँघुरो सोच भएर हो ।
सरिता लामिछाने

प्रश्नहरू यस्ता साध्य हुन् जसलाई व्यक्तिहरूको जिज्ञासा मेटाउन, क्षमताको परीक्षण गर्न र बहसहरू चलाउन प्रयोग गरिन्छ । कतिपय अवस्थामा एउटै प्रश्नको निरन्तर उत्तर दिइरहनुपर्छ । प्रसंग यहाँ दृष्टिसम्बन्धी अपांगताको हो ।

प्रश्नहरूबीच दृष्टिसम्बन्धी अपांगता

के हो त दृष्टिसम्बन्धी अपांगता ? देहायबमोजिमका समस्याबाट कुनै व्यक्तिमा कुनै पनि वस्तुको आकृति, आकार, रूप र रङको ज्ञान नहुनु नै दृष्टिसम्बन्धी अपांगता हो–

(क) दृष्टिविहीनता : औषधि, शल्यचिकित्सा, चस्मा वा लेन्सको प्रयोगबाट पनि दुवै आँखाले हातको औंला दस फिटको दूरीबाट छुट्याउन नसक्ने वा स्नेलेन चार्टको पहिलो लाइनका अक्षर (३/६०) मा पढ्न नसक्नु ।

(ख) न्यून दृष्टियुक्त : औषधि, शल्यचिकित्सा, चस्मा वा लेन्सको प्रयोगबाट पनि बीस फिटको दूरीबाट हातको औंला छुट्याउन नसक्ने वा स्नेलेन चार्टको चौथो लाइनका अक्षर (६/१८) मा पढ्न नसक्नु ।

(ग) पूर्ण दृष्टिविहीन : पूर्ण रूपमा उज्यालो वा अँध्यारो छुट्याउन नसक्नु । दृष्टिविहीनता जन्मजात हुनु, टाइफाइड, दादुरा, आँखा पाक्ने आदि रोगको समयमा उपचार नहुँदा र विभिन्न दुर्घटनाका कारण उत्पन्न हुने गर्छ ।

२०६८ सालको जनगणनाअनुसार १.९४ प्रतिशत नेपाली (५,१३,३०१) मा कुनै न कुनै किसिमको अपांगता छ । त्यसमध्ये १८.४६ प्रतिशतमा दृष्टिसम्बन्धी अपांगता छ । यस्तो अपांगता नेपालजस्तो राष्ट्रमा पुरानो मानक (१० प्रतिशत) भन्दा कम र विश्वव्यापी औसतभन्दा निकै कम हुनु अपत्यारिलो भएको र वास्तविक संख्या बढी हुन सक्ने विज्ञहरूको धारणा छ । ‘अपांगता भएका व्यक्ति जन्मे संघसंस्था’ भन्ने भ्रमलाई सत्य ठान्दै आएको नेपाली समाजले दृष्टिविहीनलाई अझै पनि परनिर्भर र असमर्थ व्यक्तिका रूपमा चित्रण गरेको पाइन्छ । कहिले देवत्वकरण गर्ने गरिएको पनि छ । हो, दृष्टिविहीनले केही काम–कुरामा अरूको सहयोग लिनुपर्छ, तर संसार नै एकअर्काको सहयोगबाट चलेको हुन्छ ।

आँखा देख्नेहरूले पनि एक्लै सबै काम–कुरा गर्न सक्दैनन् । तैपनि आँखा देख्नेको तुलनामा दृष्टिविहीनहरूलाई केही चुनौती भने अवश्य छन् । चुनौती हुनुको कारण दृष्टिविहीन कमजोर भएर भन्दा पनि अपांगतामैत्री संरचनाहरू निर्माण नभएर र साँघुरो सोच भएर हो । दृष्टिविहीनहरूले धारावाहिक रूपमा विविध प्रश्नको उत्तर दिनुपर्छ । कतिपय प्रश्न त सुन्दैमा अचम्म लाग्ने खालका हुन्छन्, मानौं दृष्टिविहीन व्यक्तिहरू कुनै अर्को ग्रहका हुन् । कुनै विद्यालयमा अध्यापन गराउने एक शिक्षिकाले फरक स्वरूपको आँखा भएका एक दृष्टिविहीनलाई भेटेर आएपछि मसँग सोध्नुभयो, ‘उसलाई त निदाउन पनि पर्दैन होला है ? उसको आँखाको स्वरूप नै छैन ।’ निद्रा समग्र शरीरका लागि अत्यावश्यक छ, आँखाका लागि मात्र होइन । आँखाको स्वरूप अन्य व्यक्तिको जस्तो नहुँदैमा निद्रा नलाग्ने अथवा निदाउन नपर्ने भन्ने हुँदैन । त्यस्तै, एक ‘मोटिभेसनल स्पिकर’ लाई एउटा विद्यालयमा ‘स्पिच’ दिएपछि अन्तरक्रियाका क्रममा पाँच कक्षाकी बालिकाले सोधेकी थिइन्, ‘म्याडम, तपाईंले पनि खाना खानुहुन्छ ?’

