लकडाउनमा आत्महत्या र यसले उब्जाएका प्रश्न- विचार - कान्तिपुर समाचार

लकडाउनमा आत्महत्या र यसले उब्जाएका प्रश्न

नेपाली समाजमा छोरीको स्थान परिभाषित गर्ने सामाजिक–सांस्कृतिक सन्दर्भ तथा मान्यताका कारण केटाहरूको तुलनामा केटीहरू आत्महत्याको उच्च जोखिममा छन् ।
अर्जुन खरेल, माधव खतिवडा

सञ्चारमाध्यमहरूले लकडाउनयता आत्महत्याका घटनामा उल्लेखनीय वृद्धि भएको समाचार दिइरहेका छन् । चैतदेखि जारी लकडाउनसँगै नेपालमा आत्महत्याका घटना साँच्चै बढेका हुन् त ? तथ्यतथ्यांकमा रुचि राख्ने समाजविज्ञान अनुसन्धानकर्ता र मनोसामाजिक परामर्शकर्ताले यस सामाजिक परिघटनासम्बन्धी उपलब्ध समाचार र टीकाटिप्पणीहरूलाई अत्यन्त सावधानीपूर्वक केलाउनुपर्ने हुन्छ ।

असल मनसायका साथ पेस गरिएका तथ्यांकहरू पनि कहिलेकाहीँ भ्रामक हुन सक्छन् भने, छोटो समयको तथ्यांकमा आधारित भएर गरिएका विश्लेषणहरू अधुरा र अपरिपक्व हुने सम्भावना पनि उत्तिकै हुन्छ । अतः यो आलेखमा हामीले नेपाल प्रहरीले उपलब्ध गराएका दुई वर्षयताका आत्महत्याका मासिक तथ्यांकहरूमा आधारित रहेर नेपालमा आत्महत्याको प्रवृत्ति, ढाँचा तथा विद्यमान अवस्थालाई उजागर गर्ने प्रयत्न गरेका छौं ।

आत्महत्याको अपुरो तथ्यांक

विश्वभर नै आत्महत्याको पूर्ण तथ्यांक फेला पार्न त्यति सजिलो छैन । तथ्यतथ्यांकको उचित संकलन तथा संवर्द्धन गर्ने कतिपय विकसित मुलुकमा पनि आत्महत्याको न्यून अभिलेखीकरण भएको पाइन्छ र यो सामाजिक अनुसन्धानको एक प्रमुख विषय बन्ने गर्छ । अझ आत्महत्यालाई पापकर्म ठानिने, कलंक र लाञ्छनाको विषय मानिने, अभिलेखीकरणको आधिकारिक निकायका रूपमा रहेको प्रहरीसमक्ष केस पुर्‍याउन घण्टौं लाग्ने, लासको प्रकृति मुचुल्का र पोस्टमार्टमका झन्झटिला कानुनी प्रक्रियामा फस्नुपर्ने र साथै मृत शरीरलाई जोसुकैले छुने हुनाले मृतात्माले मुक्ति नपाउनेजस्ता अनेक विश्वास र अभ्यासका कारण नेपालजस्तो मुलुकमा आत्महत्याका सबै घटना प्रहरीसमक्ष पुग्दैनन् । तसर्थ नेपालमा भएका आत्महत्याका अनेक घटनाको उचित र आधिकारिक अभिलेख नराखिने हुनाले यी घटना प्रहरीको संकलन सूचीमा पनि समावेश नभएका हुन सक्छन् । तथापि, आत्महत्याको अध्ययन र विश्लेषणका लागि नेपाल प्रहरीले आवधिक रूपमा उपलब्ध गराउने तथ्यांकहरूमै भर पर्नुको विकल्प अहिलेलाई छैन ।

पछिल्ला दुई आर्थिक वर्षका आधिकारिक तथ्यांक नेपालमा अहिले उपलब्ध आत्महत्यासम्बन्धी समाचार, लेख तथा प्रतिवेदनहरू प्रहरीले उपलब्ध गराएका आधिकारिक तथ्यांकमै आधारित छन् । तर उपलब्ध सबै समाचार र प्रतिवेदनहरू केही महिनाको मात्र तथ्यांकलाई आधार मानेर लेखिएका हुनाले यिनीहरू नेपालको आत्महत्याको वास्तविक ढाँचा र प्रवृत्ति पहिचान गर्न चुकेका छन् । प्रहरीले संकलन गरेका आर्थिक वर्ष २०७५/७६ को साउनदेखि २०७६/७७ को जेठसम्मका आत्महत्याका मासिक तथ्यांकहरूको विश्लेषण गर्दा लकडाउनको समयमा आत्महत्या ह्वात्तै बढेको भन्ने कुरा तथ्यपरक देखिँदैन । बरु यो मूलतः नेपालमा लामो समयदेखि रहेको आत्महत्याका घटनाहरूको सामान्य ढाँचाको निरन्तरता नै हो भन्ने देखिन्छ ।

