नेकपा विसर्जनको बाटामा ?- विचार - कान्तिपुर समाचार

नेकपा विसर्जनको बाटामा ?

कार्यकर्तामा नेताकेन्द्रित र व्यक्तिपूजा प्रवृत्ति हुनुको अर्थ हो– आफूलाई उनीहरुले राजनीतिकर्मी होइन, पार्टीको दासका रुपमा उभ्याउनु ।
मल्ल के. सुन्दर

युगोस्लाभिया त्यतिखेर सर्बियाका रूपमा चिनिन्थ्यो । त्यहाँका एक राजा एकदमै अहंकारी, आत्मकेन्द्रित र आत्मप्रशंसक थिए । आफैंलाई सर्वोच्च ठान्थे । दरबारिया धुपौरे तथा चाटुकारहरूलाई दायाँबायाँ राखेर हिँड्ने उनको स्वभाव थियो ।

बाटामा तिनलाई रोकेर रूखतिर औंल्याउँदै सोध्ने गर्थे, ‘लौ भन, यो सल्लाको रूख सोझो छ कि बांगो ?’ वास्तविकताको कुनै अर्थ हुँदैनथ्यो । बांगै भए पनि राजाले रूख सोझो छ भनेर हुकुम भए सबैले होमा हो मिलाउनुपर्थ्यो । कुनै तर्क–वितर्क, यथार्थको अर्थ हुन्नथ्यो । ती राजा एक बिहान घुम्दै साभा नदीको किनारमा पुगे । नदीमा भेल बढेको थियो । तर्न सक्ने अवस्था थिएन । राजालाई चाटुकारहरूले सल्लाह दिए, ‘हजुर त, सम्राट् हो ! सर्वोच्च व्यक्ति ! शक्तिशाली ! हजुरको अधीनस्थ भूमिभित्र सबैले हजुरको आज्ञापालन गर्नुपर्छ । साभा नदी सर्बिया भूमिअन्तर्गत बग्ने भएकाले यसले पनि हजुरको आज्ञापालन गर्नुपर्छ । महाराजबाट नदीलाई शान्त हुन हुकुम होस् । नदी नियन्त्रणमा आइहाल्छ ।’

दम्भले विवेकशून्य राजा नदीको नजिकै गए । दरबारिया धुपौरे र चाटुकारहरूले उनलाई पछ्याए । एउटा ढिस्कोमा चढेर राजाले नदीलाई रोकिन भन्दै चर्को स्वरमा आदेश जारी गरिरहे । एकै क्षणमा नदीको धार बढ्दै गयो र राजालाई सोत्तर पारिदियो । दायाँबायाँका अरूलाई पनि आफैंसँग लग्यो त्यो भेलले । विश्वमा विशिष्ट इतिहास रचेको सोभियत संघले सय वर्ष पनि काटेन; नवौं दशकसम्म पुग्दा बालुवाको महलजस्तै छिन्नभिन्न भयो । नेतृत्वपंक्तिमा विकसित आत्ममोह, दम्भ अनि सर्वसत्तावादी व्यवहारका कारण अन्ततः धूलो चाट्यो । शक्तिशाली सत्ता थियो, स्रोतसाधनको अभाव थिएन । सुस्पष्ट राजनीतिक सिद्धान्तले निर्दिष्ट गरेको थियो । तर पनि सत्ता आम नागरिकको सरोकारभन्दा पर हुँदै जाने र नेताहरूले आफूलाई जनताको मालिक ठान्ने प्रवृत्ति प्रबल बन्यो । कुनै समय अग्रगामी कार्यकर्ताहरूको संगठन कहलिएको सोभियत कम्युनिस्ट पार्टी केही नवसामन्त र चाप्लुसहरूको स्वार्थसिद्धिको माध्यममा रूपान्तरित भयो । नेतृत्व तहको स्खलन र विचलनलाई रोक्न र छेक्न पार्टीपंक्ति चुक्दै गयो ।