दृष्टिविहीन जीवनमा निरन्तर आउने त्यस्तै केही प्रश्न हुन्–

(क) आँसु आउँछ कि आउँदैन ? : अवश्य आउँछ । अन्य व्यक्तिका आँखाबाट जसरी आँसु आउँछ, त्यसरी नै आउने गर्छ । आँसु आउनका लागि दृश्य नै हेर्न सक्ने हुनुपर्छ भन्ने हुँदैन ।

(ख) सपनामा आँखा देख्छन् ? : जन्मजात रूपमा दृष्टिविहीनले विपनामा जस्तो जीवन बिताउँछन्, त्यसकै प्रभाव सपनामा हुने गर्छ । उनीहरूले सपना त देख्छन्, तर त्यो वास्तविक जीवनशैली जस्तै आवाज र स्पर्शमा केन्द्रित हुने गर्छ । तथापि पछि दृष्टिविहीन भएका व्यक्तिहरूले चाहिँ सपनामा आँखा देख्ने गर्छन्, जुन उनीहरूका पूर्वस्मृतिहरूको झलक हो ।

(ग) कसरी खाना खान्छन् ? : अवश्य आफैं खान्छन्, हात वा चम्चाले मुखमा लगेर । आँखा नदेख्दैमा मुख पहिल्याउन नसक्ने भन्ने हुँदैन । दृष्टियुक्त व्यक्तिहरूले पनि खाना खाँदाखाँदै बत्ती गयो भने गाँस नाकमा त अवश्य लैजाँदैनन् ।

(घ) मान्छे कसरी चिन्छन् ? : जसरी आँखा देख्ने व्यक्तिले एकपटक देखेका व्यक्तिलाई उसको अनुहार हेरेर चिन्छन्, त्यसरी नै हामी दृष्टिविहीनले आवाज सुनेर अर्कोपटक सहजै चिन्न सक्छौं । तथापि भीडभाड र होहल्ला भएको ठाउँमा र धेरै वर्षको अन्तरालमा भेट्दा भने व्यक्तिविशेषको आवाज सहजै चिन्न नसकिने भने हुन सक्छ, जुन समस्या दृष्टियुक्त व्यक्तिलाई समेत हुने गर्छ । भारतको बेङ्लोरमा इन्टर्नसिप गर्न बस्दा मलाई एक व्यक्तिले सोध्नुभएको थियो, ‘तपाईं आफ्ना बाबालाई कसरी चिन्नुहुन्छ ?’ एकपटक भेटिएको व्यक्तिलाई त अर्कोपटक भेट्दा सहजै चिन्न सक्नेहरूले आफ्ना बाबाआमा नचिन्ने सवाल हुँदैन । आफूसँग निरन्तर सम्पर्कमा रहेका व्यक्तिहरूको हिँडाइको तरिका र शारीरिक गन्धले पनि दृष्टिविहीनहरूले व्यक्ति पहिचान गर्न सक्छन् ।

(ङ) शौचालय प्रयोग गर्न सक्छन् ? : आफू निरन्तर बस्ने ठाउँमा दृष्टिविहीन व्यक्तिहरूले सहजै पत्ता लगाउन सक्छन् । नयाँ ठाउँमा भने आँखा देख्ने व्यक्तिको सहारा लिनुपर्ने हुन्छ, ढोकासम्म पुग्नका लागि, भित्रै पुर्‍याइदिनु भने पर्दैन । ट्वाइलेट, कमोड अथवा प्यानवाला के हो, धारा अथवा पानी भरेर राखेको भाँडो र डस्टबिन कतापट्टि छ भन्ने भन्दिए पुग्छ । शौचालयमा बगिरहने पानीको आवाज, गन्ध आदिबाट पनि दृष्टिविहीनले अपरिचित ठाउँमा शौचालय पत्ता लगाउन सक्छन् ।

