कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

आर्तनादमा नुनचुक

शर्मिला पोखरेल

महिलाका जन्मजात कार्यबोझहरू छँदै छन्, त्यसमाथि लैंगिक विश्लेषणले बोझ थपेको छ, जसलाई नारी–हृदयले मात्र बुझ्न सक्छ । महिला हिंसाले उसको सामाजिक–आर्थिक स्थिति र स्वास्थ्यमा नकारात्मक असर पुर्‍याउँछ । महिलाले कार्यस्थल, शिक्षण संस्था र समुदायमा भन्दा धेरै हिंसा घरमै भोग्नुपर्छ, जुन हिंसाको सबैभन्दा ठूलो रूप हो ।

आर्तनादमा नुनचुक

घरको हिंसा ‘पारिवारिक प्रतिष्ठा’ का खातिर प्रहरीसम्म पुग्दैन । त्यसैले यस्ता घटनाको दर न्यून देखिन्छ, तर यसले भित्रभित्रै महिलामा अनेक जटिलता निम्त्याइरहेको हुन्छ । विभिन्न देशका अनुसन्धानले महिला हिंसालाई शारीरिक, यौन र मनोवैज्ञानिक गरी तीन पाटामा समेटेका छन् । नेपालका विभिन्न जिल्लामा गरिएको एक अध्ययनअनुसार, विवाहितामध्ये एकतिहाइभन्दा बढीले २० देखि २४ वर्षकै उमेरमा घरेलु हिंसाको भोग्नुपर्छ, त्यो पनि जीवनसाथीबाटै ।

केहीअघिको विश्व स्वास्थ्य संगठनको रिपोर्टले पनि विश्वव्यापी रूपमा ३० प्रतिशत महिलाले शारीरिक यातना र यौन हिंसा आफ्नै श्रीमान्बाट भोग्नुपरेको भयावह तथ्य सार्वजनिक गर्‍यो । यौन दुर्व्यवहारसम्बन्धी अनुसन्धानका आँकडाहरू कहालीलाग्दा छन् । हामी महिलाले धेरै पीडा खेपेका हुन्छौं, तर बाहिर भने सजिलै ‘मलाई ठीक छ’ भनिदिन्छौं । सधैं यसरी चल्दैन । हिंसा खेप्नुपरिरहेको छ भने जोसँग मन फुकाउन सकिन्छ, ऊसँग व्यथा बाँड्नुपर्छ । ‘प्रतिष्ठा’ भत्कने नाममा पीडा खपेर ज्यान फाल्नतिर लाग्न हुन्न । हामी आफ्नो घरलाई नै विश्व मान्छौं । प्रसंगवश महिला स्वतन्त्रताका कुरा उठे कतिपय पुरुष छाती फुलाएर भन्ने गर्छन्, ‘कसले बाँधेको छ र ? मीठो खाएकै छन्, राम्रो लाएकै छन्, गहनाले पुरिदिएकै छ, योभन्दा बढी के गर्ने ?’ तर, यस्तै रोमाञ्चक उत्तरहरूमार्फत हिंसालाई ढाकछोप गरिन्छ । महिलाको गुम्सिएको आर्तनादमा छरिएको नुनचुक हुन् यस्ता जवाफ ।

महिला हिंसा सर्वत्र छ, तर आफूलाई सभ्य र सम्भ्रान्त भन्ने तथाकथित उच्च घरानियाँ परिवारमा झन् बढी छ । हालै न्यायमूर्तिले श्रीमतीको हत्या गर्ने अपराधीको जन्मकैद घटाएर आठ वर्षमा झारेको घटनाकी पीडित महिला यसको ज्वलन्त उदाहरण हुन् । ठूलठूला महलका महिलाहरूले भोगेका यस्ता कैयौं प्रताडना र हिंसा अँध्यारो कुनामा आँसुसँगै बग्ने गरेका छन् । तिनले व्यथाको कति घुट्को पिइरहेका होलान् ? कतिको त्यस्तै अवस्थामा अन्त्य भयो होला ? महिला जति पीडित भइरहे पनि पीडकहरूले अपेक्षित सजाय नपाउनु विडम्बनापूर्ण छ । कुनै साइकल चोरलाई छ महिना लगाएर पक्डिन सक्ने प्रहरी प्रशासनले त्यस्ता पीडकलाई किन केही गर्न सक्दैन । महिलाको नृशंस हत्या गर्नेहरूलाई, अपराधीहरूलाई संरक्षण दिने कस्तो कानुन हो ?