मार्क्सवादी–लेनिनवादी पार्टीको संगठन सञ्चालनको आधारभूत पद्धति जनवादी केन्द्रीयता कतै रहेन । आखिर २५ डिसेम्बर १९९१ सम्म आइपुग्दा हँसिया–हथौडा र ताराअंकित लाल झन्डा रुसको आकाशबाट लोप भयो । नेतृत्व पंक्तिको सर्वसत्तावाद अनि पार्टी तहमा नेतृत्वका कमी–कमजोरीलाई लिएर आलोचना गर्ने साहसको कमीले गर्दा पूर्वी युरोपभित्रका सम्पूर्ण कम्युनिस्ट सत्ता विसर्जनको अवस्थामा पुगे । युगोस्लाभियामा मार्सल टिटोको शासनसत्ता होस् वा रोमानियामा चाउचेस्कु र अल्बानियामा अनवर होक्साको, शक्तिकेन्द्रप्रतिको अन्धभक्ति र त्रुटि–कमजोरीमा औंला ठड्याउने अभ्यासको अभावमा सबैले राजनीतिक त्रासदी बेहोर्नुपर्‍यो ।

कम्युनिस्ट पार्टीको कार्यकर्ता पंक्तिलाई अग्रगामी शक्ति सम्झने गर्थे लेनिन । माओ पनि जनवादी केन्द्रीयतालाई पार्टीको आधारशिला ठान्थे । सांस्कृतिक क्रान्तिकालमा त पार्टीको शुद्धीकरणका लागि ‘हेडक्वाटरमाथि नै प्रहार गर’ भनेर तल्लो तहका कार्यकर्ताहरूलाई हौस्याएका थिए उनले । सायद त्यसैले होला, लिन प्याओ, च्याङ चिङजस्ता शीर्ष नेतामा देखिएको विचलनले पनि चिनियाँ कम्युनिस्ट पार्टीको संरचना भत्काउन सकेन । त्यसैले चीनमा आजसम्म कम्युनिस्ट पार्टीको नेतृत्व कायम रहन सकेको छ ।

अहिले नेपालमा पनि नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा सरकार छ, जसलाई जनताले बहुमत दिएर संसद्मा पुर्‍याएका हुन् । नीतिनिर्माण र कार्यान्वयनमा कुनै अवरोध छैन । पाँच वर्षसम्मको कार्यकाल निर्बाध सञ्चालनका लागि वैधानिक अनुमोदन प्राप्त छ । फेरि पनि, सत्तारूढ नेकपा केही समययता आन्तरिक विवादमा यसरी अल्झिएको छ, उसले प्रभावकारी तरिकाले राज्य सञ्चालन गर्न सकिरहेको छैन । जनताको अपेक्षा सम्बोधन गर्न सकिरहेको छैन । समृद्धि, विकास र स्थिर सरकार भन्ने नेकपाको चुनावी नारा सत्य साबित हुन सकिरहेको छैन । यस अतिरिक्त आर्थिक विचलन, न्याय प्रत्याभूतिमा अक्षमता, सुशासनको अभावका कारण मुलुकमा राज्यसत्ताको प्रभावकारितामा गम्भीर प्रश्न उठिरहेको छ ।

एकातिर कोभिड–१९ बाट सिर्जित रोग र भोकको चुनौती, अर्कातिर बाढीपहिरोबाट जनधनको क्षति, साथमा दक्षिणी छिमेकीसँगको सीमा विवादका कारण अवस्था अति संवेदनशील छ । सरकारमा बस्नेहरू गम्भीर बन्नुपर्थ्यो । त्यसैअनुरूप राज्य संयन्त्रहरूलाई चुस्तदुरुस्त पार्नुपर्थ्यो । तर, त्यसो भइरहेको छैन । अनियमितता, आर्थिक हिनामिना र भ्रष्टाचार व्याप्त छ । यिनै पृष्ठभूमिका कारण नेकपाभित्रैबाट वर्तमान पार्टी नेतृत्व र सरकार प्रमुखलाई जिम्मेवारीमुक्त गर्नुपर्ने प्रश्न उठिरहेको छ, जुन अस्वाभाविक पनि होइन । यसैबाट अनपेक्षित राजनीतिक जटिलता पनि सिर्जना भएको छ । यसै मुद्दामा अल्झेर नेकपाका अध्यक्षद्वयबीच अन्त्यहीन शक्तिसंघर्ष सुरु भएको छ । समर्थन र विरोधमा पार्टीपंक्ति स्पष्टतः विभाजित छ । अहिले घिनलाग्दो ढंगले छलकपट र षड्यन्त्रमा सिंगो पार्टी जाकिएको छ । थाहा छैन, पार्टीको भविष्य अब के हुने हो !