यदि लकडाउनमा परेका चैत, वैशाख र जेठमा भएका आत्महत्याका घटनाको संख्यालाई त्यसभन्दा ठीक अगाडिको फागुनसँग तुलना गर्ने हो भनेचाहिँ आत्महत्या बढेको देखिन्छ । किनभने, देशभर चैतमा ४८३ जना, वैशाखमा ५७८ जना र जेठमा ५८६ जनाले आफ्नो ज्यान लिएका छन् भने, फागुनमा यो संख्या केवल ४१५ मात्र थियो । यसरी लकडाउनमा नपरेको फागुनको आँकडालाई पूर्ण लकडाउनमा परेका वैशाख र जेठसँग तुलना गर्दा आत्महत्याको वृद्धि ४० प्रतिशतले भएको देखिन्छ, तर तथ्यांकको यस्तो विश्लेषण अपरिपक्व हुन जान्छ ।

आत्महत्याको वास्तविक स्वरूप बुझ्नका लागि आर्थिक वर्ष २०७६/७७ का चैत, वैशाख र जेठमा भएका आत्महत्याका घटनाहरूलाई अघिल्लो आर्थिक वर्ष (२०७५/७६) का उही महिनामा भएका घटनाहरूसँग तुलना गरेर हेर्नुपर्ने हुन्छ र यसो गर्दा बिलकुल फरक दृश्य गोचर हुन्छ । त्यो आर्थिक वर्षको चैतमा आत्महत्या गर्नेको संख्या ४६७ थियो भने, वैशाख र जेठमा ६००/६०० जनाले आफ्नो जीवनलीला समाप्त गरेका थिए । अनि यी अंकहरू आर्थिक वर्ष २०७६/७७ का यिनै महिनामा भएका आत्महत्याका संख्यासँग मिल्दाजुल्दा छन् ।

यसरी नै, गत दुई वर्षका आत्महत्याका मासिक तथ्यांक हेर्दा वैशाख, जेठ र असारमा सापेक्षिक रूपले बढ्ने गरेको र पुस–माघमा घट्ने गरेको सुस्पष्ट ढाँचा अगाडि आउँछ । आर्थिक वर्ष २०७५/७६ को माघमा आत्महत्याको मासिक आँकडा वर्षकै सबैभन्दा थोरै ३९४ थियो भने, सोही वर्षको वैशाखदेखि असारसम्म प्रतिमहिना कम्तीमा ६०० जनाले आफ्नै हातले आफ्नो जीवनलीला समाप्त गरेका थिए । त्यसरी नै आर्थिक वर्ष २०७६/७७ को पुसमा ३५२ जनाले मात्र आत्महत्या गरेका थिए भने, वैशाख र जेठमा यो संख्या बढेर वर्षकै सबैभन्दा उच्च क्रमशः ५७८ र ५८६ पुगेको थियो । २०७५/७६ को असारमा त्यो आर्थिक वर्षकै सबैभन्दा धेरै ६०७ वटा आत्महत्याका घटना भएका थिए ।

उमेर र लिंगका आधारमा ती दुई आर्थिक वर्षका उही महिनामा भएका आत्महत्यालाई छुट्याएर हेर्ने हो भने, महिला, पुरुष र बालकहरूको आत्महत्याको संख्यामा खासै भिन्नता देखिँदैन । तथापि, गत वर्षहरूको सापेक्षतामा यस पालि वैशाख र जेठमा बालिकाहरूको आत्महत्यामा भने दुई गुणा वृद्धि भएको फरक दृश्य छर्लंग देखिन्छ । आर्थिक वर्ष २०७५/७६ का वैशाख र जेठमा देशभर जम्मा ५९ बालिकाले आत्महत्या गरेका थिए भने, यस पालिका यिनै दुई महिनामा यो संख्या बढेर ११२ जना पुगेको छ ।