(च) कसरी नुहाउँछन् ? : अरू व्यक्तिले जसरी नुहाउँछन्, त्यसरी नै । आँखा देख्ने व्यक्तिहरूले पनि नुहाउन ऐना हेरिराख्नु पर्दैन होला ।

(छ) कपाल कसले कोरिदिन्छ ? : आफैं कोर्न सक्छन् । यसमा अरूको सहयोग चाहिँदैन ।

(ज) आफ्नो घर/कार्यालय कसरी पत्ता लगाउँछन् ? : दृष्टिविहीनहरू कुनै पनि कुरा पत्ता लगाउन स्पर्श, गन्ध र आवाजमा निर्भर हुने गर्छन् । सोही कुरा दैनिक जीवनमा लागू हुन्छ । दृष्टिविहीनले फर्निचरको आवाज, मसला, तरकारी, माछा वा मासु पसलहरूको गन्ध, होटलको बास्ना, ग्रामीण परिवेशमा हावा र चराचुरुंगीको आवाज आदिलाई घर/कार्यालय चिन्ने आधार बनाउने गर्छन् ।

(झ) आफ्ना लत्ताकपडा कसरी चिन्छन् ? : दृष्टिविहीनले लुगा त्यसमा भएको टाँक, हुक, गला र बाहुलाको प्रकार, चिल्लो खस्रो, डिजाइनलाई छामेर पत्ता लगाउँछन् । अन्य कपडा कुनको सेट कुन हो भनेर पनि पत्ता लगाउन सकिन्छ । मोजा पहिचानमा भने कहिलेकाहीँ चुनौती आउन सक्छ ।

(ञ) लत्ताकपडा कसले धोइदिन्छ ? : दृष्टिविहीनले आफ्ना लत्ताकपडा आफैं धुन सक्छन् । साबुन निख्रेको र ननिख्रेको छामेरै थाहा पाउन सक्छन् ।

(ट) कसरी लेखपढ गर्छन् ? : दृष्टिविहीनले ब्रेललिपिबाट पढ्ने गर्छन्, जुन ६ वटा डटबाट बनेको हुन्छ । ब्रेललिपि लेख्न स्लेट स्टाइलस र बाक्लो पेपरको प्रयोग गरिन्छ । ब्रेल लेख्दा दाहिने साइडबाट लेखिन्छ भने पढ्दा देब्रे साइडबाट पढिन्छ । पढ्दा हातको औंलाले छाम्दै पढ्ने गरिन्छ । पहिलोपटक ब्रेललिपिको पाठ्यपुस्तक देख्नेले कनिका छरेको जस्तो देख्छन् ।

(ठ) कम्प्युटरमा कसरी काम गर्छन् ? : दृष्टिविहीनले जज र एनभीडीए नामक स्क्रिनरिडर सफ्टवेयरको सहायताले कम्प्युटरमा काम गर्छन्, जसले स्क्रिनमा देखेको बोलिदिने गर्छन् । अल्पदृष्टियुक्त व्यक्तिहरूले म्याग्निफायरको पनि प्रयोग गर्छन् ।

(ड) ब्लाइन्ड फोल्ड लगाएर दृष्टिविहीन जीवनको अनुभव गर्न सकिन्छ ? : दृष्टिविहीन भएको बहाना गर्न प्रयास गर्नु राम्रो विचार होइन । तपाईंलाई कुनै चीज खोज्न गाह्रो पर्न सक्छ, केही वस्तुसँग ठोक्किएर आफैंलाई चोट पुर्‍याउन सक्नुहुन्छ । तपाईं डराउनुहुन्छ, निराश वा अलमल पर्न सक्नुहुन्छ । परिणामस्वरूप तपाईं दृष्टिविहीनको वास्तविक जीवन यस्तै हुन्छ भनी सोच्न सक्नुहुन्छ, जसबाट दृष्टिविहीनको जीवनशैलीप्रति विपरीत धारणा बन्न सक्छ । हामी दृष्टिविहीनले सक्रिय र हर्षित जीवन बिताइरहेका छौं ।

समाजले दृष्टिविहीनतालाइ पूर्वजन्मको पाप, अक्षमता र बिचराको पात्र नबनाएमा र अन्य व्यक्तिसरह मानवको दर्जा दिएमा जीवन प्रभावकारी हुन्छ र समाजले पनि छलाङ मार्न सक्छ ।

(दृष्टिविहीन लामिछाने अपांगता भएका महिलाहरूको अधिकारका क्षेत्रमा क्रियाशील छिन् ।)

प्रकाशित : श्रावण २१, २०७७ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?