नेकपाले पनि जनवादी केन्द्रीयताको पैरवी गर्छ; जनवाद अनि लोकतन्त्रको कुरा पनि त्यत्तिकै गर्छ । फेरि पनि पार्टी अनिर्णयको बन्दी भएर पूर्णतया गतिहीन अवस्थामा छ । लाखौंको संख्यामा पार्टी सदस्य रहेको दाबी छ । पार्टीलाई ‘क्याडर–बेस्ड’ पनि भन्ने गरिन्छ । फेरि पनि यति विघ्न गम्भीर र जटिलतामा पार्टी फस्दै गरेका बेला सम्बन्धित मुद्दामा केन्द्रित भएर लोकतान्त्रिक मान्यताअनुसार पार्टीको तल्लो तहसम्मका कार्यकर्ता, समर्थक, सहयोगीमाझ छलफल किन चलाइँदैन ? यसबारे आम समुदाय र पार्टीपंक्तिको विचार के छ ? किन अभिमत बुझ्ने काम गरिँदैन ? जनपक्षीय भनिने पार्टी, जनताको तहसम्म संगठन/संरचना छ भनेर दाबी गरिरहने राजनीतिक शक्ति किन अहिलेको पेचिलो अवस्थामा खुला रूपमा छलफल चलाउन खोज्दैन ?

पटकपटक एउटै कुरा गरिन्छ— ‘पार्टीको वर्तमान समस्यालाई लिएर दुई अध्यक्षबीच छलफल गरी टुंगोमा पुग्न लगाउने,’ ‘अध्यक्षद्वयले सहमति खोज्ने,’ ‘समाधानका लागि दुई जनाले प्रयास गर्ने,’ ‘छलफलमा समय दिने,’ ‘दुई अध्यक्षबीच कुरा नमिलेसम्म पार्टी बैठक नबस्ने’ ... । सञ्चारमाध्यममा अहिले यही कुरा छ । पार्टीपंक्ति यिनै कुरामा नतमस्तक देखिन्छ । महिनौंसम्म, वर्षौंसम्म पार्टी दिशाहीन भइरहँदा पनि जनवाद र लोकतन्त्रको दाबी गर्ने राजनीतिक दलले सिंगो पार्टीको भविष्य निर्माण गर्ने कामलाई किन दुई व्यक्तिको आवेगमा छाडा छाडिरह्यो ? के नेकपाभित्र यावत् राजनीतिक समस्या समाधानका विधि, पद्धति, संहिता र सिद्धान्त छैनन् ? समस्या समाधानको आधार व्यक्ति हो कि विचार ? द्वन्द्वात्मक भौतिकवादको पक्षधर भनिने पार्टीमा अहिले किन विचारप्रधान कुरा भइरहेको छ्रैन ? व्यक्तिविशेषप्रति मोहित बन्ने र कसैको साखुल्ले हुनेलाई सही वा गलत भन्न लगाउने पद्धति आखिर व्यक्तिपूजाकै अर्को रूप होइन र ? सिद्धान्त, विधि, पद्धति र संहितालाई एकातिर पन्छाएर व्यक्तिविशेषप्रति ‘त्वं शरणम्’ गर्ने अभ्यास सामन्तवादी संस्कार होइन र ? सर्वसत्तावादको अर्को रूप होइन र ? सारतः यो नेतृत्वलाई सर्वसत्तावादी र निरंकुश बनाउँदै लग्ने चाटुकार प्रवृत्ति मात्र हो । यसले पार्टीपंक्तिमा कार्यकर्ताहरूको भूमिकालाई निषेध र निस्तेज पार्नेछ; माथिको निर्णय र आदेशलाई तामिल गर्ने टहलुवाको जमातमा रूपान्तरण गर्नेछ । त्यसको अर्थ हो— पार्टीलाई पूर्णतया विसर्जनको खाल्टोमा जाक्नु । नेकपा अहिले यही बाटोतिर उन्मुख छ ।