संगीन प्रश्नहरू

आत्महत्याको यो ढाँचाकाँचा हेर्दा दुईवटा संगीन प्रश्न उब्जिन्छन् । पहिलो, वर्षका कुनै खास महिनामा, विशेष गरी वैशाख, जेठ र असारमा आत्महत्याको आँकडा किन उकालो लाग्छ ? आत्महत्याका संख्यामा आउने यी उतारचढाव जीविकोपार्जनका लागि नेपालका विभिन्न गाउँबाट रोजगारीका लागि भारत र नेपालका विभिन्न सहरमा जाने मौसमी कामदारहरूको बहिर्गमन र गृह आगमनसँग जोडिएको देखिन्छ । खासखास मौससमा नेपालका गाउँहरूबाट मानिसहरू रोजगारीका लागि बाहिर जाने गर्छन् र केही आर्थिक उपार्जनसहित घर फर्कने गर्छन् । नेपालमा सन् २०१७ र २०१८ मा भएको श्रम सर्वेक्षणले कामका लागि भारत जाने नेपालीहरूको संख्या १२ लाख र नेपालभित्रै कामका लागि जानेको संख्या करिब २५ लाख रहेको देखाउँछ । नेपालको मौसमी ढाँचाको बसाइँसराइमाथि सेन्टर फर द स्टडी अफ लेबर एन्ड मोबिलिटीले यल विश्वविद्यालयको सहकार्यमा गरेको अध्ययनले मानिसहरू विशेष गरी नयाँ वर्ष पनि मान्ने र गहुँ पनि भित्र्याउने गरी चैत–वैशाखतिर र धान रोप्ने गरी जेठ–असारमा घर आउने अनि रोपाइँको काम सकेर फेरि साउनमा काममा फर्कने अनि पुनः चाडपर्व मान्न दसैंमा घर आउने र चाडपर्व मानेर काममा फर्कने गरेको देखाउँछ ।

आत्महत्याका घटना कामदारहरू घर फर्केको समयमा वृद्धि हुने र कामका लागि बाहिर गएको समयमा कम हुने कुरालाई संयोग मात्र मान्न सकिँदैन । कामदारहरूको आगमनपश्चात्को सामाजिक तथा पारिवारिक एकीकरणको चुनौती, संयुक्त बसाइसँगै परिवारमा बढ्न सक्ने अन्तरवैयक्तिक समस्या, रोजगारीमा जान वा अन्य प्रयोजनका लागि लिएको ऋण र चर्को ब्याजदरको समस्या, घरबाट टाढा रहँदा भोग्ने तनाव तथा आघातले पैदा गरेको मनोवैज्ञानिक समस्यासहित अन्य मनोसामाजिक कारणले यो बेला आत्महत्याका घटनाहरूमा वृद्धि हुन सक्ने सम्भावनालाई अस्वीकार गर्न मिल्दैन । अतः यो विषयमा विस्तृत अध्ययन–अनुसन्धान गरी रोकथामका उपायहरू पहिचान गर्न आवश्यक देखिन्छ ।

अहिलेसम्म लकडाउनको समयमा आत्महत्याका संख्यामा वृद्धि नभएको देखिए पनि यही अवस्था रहिरहन्छ भन्न सकिँदैन । अहिले अधिकांश मौसमी प्रवासी कामदारहरू घर फर्किसकेका छन् । यदि कोरोना संक्रमण र लकडाउनका कारण मौसमी प्रवासनको नियमित प्रक्रिया अवरुद्ध भई रोजगारीका अवसरहरू गुम्ने हो भने, यसले मानिसहरूलाई भोकमरी, तनाव, चिन्ता र उदासीनता तथा थप बेरोजगारीको दुश्चक्रतर्फ धकेल्ने कुरालाई बेवास्ता गर्न मिल्दैन । गरिबी, अभाव, बेरोजगारी तथा भोकमरीले मानिसहरूमा गहन निराशा बढाई आत्महत्याको सोचतर्फ प्रवृत्त गराउने तथ्य संसारभर भएका अनेक अध्ययनले देखाएका छन् । यो अवस्थालाई बेलैमा सम्बोधन नगरे सामान्यतया आत्महत्याका समस्याहरू कम देखिने महिनाहरूमा पनि यो वृद्धि हुन सक्ने सम्भावना दर्बिलो देखिन्छ ।