महिला हिंसा रोक्न राज्यले यथाशीघ्र विशेष पहल थाल्नु अत्यावश्यक भइसकेको छ । महिला आफैंले पनि अब अबलाका रूपमा होइन, कालीका रूपमा प्रस्तुत हुनुपर्ने समय आएको छ । अहिलेका महिला पहिलाकै जस्ता ‘अनपढ, गँवार’ छैनन् । बाटामा कसैले सुसेलेर अपमान गर्न खोज्यो भने विगतमा झैं चुप लागेर अगाडि बढ्ने होइन कि प्रतिकार गरिहाल्नुपर्छ । किनकि त्यही सुसेली/सिटी यौन दुर्व्यवहारको सुरुआत हुन सक्छ । कार्यालयमा कुनै पुरुष मित्रले कार्यक्षमताको सट्टा मुख वा कपडाको सुन्दरताको नचाहिँदो प्रशंसा गर्न थाल्यो भने उसको मुख तुरुन्त बन्द गराइहाल्नुपर्छ । महिला हिंसा कतैबाट उडेर/गुडेर आउने होइन, वरिपरि भएका निकट भनिएका व्यक्तिबाटै हुने हो । त्यसैले आफ्नो लक्ष्मणरेखा आफैं कोर्नुपर्छ । त्यो रेखा काट्ने जोकसैको पनि तत्काल यथोचित प्रतिवाद वा प्रतिरोध गर्नुपर्छ । यसो गर्दा पारिवारिक बेमेल बढेको अनुभव भए छलफल गरेर समस्याको समाधान गर्नुपर्छ । आफ्नै भनिएका मान्छेभित्र कुनै पनि बेला दानव सवार हुन सक्छ । साथीभाइ एवं परिवारका सदस्यहरूको आफूप्रतिको व्यवहारमा आएको परिवर्तनबारे पनि हेक्का राख्नुपर्छ । हिंसा र प्रेमबीच अन्तर सुरुमै छुट्याउन नसक्दा जीवनमा ठूलो दुर्घटना आउन सक्छ । छोरीहरूलाई आत्मरक्षाका लागि तयार पार्नुपर्छ । छोराहरूलाई पनि सही शिक्षा दिन थाल्नुपर्छ, ताकि भविष्यमा कसैकी छोरीचेलीमाथि नराम्रो नजर नलगाऊन् ।

महिला सम्मानसम्बन्धी नैतिक शिक्षा श्रीमान् र छोराहरूले पढ्नुपर्छ । ‘तिमी छोरो हौ, त्यसैले रुनु हुन्न’ भन्ने होइन कि, ‘छोरो भएर जीवनमा अरूलाई रुवाउन हुन्न’ भनेर सानैदेखि सिकाउनुपर्छ । आखिर हाम्रा सन्तति नै यो देशका भविष्य हुन् । अहिलेदेखि सुधार्दै गए भोलि सुन्दर र समतामूलक समाज बन्ला । खालि नारा र कागजी दस्तावेजमा महिला अधिकारका कुरा राखेर समाजको रूपान्तरण हुन सक्दैन ।

(पोखरेल त्रिविको स्वास्थ्य तथा जनसंख्या विभागकी उपप्राध्यापक हुन् ।)

प्रकाशित : श्रावण १६, २०७७ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?