यस्तोमा जे गर्लान् नेताले नै गर्लान्, नेताले जे गर्छन् त्यो नै सही हो, नेताले गरेको निर्णय नै हाम्रो पनि निर्णय हो भन्ने प्रवृत्ति नेकपाका संघर्षशील र अग्रगामी कार्यकर्ताहरूलाई सुहाउँदैन । नेताकेन्द्रित र व्यक्तिपूजा प्रवृत्तिको अर्थ हो— कार्यकर्ताहरूले आफूलाई राजनीतिकर्मीका रूपमा होइन, पार्टीको दासका रूपमा उभ्याउनु । शक्तिशाली सोभियत संघको सत्ता, पूर्वी युरोपका साम्यवादी सरकारहरू अन्ततः विर्सजनको दुर्गतिमा पुग्नुमा नेतृत्व तहमा रहेका राजनीतिक व्यक्तिहरू मात्र जिम्मेवार थिएनन्, उनीहरूका वरपर रहेर शक्तिकेन्द्रको पूजा र प्रशंसामा रमाउने चाटुकारहरू पनि त्यत्तिकै दोषी थिए । अन्धभक्ति र चाटुकारिताले सर्बियाका राजालाई मात्र साभा नदीमा बगाउने काम गरेन, उनीसँगै ती चाटुकारहरू पनि डुबे । नेकपाको पार्टी पंक्तिसमक्ष मुलुकको यक्ष प्रश्न छ— इमानदार, सिद्धान्तनिष्ठ र अग्रगामी कार्यकर्ता भएर पार्टीपंक्तिको रक्षाका लागि भूमिका निर्वाह गर्ने कि नगर्ने ? जनवादी केन्द्रीयताको विधि, पद्धतिअनुसार पार्टी समस्या समाधानका लागि आम कार्यकर्ता तहमा बहस चलाउने कि नचलाउने ? अथवा, नेतृत्व तहका केही व्यक्तिका हातमा पार्टीलाई थान्को लगाएर नेकपालाई पनि सोभियत कम्युनिस्ट पार्टीजस्तै विसर्जनको बाटामा घिसार्ने ?

प्रकाशित : श्रावण १९, २०७७ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्

बौद्ध धर्ममा नेपालको रैथानेपन

बाह्रौं शताब्दीको अन्त्यतिर नेपालको बौद्ध सम्प्रदायमा परिवर्तन आयो र भिक्षु जीवनको अन्त्य हुँदै गयो। रैथाने वज्रयानकै माध्यमबाट प्राचीन नेपालमण्डलभित्र बौद्ध धर्म सुरक्षित रहन सक्यो।
मल्ल के. सुन्दर

प्रथम बौद्ध महासांघिक भएकै समय बौद्ध धर्ममा हीनयान र महायानीका रूपमा दुई सम्प्रदायको विकास भइसकेको थियो । त्यसमा पनि अठार उपसम्प्रदायको अस्तित्व देखिइसकेको थियो । पछि आएर महायानको भिन्न सम्प्रदायका रूपमा तान्त्रिक प्रभावमा वज्रयान पनि देखिन थाल्यो ।