आत्महत्याको वर्तमान प्रवृत्ति र ढाँचाले उठाएको दोस्रो संगीन प्रश्न हो— लकडाउनका यी महिनाहरूमा बालिकाहरूको आत्महत्यामा वृद्धि किन भयो ? अच्युतराज पाण्डेको समूहले आत्महत्यासम्बन्धी नेपालमा गरेको एक अध्ययनले नेपाली समाजमा छोरीको स्थान परिभाषित गर्ने सामाजिक–सांस्कृतिक सन्दर्भ तथा मान्यताका कारण केटाहरूको तुलनामा केटीहरू आत्महत्याको उच्च जोखिममा रहेको देखाएको छ । यस अध्ययनले खाद्य असुरक्षा, एक्लोपन एवं चिन्ता तथा सुर्ताजस्ता मनोसामाजिक तत्त्वहरूलाई बालिका आत्महत्याका जोखिमका रूपमा चित्रित गरेको छ । लकडाउनले खोसेको अभिभावकको रोजगारी, बालिकामाथि बढ्ने कामको बोझ, थुनिएर बस्नुपर्दा आउने एक्लोपन र उच्चाटलाग्दो मनोदशा र दुर्व्यवहारका घटनाहरूले आत्महत्याको सोचमा वृद्धि हुन सक्ने कुरा तथ्यगत नै हुन् । तथापि नेपालका सन्दर्भमा यी कुराको थप अध्ययन र पुनर्पुष्टि हुन उत्तिकै जरुरी छ ।

लकडाउनका दौरान ऊर्ध्वमुख देखिएको बालिका आत्महत्याले उठाएको अर्को अहम् महत्त्वको प्रश्न हो— हाम्रा बालिकाहरू आफ्नै घरभित्र कति सुरक्षित छन् ? लकडाउनका दौरान विश्वभर नै बढेको घरेलु हिंसा यसमा कति जिम्मेवार होला ? मनोसामाजिक सुरक्षाका लागि घरलाई सामाजिक सहायता प्रणालीको मियो मानिन्छ, तर यो घर नै हिंसा, दुरुपयोग, लाञ्छना र क्रूर अभिभाकत्वको यातनागृह त बनिरहेको छैन भन्ने प्रश्न पनि यसले उब्जाएको छ । यथार्थपरक र वैज्ञानिक विश्लेषणको जगमा यी माथिका प्रश्नहरूको उत्तर खोज्दै आत्महत्या रोकथाम गर्ने दिशामा सहयोग गर्नु नै सरकार, अनुसन्धानकर्ता, मनोपरामर्शकर्ता लगायत हरेक नागरिकको कर्तव्य हो ।

(खरेल सोसल साइन्स बहाःको सेन्टर फर द स्टडी अफ लेबर एन्ड मोबिलिटीमा अनुसन्धाता छन् । खतिवडा काठमाडौं विश्वविद्यालयका विद्यार्थी मनोपरामर्शकर्ता हुन् ।)

प्रकाशित : श्रावण १५, २०७७ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्

नारी हुनु भनेको के हो ?

तपाईं पुरुष भए ढुक्क हुनुहोस्, जतिऔं सन्तान भए पनि तपाईंलाई धर्तीमा स्वागत हुन्छ । नारी भए पहिल्यै बिदाइ गरिन सक्छ ।
प्रज्ञा

यदि तपाईं दोस्रो वा कुनैकुनै अवस्थामा तेस्रो सन्तान पर्नुभयो भने, तपाईंलाई आफ्नो जीवन वा मृत्युको आभास हुनुअघि नै आमाकै गर्भमा तपाईं महिला हो कि पुरुष भन्ने निर्क्योल गरिन्छ । तपाईं पुरुष भए बाँच्न सक्नुहुन्छ, तर नारी भए कतिपय अवस्थामा तपाईंलाई संसारमा आउनुअघि नै बिदाइ गरिन्छ ।

पुरुष भए जुनसुकै क्रममा परे पनि ढुक्क हुनुहोस्, तपाईंलाई धर्तीमा स्वागत हुन्छ । यदि नारी हो भने तपाईंले आफू मात्र दुःख पाउनुहुन्न, जन्म दिने आमाले पनि हेपाइ खानुपर्छ । कति अवस्थामा त छोरा नजन्मिउन्जेल् थप सन्तान जन्माइराख्नुपर्छ ।

जन्मिसकेपछि तपाईंको शरीरमा जति अंग छन्, ती सबैमा तपाईंले परिवार र समाजको इज्जत बोकिदिनुपर्छ । ढुक्क हुनुहोस्, तपाईं पुरुष हो भने त्यो बोझ बोक्नु पर्दैन । छोरीका लागि न्वारन, पास्नी, गुन्योचोलोजस्ता संस्कारहरू छोरोका भन्दा फरक गरिन्छ । यसबाट ‘तपाईं आफ्नो भाइ वा दाइभन्दा अलग्गै हो है’ भन्ने मानसिकता विकास गरिन्छ । तपाईंको लवाइ, खुवाइ, पहिरन, व्यवहार सबै नियन्त्रित हुन्छन् । बिस्तारै हुर्कंदा थाहा हुन्छ, तपाईं पसलसमेत कोही साथमा नलिई जान सक्नुहुन्न । रातबिरात हिँड्नु खतरनाक हुन सक्छ । तपाईंको शरीर, शरीर नभएर कुनै खजानाजस्तो हो भन्ने बनाइन्छ जुन कसैले लुटिदिन सक्छ, आँखा लगाउन सक्छ । त्यसैले शरीर ढाक्नुपर्छ, कसैलाई छुन दिनु हुँदैन । छोएमा तपाईंको आफ्नो शरीरमाथिको अधिकारको हनन होइन, तपाईंको परिवार वा समाजको इज्जत जान्छ । तपाईंको शरीर ‘लुटिए’ तपाईंको भन्दा परिवार वा समाजको इज्जत लुटिन्छ । लुट्ने अरू कोही नभएर पुरुषै हुन्छ । किनभने, महिलामा लुट्ने सामर्थ्य हुँदैन, लुटिने अवस्था मात्र हुन्छ ।

हुर्कंदै गर्दा तपाईंलाई यो पनि अनुभव हुन्छ कि तपाईंको दाजुभाइ तपाईंभन्दा बढी महत्त्वपूर्ण हुन् । उनीहरूलाई किनिदिने महँगा लुगामा, उनीहरूलाई दिइने स्वतन्त्रतामा, उनीहरूले तपाईंलाई सुरक्षा गर्न सक्ने कुरामा, तपाईंलाई अर्काको घरमा जानुपर्ने कुरा सम्झाउँदा वा तपाईं आमालाई सघाइरहँदा दाइभाइ भने खेल्न जाँदा यस्ता कुराको बोध हुन्छ । तपाईंले पढ्ने किताबमा, हेर्ने चलचित्रमा, सुन्ने गीतमा, कथा सबैमा घरका काम आफ्नो जिम्मेवारी भनेर बुझ्न हुन्छ । तपाईंले कस्तो कपाल राख्ने, कस्तो लुगा लगाउने, कोसँग बोल्ने, कसरी बोल्ने, के खेल्ने, के नखेल्ने आदि पनि सूक्ष्म तरिकाबाट व्यवस्थित तरिकाले घर र अन्य सामजिक संस्थाहरूबाट निर्देशित र प्रशिक्षित हुन्छ ।

हो, कहिलेकाहीं नारीदेवीको स्वरूप मानेर नवरात्रिमा तपाईंको पूजा पनि गरिन्छ । तर रजस्वला भएपछि त्यो ठाउँ फेरि पाउनुहुन्न । रजस्वलासँगै तपाईं पर सर्नुहुन्छ । हरेक समय इज्जत बोक्ने भाँडो भैरहने योनी, रगत बग्दा इज्जतको बोझसँगै अछुत हुन्छ ।

यति मात्र होइन, तपाईंको कुनै घर हुँदैन, तपाईं कि बाउको घरमा कि लोग्नेकोमा बस्नुहुन्छ । थर–जात पनि कि तपाईंको बाउको हुन्छ कि लोग्नेको उपहार हुन्छ । तपाईंको देश पनि हुँदैन, किनकि तपाईं आफ्नो बलमा होइन कि बाउ वा लोग्नेका आधारमा मात्र नागरिकता पाउनुहुन्छ । नौ महिना पेटमा र नहुर्किंदासम्म हेरचाह गरे पनि तपाईं एक्लीले सन्तानको स्वामित्व लिन सहज हुन्न । तपाईंको सन्तान तबसम्म तपाईंजस्तै देशविहीन, जातविहीन र अनाथ हुन्छ जबसम्म उसको बाउले उसको अस्तित्व स्विकार्दैन ।

तपाईं सोच्नुहोला त्यो अरूले बनाएको नियममा नबसे के हुन्छ ? त्यस्तो गरेमा तपाईं समाजका नाममा कलंक बनाइनुहुन्छ । सामाजिक सञ्जालमा तपाईंको चरित्रहत्या हुन्छ । तपाईं सामाजिक बहिष्कारको सिकार हुन सक्नुहुन्छ ।

यही भएर, म आफैंलाई प्रश्न गर्छु— नारी हुनु भनेको के हो ?

(प्रज्ञा युनिभर्सिटी अफ सिड्नीमा विद्यावारिधि गर्दै छिन् ।)

प्रकाशित : श्रावण १५, २०७७ ०८:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×