श्रीलंका, म्यानमार, थाइल्यान्डतिर थेरवादले पकड जमाउँदै लग्यो भने जापान, कोरिया, चीन, भियतनाम, भुटान, तिब्बतलगायतमा महायानी धर्मले व्यापकता पायो । कुनै समय अफगानिस्तानको गान्धार, पाकिस्तानको तक्षशिला, कश्मीरदेखि पूर्वी भारतका बंगाल र मध्यप्रदेश, ओडिसासम्म यस धर्मको प्रसार थियो । टुर्किस शासक बख्तियार खिलजीको आक्रमणबाट नालन्दा विश्वविद्यालय ध्वस्त भइसकेपछि बौद्ध धर्म तथा बौद्धहरूप्रतिको दमन र आक्रमण तीव्र भए । थुप्रै बौद्ध सम्पदाको अस्तित्व लोप भयो, बौद्धहरू पनि भारतमा सुरक्षित रहेनन् । आत्मसुरक्षाका लागि बौद्धहरू यत्रतत्र छरिए । तीमध्ये कतिपय बौद्ध धार्मिक ग्रन्थहरूसमेत बोकेर नेपालभित्र प्रवेश गरेका थिए ।

नेपालमा बौद्धहरू

डेनियल रायट्सले वंशावलीको उल्लेख गर्दैकिराती राजा जितेदस्तीको शासनकालमा स्वयम्भू चैत्यको दर्शन गर्न बुद्ध कपिलवस्तुबाट उपत्यका आइपुगेको लेखेका छन् । तर कालक्रम गणना गरिँदा यसको ऐतिहासिकता पुष्टि हुँदैन । दोस्रो शताब्दीतिर लेखिएको ‘मूलसर्वास्तीवाद विनय संग्रह’ मा बुद्धका एक प्रमुख शिष्य भिक्षु आनन्द केही महाजनका साथ काठमाडौं उपत्यका आएको उल्लेख रहेका आधारमा भने नेपालमा पहिलो शताब्दीआसपास बौद्धहरू आइसकेको अनुमान गर्न सकिन्छ । त्यस्तै भारतमा पुष्यमित्र सुंग तथा कपिलवस्तुका शासक विरुद्धकको अत्याचारबाट बच्न पनि थुपै बौद्ध शाक्य त्यही बेला नेपालमण्डल छिरेका थिए ।

गोपालराज वंशावलीमा स्वयम्भू चैत्यका निर्माताका रूपमा उल्लेख गरिएका र सुगत शासन पक्षपाती पनि भनिने राजा वृषदेवको स्वयम्भूमा बौद्ध अभिषेक गरिएको भनी इतिहासकार जगदीशचन्द्र रेग्मीले लेखेका छन् । भाषा वंशावलीकै अनुसार चाबहिलको धन्दो चैत्य मानदेवले निर्माण गरेका थिए । अंशुवर्माले पशुपति र चाँगुनारायणको सरह बौद्ध धर्मका गुं विहार, श्रीराज विहार, खजुरिका विहार, मध्यम विहारका लागि आयस्ताको बन्दोबस्त गरेको कुरा शिलालेखहरूमा भेटिन्छ । यी तथ्यबाट प्राचीन नेपालमण्डलभित्र बौद्धहरूको प्रभावकारी उपस्थिति रहेको पुष्टि हुन्छ । सातौं शताब्दीतिर नेपाल आएका चिनियाँ यात्रु ह्वेन साङले पनि ललितपुरतिर महायान र हीनयानका दुई हजारजति अनुयायीलाई देखेको उल्लेख गरेका थिए ।

वज्रयानको विकास

अंशुवर्माको राज्यकालमा राखिएको गोकर्णेश्वर महादेव मन्दिरको एक शिलालेखमा बौद्ध धर्म, स्वयम्भू चैत्य आदिको वर्णनसहित वज्रयान शब्दको उल्लेख भेटिएको छ । वज्रयानसम्बन्धी ऐतिहासिक सामग्री सम्भवत: यो नै पहिलो होला । अनुमान गर्न सकिन्छ, ह्वेन सानले देखेका महायानी बौद्धहरू वज्रयानी सम्प्रदायका थिए । नेपाली बौद्ध इतिहासका शोधकर्ता जोन के. लकले जनाएअनुसार, नेसं २१८ तिरको लिखतमा वज्राचार्य, धर्मसिंहका रूपमा पारिवारिक परिचय खुलाउने प्रचलन चलिसकेको थियो । लिच्छविकालकै साँखु वज्रयोगिनी, काठमाडौं मुसुंमबहाल आदि स्थानका शिलालेखमा उल्लेख गरिएका ‘संघ, आर्य भिक्षुणी संघ’ पनि मूलत: वज्रयानी बौद्ध विहार सञ्चालनार्थ गठित सब्र्वसंघ रहेको बुझ्न सकिन्छ ।

विज्ञहरूका अनुसार उपत्यकाभित्र कुनै समय चार सयभन्दा बढी बौद्ध विहारहरू सञ्चालनमा थिए । बौद्ध आचार्य तथा शिष्यहरू पनि गृहस्थ जीवनबाट अलग्गिएर विहारभित्रै बस्थे । बौद्ध विनयअनुसार ब्रह्मचर्य पालन अनिवार्य छ । चार आर्यसत्य र आर्य अष्टांगिक मार्ग मूल आधार हुन् । भनिन्छ, भारतमा त्यतिखेर लहर चलेको सिद्धयोगीहरूको गुह्य साधना, गौड देश (बंगाल) मा पाल वंशको शासनकालमा विकास भएको तन्त्रयान आदिको प्रभाव नेपालमा पर्‍यो । विशेषत: एघारौं शताब्दीतिर भारतबाट तिब्बततिर हिँडेका बौद्ध विद्वान्हरू नेपालमा केही समय बस्ने गरेका थिए । तीमध्ये अनुपम वज्र, अतिशा र धर्मस्वामी प्रमुख थिए, जसले नेपालका बौद्धहरूलाई प्रशिक्षण दिए, साधना शैली र जीवन पद्धतिमा परिवर्तन ल्याइदिए । त्यस्तै, गौड देशका राजा प्रचण्डदेवको प्रभाव पनि काठमाडौं उपत्यकाको बौद्ध समाजमा पछिसम्म रह्यो । उनी पछि गुणाकर भिक्षुको शिष्यमा प्रवजित भएर शान्तिकर आचार्यका रूपमा काठमाडौं उपत्यकामै रहे । स्वयम्भू स्तूपनिरको साधनागार शान्तिपुर उनैले निर्माण गरेको मानिन्छ ।

मूलत: तन्त्र साधनाका माध्यमले आफूभित्र सजिलै बोधिचित्त उत्पत्ति गर्न सकिन्छ भन्ने विश्वासका आधारमा परम्परागत शील, समाधि र प्रज्ञाको प्रक्रियामा फेरबदल गर्दै लगियो । परम्परागत विनय र शील, समाधिबाट निर्वाण प्राप्त गर्न कठिन रहेको र त्यसका लागि अनेक जुनी आवश्यक भएको वज्रयानीहरूको दाबी छ । तन्त्र साधनाबाट नश्वर शरीरलाई नियमन र नियन्त्रण गर्न सकिएमा यसै जीवनमा सहजै बोधिचित्त उत्पत्ति गर्न सकिने मानिन्छ । तान्त्रिक मतअनुसार, नर प्रज्ञा र नारी उपायको प्रतीक हुन् । त्यसैले उनीहरूले सम्भोग ऊर्जालाई ज्ञान आर्जनको सहज उपायका रूपमा बुझे । तन्त्रयानको यस्तै मतका कारण नेपालका वज्रयानीहरूले ब्रह्मचर्य जीवनको आवश्यकता ठानेनन् र कालान्तरमा वैवाहिक सम्बन्धलाई वैधता दिए । गृहस्थ जीवन त्याग गरेर आश्रम वा विहारमा बस्न अनिवार्य भएन । मद्य, मांस, मैथुन, मुद्रा र मीन गरी पञ्च मकार वज्रयानका आधारभूत तत्त्व मानिए, जबकि पञ्चशीलले बौद्धहरूका लागि विशेषत: परहिंसा, परस्त्री, मद्यपान आदि वर्जित गरेको छ । अन्यत्र कतै व्यवहारमा नभएको यस खाले पद्धति नेपालका वज्रयानी बौद्धहरूको रैथाने स्वरूप हो ।कसैकसैले आदिशंकराचार्यको नेपालयात्रा, राजा जयस्थिति मल्लको सामाजिक सुधार आदिका कारण नेपालका वज्रयानी बौद्धहरूमा यस खाले भिन्न परम्परा बस्न गएको मान्छन् । मेरी ससलरको विचारमा, बाह्रौं शताब्दीको अन्त्यतिर नेपालको बौद्ध सम्प्रदायमा परिवर्तन आयो र भिक्षु जीवनको अन्त्य हुँदै गयो ।

गुरुमण्डला पूजा, मन्त्र र मुद्राजस्तो धार्मिक रीति र कर्मकाण्डमा अधिक जोड दिइने रैथाने बौद्ध परम्परा विशेषत: महायानी सम्प्रदायका नवग्रन्थमध्ये मुख्य ठानिएको ‘गुह्यसमाजतन्त्र’ बाट निर्दिष्ट छ । योगी असंगबाट तेस्रो शताब्दीतिर रचित यो ग्रन्थ तन्त्र र शून्यवादमा आधारित छ । यस ग्रन्थले ईश्वरको अस्तित्व स्विकार्दैन । सबै जीव, जगत् र ब्रह्माण्डलाई शून्यका रूपमा बुझ्ने गर्छ । वज्र यसै शून्यताको प्रतीक हो । यसै शून्यताको शाश्वत अवस्था बोध गर्ने सिद्धान्त भएकाले वज्रयान भनिएको हो ।

नेपालका वज्रयानीहरू, नेवार समुदायभित्रका शाक्य तथा वज्राचार्यहरू, स्थवीरका रूपमा बौद्ध विहारमा बस्छन् । यद्यपि उपासक–उपासिकासरह उदास समुदायहरू भने आ–आफ्नै निजी आवासमै बस्ने गर्छन् । शाक्य, वज्राचार्यहरू कुल परम्पराअनुसार सम्बन्धित विहारहरूबाट प्रवजित हुने गर्छन्, अन्य बौद्ध भिक्षुले जस्तै चीवर धारण गर्छन् । शिर मुण्डन गर्ने, टुपी फाल्ने र बौद्ध श्रावकका रूपमा बौद्ध आचार्यहरूबाट प्रवजित पनि हुने गर्छन् । अनि भिक्षाटनका लागि नगर परिक्रममा निस्किन्छन् । तर, यसरी ग्रहण गरिएको चीवर चारौं दिनमा उतारिन्छ । अन्य थेरवादी, महायानी वा लामा भिक्षुहरूले जस्तै जीवनपर्यन्त गृहस्थ त्यागेर बस्दैनन्, ब्रह्मचर्य शीलको पालना गर्दैनन् । केवल रीति, संस्कारका रूपमा प्रवज्यको परम्परा अनुसरण गर्ने गरिन्छ । प्रत्येक शाक्य, वज्राचार्य परिवारका पुरुष सदस्यले सानै उमेरमा पालना गर्नुपर्ने यो ‘वरे छुयेगु’ (चूडाकर्म) परम्परा कर्मकाण्डका रूपमा अद्यापि प्रचलनमा छ ।

थेरवादले महत्त्व दिने गरेको विनय बाहिरी आचरण शुद्धिका लागि र वज्रयानीहरूले भन्ने गरेको धर्म चित्तवृत्ति विकासका लागि रहेको दाबी गरिन्छ । तसर्थ, उनीहरूका लागि तन्त्र, मन्त्र र पूजाको विशेष स्थान छ । वज्रयानी आचार्य अनुपम वज्रको ‘आदिकर्मप्रदीप’ ले जुन खाले जीवनपद्धति सिकाएको छ, नेपालका वज्रयानीहरूले आजसम्म त्यसैको अनुसरण गरिरहेका छन् । ‘चर्यासमग्रपदीप’ र ‘विमलरत्नलेखनम्’ लाई पनि उनीहरूले मार्गदर्शकका रूपमा लिने गरेका छन् ।

वज्रयान र योगदान

कतिपय बौद्ध विद्वान् नेपालको यस खाले रैथाने परम्परालाई बौद्ध विनय, धर्म, दर्शनसँग मेल नखाने ठान्छन् । तर, भारतलगायत अन्यत्र तेह्रौं शताब्दीपश्चात् मुस्लिमहरूको आक्रमण, हिन्दुहरूको हस्तक्षेप तथा शासकहरूको संरक्षणको अभावमा लोप हुँदै गएको बौद्ध धर्म रैथाने वज्रयानकै माध्यमबाट प्राचीन नेपालमण्डलभित्र अत्यन्त सुरक्षित रहन सक्यो । साथै यसै समुदायबाट नेपालमा बौद्ध धर्म अत्यन्त समृद्ध भयो ।

वज्रयानकै नेतृत्वमा उपत्यकाभित्र झन्डै चार सय बौद्ध विहार निर्माण भए । तीमध्ये ३५२ विहार अझै सांस्कृतिक सम्पदाका रूपमा खडा छन् । सबभन्दा प्राचीन र आजसम्म निरन्तरतामा रहेको रातो मच्छिन्द्रनाथ र त्यसको रथयात्रा वज्रयानकै देन हो । हामीलाई गर्व महसुस हुने कुमारी रथयात्रा, सेतो मच्छिन्द्रनाथको जात्राजस्ता सांस्कृतिक परम्पराका सर्जक पनि वज्रयानी नै थिए । नेपाल मूर्तिकला, चित्रकला, वास्तुकला र धातुकलामा मौलिक अनि उत्कृष्ट रहनुको श्रेय पनि वज्रयानीजनहरूलाई नै जान्छ । चर्या गीत, चर्या नृत्य तथा अनेक शास्त्रीय संगीत वज्रयानी संस्कार–संस्कृतिअन्तर्गत विकसित भएका हुन् ।

मुस्लिम आक्रमण र हिन्दु अतिवादका कारण भारतमा बौद्ध ग्रन्थहरू नष्ट गरिएको पृष्ठभूमिको स्मरण गर्दै डा. सुनीतिकुमार च्याटर्जीले भनेका छन्, ‘काठमाडौं उपत्यका र पूर्वी नेपालमा सुसभ्य भएर बसेका नेवारहरू (वज्रयानी) बाट भएको सबभन्दा ठूलो योगदान भनेको संंस्कृतमा लेखिएका महायानी बौद्ध साहित्यका सम्पूर्ण हस्तलिखित ग्रन्थहरू उनीहरूमा सुरक्षित हुनु हो ।’

त्यस्तै इतिहासशिरोमणि बाबुराम आचार्यले लेखेका छन्, ‘काठमाडौं र ललितपुरका विहारहरू नेपाली संस्कृतिका केन्द्र थिए । त्यहाँ बस्ने भिक्षु (वज्राचार्य) र वन्द्ये (शाक्य) शिक्षक तथा वैद्य थिए । शिक्षकका रूपमा उनीहरूले बौद्ध दर्शनको शिक्षा प्रदान गर्थे र विहारलाई शिक्षाकेन्द्रका रूपमा सञ्चालन गर्थे । वैद्यका रूपमा उपचार सेवा पुर्‍याउँथे र औषधि बनाउँथे । तसर्थ, विहारले चिकित्सालयको काम गथ्र्यो । कलाकारको रूपमा त्यहाँ बौद्ध तथा अन्य देवीदेवताको मूर्ति कुँद्ने कला र चित्रकला विकास गरे । तसर्थ, विहार कला र शिक्षाका केन्द्र थिए ।’

प्रकाशित : वैशाख २५, २०७७ ०९:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×